शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा उपनिर्वाचन : नेकपा जोगाउने, काँग्रेस र नेमकिपा पल्टाउने दाउमा

मङ्गलबार, १० मङ्सिर २०७६, १३ : ५८
मङ्गलबार, १० मङ्सिर २०७६

भक्तपुर । प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन भएपछि भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क) प्रदेशसभामा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । 

निर्वाचन आयोगका अनुसार निर्वाचन हुनु ७२ घण्टा अगाडिबाट शून्य समय सुरु हुनेछ । सोअघि राजनीतिक दलहरु जनमत आफ्नो पक्षमा बनाउन तीव्र रुपमा अभियान चलाउन व्यस्त छन् ।  

शून्य समयभन्दा अगाडिसम्म आयोगले तोकेको निर्वाचन आचारसंहिताको पालना गर्दै दलहरुले मत माग्न पाउँछन् । मंसिर ११ गते राति १२ बजेसम्म दलहरुलाई चुनावी अभियान चलाउन छुट छ । 


यो प्रदेशसभा निर्वाचन हुने क्षेत्रमा ४५ हजार १५ जना मतदाता छन् । निर्वाचन आयोगले १८ साउनभित्र दर्ता भइसकेका मतदाताले मात्रै उपनिर्वाचनमा मतदात गर्न पाउने जनाएको छ । सो क्षेत्रमा २१ वटा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख घमचन्द्र तिम्सिनाले जानकारी दिए । 

को–को छन् चुनावी दौडमा ? 
मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनका लागि भक्तपुर–१ (क) प्रदेशसभा निर्वाचनका लागि १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा ९ राजनीतिक दल र १० जना स्वतन्त्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

सत्तारुढ नेकपा, प्रतिपक्षी नेपाली काँग्रेस, नेपाल मजदुर किसान पार्टी, राप्रपा, समाजवादी पार्टी, नेकपा माले, साझा पार्टी, नेपाली काँग्रेस (वीपी), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दलीय उम्मेदवारी परेको छ । जसमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट देवीप्रसाद ढकाल (डीपी), नेपाली काँग्रेसबाट कृष्णलाल भडेल, नेपाल मजदुर किसान पार्टीबाट निरज लवजु र राप्रपाबाट श्याम प्रसाद नेपाल उम्मेदवार छन् । 
त्यसगरि समाजवादी पार्टीबाट सुदर्शन कुमार मुनकर्मी, नेकपा मालेबाट सुदर्शन लामिछाने, साझा पार्टीबाट सुरज प्रधान, नेपाली काँग्रेस (वीपी)बाट मधुसुदन न्यौपाने र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मिङमार लामा उम्मेदवार छन् । 

त्यसैगरि स्वतन्त्र उम्मेदवारहरुमा कृष्णप्रसाद ह्युगो, अर्जुन कोजु, जीवन नेपाली, कष्णराम पोतामाह, उत्तम साखकर्मी, राकेश सुवाल, सुमना कार्की, जीवनचन्द अधिकारी, संगीता पौडेल आर्चाय, सुजता देउजा छन् । 

दलहरुको अवस्था कस्तो छ ? 
उपनिर्वाचन हुने भक्तपुर क्षेत्र नम्वर १ (क) जहाँ चाँगुनारायण नगरपालिकाका सबै वडा र भक्तपुर नगरपालिका वडा नम्बर १० पर्दछ । यहाँ २०७४ जेठमा सम्पन्न स्थानीय तहको निर्वाचनमा  १० वडामध्ये ४ मा तत्कालीन नेकपा एमाले (हाल नेकपा), ४ वडामा नेपाली कांग्रेस र २ वडामा नेपाल मजदुर किसान पार्टीका वडाअध्यक्ष पदका उम्मेवार विजयी भएका छन् । 

चाँगुनारायण नगरपालिकाको १, २, ५ र ७ नम्बर वडामा काँग्रेसका उम्मेदवार वडामा विजयी भएका थिए । एमालेका उम्मेदवार वडा नम्बर ३, ४, ६ र ८ मा जित हासिल गरेका थिए । चाँगुनारायण नगरपालिकाको वडा नम्बर ९ र भक्तपुर नगरपालिकाको १० नम्बर वडामा नेमकिपाको उम्मेदवारले जित हासिल गरेका थिए । 


चाँगुनारायण नगरपालिकामा बहुमत कार्यपालिका सदस्यसहित नेकपाका नगर प्रमुख र उपप्रमुख विजयी भएका थिए । संघीय संसदमा नेमकिपाका प्रेम सुवाल र प्रदेशमा स्वर्गीय लामिछानेले वाम गठबन्धनबाट जित हासिल गरेका थिए । लामिछाने तत्कालिन नेकपा एमालेबाट वाम गठबन्धनको साझा उम्मेदवार बनेका थिए । 

२०७४ सम्पन्न दुवै निर्वाचनमा नेकपा, कांग्रेस, नेमकिपासँगै अर्को प्रतिस्पर्धी दल राप्रपा पनि कतिपय वडामा निकटतम प्रतिद्वन्द्वीको रुपमा खडा भएको थियो । 

स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिकाको वडा नम्बर १, ६ र ८ नम्बर वडामा राप्रपाका उम्मेदवारले दोस्रो स्थान हासिल गरेका थिए । 

नगर प्रमुखमा जित हासिल गरेका तत्कालिन नेकपा एमालेका सोमप्रसाद मिश्रले ८ हजार ५ सय १२, निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजाराम खड्काले ६ हजार ८ सय ६९, तेस्रो स्थान ल्याएका राप्रपाका रविन्द्र प्रताप शाहले ५ हजार १ सय ९८, चौथो स्थान नेमकिपाका न्हुछेभक्त फोजुले ४ हजार ४ सय ४२ र एकीकृत नेकपा माओवादीका शिवप्रसाद अधिकारीले ७ सय ६ मत ल्याएका थिए । 

एमाले र एमाओवादी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तुलनात्मक रुपमा बलियो मानिएको छ । राप्रपा विभाजित अवस्थमा छ । राप्रपा (संयुक्त) ले कांग्रेसका कृष्णलाल भँडेललाई साथ दिने

आधिकारिक घोषणा गरेको छ । पार्टीका केन्द्रीय सदस्य रविन्द्र प्रताप शाह र जिल्ला समितिका अध्यक्ष रामशरण लामिछानेले उक्त घोषणा गरेका थिए । तर राप्रपा (संयुक्त)का जिल्ला सचिव सन्तोष के.सी भने आफूले राप्रपा (गाई) चुनाव चिन्ह लिएका उम्मेदवार श्याम प्रसाद नेपाललाई सघाउने बताउँदै पदबाट राजीनामा दिएका छन् । 

२०७४ मंसिरमा भएको प्रदेश सभाको निर्वाचनमा स्वर्गीय हरिशरण लामिछाने १२ हजार सात सय ८९ मतसहित निर्वाचित भएका थिए । काँग्रेसका जीवन खत्रीले ९ हजार ९ सय ७७ मत प्राप्त गरेका थिए । नेमकिपाका उम्मेदवार निरज लवजुले ७ हजार ११ मत ल्याएका थिए । राप्रपाले देशभर कांग्रेससंग चुनावी गठबन्धन गरेकाले यो क्षेत्रमा काँग्रेसलाई सहयोग गरेको थियो । 

त्रिपक्षीय प्रतिस्पर्धा
नेकपा, कांग्रेस र नेमकिपा तीन दलबीच नै चुनावी प्रतिस्पर्धा हुन निश्चित छ । स्थानीय, प्रदेश र केन्द्रमा नेकपाको दुई तिहाइको सरकार भएकाले विकासे चुनावी एजेण्डा उक्त पार्टीले प्रस्तुत गर्दै आएको देखिन्छ ।

उसलाई काँग्रेस, नेमकिपा, राप्रपालगायतका दलले सबै तहमा बहुमत हुँदा पनि जनताको काम नगरेको, प्रदेशको राजधानी र नामाकरण गर्न असफल भएको आरोप लगाउँदै आएका छन् । 


४३ हजार ५ सय ५२ जना मतदाता रहेको उक्त प्रदेशमा ३२ हजार ८ सय ३८ मतदातले मत हालेका थिए । हाल ४५ हजार १५ जना मतदाता छन् । अघिल्लो निर्वाचनको तुलनामा हाल १ हजार ४ सय ६३ मतदाता यो क्षेत्रमा थपिएका छन् । 

राजनीतिक दलहरु अन्यपार्टीका मतदातलाई आफूतिर तान्ने प्रयासमा पार्टी प्रवेश गराइरहेका छन् । दुई पार्टी एक भएको र मुलुकमा विकास र परिर्वतनको आभास गराउन सफल भएकाले चुनाव जित्ने नेकपाको दावी छ । 

यता वर्तमान सरकारको असफलता, राप्रपा (संयुक्त)को साथले आफ्ना उम्मेदवार विजयी हुने काँग्रेसको दावी छ । पटक–पटक नेकपा र काँग्रेसले जनतालाई धोका दिएकाले यस पटक आफ्ना उम्मेदवार रोजाइमा रहेको नेमकिपाको भनाइ छ । यो चुवानी दौडमा प्रथम हुने दाउमा नेकपा, राप्रपा, साझा पार्टी, नेकपा (माले)लगायतका दलहरु पनि लागिपरेको देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप