ad
केन्द्रीय संस्करण
समाचार

महरा प्रकरणमा प्रहरीको कमजोरी : घटनास्थल किन सुरक्षित राखिएन ?

२ मिनेटको बाटो पुग्न ३० मिनेटको समय !

person explore access_timeकात्तिक १७, २०७६ chat_bubble_outline0

निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध दायर भएको जबरजस्ती करणी उद्योग मुद्दामा प्रहरीले पेश गरेको प्रतिवेदनमा धेरै त्रुटी रहेको देखिन्छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वरले पेश गरेको प्रतिवेदनमा घटनास्थल सुरक्षित गरेका भनिएपनि घटनास्थल मुचुल्का उठाउँदासम्म पनि सुरक्षित गरेको देखिएको छैन ।

त्यसैगरी प्रहरीले प्रमाण संकलन गरेको दाबी गरे पनि प्रहरीले लामो समयसम्म पनि घटनास्थलबाट प्रमाण जफत गरेको देखिँदैन ।

दुई मिनेटमा पुग्ने स्थानमा जान ३० मिनेटको समय !

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा डिएसपी दुर्गाराज रेग्मीले सरकारी वकिल कार्यालयलाई दिएको प्रतिवेदन अनुसार पीडित भनिएकी कोड नाम नयाँबानेश्वर २६ की महिलाले प्रहरी कन्ट्रोलमा फोन गरी आफूलाई सभामुख कृष्णबहादुर महराले विवाद तथा झगडा गरी हातपात र दुव्र्यवहार गरेको कुरा उल्लेख गरेका छन् । रेग्मीले आफूलाई प्रहरी कन्ट्रोलबाट घटनास्थल पुग्नु भनी फोन आएपछि आफू राती ९ बजेर १० मिनेट जाँदा घटनास्थल पुगेको बताएका छन् ।

यता प्रहरी कन्ट्रोलमा बस्ने प्रहरी सहायक निरीक्षक वीर बहादुर बोहोराले सरकारी वकिलसमक्ष दिएको बयानमा भने असोज १२ गते राती ८ बजेर ४० मिनेटमा प्रहरी कन्ट्रोलमा फोन आएको कुरा बताएका छन् । कन्ट्रोलमा ९८१८९१२०१५ बाट फोन आएको र फोनमा महिलाले ‘सभामुख कृष्ण बहादुर महराले हातमा रक्सीको बोतल सहित मादक पदार्थ सेवन गरी मेरो कोठामा आई मलाई कुटपिट गरी जवरजस्ती करणी गर्न खोजेको, मैले प्रतिकार गर्दा उहाँको चस्मासमेत फुटेको छ आउनु, उहाँ अहिले भागिसक्नु भयो,’ भनी बताएको उल्लेख छ ।


फोन आएलगत्तै उनले यो कुरा आफ्नो कमाण्डरलाई भनेको र कमाण्डरको आदेश अनुसार बानेश्वर वृत्तलाई घटनास्थलमा जान निर्देशन दिएको कुरा उल्लेख गरेका छन् ।

तर ८ः४० मा कन्ट्रोलमा फोन आउँदा प्रहरी किन ९ः१० अर्थात् ३० मिनेटमा मात्रै घटनास्थलमा पुग्यो भनेर शंका गर्ने प्रशस्तै ठाउँहरु छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीका अनुसार काठमाडौँ उपत्यकाभित्र जहाँ जे घटना भएपनि प्रहरीमा खबर आएको १० मिनेटभित्र पुग्ने नीति छ । १० मिनेटभित्र पुग्ने भन्नुको अर्थ ढिलोमा १० मिनेट भनेको हो ।

तर महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर बाट करिब ७ सय मिटर दुरीमा रहेको नयाँबानेश्वर २६ को डेरामा प्रहरी पुग्न किन ३० मिनेट लाग्यो । के प्रहरीले यस्तो जघन्य प्रकृतिको आरोप र उजुरी आउँदा पनि २ मिनेटको बाटोमा ३० मिनेट समय लगाउँछ ?

प्रहरीको दुई निकायको बयानमा प्रहरीबाट कमजोरी भएकै देखिन्छ, चाहे एक्सनमा होस् वा कागजमा ।

घटनास्थल कसरी भयो ‘सुरक्षित’ ?

प्रहरीबाट भएको अर्को ठूलो कमजोरी भनेको घटनास्थलको सुरक्षा नै हो । प्रहरीले घटनालगत्तै पीडित भनिएकी महिलाको कोठा अर्थात् घटनास्थलको सुरक्षा गर्नु थियो । तर प्रहरीले सुरुमा यो घटनालाई ज्यादै हल्कारुपमा लिएको देखिन्छ ।

प्रहरी स्रोतका अनुसार कन्ट्रोलमा फोन आएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । त्यसबेला पीीडत भनिएकी महिला नशाको हालतमा थिइन् । जसका कारण सुरुवातमा उनले भनेको कुरा पत्याउन नै प्रहरीलाई गाह्रो पर्यो । त्यहाँमाथि देशकै पाँचौ स्थानमा रहेका व्यक्तिमाथि लगाइएको त्यस्तो संगीन आरोप ज्यादै फितलो र लरबरिएको अवस्थामा आएकाले रिसको झोँकमा भनेको हुनसक्ने अनुमान गरियो ।

यद्यपि प्रहरीले तत्कालीन समयमै पीडित महिलाको भिडियो बयान लियो भने घटनास्थलको फोटो खिच्यो । प्रहरीले लिखित जाहेरी माग गरी स्वास्थ्य परीक्षणका लागि जान आग्रह गर्दा महिलाले नमानेपछि प्रहरीलाई त्यो मुद्दा त्यति ‘वजनदार’ लागेन ।

पीडित भनिएकी महिला आफैले जाहेरी दिन र स्वास्थ्य परीक्षण गराउन नमानेपछि प्रहरीलाई लाग्यो कि यहाँ केही मालप्राक्टिस भएको छ । र, प्रहरी फर्किएर त्यसको रिपोर्ट माथिल्लो निकायलाई दियो ।

यद्यपि प्रहरी भोलिपल्ट बिहान फेरि घटनास्थल गएको प्रतिवेदनमा उल्लेख छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा डिएसपी दुर्गाराज रेग्मीले दिएको प्रतिवेदनमा प्रहरी भोलिपल्ट बिहान घटनास्थल गई प्रमाण संलन गरेको कुरा उल्लेख गरिएको छ ।

तर महरा प्रकरणबारे पहिलोपटक समाचार सार्वजनिक गर्ने हाम्राकुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकोटीले सरकारी वकिल कार्यालयमा दिएको बयानमा भने उनी असोज १३ गते दिउँसो २ बजेर १५ मिनेटमा महिलाको कोठामा पुगेको कुरा उल्लेख गरेका छन् ।

जतिबेला शिवाकोटी महिलाको कोठामा पुगेका थिए, त्यतिबेलासम्म त्यहाँ रक्सीको बोतल, रक्सी खाएको गिलास, काजु र मुला राखिएको प्लेट यथास्थानमा नै थियो । त्यतिमात्रै होइन, महराको भनी दाबी गरिएको चस्माको सिसा तथा देब्रेतिरको डण्डी र जुत्ताको तलुवा पनि घटनास्थलमै थियो ।

प्रहरीले बिहानै संकलन गरेको प्रमाण अपरान्ह सवा २ बजे अजयबावु शिवाकोटीले कसरी फेला पारे ? यो अपराध अनुसन्धानका लागि गम्भीर सवाल हो ।

तत्काल मुचुल्का गर्न नमिल्ने अवस्था भए वा मुचुल्का गर्ने व्यक्ति उपलब्ध नभएमा यस्तो प्रकृतिको अपराधको अनुसन्धान गर्न घटनास्थल सुरक्षित राखी अर्को दिन गर्ने गरिन्छ । तर यो घटनामा प्रहरीले घटनास्थलको सुरक्षा गर्न सकेको छैन र घटनास्थलमा अन्य व्यक्तिले सहज प्रवेश पाएका छन् । प्रहरी यहाँ नराम्ररी चुकेको प्रष्ट देखिन्छ ।

प्रहरीका हाकिम किन तातेनन् ?

बानेश्वर २६ की महिलाले घटनाबारे रुँदै प्रहरी कन्ट्रोलमा फोन गरेको र कन्ट्रोल रुमका कर्मचारीले उक्त विषय आफ्नो कमाण्डरलाई जाहेर गरेको कुरा उल्लेख छ । कमाण्डरलाई जानकारी भनेको महानगरीय प्रहरी कार्यालय रानीपोखरी अर्थात् मेट्रो प्रहरीलाई पनि यो घटना वा आरोपबारे असोज १२ गते राती नै जानकारी थियो । तर प्रहरीले सुरुवातमा यो घटनालाई त्यति गम्भीर रुपमा लिएको देखिँदैन । सार्वजनिक पदमा रहेको व्यक्तिले जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेपछि त्यो कुरा सम्भवतः प्रहरी महानिरीक्षकसम्म पनि पुगेको हुनैपर्छ । तर प्रहरी महानिरीक्षक, मेट्रो प्रमुख, काठमाडौं परिसर आदि सबै निकायले घटनाको गम्भीरतालाई बेवास्ता गरेको देखिन्छ । सुचना आएलगत्तै प्रहरी प्रशासनले गम्भीरता देखाएको भए घटनास्थल सुरक्षित राख्ने, प्रमाण सङ्कलन गर्ने, अनधिकृत व्यक्तिको प्रवेशलाई रोक्ने र पीडित भनिएकी महिलाको सुरक्षा गर्ने काम गर्न सक्थ्यो, गर्नुपथ्र्यो । तर अदालतमा प्रस्तुत अभियोगपत्र अध्ययन गर्दा प्रहरी यसमा चुकेको देखिन्छ । 

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.