शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘कास्की-२ बाट विजयको बिगुल फुक्छौँ’

मङ्गलबार, १० मङ्सिर २०७६, १२ : ४३
मङ्गलबार, १० मङ्सिर २०७६

पोखरा । गत भदौ २८ गते प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी क्रियाशील नेतृ साझा पार्टीमा प्रवेश गरेको खबरले एकाएक राजनीतिक वृत्तमा तरङ्ग नै पैदा-यो । कतिपयले लख पनि काटे, चर्चा चल्यो– आसन्न उपनिर्वाचनमा उम्मेदवार बन्ने शर्तमा साझा पार्टीमा प्रवेश गरेको रे !

नभन्दै कात्तिक ६ गते साझा पार्टीले रजनी केसीलाई कास्की २ मा साझा पार्टीको उम्मेद्वार घोषणा गर्यो । कास्की २ मा उम्मेद्वार घोषणा गर्ने सबैभन्दा पहिलो पार्टी नै साझा पार्टी बनेको थियो । 

यद्यपि, उम्मेद्वार बन्ने लोभलेभन्दा पनि साझा पार्टीको नेतृत्वले आफूलाई साझामा तानेको रजनीको भनाइ छ । ‘केही महिना अघिसम्म म फरक पार्टीमा थिएँ, लगभग २० वर्षसम्म सोही पार्टीमा बसेर काम पनि गरेँ,’ उनी भन्छिन्, ‘मैले समृद्ध नेपाल, सुखी नेपाली, विकास निर्माण हाम्रै पालामा हुन्छ भनेर सोचेकी थिएँ । त्यो मैले त्यहाँ पाइनँ ।’ आफ्नो आदर्शअनुसार पार्टी नचलेको महसुस भएपछि उनी साझा पार्टीमा आबद्ध भइन्, समृद्ध नेपालको भव्य सपना पूरा गर्ने हुटहुटी जो उनमा थियो । 

‘मलाई बोध भयो, यसरी मैले देखेको सपना पूरा हुँदैन । त्यसपछि मैले विचार बदलेँ र साझा पार्टीमा प्रवेश गरेँ,’ साझा पार्टीमा प्रवेश गर्नुको कारण खुलाइन् । 

 


‘नेतृत्वमा बस्नु भएका रवीन्द्र मिश्रको नेतृत्व गर्ने क्षमताले पनि तान्यो,’ रजनी भन्छिन्, ‘उहाँसँगै पार्टीको नेतृत्व तहमा रहनु भएका टिम पनि उत्तिकै असल । साझा पार्टीका मूल्य मान्यताले पनि उत्तिकै तान्यो ।’ 

राजनीतिक पार्टीहरु आफूलाई लोकतान्त्रिक भन्न रुचाउँछन् तर असलमा भैदिन्छन् अलोकतान्त्रिक । यता उनलाई साझाको मूल्य–मान्यता मनप-यो, नेतृत्व मनप-यो, सिद्धान्त मनप-यो । अनि काँग्रेसकी प्रखर नेतृ साझा पार्टीकी प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनिन् । 

रजनीलाई साझा पार्टीको मन परेको अर्को पक्ष हो । ‘वेलफेयर स्टेट’ ।  

‘वेलफेयर स्टेट’को शाब्दिक अर्थ हुन्छ– गरिबीको रेखामुनि रहेका विपन्न वर्गले राज्यको महसुस गर्नु । गाँस, बास, कपास, आवास र यातायातको सुविधा विपन्न वर्ग सामु पुग्नु नै ‘वेल फेयर स्टेट’को अवधारणा हो । रजनीलाई यो अवधारणाले छोयो । यस्तै, साझा पार्टीको अर्को सिद्धान्त पनि छ, जुन उनलाई असाध्यै मनपर्छ । त्यो हो ‘राइट टु रिकल’ । अरु पार्टीमा यस्तो प्रावधान देख्दिनन् रजनी । 

‘लोकतन्त्रमा कुनै चिज मन नपर्न सक्छन्, कुनै पनि उम्मेद्वारको एजेण्डा मन परेन भने मेरो भोट रिजेक्ट गर्न पाउने अधिकार सुरक्षित हुनुपर्छ,’ राइट टु रिकलबारे उनले प्रस्ट्याइन् । जनतालाई मन नपरेको अवस्थामा ढाकछोप नगरि फिर्ता बोलाउन पाइने व्यवस्था ‘राइट टु रिकल’को विशेषता हो । साझा पार्टीका यी सिद्धान्तहरु रजनीलाई सबल लाग्छन् । र, त उनी साझा पार्टीकी उम्मेद्वार बनेकी छिन् । 

 


 ०००

भोलिको दिनमा साझा पार्टी शासन चलाउने ठाउँमा पुग्ला या नपुग्ला, त्यो छुट्टै कुरा हो । तर, देशलाई सक्षम बनाउनका लागि थुप्रै सपना भने देखेको छ । 

त्यस्तो कुनै ठाउँ हुन्न, जहाँ राजनीतिले नछोएको होस् । जनतालाई सेवा दिन स्थापना गरिएका सरकारी कार्यालयहरु पनि अछुत छैनन् यसबाट । साझा पार्टीले कार्यालयभित्रका यस्तासँग संगठनलाई पनि खारेज गर्ने छ । रजनी आफ्नो पार्टीको चुनावी एजेण्डा सुनाउँछिन्, ‘विश्वविद्यालय, कलेज, स्कुल पठन पाठन गर्ने प्राज्ञिक स्थलमा राजनीतिक संघ–संगठन बनाएर विद्यार्थीहरुलाई पढ्नेभन्दा पनि प्रयोग गर्ने, बन्द, हड्ताल, तोडफोड, भागबण्डाको जुन राजनीति छ । यसलाई पनि हामी खारेज गर्छौँ ।’

न कृषक छोडिएको छ । न मजदुर । न डाक्टर, इन्जिनियर, वकिल, पत्रकार । कसैलाई बाँकि छोडिएको छैन । सबैका संस्था छन् । रजनी आक्रोश पोख्छिन्, ‘सबैलाई पार्टीको दास बनाइएको छ । कार्यकर्ता बनाइएको छ । सबैमाथि सिण्डिकेट लागु गर्ने र सत्तामा पुग्ने षड्यन्त्रमात्रै हो ।’ साझा पार्टी यी सब खारेज गर्ने पक्षमा छ । ‘यो देशको हरेक नागरिकलाई स्वतन्त्र नागरिक बनेर बस्न पाउनु पर्ने अधिकारलाई हाम्रो पार्टीले सुनिश्चित गर्छ,’ उनले प्रस्ट्याइन । 

०४७ यता जति पनि उच्चपदस्थ प्रशासक र राजनीतिकर्मी छन्, साझा पार्टीले नेतृत्व लिई सकेपछि ती सबको छानबिन गर्ने छ । रजनीले आगामी योजना सुनाइन्, जति पनि काण्डहरु देशमा भए, ती सबको निष्पक्ष छानबिन हुन्छ । दोषीमाथि कारबाही हुन्छ । ‘लोकतान्त्रिक मुलुकमा चाहिने भनेका यी नै हुन्, हाम्रो नीति पनि यही छ, यसैबाट प्रभावित भएँ,’ उनले दोहो-याइन् । 

 


०००

अब देशमा रुपान्तरणको खाँचो छ । त्यसको लागि मन र मत दुबै बदल्नै पर्छ । जडसुत्रवादी सोचबाट मुक्त हुनैपर्छ । पुराना पार्टीबाट पार नलाग्ने देखेपछि वैकल्पिक शक्तिको खोजमा नयाँ पुस्ता लागि परेको रजनी दाबी गर्छिन् । ‘साझा पार्टीमात्र होइन, अहिलकोे नयाँ पुस्ता वैकल्पिक शक्तिको खोजीमा हुनुहुन्छ । नातिनातिनाले हजुरबुबा, छोराछोरीले आमाबुवालाई सम्झाइरहेको पाएका छौँ,’ उनले दाबी गरिन्, ‘उहाँहरुको सोचमा पनि आमुल परिवर्तन आएको मैले पाएँ ।’

पटक पटकको विश्वासघातले गर्दा पनि सबैै जना वैकल्पिक शक्ति खोज्नतर्फ लागेको उनी सुनाउँछिन् । कहिले एमालेलाई दिनु भयो, कहिले कांग्रेसलाई । उनले सुनाइन्, ‘दुई, तिहाइ मत पाएको सरकार हुँदा पनि विकास निर्माणका काम हुन सकेनन् । यसकारण पनि भएका दलहरुप्रति कुनै विश्वास छैन । विश्वास उहाँहरुले गर्नुुभयो, त्यो विश्वासमाथि बारम्बार कुठाराघात भएका छन् ।’ जनता अब निकै सचेत भईसकेको उनले दोहो-याइन् । 

कास्की–२ बाट साझाले विजयको बिगुल फुक्ने रजनीको दाबी छ । ‘राजनीति भनेको धर्म होइन, कुनै पनि दलको मुखुन्डो ओढेर बस्नु आवश्यक छैन भनेर कास्कीका जनताले बुझिसक्नु भएको छ,’ उनले भनिन्, ‘रजनी केसीलाई जिताउने पक्षमा हुनुहुन्छ । कास्की–२ बाट तराजु चिह्नमा छाप लगाएर विजयको सन्देश देशभर दिन्छौं ।’ २ सय ७५ जना सांसदले नउठाएको कुरा रजनी केसीले उठाउनेमा कास्की–२ का जनता ढुक्क भएको समेत उनले दाबी गरिन् । 

०००

रजनीको पारिवारिक पृष्ठभूमि नै सामाजिक अभियन्ताको छ । उनका बुबा–आमा सामाजिक अभियन्ता । बुबाआमा सामाजिक अभियन्ता भइ सकेपछि रजनीमा पनि सामाजिक चेत पस्यो । आफूमात्रै रमाएर पुग्दैन । देश विकास गर्नुपर्छ, समाज बनाउनुपर्छ भन्ने लाग्यो । ‘नीजि स्वार्थमा रमाउन नसक्ने मान्छेमा पर्छु म,’ उनले भनिन्, ‘मेरो नीजि स्वार्थ भनेको केही पनि होइन । यो देश र जनताको मुहारमा हाँसो ल्याउन सके भने मेरो जीवन सार्थक बन्ने छ ।’

७० काटेका उम्मेद्वार चुनावी रिङमा देख्दा भने असहज लाग्छ रजनीलाई । केही गर्ने जोश त पहिले सकिइसकेको हुन्छ । ‘न जोश हुन्छ, न उर्जा । न केही गरौं भन्ने उमङ्ग,’ उनले भनिन्, ‘न त्यस्तो जिजिविशा नै केही रहन्छ । सबै चिज क्षीण भएर, दिक्क लाग्ने उमेरमा, केही गर्न नसकेको अवस्थामा सांसद भएर के गर्नुहुन्छ ?’

एउटा मान्छेमात्रै राम्रो भएर पुग्दैन । देश हाँक्छु भन्ने पार्टीको नेतृत्व नै राम्रो हुनुपर्छ । क्षणिक स्वार्थका लागि राजनीतिमा लाग्न नहुने तर्क राख्छिन् उनी । यद्यपि सेवाको लागि राजनीति गर्ने भने कमै भेटेकी छन् उनले । तर, साझा पार्टीमा भने यो सब सम्भव छ । उनले दाबी गरिन्, ‘सुसंस्कृत राजनीति स्थापना गर्न सम्भव छ । त्यसको लागि साझा पार्टी छ । मलाई आत्मविश्वास पनि छ ।’ 

रजनीको परिचय राजनीतिमा मात्रै सीमित छैन । उनको परिचयको दायरा फराकिलो छ । ‘मिस पोखरा’की ‘फष्ट रनर अप’ रजनी मोडलिङ जगतमा पनि उत्तिकै परिचित छिन्, जति राजनीतिमा छिन् । केही म्युजिक भिडियोमा समेत उनले अभिनय गरेकी छिन् । फिल्मको लागि पनि अफर नआएको होइन । तर, उनको सपनाको आकाश ठुलो थियो । र, पुरा गर्नु थियो त्यो सपना । ‘ग्ल्यामरमा लागेर यो देश निर्माणको लागि सम्भव छैन, त्यसो त म अन्य परोपकारी संस्थामा पनि थिएँ, तर, यसरी देश निर्माण हुँदैन, आमुल परिवर्तन आउँदैन,’ उनले भनिन्, ‘यसमा म स्पष्ट थिएँ । मल्टिपल डेमोक्रेटिक सिस्टम भएको मुलुकमा एउटमा पार्टीमा आबद्ध नभई सम्भव छैन भनेर राजनीति नै छानेँ ।’ 

सकभर धेरैभन्दा धेरै मतदाता कहाँ पुग्ने प्रयासमा साझा पार्टी लागेको उनले सुनाइन् । भौतिक रुपमा पुग्न नसकेका ठाउँहरुमा पनि चुनावी एजेण्डा पुगिसकेको उनी बताउँछिन् । 

अघिल्लो निर्वाचनमा साझाका श्रीकृष्ण श्रेष्ठले कास्की–२ बाट ८ सय ४३ मत ल्याएका थिए । कास्की–२ का विजेता रवीन्द्र अधिकारीको मत २७ हजार २ सय ७ थियो । यसरी आँकलन गर्दा साझा र सत्तारुढ नेकपाको मतान्तर निकै फराकिलो देखिन्छ । रजनी कांग्रेसकी प्रभावशाली नेतृ भएकै कारण यो उपचुनावमा कांग्रेसको भोट काटेर राम्रै मत ल्याउने स्थानीयस्तरमा अड्कल काटेको सुनिन्छ । 
अन्त्यमा हामीले सोध्यौँ, तपाईंको पार्टीका संयोजकले भनेजस्तै कास्की २ बाट विजयको बिगुल फुक्नुहुन्छ त ? 

‘एकदमै । कास्की–२ बाट विजयको बिगुल फुक्ने निश्चित छ । साझा पार्टीबाहेक अरु विकल्प हुनै सक्दैन,’ आत्मविश्वासकासाथ उनले भनिन् । साझा पार्टीका संयोजक रवीन्द्र मिश्र पनि रजनीसँगै घरदैलो कार्यक्रममा कम्मर कसेर लागेका छन् । 

खैर, रजनी यतिबेला कास्की २ को चुनावी रिङ्गमा छिन् । त्यो रिङ्गमा उनीसँगै अरु २१ जना पनि छन् । ‘सबलाई उछिन्नु छ, बाजी मार्नु छ,’ भन्दै रजनी जनताको मन जित्न खटिएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप