शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुरको उपनिर्वाचनमा त्रिपक्षीय भिडन्त, जोगाउन सक्ला नेकपाले साख  ? (डिपी ढकालसँगको भिडियो वार्ता)

आइतबार, ०१ मङ्सिर २०७६, १७ : १२
आइतबार, ०१ मङ्सिर २०७६

काठमाडौँ । उपनिर्वाचन नजिकिँदै गर्दा भक्तपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा दलहरुले चुनावी प्रचारका लागि घरदैलो अभियान सुरु गरिसकेका छन् । उम्मेदवार, नेता–कार्यकर्ताहरु नाराजुलुस, झन्डा, व्यानरसहित घरघरमा पुगेर भोट माग्न थालेका छन् । 

विशेषतः भक्तपुरको यो क्षेत्रमा रोचक त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ सत्तारुढ नेकपा, नेपाली कांग्रेस र भक्तपुर क्षेत्र नम्बर १ मा आफ्नो वर्चस्व कायम राख्दै आएको नेपाल मजदुर किसान पार्टीबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 

२०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा यो क्षेत्रमा तत्कालीन एमालेका तर्फबाट उम्मेदवार हरिशरण लामिछाने १२ हजार ७ सय ८९ मत ल्याएर निर्वाचित भएका थिए । 

उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका जीवन खत्रीले ९ हजार ९ सय ७७ मत ल्याएका थिए भने तेश्रो स्थानमा रहेका नेमकिपाका उम्मेदवार निरज लवजुले ७ हजार १९ मत पाएका थिए । भक्तपुर–१ (क)मा यीबाहेक अन्य उम्मेदवारले १ हजार मत कटाउन सकेका थिएनन् । 

बाम गठबन्धनका तर्फबाट विजयी भएका लामिछानेको निधन भएपछि उक्त सिटका लागि उपनिर्वाचन हुन लागेको हो । नेकपाले देवीप्रसाद अर्थात डिपी ढकाललाई चुनावी मैदानमा अघि सारेको छ । जनयुद्धबाट शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको पृष्ठभूमि भएका ढकाल अहिले चुनावी घरदैलोमा व्यस्त छन् । 

अघिल्लो निर्वाचनमा पाएको मत जोगाउने रणनीतिका साथ नेकपा उक्त क्षेत्रको चुनावी मैदानमा होमिएको छ । उम्मेदवारको टिकट पाउने बेलामा पूर्वएमाले र पूर्वमाओवादी गुटबीच भएको तिक्तता अहिले मिलिसकेको र दुवै समूह एकठाउँ भएर नेकपा उम्मेदवारलाई जिताउन लागिपरेको नेकपा भक्तपुरका नेताहरुको भनाइ छ । 

कात्तिक २९ गते भक्तपुरको चाँगुनारायण नगरपालिका, सरस्वतीखेलबाट नेकपाले घरदैलो कार्यक्रम सुरु गरेको हो । घरदैलो कार्यक्रमको सुरुवातमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल आएका थिए । आइतबार घरदैलो कार्यक्रम अन्तर्गत झौखेलमा भएको कार्यक्रममा नेकपा नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका छन् । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (क) अन्तर्गत चाँगुनारायण नगरपालिकाका सम्पूर्ण वडा र भक्तपुर नगरपालिकाको वडा नं १० पर्दछ । एउटा वडामा एक दिन चुनाव प्रचार गर्नेगरी नेकपाले घरदैलो कार्यक्रम गरिरहेको छ ।

नेकपा उम्मेदवार ढकालले विकास र समृद्धि नै आफ्नो मुख्य एजेण्डा भएको बताउँदै जनताले अपेक्षा गरेका विषय वस्तुहरुलाई पूरा गर्ने दावी गरे । अघिल्लो पटकको निर्वाचनमा राप्रपासँगको गठबन्धन बनाएको काँग्रेस ३ हजार मतान्तरले पराजित भएको थियो । अहिले त्यस्तो गठबन्धन नरहेकाले आफू विजयी हुने ढकालले दावी गरे । प्रस्तुत छ, घरदैलो कार्यक्रमको सिलसिलामा नेकपा भक्तपुर–१ (क) का प्रदेशसभा उम्मेदवार ढकालसँग रातोपाटी संवाददाता शम्भु दंगालहेमराज ढकालले गरेको कुराकानी : 

निर्वाचन हुन झन्डै २ हप्ता बाँकी छ, कसरी तयारी गरिरहनुभएको छ ?
निर्वाचनको तयारीको सन्दर्भमा हामीले हाम्रा निर्वाचन परिचालनका बृहद् भेलाहरु सम्पन्न गरिसकेका छौँ । कात्तिक २९ गतेबाट हामीले घरदैलो अभियानलाई अघि बढाइरहेका छौँ । यो घरदैलोलाई हामीले ८ गतेसम्म सकिसक्ने छौँ र हामीले एउटा केन्द्रित सभा गर्नेछौँ । यिनै कार्यक्रमहरुको बिचबाट हामी अघि बढिरहेका छौँ । 

के–के एजेन्डा अघि सार्नुभएको छ तपाईले ?
प्रदेशसभाको यो निर्वाचन क्षेत्रमा यसअगाडि पनि हामीले विजय हासिल गरिसकेको क्षेत्र हो । हाम्रो हरि गुरुको दुःखद निधन भइसकेपछि यो बीचमा हाम्रो मतलाई पुनर्पुष्टि गर्नुपर्ने चुनौती आइपर्यो । हामीले अघिल्लो निर्वाचनमा जे प्रतिबद्धता व्यक्त गरेका थियौँ, यो साढे २ बर्षमा हरि गुरुको अनुपस्थितिमा केही प्रतिबद्धता पूरा गरेका छौँ ।

त्यही बेलामा गरेका केही प्रतिबद्धता र केही नयाँ प्रतिबद्धताका साथ हामी अगाडि बढेका छौँ । मुख्यतया विकास र समृद्धिका योजनालाई नै हाम्रो प्रतिबद्धताको मुख्य हिस्सा बनाएका छौँ । त्यसमा सडक पूर्वाधार, खानेपानीको विकास, ढल निकास, पर्यटकीय क्षेत्रको विकास यी लगायतका यहाँका सांस्कृतिक विकास यिनै एजेन्डाहरुलाई हामीले मुख्य एजेन्डा बनाएर चुनावमा होमिइरहेका छौँ । 

तपाईँले जुन एजेन्डा बताइरहनुभएको छ, तपाईकाँ प्रतिष्पर्धी उम्मेदवारहरुले पनि यस्तै एजेण्डा बताउने गर्छन् । उहाँहरु भन्दा तपाईँ के कुरामा चाहीँ फरक हुनुहुन्छ ?   
बताउनु र गर्नुमा फरक छ । नेकपा बताउने हैन, गर्ने पार्टी हो । अहिले नेपाली काँग्रेस वा अन्य साना क्षेत्रीय पार्टीहरुको हैसियत भनेको विरोध गर्नेमात्र हो । यो निर्वाचनमा देखिइसकेको छ, नेकपाको दुई तिहाइको सरकार केन्द्रमा, प्रदेशमा र स्थानीय तहमा छ । त्यसकारण उहाँहरु भन्ने पार्टी हो, हामी गर्ने पार्टी हो ।

तपाई यहीँ भक्तपुरमै हेर्नुस्, क्षेत्र नम्बर १ र २ को संघीय सांसदको पहलको अन्तर नै हेर्नुस् न । २ नम्बरमा महेश बस्नेतज्यूको विकासको पहल हेर्नुस् र १ नम्बरमा प्रेम सुवालको पहल हेर्नुस्, आकास जमिन तुलनै हुँदैन । यो हिसावले हेर्दाखेरी चाहीँ भौतिक पूर्वाधारका क्षेत्रमा तपाई काम पनि देख्न सक्नुहुन्छ, यो र्यालीमा तपाई पनि सँगै हुनुहुन्थ्यो, नेकपाले जितेका वडामा विकासको गति र अन्य पार्टीले जितेका वडाको विकासको गतिको तुलना गर्नुस्, यसबाट नै चाँगुनारायणका जनताले पनि भन्ने पार्टी र गर्ने पार्टी को हो भन्ने प्रष्ट बुझिसक्नु भएको छ ।

तपाईँ निर्वाचित हुने आधारहरु के–के छन् ?
पहिलो कुरा त हिजो पनि सूर्य चिन्हलाई, नेकपालाई पाँच बर्षका लागि मतदान गर्नुभएको हो । बीचमै दुर्घटना भएका कारण निर्वाचन हुन थालेको छ । त्यसकारण पाँच बर्षका लागि जनताले दिएको मत फेर्नुहुन्न, पहिलो आधार त्यो हो ।

दोश्रो आधार के हो भने हाम्रो संगठन यति मजबुद छ कि यो चाहिँ नेकपाको आधार इलाका क्षेत्र हो त्यसकारण हाम्रा कार्यकर्ता, हाम्रो पार्टी पंक्ति र यहाँका जनसमुदायहरुको एकता अर्को आधार हो भने विकास निर्माण हामी सिंहदरबारसम्म पहुँच स्थापना गर्ने र प्रदेश मुख्यालयसम्म चाही यहाँको पहुँचलाई स्थापित गर्ने सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी नेकपाबाहेक अर्को विकल्प छैन । विरोध गर्ने सांसद हैन विकास गर्ने सांसद चाहिन्छ भनेर जनसमुदायले भनिरहेको कुरा र उहाँहरुको मनोविज्ञानको आधारले हेर्दा नेकपाको विजय चाहीँ निश्चित छ । 

घरदैलो अभियानमा होमिइसक्नुभएको छ, तपाईसँग जनताले कस्तो अपेक्षा राखेका छन् ? 
जनताको अपेक्षा तीन–चार वटा कुरामा छ, एउटा यहाँको भौतिक पूर्वाधार बाटो, ढल, खानेपानी आदी–इत्यादीको हल गरिदिनुपर्यो भन्ने छ । दोश्रो कुरा बेरोजगारी बढेको छ, सरकार लागेर रोजगारीको अवस्था सिर्जना गरिदिनुपर्यो भन्ने छ । तेश्रो चाहीँ यहाँको विविधता, जातीय सामुदायिक साँस्कृतिक, धार्मिक जुन विविधता छ त्यसलाई निर्वाचित जनप्रतिनिधिले संरक्षण गरिदिओस्, हामीलाई हेरिदिओस् भन्ने जनसमुदायको चाहना छ । 

तपाईँले चुनौती कत्तिको महसुस गर्नुभएको छ ? यहाँ नेपाल मजदुर किसान पार्टी पनि बलियो नै छ, नेपाली कांग्रेस पनि तपाईहरु नजिक–नजिक छ, अघिल्लो निर्वाचनको मत परिणाम हेर्दाखेरी पनि त्यति टाढा छैन । दुई दलहरुको बीचमा कत्तिको चुनौती महसुस गर्नुभएको छ ?
हामीले धेरै चुनौती महसुस गरेका छैनौँ, अघिल्लो चोटी राप्रपा संयुक्त, काँग्रेस संयुक्तरुपमा लड्दाखेरी हामीले झन्डै ३ हजार जतिको मत अन्तरले हामी निर्वाचित भएका हौँ । पहिलो कुरा अघिल्लो निर्वाचनमा काँग्रेस र राप्रपा सँगै थिए । अहिले उहाँहरु सँगै हुनुुहुन्न, त्यसकारण ग्याप अझ बढ्ने देख्छु काँग्रेससँग । दोश्रो हुनेमा चाहीँ नेपाल मजदुर किसान पार्टी र काँग्रेसबिचमा तीब्र प्रतिष्पर्धा हुन्छ, पहिलो हुने कुरामा त प्रतिस्पर्धा नै छैन । 
तपाई ढुक्क हुनुहुन्छ ?
शतप्रतिशत

भोट माग्न जाँदा जनताको के छ प्रतिक्रिया ? 
जनसमुदायको दुईटा सुझाव छ मलाई । बाबु तिमी निर्वाचित हुने कुरामा कुनै शंका छैन विजयी हुन्छौ, यसमा कुनै शंका छैन । तर निर्वाचित भइसकेपछि अहिले गरेका बाचा र प्रतिबद्धता नभुल्नु भन्ने जनताको सुझाव छ । त्यो सुझावलाई मैले हृदयदेखि आत्मसाथ गरेको छु । 

कुन कुन क्षेत्रमा घर दैलो गर्नुभयो, कता कता जाँदै हुनुहुन्छ ?
शुक्रबार एक नम्बर वडाको सकियो शनिबार २ नम्बर वडाको सकियो । हामी क्रमशः १० वडाको चाँगुनारायणको ९ वटा वडा र भक्तपुर नगरपालिकाको १० नम्बर वडा गरेर ८ गतेसम्म घरदैलो गरिसक्छौँ । 
हेर्नुहोस् भिडियोः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप