सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो अवस्थामा जान सक्छ सभामुखको पद

मङ्गलबार, १४ असोज २०७६, ११ : ०८
मङ्गलबार, १४ असोज २०७६

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लागेपछि अहिले यसको सत्य तथ्यमाथि चर्चा चलिरहेको छ । संघीय संसद सचिवालयमै काम गर्ने एक महिलाले भने आइतबार राती उनले बलात्कार गरेको आरोप लगाएकी छिन् जसलाई सभामुख महराले खण्डन गरेका छन् ।

ती महिलाले महराको फुटेको चस्मा र जुक्ताको तलुवा आफूसँग रहेको बताएकी छिन् । सभामुख महराको निजी सचिवालयले भने महरामाथि लागेको आरोप निराधार रहेको भन्दै खण्डन गरेको छ ।

यो घटना सार्वजनिक भएपछि के सभामुख महराले पदबाट राजीनामा दिएर अनुसन्धानका लागि सहयोग गर्लान् ? यो चौतर्फी चासोको विषय बनेको छ ।


नेपालको संविधानको धारा ९१ मा प्रतिनिधि सभाको सभामुख र उपसभामुख सम्बन्धि व्यवस्था गरिएको छ । सो धाराको उपधारा ६ मा सभामुख र उपसभामुखको पद रिक्त हुने प्रावधान राखिएको छ ।

जसमा प्रतिनिधि सभा विघटन भएको अवस्थामा, लिखित राजीनामा दिएमा र प्रतिनिधि सभाको सभामुखले पद अनुकूलको आचरण नगरेमा सो को प्रस्ताव उपर छलफल हुने बैठकको अध्यक्षता प्रतिनिधि सभाको उपसभामुखले गर्ने र निजले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा पद जाने व्यवस्था रहेको छ ।

यस्तो छ संवैधानिक व्यवस्था

९१) प्रतिनिधि सभाको सभामुख र उपसभामुख : (१) प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्नेछन् ।

 (२) उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एक जना महिला हुने गरी गर्नु पर्नेछ र प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनु पर्नेछ ।

तर प्रतिनिधि सभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रतिनिधि सभाको सभामुख र उपसभामुख हुन बाधा पर्ने छैन ।

(३) प्रतिनिधि सभाको सभामुख वा उपसभामुखको पद रिक्त भएमा प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गरी रिक्त स्थानको पूर्ति गर्ने छन् ।

(४) प्रतिनिधि सभाको सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधि सभाको अध्यक्षता गर्नेछ ।

(५) प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्य मध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्नेछ ।

 (६) देहायको कुनै अवस्थामा प्रतिनिधि सभाको सभामुख वा उपसभामुखको पद रिक्त हुनेछ ः– (क) निज प्रतिनिधि सभाको सदस्य नरहेमा, तर प्रतिनिधि सभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधि सभाका सभामुख र उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहनेछन्। (ख) निजले लिखित राजीनामा दिएमा,

(ग) निजले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा ।

(७) प्रतिनिधि सभाको सभामुखले पद अनुकूलको आचरण नगरेको भन्ने प्रस्ताव उपर छलफल हुने बैठकको अध्यक्षता प्रतिनिधि सभाको उपसभामुखले गर्नेछ । त्यस्तो प्रस्तावको छलफलमा प्रतिनिधि सभाको सभामुखले भाग लिन र मत दिन पाउनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप