शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दशैंमा सबैभन्दा भिन्न र सुन्दर देखिन चाहनुहुन्छ ? मेकअप आर्टिस्टका यी टिप्स अपनाउनुस्

शनिबार, २७ असोज २०७५, ११ : ०५
शनिबार, २७ असोज २०७५

हिन्दुहरूको महान चाड बडादशैं हाम्रो घर दैलोमा भित्रिसकेको छ । दशैं भन्नेबित्तिकै पारिवारिक जमघट शीर्ष स्थानमा आउँछ । ठूलाबडा र मान्यजनबाट टीका तथा जमरा लगाउने र आशीर्वाद थाप्ने हेतुले  विदेशका र राजधानी केन्द्रित परिवारका सदस्य आफ्नो पुख्र्यौली घर फर्कने र नाता कुटुम्बकोमा जाने प्रचलन छ । दशैंमा नयाँ लुगा किन्ने चलन पनि निकै पुरानो हो । 

नयाँ लुगा लगाएर चिटिक्क परेर टीका थाप्न हिँड्नु दशैंको विशेषतामा पर्छ । तर चिटिक्क पर्नका लागि लुगा मात्र होइन, मेकअपको पनि निकै महत्वपूर्ण भूमिका हुन्छ । 

अनुहारका लागि मेकअप जरुरी छ । यसले सुन्दरतामा निखार ल्याउनुका साथै वातावरणमा भएका विभिन्न विकिरण र हानिकारक तत्वबाट छालालाई सुरक्षा दिइरहेको हुन्छ । 

तर मेकअपका केही तौरतरिका हुन्छन्, जुन प्रयोग नगरेको खण्डमा अनुहार भद्दा देखिनुका साथै छालामा समेत नकारात्मक असर पुग्ने गर्छ । मेकअप गर्दा के गर्ने, के नगर्ने र यसको प्रक्रियाबारे मेकअप आर्टिस्ट स्वस्तिका राजभण्डारीले रातोपाटीसँग कुरा गरेकी छिन् ।

रहरै रहरमा मेकअपको दुनियाँमा पाइला टेकेकी स्वस्तिका ६ वर्षभित्रै यस क्षेत्रमा बलियो पकड बनाउन सफल भइसकेकी छिन् । ब्राइडल मेकअपका लागि परिचित स्वस्तिकाले मलेसियामा यससम्बन्धी तालिम लिएपछि आफ्नो रुचिको विषयलाई नै व्यवसायमा बदल्ने सोच बनाइन् र चार वर्षअघि कुपण्डोलमा खोलिन्– स्वस्तिका मेकअप एन्ड हेयर स्टुडियो ।  ‘स्टुडियो खोल्नुअघि दुई वर्षसम्म मैले फ्रिलान्स गरेँ, पछि मेरा क्लाइन्टहरू बढ्दै गएपछि यस्तो गर्न सम्भव भएन र परिवारको सल्लाहमा मेकअप स्टुडियो खोलेँ,’ उनले भनिन् । त्यतिबेला मेकअप आर्टिस्ट त्यति धेरै नहुने भएकाले आफूलाई यो क्षेत्रमा स्थापित गर्न त्यति गाह्रो नभएको उनको भनाइ छ । ‘विदेशमा मेकअपको तालिम लिएर स्वदेश फर्केपछि आफसेआफ यसका लागि बाटो खुल्दै गए,’ उनी भन्छिन् । नेपालका धेरैजसो चर्चित सेलिब्रेटी उनका क्लाइन्ट हुन् । भविष्यमा मेकअपकै दुनियाँमा आफूलाई व्यस्त बनाइराख्ने उनको लक्ष्य छ । उनी भन्छिन्, ‘सिक्ने कुरा कहिले पनि सिद्धिँदैन । म यही क्षेत्रमा अपडेट भइराखेर यसम्बन्धी सेमिनार र तालिमका विभिन्न कक्षा सञ्चालन गर्ने योजनामा छु ।’

मेकअपसम्बन्धी स्वस्तिकाले दिएका टिप्स उनकै शब्दमाः  

मेकअपको प्रक्रियाः

मेकअप अघिः

केही विशेष दिनका लागि तयार हुन चाहनुहुन्छ भने त्यसको दुई तीन दिनअघि क्लिन्जिङ वा फेसियल गर्दा राम्रो । यसो गर्दा फेसमा छुट्टै ग्लो आउँछ । 

यदि फेसियल क्लिन्जिङका लागि पार्लर जान सम्भव छैन भने विभिन्न घरेलु तरिका अपनाउन सकिन्छ । उदाहरणका लागि बेसनमा बेसार र अलिकति काँचो दूध मिसाउनुहोस् र एउटा पेस्ट तयार गर्नुहोस् । त्यसलाई राति सुत्नुअघि लगाउनु होस् र १५, २० मिनेट यत्तिकै छोड्नुहोस् । सुकेपछि औंलाको टुप्पाले हल्कासँग रगड्नुहोस् । यसले घामले डढेको छालामा पनि चमक ल्याउनुका साथै स्वस्थ बनाउँछ । यो विशेषगरी डार्क सर्कल (आँखामुनिको कालो) का लागि निकै उपयोगी हुन्छ । 

मेकअप गर्दा अपनाउनुपर्ने कुराः

१. अनुहार सफा राख्नुहोस्ः
मेकअप गर्दा अनुहार सफा हुनुपर्छ । यदि आँखामा अलिकति मात्र पनि गाजल बाँकी छ भने त्यसलाई राम्रोसँग पुछ्नुहोस् ।  सबैभन्दा पहिले क्लिन्जिङ लोसन कपासमा राखेर अनुहार राम्रोसँग पुछ्नुहोस् वा राम्रोसँग धुनुहोस् । 

२. त्यसपछि लगाउनुहोस् मोइस्चराइजिङ लोसन र सनब्लकः
सफा अनुहारमा सनब्लक लगाउने । यदि अनुहारको छाला रुखो छ भने यसअघि मोइस्चराइजिङ लोसन लगाउनुपर्छ र मेकअपको सबैभन्दा महत्वपूर्ण र धेरैलाई थाहा नभएको प्राइमर लगाउनुहोस् । 

३. किन लगाउने प्राइमर ?
प्राइमरले अनुहारमा मेकअपका लागि एउटा बेस बनाइदिन्छ । यो लगाएपछि अनुहारमा छुट्टै ग्लो आउँछ र फाउन्डेसनलाई धेरैबेरसम्म टिकाइराख्छ । यसले अनुहारलाई केकी (फाउन्डेसन अत्यधिक पोतेकोजस्तो) देखाउँदैन । प्राइमरले अनुहारलाई चिल्लो बनाइदिने भएकाले फाउन्डेसन लगाउन निकै सजिलो पनि हुन्छ ।
कसरी लगाउने ?

सनब्लकमा थोरै प्राइमर मिसाएर अनुहारभरी लगाउन सकिन्छ । अथवा सनब्लक लगाइसकेपछि केराउको दाना जति हातमा लिएर त्यसलाई अनुहारभरी लगाउनुहोस् । 

४. त्यसपछि गर्नुहोस् आँखाको मेकअपः
धेरैले आँखाको मेकअप फाउन्डेसन लगाएपछि मात्र गर्नुहुन्छ तर हामी भने यो पहिले नै गर्छौं किनभने आँखाको मेकअप गर्दा हातले पटक पटक छालालाई छोइरहेको हुन्छ,  आइस्याडो झरिरहेको हुन्छ । त्यसैले पुनः फाउन्डेसन लगाउनुपर्छ ।  

अन इभन टोन भएकाले लगाउनुहोस् करेक्टरः
अन इभन टोन अर्थात्, आँखामुनि छालाको एउटा टोन, ओठ वरिपरि अर्कै टोन, गालामा फेरि अर्कै भएकाहरूले करेक्टरको प्रयोग गरेर अनुहारको छालालाई एउटै टोनको बनाउन सक्नुहुन्छ । सुन्तला रङमा पाइने करेक्टर लगाइसकेपछि मात्र फाउन्डेसन लगाउनुहोस् ।

यदि करेक्टर छैन भने रातो रङको म्याट लिपस्टिक अलिअलि लगाउने र त्यसमाथि फाउन्डेसन लगाउँदा पनि टोन एउटै बनाउन सकिन्छ । 

५. फाउन्डेसन लगाउनुहोस्ः
त्यसपछि फाउन्डेसन लगाउनुहोस् । तर मेकअप गर्दा फाउन्डेसन नै लगाउनुपर्छ भन्ने छैन । अनुहारमा धेरै दागहरू नभएका र गोरो वर्ण भएकाले बीबी क्रिम लगाउँदा पनि अनुहार आकर्षक र सुन्दर देखिन्छ । 
धेरैलाई आफ्ना लागि कस्तो फाउन्डेसन उपयुक्त हुन्छ त्यसबारे थाहा हुँदैन । 

फाउन्डेसन कसरी छान्ने ?
छालाको रङ र प्रकार हेरेर फाउन्डेसनको सेड छनोट गर्नुपर्छ । कुनै पनि पसलमा गएर फाउन्डेसनका तीनवटा सेड माग्नुहोस् । हामी नेपालीहरूको वर्ण हल्का कालो हुने भएकाले ‘एल्लो टोन’को फाउन्डेसन म्याच हुन्छ । गोरा मानिसलाई पनि ‘एल्लो टोन’को फाउन्डेसन मिल्ने भएकाले यसका तीनवटा सेड माग्नुहोस् । त्यसपछि तीनवटा बोतललाई आफ्नो अनुहारको साइडमा राखेर हेर्ने । जुन बोतलको फाउन्डेसन आफ्नो छालासँग मेल खान्छ जस्तो लाग्छ, ती बोतल मात्र छान्नुहोस् । त्यसपछि फाउन्डेसन औंलामा लिएर ‘ज लाइन’ गालाको मुनिबाट घाँटीसम्म पुग्ने गरी लाइन कोर्नुहोस् । तीन चार थरीका फाउन्डेसन औंलामा लिएर कोर्दा कुन फाउन्डेसन हाम्रो छालामा राम्रोसँग मिल्छ र देखिँदैन त्यो नै हाम्रा लागि सबैभन्दा उपयुक्त हुन्छ । 

६. पाउडरः
हामी मेकअप आर्टिस्टले ट्रान्सलुसेन्ट पाउडर प्रयोग गर्छौं । यसको कुनै रङ हुँदैन र जस्तो कलर टोनसँग पनि मेल खान्छ । ट्रान्सलुसेन्ट पाउडर लुज र कमप्याक्ट दुवैमा उपलब्ध भए पनि लुज पाउडर प्रयोग गर्न सजिलो हुन्छ । पाउडरले फाउन्डेसनलाई सेट गर्छ । यसले तैलीय छाला हुनेहरूको तेलसमेत सोस्छ । 

७. कन्टोरिङः
अनुहारको कुनै भागलाई छोप्न चाहनुहुन्छ, कसैलाई आफ्नो ठूलो गाला देखाउनु छैन, नाकलाई पातलो देखाउनु छ भने त्यसलाई कन्टोरिङ गरेर मिलाउन सकिन्छ । अनुहारको छालाभन्दा एक वा दुई सेड गाढा रङको कन्टोरिङले लाइन कोरेर आफ्नो अनुहारलाई आफूले चाहेको आकार दिन सक्नुहुन्छ । तर यसका लागि अभ्यासको जरुरी छ । 

८. हाइलाइटरः
अनुहारलाई चम्किलो बनाउन चाहनेले हाइलाइटरको पनि प्रयोग गर्न सक्नुहुन्छ । हाइलाइटरलाई ब्रसमा लिएर आफ्नो अनुहारको उच्च भागमा अर्थात् आँखामुनिको हड्डी, नाकको माथिल्लो भागमा रहेको लामो हड्डी, नाक र ओठको बीचमा उठेको भाग र आँखाको कुनामा लगाउनुहोस् । यसले तपाईंको अनुहारलाई थप आकर्षक बनाउँछ ।


दशैं भनेको खानपिनको चाड हो त्यसकारण खाने क्रममा कतिको लिपस्टिक लत्पतिन्छ र धेरै बेरसम्म टिक्दैन पनि । यसका लागि पनि स्वस्तिकाले टिप्स दिएकी छिन् । 

लिपस्टिकलाई धेरै बेरसम्म टिकाइराख्नः
बजारमा धेरै बेरसम्म टिकिराख्ने म्याट लिपिस्टिक पनि पाइन्छन् । यदि आफूले लगाइराख्ने साधारण लिपस्टिकलाई टिकाइराख्न चाहनुहुन्छ भने पहिलो कोटको लिपस्टिक लगाइसकेपछि टिस्यु पेपरलाई एक पटक ओठले च्याप्नुहोस्, त्यसपछि दोस्रो कोट लिपस्टिक लगाउनुहोस् । अन्त्यमा टिस्युलाई ओठमाथि राख्नुहोस् र त्यसमाथि पाउडर लगाउनुहोस् । 

मेकअप गर्दा नेपाली नारीले कस्ता गल्ती गर्छन् ?

सबैभन्दा पहिला त हामी सस्तो सामग्री प्रयोग गर्छौं । हामीलाई आजकाल सबैभन्दा पहिले निर्णय गर्ने भनेकै हाम्रो अनुहार हेरेर हो । त्यसकारण हाम्रो छालालाई सानो बच्चालाई झैं स्याहार सुसारको आवश्यकता छ । एउटा सामान किन्नुहोस् तर राम्रो क्वालिटीको किन्नुहोस् । राम्रो क्वालिटीको थोरै लगाउँदा पनि पुग्छ, यसको फिनिसिङ पनि निकै राम्रो हुन्छ । 

महिलालाई सन ब्लक, फाउन्डेसन, मस्कारा र लिपस्टिक लगाए मात्र पनि पुग्छ । यति चारथरी राम्रो क्वालिटीको किनियो भने पनि सुन्दरतामा निखार आउनुका साथै छाला पनि स्वस्थ रहन्छ । 

अर्को कुरा हामीलाई गोरो देखिनु नै सुन्दर हो भन्ने लाग्छ त्यसकारण अत्यधिक क्रिम वा फाउन्डेसन पोत्ने गर्छौं तर यसो गर्नु सबैभन्दा ठूलो गल्ती हो । 

यसैगरी धेरैले मेकअप गर्दा आइस्याडोलाई राम्रोसँग ब्लेन्ड गरेको हुँदैन । आजकाल युट्युबको जमाना छ, आइस्याडो कसरी लगाउने भनेर सर्च गर्ने वित्तिकै अनगिन्ती भिडियो ट्युटोरियल आउने गर्छन् । जे कुरा पनि धेरै गर्यो अथवा धेरै लगायो भने राम्रो हुने हो कि भन्ने हाम्रो सोचाइ छ, त्यो एकदम गलत हो । अहिले निकै न्युट्रल, न्युड मेकअप ट्रेन्डमा छ । अहिलेको ट्रेन्डअनुसार मेकअप गरेकै छैन जस्तो देखिन्छ तर वास्तवमा धेरैथरी सौदन्र्य सामग्री लगाइएको हुन्छ । 

आँखाको मेकअप गर्दा यसो नगर्नुहोस्ः

यदि कसैले हरियो रङको लुगा लगाइरहनुभएको छ भने आइस्याडो पनि हरियै रङको  लगाउनुहुन्छ । यसो नगरेर न्युट्रल सेड, पिच टोनका आइस्याडो लगाउन सकिन्छ । यसमा खैरो रङका विभिन्न सेड पनि पर्छन् ।

यस्तै, आँखाको मुनि गाजल लगाउनेहरूले त्यो नबगोस् भन्नका लागि पाउडर लगाउने गरेको पाएँ । तर हामीले यसको साटो नटल्किने (म्याट) आइस्याडो एयर बडको सहायताले आँखामुनि लगाउन सक्छौं । जस्तै हरियो कुर्ता लगाएको छ भने आँखाको माथि न्युट्रल सेड गरेर मुनिपट्टी हल्का हरियो रङले सेड गर्न सक्छौं । तर रातो लुगा लगाएको छ भने आँखामुनि रातो नलगाउनुस्, कसैले कुटेको जस्तो देखिन्छ । 

त्यसो भए के गर्ने त ?

रातो लुगा लगाएको खण्डमा आँखाको अघिल्तिर सिल्भर कलर, स्याम्पेन कलर अथवा सेतो कलर लगाउन सकिन्छ र आउटर कर्नर (आँखाको बाहिरी भाग) मा म्याटमा ‘रेडिस ब्राउन’ अथवा ब्ल्याकले डबल सेड दिन सक्छौं । 

आँखा ठूल्ठूला देखाउनः
आँखाको पेरला मज्जाले कर्ल गर्ने र मस्कारा लगाउने । एक  कोट मस्कारा लगाएर त्यसलाई एकछिन सुक्न दिने र दोस्रो कोट मस्कारा लगाएको खण्डमा परेला लामो र बाक्लो देखिन्छ । परेलाले पनि आँखालाई सुन्दर देखाउन निकै सहयोग गर्छ । 

धेरैको सोच मेकअप धेरैसम्म टिकोस् भन्ने नै हुन्छ । यसका लागि मेकअप स्प्रे, सेटिङ स्प्रे वा फिक्सरको प्रयोग गर्न सकिन्छ । स्प्रे लगाउँदा चार घण्टा टिक्ने मेकअप ६ घण्टासम्म पनि टिक्ने गर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता कार्की
सरिता कार्की

सरिता कार्की रातोपाटीकी डेस्क सम्पादक हुन् ।

लेखकबाट थप