प्रहरी प्रमुखको दशैँ : ‘मोबाइल अफ गरेर पढ्न पाए हुन्थ्यो’
काठमाडौं– सर्वेन्द्र खनालको बाल्यकाल काठमाडौंको लैनचौर–ठमेलमा बित्यो । पुख्र्यौली थातथलो तनहुँ भए पनि काठमाडौँमै जन्मेहुर्केका खनालका साथीसङ्गी सहरिया नै थिए ।
स्कुल–कलेज पढ्दा फुटबलप्रति लगाव भएका खनाल टोलका साथी–भाइसँग खुब फुटबल खेल्थे । त्यतिबेलाको दशैंमा फुटबल उनको एउटा ‘दशैं पार्ट’ हुन्थ्यो ।
‘स्कुल–कलेज पढ्दाको दशैं रमाइलो हुन्थ्यो’, विगत सम्झँदै खनालले भने, ‘धेरैजसो त साथीहरूसँग फिल्म हेर्ने, घुम्न जाने, मीठो खाने त्यसरी मनाइन्थ्यो दशैं ।’
चङ्गा उडाउने संस्कृति काठमाडौंको पुरानो संस्कृति हो । आजभन्दा करिब ३ दशकअघिको दशैंमा खनाल चङ्गा पनि उडाउँथे । एकपछि अर्को परिस्थितिलाई विजय हासिल गर्दै नेपाल प्रहरीको प्रहरी महानिरीक्षक भइसकेका खनाल कहिलेकाँही चङ्गा–चेट हुँदा निराश भएनन् । किनकि निराशाले मान्छेलाई गन्तव्यमा पुग्न रोक्थ्यो ।
‘जागिर खानुभन्दा अगाडिको दशैं धेरै रमाइलो क्षणमा बिताइयो’, खनाल भन्छन्, ‘जागिर खाएपछि त धेरै समय बिजी नै भइयो ।’ कुराकानीका क्रममा खनाल बाल्यकालबाट २०४९ सालमा आइपुगे ।
२०४६ सालमा सिनियर अफिसर (इन्सपेक्टर) बाट खनाल नेपाल प्रहरीमा प्रवेश गरे । इन्सपेक्टर भएको तीन वर्षपछि विवाह गरेका खनाल त्यतिबेला बारा जिल्लामा थिए ।
‘विवाह भएको पहिलो दशैंमा टीका लागाउनुपर्छ भन्थे, म बारामा थिएँ’ त्यतिबेलाको परिस्थिति पर्गेल्दै खनालले भने, ‘नवमीको दिन बेलुका जितपुर भन्ने ठाउँमा ठूलो लफडा भयो । रातभर त्यहाँ बसेर समस्या समाधान गरेपछि दशमीको बिहान आइपुगेँ ।’
बिदा र चाडपर्वको बेला हुने अशान्तिका कारण खनालका प्रायः दशैं त्यस्तै हतार–हतारमै व्यथित हुँदै आए ।

दशैंको बेला लैनचौरमा लिङ्गे पिङ हाल्थे । स्कुल–कलेज पढ्दा खनाल लिङ्गे पिङमा मच्चिन पुगिहाल्थे । ‘दशैंको बेला कहिलेकाहीँ घरमा आफैं–आफैं तास पनि खेल्थ्यौं’ खनालले भने, ‘मेरौ शोख चाहिँ घुम्नेमै थियो । धेरै दशैँ साथीहरूसँग घुमेरै मनाएँ ।’
प्रहरी सेवामा प्रवेश गरेपछि घुम्ने, तास खेल्ने, पिङ खेल्ने कुरा खनालका लागि कथाजस्तै हुन थाल्यो । चाडपर्वको बेला फौजमा बिदा पाउने कुरा अलि गाह्रै हुन्छ ।
‘म वास्तावमा हेर्नुस्, जागिरको क्रममा धेरै बिदा लिएर हिँड्ने अफिसरमा पर्दिनँ’ खनाल भन्छन्, ‘कुनै बेला आफैंलाई काम गर्न समस्या भएर अथवा मसल क्र्याक भएको बेला छुट्टै होला, नभए मैले धैरै छुट्टी लिएर हिँडेको छैन ।’
विवाह गर्ने बेलामा जिल्ला प्रहरी कार्यालय बाराबाट जम्मा चार दिनको छुट्टी लिएका खनालले दशैं मनाउन कहिल्यै लामो छुट्टी मागेनन् । ‘दशमीको एक दिन चाहिँ आमाको हातबाट टीका लगाउन आइपुग्थेँ, मिले त्यही दिन नत्र भोलिपल्ट कार्यक्षेत्रमा फर्किहाल्थेँ ।’
तालिमले टीका छुट्दा दुःख लाग्यो !
दशैंमा परिवारसँगै बसौँ भन्ने सबैलाई हुन्छ । महाराजगन्जस्थित एकेडेमीमा सर्वेन्द्र खनाल इन्सपेक्टरको तालिम गर्दै थिए । लैनचौर महाराजगञ्जको दूरी धेरै किलोमिटर थिएन् तर त्यस वर्ष उनले आमाको हातबाट टीका थाप्न जान पाएनन् ।
‘काठमाडौंमै बसेर पनि टीका लगाउन नपाउँदा अलि दुःख लाग्यो’, खनाल भन्छन्, ‘बुबा नभएको हुनाले आमाको हातको टीक लगाइन्थ्यो तर त्यो दशैंमा तालिमले गर्दा एकेडेमी बाहिर निस्कनै मिलेन ।’
दशैंको जमघट खनाललाई औधी मनपर्छ तर ‘सेवा नै धर्म हो’, भन्ने नारा मनभरी बोकेर हिँडेका उनी जागिर सुरु गरेपछिको दशैं ‘हर्षोल्लास पूर्ण’ नभएको बताउँछन् ।
‘छोटो समयका लागि त परिवार भेटेर दशैं मनाउन धेरै मिस गरेको छैन’, उनी भन्छन्, ‘शान्तिसुरक्षा कायम राख्नुपर्ने, त्यतिबेला अपराध झन बढ्न सक्छ भन्ने कुरालाई केन्द्रमा राखेर सेवामा नै समर्पित भइयो ।’
चाडपर्वको बेला घटना नभए हुन्थ्यो, अपराध नभइदिए हुन्थ्यो भन्ने ट्रेन्डमा बानी पर्दै जाँदा उनको दर्जा पनि बढ्दै गयो । पछि त्यही वातावरणमा बानी पर्न थाले ।
प्रहरीको जागिर खानेहरू प्रायः दशैं मनाउने भन्दा शान्तिसुरक्षा कायम गर्ने वातावरणमा रमाउँछन् ।

‘घटना कतै भएनन् र नागरिकले शान्तिपूर्वक खान–खेल्न पाएर उहाँहरूको तर्फबाट रमाइलो भयो भन्ने आइदिए हुन्छ’, खनाल भन्छन्, ‘मैले त्यो कुरा ब्रिफिङमा पनि भन्ने गरेको छु, नागरिकको सन्तुष्टिलाई नै मैले आफ्नो खुसीको रूपमा लिएको छु ।’
सँगै बस्ने, मासु खाने र टीक लगाउने हिसाबले दशैं अन्य पर्वभन्दा भिन्न छ । आफूले दशैंलाई अलि भिन्न पर्वको रूपमा लिए पनि दशैंलाई भयङ्कर बनाउनुपर्छ र त्यसबेला मात्रै रमाउनुपर्छ भन्ने सोच कहिल्यै नआएको उनी बताउँछन् ।
टेलिफोन बन्द गरेर पढ्न पाए...
दशैंको राम्रो पक्ष भेटघाट हो । यस्तो भेटघाट र पारिवारिक जमघट सँधैभरी हुँदैन । पहिलादेखि नै छुट्टै, भिन्नै भएर बसेका खनालका परिवारसँगै बस्दा आफूलाई रमाइलो लाग्ने बताउँछन् । ‘एक प्रकारले सम्बन्ध रिन्यु पनि हुन्छ’ उनी भन्छन्, ‘सधैँ भेट नहुने परिवारका सदस्यहरूसँग त्यो बेलामा एउटा मौका पनि हुन्छ ।’
७२ हजार नेपाल प्रहरीलाई कमान्ड गरिरहेका खनाल हिजोभन्दा आज ठूलो जिम्मेवारी बोझले थिचिएका छन् । त्यस्तोमा सर्लक्कै छुट्टी लिएर अफिससँग मेरो केही छैन भनेर दशैं मनाउन बस्दा रमाइलो हुने उनको तर्क छ ।
दशैँबारे यी सामाग्रीहरु पनि पढ्नुहोस्
दशैंमा सबैभन्दा भिन्न र सुन्दर देखिन चाहनुहुन्छ ? मेकअप आर्टिस्टका यी टिप्स अपनाउनुस्
दशैंमा लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ ? ट्राफिक इन्सपेक्टर हाछेथुको यस्ता छन् २५ टिप्स
दशैं बिदाको दिनपनि बैंक खुला रहने, कुन बैंकको कुन शाखाले कतिबजेसम्म सेवा दिन्छन् ? (विवरणसहित)
‘जिम्मेवारी सँगसँगै भएपछि रमाइलो भन्नेकुरा स्याडोमा हुनेरहेछ’, उनले थपे ।
बाल्यकालमा घुमेर दशैं मनाउने सर्वेन्द्रले यस पटकको दशैंमा घुम्न जाने सम्भावना देखेका छैनन् । तर उनका पुस्तक पढ्ने इच्छा पलाएको छ ।
‘समयको अभाव छ, ढुक्क भएर टेलिफोन पनि बन्द गरेर पढ्न पाए हुन्थ्यो भन्ने लाग्छ’, खनालले भने, ‘मोबाइल बजिरहन्छ, भेट्ने मान्छेहरू आइरहन्छन् । त्यस्तोमा कन्सन्ट्रेसन हुन गाह्रो हुन्छ ।’
प्रहरी प्रमुखको जिम्मेवारीले धेरै ठाउँका कामहरू आइरहन्छन् । सबै ठाउँमा रेस्पोन्स गर्नुपर्ने हुनाले पुस्तकलाई धेरै समय दिन नसके पनि केही समय छुट्याएर उनले पुस्तकमा केन्द्रित हुने योजना बनाएका छन् ।
कतिपय मानिसहरू दशैं मनाउन युरोप अमेरिका जान्छन् । तर खनाल आईजीपी भएपछिको पहिलो दशैं काठमाडौंमै मनाउँदै छन् ।
‘आमा ९४ वर्षको हुनुहुन्छ, आमासँग परिवारका सबैले टीका लगाउँछौँ’ उनले भने, ‘अनि आफन्तकोमा टीका, आशीर्वाद थाप्न जान्छु अनि प्रहरी प्रधान कार्यालयमा पूजा गर्ने शुभकामना आदान प्रदान गर्ने काम हुन्छ ।’
प्रहरी प्रमुखका रूपमा खनालले यस पटकको दशैंमा प्रहरी प्रधान कार्यालमा नौरथालगायतका पूजा गर्छन् ।
खनालको बुबासमेत रिटायर्ड भएर पुख्र्यौली घर नपुगेको हुनाले उनी अहिलेसम्म दशैं मनाउन तनहुँ गएका छैनन् ।

आफ्नी आमा र मान्यजनको हातबाट टीका लगाउनेबाहेक प्रहरी प्रमुखले मातहतका सुरक्षा अधिकारीहरूलाई टीक लगाइदिने परम्परालाई खनालले निरन्तरता दिँदै छन् । ‘प्रहरी प्रमुखले टीका लगाइदिने परम्परा सुरुदेखि नै छ’, उनले भने, ‘त्यो परम्परालाई निरन्तरता दिन्छु, सङ्गठनभित्र शुभकामना आदान प्रदान गर्ने काम हुन्छ ।’
छुट्टी दिन पहिलेका हाकिम कडा, अहिलेका लिबरल
फौजमा जागिर खानेहरूका लागि चाडपर्वमा छुट्टी भन्ने खासै पाउँदैनन् । तर आजकालका प्रहरी अधिकृतहरू धेरै लिबरल हुने गरेको खनालको अनुभव छ ।
‘आजकाल हामी धेरै लिबरल छौँ, किनभने छुट्टी पनि पालैपालो दिन्छौँ’ उनले भने– ‘हामीले जागिर सुरु गर्दा छुट्टी पाउन निकै गाह्रो हुन्थ्यो ।’
पछिल्लो सयम इन्चार्जहरूले ड्युटीको स्ट्रेन्थ राखेर सकल दर्जालाई आलोपालो बिदा छाड्ने गरेका छन् ।
‘गस्ती, पेट्रोलिङ र शान्ति सुरक्षा कायम राख्नैपर्छ’ प्रहरी महानिरीक्षक खनाल भन्छन्, ‘आवश्यकता र प्राथमिकता हेरेर छुट्टी मिलाउने गरिएको छ, पहिला–पहिला यसरी छुट्टी दिने भन्ने नै हुँदैनथ्यो । कामकै सिलसिलामा छोटो समय निकालेर टीका लागाउँथ्यौँ, त्यसपछि हामी फेरि काममा जान्थ्यौं ।’
भीआईपी र भीभीआईपीको सवारीमा बाटोभरी प्रहरीको ड्युटी हुन्छ । चाडपर्वमा त्यस्ता सवारी धेरै हुने हुनाले सुरक्षा अधिकारीको दशैँ ढुक्क नहुने खनालको अनुभव छ ।
‘अझ इन्चार्ज भएर काम गर्दा धेरै खटिनुपर्छ’, उनी भन्छन्– ‘त्यसैले अब रिटायर्ड भएर जिम्मेवारीबाट अलग भएपछि ढुक्कले बस्दा चाहिँ दशैं रमाइलो होला भन्ने सोच्दैछु ।’
प्रहरीमा कसैलाई दशैं र कसैलाई तिहारमा गरेर आलोपालो छोटो बिदा दिन सर्कुलर गरेका खनालले जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूले दशैंमा छुट्टी नपाउने बताएका छन् ।
‘नजिकै घरपरिवार हुनेहरू टीका लागाएर आउँछन् । टाढाका छन् भनेर २, ३ दिन उनीहरूका लागि छुट्टी मिल्छ’, खनालले भने, ‘कसैले दशैं, कसैले तिहारमा बिदा प्रिफर गर्छन् । कतिपय अवस्थामा हामी सोधेर पनि बिदा मेनेज गर्छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण