आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुख महरामाथि गम्भीर आरोपः आफूमाथि लागेको आरोपबारे महरा भन्छन्, ‘मलाई फसाउने षड्यन्त्र भयो’ (विज्ञप्तिसहित)

सोमबार, १३ असोज २०७६, २२ : २६
सोमबार, १३ असोज २०७६

काठमाडौँ-संघीय संसदका सभामुख कृष्णबहादुर महरामाथि गम्भिर आरोप लागेको छ । उनीमाथि यौन दुव्र्यवहारको आरोप लागेको हो । यद्यपि आरोपको पुष्टि हुन भने बाँकी नै छ । महरामाथि लागेको यो आरोपपछि उनी विवादमा समेत तानिएका छन् । सभामुख महराले एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेपछि उनी विवादमा तानिएका हुन् ।

संसद सचिवालयकम काजमा कार्यरत एक महिला कर्मचारीले सभामुख महराले आफुलाई जर्वजस्ती करणी गर्ने प्रयास गरेको आरोेप लगाएकी हुन् । ती महिला कर्मचारीले आइतबार साँझ महराले मदिरा पिएर आफुमाथि करणीको प्रयास भएको विभिन्न सञ्चारमाध्यमलाई बताएकी हन् । तर यसवारे पीडित भनेकी महिलाले प्रहरीमा जाहेरी नदिएको प्रहरीले जनाएको छ । 

यसैबीच सभामुख कृष्णबहादुर महराले ती महिलाले लगाएको आरोपमा कुनै सत्यता नभएको भन्दै खण्डन गरेका छन् । उनले आफुु ती महिलाको कोठामा समेत नगएको दावी गरेका छन् । आफु आइतबार बेलुका घरैमा रहेको समेत उनले प्रस्ट पारेका छन् । रातोपाटीसँगको कुराकानीमा महराले भने, ‘संसद सचिवालयमा हेल्थ दरबन्दी छैन, उहाँहरु केही मानिस हेल्थबाट संसद सचिवालयमा काजमा आउनुभएको छ,ती महिलाले यहि दरवन्दी क्रिएड गरिदनुपर्यो भनिरहेकी थिइन् ।’

अब के गर्लान महराले ?
सामान्यतया भलाद्मी व्यवहार देखाउने महराले अब के गर्लान् ? के आफुमाथि लागेको आरोपको छानविनका लागि पदबाट राजिनामा देलान् ? यसवारे अहिल्यै उनले केही खुलाएनन् । तर नैतिकताको आधारामा छानबिनका लागि भन्दै महराले पदबाट राजिनामा दिने हिमत गर्लान् ? या नगर्लान् त्यो भने हेर्न बाँकी नै छ । 
यसैबीच दुर्व्यवहारको आरापबारे महराको निजी सचिवालयले खण्डन गरेको छ । सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले एक विज्ञप्ति जारी गरी सो घटनाको खण्डन गरेका हुन् ।

यस्तो छ निजी सचिवालयको खण्डन

सम्माननीय सभामुख कृष्णबहादुर महरालाई गम्भीर आरोप लगाई विभिन्न अनलाइन सञ्चार माध्याममा आइरहेका समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सभामुखज्यूलाई कल्पनै गर्न नसकिने निकै गम्भीर आरोप लगाई आएको समाचारले हामी सबैलाई निकै स्तब्ध बनाएको छ । यी निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु । 

समाचारमा उल्लेख गरिएजस्तो ‘सभामुखज्यूले कसैलाई पनि दुव्र्यवहार गरेको कुरा’ कल्पना समेत गर्न सकिदैन । हिजो आइतबार घटना भएको भनी जसरी सभामुखज्यूको चरित्र हत्या गर्ने दुस्प्रयास भइरहेको छ त्यसमा कुनै पनि सत्यता नभएको म सम्पूर्ण मिडिया र सञ्चारकर्मी साथीहरुमा जानकारी गराउँछु ।

सभामुखज्यू हिजो असोज १२ गते आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर वालुवाटार निवासमा फर्किएको बाहेक उहाँ त्यसपछि अन्यत्र कहीँ नगएको पनि म यसै विज्ञप्तीबाट प्रष्ट पार्न चाहन्छु । साथै समाचारमा आएको जस्तो चश्मा, जुत्ताका कुरा पूरै निराधार भएको र उहाँको चश्मा आफैसँग रहेको र सभामुखज्यूले त्यसप्रकारको जुत्ता समेत प्रयोग नगरेको पनि यहाँ उल्लेख गर्न चाहन्छु ।

संघीय संसद सचिवालयमा स्वास्थ्य शाखाको कुनै दरबन्दी नभएको र संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मीहरु र ती महिला कर्मचारीले समेत समायोजनको प्रसंग चल्दै गर्दा संसद सचिवालयमै स्वास्थ्यको दरबन्दी हुनुपर्छ भनी माग गरिरहेको अवस्था थियो । तर कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा मैले त्यसमा काम नगरेको भनी स्वास्थ्य शाखाका कर्मचारीहरु र ती महिला पनि असन्तुष्ट थिए । सोही असन्तुष्टिलाई लिएर सभामुखज्यूको बारेमा पूरै गलत, कपोलकल्पित र अनर्गल समाचार प्रवाह भएकोमा सभामुखज्यू समेत निकै दुखित र आश्चर्यचकित हुनुभएको छ । 

यो प्रकरणबाट जुन किसिमले सभामुखज्यूको राजनीतिक उचाई, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र भएको छ, यो निकै सुनियोजित र योजनाबद्ध रुपमा भइरहेको छ । यो जहाँबाट भयो/भइरहेको छ, यो कुनै पनि किसिमले क्षम्य हुन सक्दैन ।

उहाँको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी जसरी सामाजिक रुपमा बदनाम गर्न दुस्प्रयास गरिएको छ, यसको जति कडा शब्दमा भत्र्सना गरे पनि कम हुन्छ । सभामुखज्यूलाई लगाइएको निराधार र कपोलकल्पित आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले भ्रममा नपर्न सबैमा पुनः विनम्र अनुरोध गर्दछु ।

मिति, २०७६।०६।१३
डिल्ली मल्ल
सभामुखज्यूको प्रेस सल्लाहकार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप