शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायती सेना र राष्ट्रसङ्घको जागिरपछि धर्मराजको राजनीतिक इनिङ्ग

आइतबार, ०८ मङ्सिर २०७६, १० : ००
आइतबार, ०८ मङ्सिर २०७६

पोखरा । बेलायती सेना र संयुक्त राष्ट्रसङ्घको इलेक्ट्रिक इन्जिनियरको रुपमा लामो समय काम गरेका धर्मराज गुरुङ प्रतिनिधिसभा अन्तर्गत कास्की–२ मा हुन गइरहेको उपनिर्वाचनका एक्ला जनजाति उम्मेदवार हुन् । उनलाई समाजवादी पार्टीले उम्मेदवार बनाएको हो ।

राजनीतिमा लामो अनुभव नभए पनि उनी जोडतोडले चुनाव प्रचारमा लागेका छन् । आफू जित्नेमा पनि उनी विश्वस्त छन् । पूर्व निर्धारित समयअनुसार उनको घर पुग्दा चुनावी घरदैलोका लागि निस्किने तयारीमा थिए उनी । वडा नम्बर १७ मा उनको चुनावी घरदैलो तय गरिएको थियो त्यस दिन । चुनावी घरदैलोमा निस्किनु अघिको केही समय रातोपाटीलाई दिन तयार भए धर्मराज । उनले आफ्नो राजनीतिक जीवन र चुनावी एजेण्डाका विषयमा खुलेर कुरा गरे ।

करिब ३ दशक बढी विदेशमा बिताएका धर्मराज राजनीतिक माहोलमा पुरै भिजिसकेका छन् । कास्की अर्मला निवासी धर्मराजको भोट माग्ने शैली अरुभन्दा अलि भिन्न छ । बेलायती सेना र संयुक्त राष्टसङ्घको इलेक्ट्रिक इन्जिनियरको रुपमा लामो समय काम गरेर स्वदेश आएका उनी देशको बिग्रदो अवस्था देखेर राजनीतिमा आएको बताउँछन् । डेढ वर्ष अघि नयाँ शक्तिमा आबद्ध भएका गुरुङ बाबुराम भट्टराईप्रति पहिलेदेखि आकर्षित रहेछन् । काठमाडौँको साँघुरो बाटो बाबुरामको अगुवाइमा चाक्लोे पारिएको थाहा पाएपछि अरु नेताभन्दा बाबुराम ठीक नेता रहेछन् भनेर नयाँ शक्तिमा आबद्ध भएका रहेछन् उनी ।

संयुक्त राष्ट्रसङ्घमा काम गर्दा धेरै देशका मान्छेसँग उठ् बस् हुन्थ्यो धर्मराजको । त्यहाँको राजनीतिक अवस्थाबारे पनि बुझ्थे र आफ्नो देशको राजनीतिसँग तौलन्थे । देशको राजनीति देख्दा धर्मराजलाई अजिव लाग्थ्यो । देशको बिग्रदो अवस्था देखेर आजित भएका धर्मराज राम्रो लिडरको खोजीमा थिए । ‘एउटा पार्टीले एक्लै गरेर त भएन, एउटा जेनुअन पार्टी त चाहियो । एउटा पार्टी त मैले चुन्नै प¥यो, चुन्नै पर्दाखेरि यसो हेरेँ नयाँ शक्ति ठिक लाग्यो,’ उनले भने ।

काठमाडौँको साँघुरो बाटो चाक्लो पारेरमात्रै होइन । बाबुरामको साधारण जीवनशैलीले पनि उनलाई प्रभाव पारेको रहेछ । उनको जीवनशैली र विचारसँग प्रभावित धर्मराजले आफ्नो सोचाई पनि बाबुरामसँग मिलेको पाए । ‘उहाँको लिभिङ स्ट्यान्डर्ड पनि सिम्पल, उहाँको थिङ्किङ पनि एकदम टाढाको, दुरदर्शी छ, मेरो सोचाई पनि यही छ भनेर पार्टी ज्वाइन गरेँ,’ उनले भने ।

जुन पार्टीमा जोडिदा पनि पहिला त्यसको लिडर राम्रो छान्नु पर्ने मत राख्छन् उनी । ‘कसले ठिक काम गरिरहेको छ, आफूले चाहेको काम कुन पार्टीमा जाँदा गर्न पाइन्छ भनेर हेर्नुपर्छ,’ उनले भने ।

चौध वर्षको उमेरमै बेलायती सेनामा भर्ती भएका गुरुङ आफूले विदेशमा हुँदा देखे, सिकेका कुरा स्वदेशमा पनि लागु गर्नुपर्छ भनेर राजनीतिमा आएको बताउँछन् ।

देश बनाउनका लागि राम्रो नेतृत्व चाहिन्छ । राम्रो नेतृत्व नभएकै कारण देश विकास हुन सकिरहेको छैन । ठूल्ठूला भाषण र रिबन काँटेरमात्र देशको विकास सम्भव नहुने धर्मराज बताउँछन् । ‘जस्तै हेर्नुस् न, एउटा कुलमान आएर १८ घण्टा लोडसेडिङबाट मुक्त बनाउँछ भनेर कसैले सोच्याथ्यो ?’ उनले भने, ‘राम्रो मान्छेको हातमा टेक ओभर ग¥यो भने हुँदो रैछ त, जंगलमा गएर रिवन काट्दैमा देशको विकास हुँदैन हेर्नुस् ।’

अहिलेको नेपाली राजनीति जग बिनाको ढलान घर जस्तै भएको उनले तर्क राखे । लालपुर्जा नभएकाहरुलाई लालपुर्जा मिलाइदिने विपक्षी पार्टीको आश्वासनप्रति कटाक्ष पनि गरे । ‘प्लानिङ केही छैन । लालपुर्जा नभएकाहरुलाई लालपुर्जा दिन्छौं भन्नुहुन्छ, अब उहाँहरुसँग संवाद गर्नुप¥यो, त्यसको विकल्पबारे सोच्नु प-यो, त्यसै दिएर त भएन,’ उनले भने, ‘यो त जग नहाली घर ढलान गर्छु भने जस्तै भयो । यसरी त घर भासिन्छ नि !’ यो दिन्छु, त्यो दिन्छु भनेर झुटो आश्वासन बाँड्ने प्रवृति नेपाली राजनीतिमा पुरानो भई सकेको उनले बताए । साँच्चै जनताको पक्षमा काम गर्ने मन भए दिगो समयसम्मको लागि विकल्प खोज्नुपर्ने उनको भनाइ छ ।

चार दशक बढी विदेशी मुलुकमा बसेर सिकेको आफ्नो अनुभव अब देशको लागि लगाउन पनि आफूलाई चुनावमा मत हाल्न उनले मतदातालाई अपिल गरे । आफ्नो जिन्दगीको आधा समय दुखै गरेर बिताएका धर्मराज आफूले विदेशमा सिकेका कुरा स्वदेशमा लागु गर्न पाउनु पर्ने तर्क राख्छन् । देशको बिग्रदो राजनीतिलाई सही मार्गमा हिडाउन आफूले प्रयत्न थाल्ने उनले सुनाए । ‘मैले जानेको कुराहरु, मैले चुनाव जितेँ भने, मेरो क्षेत्रमा कुलमानले भन्दा पनि बढी गर्न सक्छु भन्ने हिम्मत छ,’ उनले भने, ‘म त सोझो मान्छे हो, जनताले यो कुरा बुझ्न प¥यो ।’ सोझो पाराले काम गरेर देखाउन सक्छु भन्ने हिम्मतले राजनीतिमा आएको उनले तर्क राखे ।

‘तपाईंले भनेजस्तो यो चुनाव जितेर सरकार नै तपाईंहरुको हातमा आउने पनि होइन । सहभागिता मात्रै जनाउने हो । तपाईंले चुनाव जिते यो सब सम्भव होला त ?’ हामीले प्रश्न राख्यौं ।

‘ठुलो आगो बाल्नका लागि पनि सानो सलाईको काँटीले सुरु गर्छ, म त्यो सलाईको काँटी भएर बाटो देखाउने हो । म संसदमा पेश गर्ने हो, सबै पेश गर्ने हो, यो कुरा यस्तो हुनुपर्छ, म जति घुमेँ त्यो सबै ठाउँ मैले नोट गरेको छु,’ उनले भने । चुनाव जितिसकेपछि पुन ः जनताको मै पुगेर जन भावनाअनुसार नै काम गर्ने उनले दाबी गरे ।

कास्की २ को एकमात्र जनजाति उम्मेद्वार भएका कारण भुपु आर्मी र जनजातिहरुको मत उनले नै पाउने अनुमान गरिएको छ । कास्की २ मा गुरुङ समुदायको बाहुल्यता बढी भएको हुनाले र त्यो भोट उनैले पाउने हुनाले पनि कास्की २ मा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । अघिल्लो चुनावमा नयाँ शक्ति र संघीय समाजवादी अलग–अलग उम्मेद्वारका साथ चुनावी मैदानमा थिए । हाल पार्टी एकता भइसकेको र स्थानीय मतदातामा पनि परिवर्तनको चाहना रहेकाले यो उपनिर्वाचनमा आफूले बाजी मार्ने उनको दाबी छ ।

०७४ को चुनावमा संघीय समाजवादीले ३ सय ४० मत ल्याएको थियो भने नयाँ शक्तिले २ सय ८३ मत ल्याएको थियो ।

तस्बिर सौजन्य : मुस्कान तामाङ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप