शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरका मतदाता– ‘डोकोमा पानी बोक्नुपर्छ, ट्वाइलेट बनाउन पनि कर तिर्नुपर्छ, के भोट दिनु खै !

बिहीबार, ०५ मङ्सिर २०७६, ०८ : ३९
बिहीबार, ०५ मङ्सिर २०७६

भक्तपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं (क) मा दलहरुले चुनाव प्रचारका लागि घरदैलो अभियान तीव्र पारेका छन् । उम्मेदवारहरु नेता कार्यकर्ताको जुलुस लिएर मतदाताको घर आँगनमा पुगिरहेका छन् ।

सो निर्वाचन क्षेत्रमा तत्कालीन एमालेबाट सांसद बनेका हरिशरण लामिछानेको निधनपछि हुन लागेको उपनिर्वाचनमा नेकपाबाट देवीप्रसाद अर्थात डीपी ढकाल, नेपाली काँग्रेसबाट कृष्णराज भडेल, नेपाल मजदुर किसान पार्टीबाट निरज लवजु मुख्य चुनावी प्रतिस्पर्धामा छन् ।

नेकपाले गत कात्तिक २९ गतेदेखि घरदैलो कार्यक्रम सुरु गरेको थियो । काँग्रेसले कात्तिक ३० गतेदेखि र नेमकिपाले मङ्सिर ३ गतेदेखि घरदैलो सुरु गरेको छ । घर घरमा पुगेर भोट माग्ने, टोल तथा मुख्य चोकहरुमा भेला भएर कोण सभा गर्ने, मुख्य मुख्य चोकहरुमा ब्यानर तथा चुनावी प्रचारको फेक्स बोर्डहरु राखेर उनीहरुले मतदातालाई आफूतिर आकर्षित गर्ने प्रयत्न गरिरहेका छन् ।

निर्वाचनमा होमिएका उम्मेदवारहरुले आफ्नो चुनावी एजेन्डामा भौतिक पूर्वाधार विकास, सांस्कृतिक सम्पदाहरुको संरक्षण लगायतका विषयहरुलाई समावेश गरेका छन् । नाराजुलुस सहित उम्मेदवारहरु घरघरमा आउन थालेपछि सर्वसाधारणलाई चुनाव आएको भान हुन थालेको छ । उपनिर्वाचन अन्तर्गत भक्तपुरको चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाको वडा नम्बर १० मा मतदान हुनेछ ।

हामीले सो निर्वाचन क्षेत्रअन्तर्गत चाँगुनाराण नगरपालिकाका केही मतदातहरुको प्रतिक्रिया लिएका छौँ । उनीहरुले सडक पूर्वाधार राम्रो नभएको, खानेपानीको समस्या रहेको बताएका छन् भने केही मतदाताले भने हरेक कुरामा कर लिने गरेका कारण समस्या भएको गुनासोसमेत गरेका छन् ।


चाँगुनारायण नगरपालिका वडा नम्बर ५ का रामचन्द्र लामिछाने अहिले ८३ वर्षका पुगे । बजारको चोकछेउ नेपाली काँग्रेसले गरेको मोटरसाइकल-याली हेर्दै गरेका उनलाई चुनाव आउँदैमा जनताको जीवन परिवर्तन हुनेमा विश्वास छैन । उनले जीवनमा धेरै पटक भोट दिए पनि कसैले केही नगरेको भन्दै गुनासो गरे । पद नपाउन्जेल मात्रै भोट माग्न आउने तर चुनाव जितेर गएपछि जनताको मतलब नगर्ने गरेको उनले बताए । उनले भने– ‘के गरे खै । बाटो भत्केको ५ वर्ष पुगिसक्यो यी, भुइँचालो जानुभन्दा अगाडि नै भत्काएको यो बाटो अहिलेसम्म बनाएको छैन । धुलोले बाटो हिँडिसक्नुछैन । अहिले चुनावको समय भएर हो कि को हो डोजर आएको छ ।’

सोही ठाउँकी स्थानीय दुर्गा लामिछानेलाई भने कुनै पनि उम्मेदवारलाई भोट दिन मन छैन । उनले उपनिर्वाचन आएर आफूलाई कुनै खुसी नलागेको बताइन् । उनले भनिन्– ‘जुन जोगी आए पनि कानै चिरेको भनेजस्तो, जुनसुकै पार्टी आए पनि हामीलाई असुविधा मात्रै हो, जहाँ गए पनि हत्या, हिंसा, बलात्कार बढ्दै गएको छ । जहाँ पनि अन्याय गर्नेको मात्रै राम्रो भएको छ । अन्याय गर्नेले हैन, नगर्नेले चाहि सजाय पाइरहेको छ । जुन पार्टी आए पनि हामीलाई के हुन्छ, चुनाव नआएकै जाती हामीलाई’ ।

अघिल्ला निर्वाचनहरुमा मतदान गरेकी उनले जुन पार्टीले भोट मागे पनि हुन्छ भन्ने तर भोट नदिने बताइन् । उनले देशमा विकासभन्दा पनि बिनास भइरहेको, देशको सीमा मिच्दा पनि कसैले नबोलेको बताउँदै सीमा मिचिएको विषयमा दुःख व्यक्त गरिन् ।

अर्का स्थानीय कमल विक भने मतदान गर्ने तयारीमा छन् । तर उनको उम्मेदवार, नेताहरुसँग गुनासो भने रहेको छ । भोट दिने गरेका वाचा बिर्सने, चुनाव सकिएपछि मतदाता नै विर्सने गरेको उनले गुनासो गरे । उनले भने– ‘अब अहिले बाटो बनाइदिन्छु, घर ट्वाइलेट बनाइदिन्छु भन्छन्, सम्पूर्ण काम आफैले गर्नुपरेको छ । अब अहिले नगरपालिका भयो भन्छन् । नगरपालिका भएपछि दुनियाँ कर आफैले तिर्नुपरेको छ । के सुविधा छ र हामीलाई जुन पार्टीको भए पनि ? अब घर बनायो भने घरको कर तिर्नुपरेको छ, ट्वाइलेट बनायो भने ट्वाइलेटको कर तिर्नुपरेको छ । अनि गरिबलाई के चाहिँ सुविधा छ भन्नुस् त ।’

उनले दलितका लागि धेरै खालका सुविधा दिने भने पनि छोराछोरी पढाउन कुनै सुविधा नपाएको गुनासो गरे ।

चाँगुनारायण नगरपालिका पौवा कि श्रीमाया श्रेष्ठले पनि फेरि चुनाव आएकोमा खुसी लागेको बताइन् । उनको परिवारबाट यो उपनिर्वाचनमा ५ जनाले मतदान गर्दैछन् । उनले चुनाव जितेर जाने उम्मेदवारले कच्ची बाटोलाई पक्की बनाइदिन र खानेपानीको समस्या समाधान गर्न आग्रह गरिन् । उनले भनिन्– ‘हामीलाई पानीको दुःख छ, वर्षामा दुई चार महिना मात्र पानी आउँछ । पुस माघ लागेपछि पानी आउँदैन अन्तै गएर डोकोमा बोकेर खानुपर्छ । बाटोघाटो र पानीको सुविधा राम्रो गरिदिएहुन्थ्यो भन्ने हामीलाई आशा लाग्छ ।’

पन्ध्र बीस मिनेट टाढाबाट डोकोमा पानी बोक्नुपर्ने समस्या रहेको बताउँदै उनले पानी लिन तामाङ गाउँमा जाँदा नेवार्नीहरु आयो भनेर गाली गर्ने बताइन् । पहिले चुनाव जित्नेले पनि यस्तो समस्याको मतलव नगरेको उनको गुनासो छ ।

यस्तै अर्का स्थानीय सुन्तली विश्वकर्माले चुनावमा भोट माग्न आए पनि जितेर गएपछि कुनै मतलव नगरेको गुनासो गरिन् । उनले आफ्नो खेतीमा १० मुरी मकै मात्र फल्ने गरेको बताउँदै जनताको समस्या नहेर्ने बताइन् । उनले भनिन्– ‘खेती कमाइमा हेरिदिनुपर्यो, अलिकति भएको पनि मृग र बँदेलले सखाप पार्छ । दुई थैला मकै ल्याउन पाइँदैन, हामीले गर्नु के ? हाम्रा यहाँका नेता त आफ्नै पेट भर्ने रैछन् ।’ उनले भूकम्पका बेला पनि आएको राहत सहयोग पनि गाउँका नेताहरुले आफ्नै घरमा लिएर गएको गुनासो गरिन् । 

अघिल्लो निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र नम्बर १ मा क्षेत्रमा ४५ हजार हाराहारी मतदाता छन् । गएको निर्वाचनमा सो क्षेत्रमा ४३ हजार ५ सय ५२ मतदाता थिए ।

अघिल्लो निर्वाचनमा कूल ३२ हजार ८ सय ३८ मत खसेकोमा विजयी भएका स्वर्गीय सांसद हरिशरण लामिछानेले १२ हजार ७ सय ८९ मत प्राप्त गरेका थिए । उनका निकटम प्रतिस्पर्धी काँग्रेसका जीवन खत्रीले ९ हजार ९ सय ७७ मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा नेपाल मजदुर किसान पार्टीका निरज लबजूले ७ हजार १९ मत पाएका थिए ।

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप