केन्द्रीय संस्करण

सागा : ह्वेर आई लस्ट माई स्टिक

person access_timeअसोज १५, २०७५ chat_bubble_outline0

बाटो उही तर मनस्थिति फरक । दार्चेनबाट सागा फर्किंदै गर्दा फेरि एक पटक आँखाभरी मानसरोवर अटाउने अवसर पायौँ । 

मानसरोवर किनारको होरमा सुकेका माछा र चराका नङ्ग्राहरू देख्यौँ । अरू थुप्रै जडीबुटी पनि बेच्न राखिएका थिए । 
‘के हो यो ?’ मैले सोधेँ । 

‘मानसरोवरका माछाका आँखा चराले खाइदिए र यतै कतै छाडिदिए । यी तिनै माछा हुन् । विश्वास अनुसार यी माछा स्तुत्य छन् र यसको औषधीय महत्व छ । खासगरी गर्भवती महिलाका लागि यो निकै लाभदायक मानिन्छ । बाजका नङ्ग्राहरू पनि बिक्रीका लागि राखिएका हुन् । यिनको पनि उस्तै औषधीय र धार्मिक महत्व छ रे’, विमलजीले भने । 

‘यात्रामा के होला ? यात्रा सफल होला कि नहोला ?  सकुशल फर्कौंला कि नफर्कौंला ? शरीरले साथ देला कि नदेला ?’, जाँदाको जस्ता यस्ता आशङ्का बाँकी थिएनन् । 

कैलाश र मानसरोवरसहितको तिब्बत यात्राबाट फर्केको खुशीयाली घरभरी सुनाउने हुटहुटी सुरु भइसकेको थियो । साथीभाइलाई भेटेर काठमाडौँ–कैलाश कोरा कथा कहिले कहुँला भइसकेको थियो । 

यो एउटा मनको कुरा थियो । मेरै अर्को मनले भनिरहेको थियो– ‘कैलाशतिरै अझ केही दिन बिताएर अनेक अनुभव सँगाल्न पाए पनि हुन्थ्यो ।’ मसँग अरू १८ दिनको भिसा बाँकी नै थियो । चार जना यात्री दार्चेनमै थिए । तर उनीहरूसँगै केही दिन बिताएर कैलाशको इनर परिक्रमा गर्ने जाँगर ममा बाँकी थिएन । 

 

नेपाल छाडेको थुप्रै दिन भइसकेकाले त्यसको न्यास्रोपन यात्राका दिन र छिनहरूमा आइरहेका थिए । जसरी केही दिनअघि मलाई कैलाशले बोलाएको थियो । मानसरोवरले बोलाएको थियो, अहिले नेपालले झनै बोलाइरहेको थियो । 

सर्पको ढाडजस्तो सडकमा तिब्बती गीत बजाउँदै तीव्र गतिसहित गुडिरहेको गाडीको सिसाबाट बादलसँग मिसिएको हिमाल हेर्नु कम आनन्ददायक थिएन । पर आकाशतिर मात्र होइन, गाडीभित्र पनि उस्तै बादल थियो । त्यो चुरोटको धुवाँको बादल थियो । छिनछिनमा चुरोट सल्काउने ड्राइभर गाडीभित्र फिक्स्ड एस्ट्रेमा खरानी झार्ने गथ्र्यो । 

सडकमा धेरै रगतपच्छे भएका मृत चराहरू देखेँ । बत्तीमा झुम्मिएर पुतली मरेझैँ, मान्छे भनेपछि निकै झ्याम्मिने तिब्बती चरा झन्डै १ सय २० किलोमिटर प्रतिघण्टाको स्पिडमा दौडिरहेको गाडीमा ठोक्किएर मर्दारहेछन् । मानवप्रतिको आकर्षण वा प्रेम नै तिनको प्राण त्यागको कारण बनेको देख्दा उकुसमुकसको भकारी भयो मन ।
यात्रा हो, सुखद् दुखद् दुवै अनुभव गर्न पाइन्छ नै ।

गुडिरहेको गाडीमा तिब्बती गीतहरू बदलिँदै गइरहेका थिए । दृश्य पनि गीतजस्तै फरक फरक । तर ती सबले उस्तै आनन्द दिइरहेका थिए । एक्कासि बेतोडको पानी पर्न थाल्यो । सडकमा बेला बेला क्रस हुने ठूला मालबाहक गाडीका चक्काले भुइँको पानी उडाएर वातावरण कुहिरीमण्डल भइरहेको थियो । धुवाँको अनवरत मुस्लोजस्तो गाडी निर्मित बाक्लो कुहिरो मेरा लागि नौलो थियो ।  

ड्राइभरसँग मेरो संवाद भइरहेको थियो तर संवाद भाषाको थिएन । छिनछिनमा ऊ मतिर हेरेर हाँस्थ्यो । म पनि त्यसैगरी हाँस्थे । बेलाबेला फाट्टफुट्ट बोल्नेबाहेक सहयात्रीहरू पनि चुपचाप यात्राको आनन्द लिँदै थिए । 

बेलाबेला परपर र सडकछेउ देखिने भेडा र याकको बथान । क्षितिजसम्म फैलिएका पठार । आकाशमै टुङ्गिएको देखिने सडक । बीचबीचमा चाइनिज अक्षर लेखिएका ठुल्ठुला राता गेट । बुद्धिस्ट र चाइनिज झण्डाहरू । बादलको बदलिँदो प्रवृत्ति । हिमाल र आकाश । मोटरबाइक र साइकलयात्री । छतबिनाका टेम्पो चलाइरहेका स्थानीय । खोला र खोल्साहरू । यात्रामा बगिरहेका दृश्यहरू थिए ती ।

बेरिएका कपडाका ठुल्ठुला डल्लाहरू कैयौं किलोमिटरसम्म लगातार देखेँ । पछि थाहा भयो, त्यो त सडकमा ओछ्याउनका लागि पो रहेछ ! नभन्दै केही किलोमिटर क्रस गरेपछि कपडा ओछ्याइएको सडक आयो । हाम्रो गाडी बीसौं किलोमिटर कपडामाथि गुडिरहेको थियो । निर्माण सम्पन्न हुँदै गरेको सडकलाई दीर्घजीवी बनाउन त्यसो गरिएको रहेछ । मेरा लागि त्यो दृश्य पनि नौलो थियो । 

एउटा सानो बजारजस्तो बस्ती आयो । ड्राइभरले एक्कासी गाडी साइड लगायो । मैले ठानेँ, गाडीमा सायद केही खराबी आएछ । ऊ त छेउको पसलमा गयो । फर्केर आउँदा उसको ओठमा सल्किरहेको चुरोट थियो । उसको एउटा हातमा जुस बक्सहरू अनि अर्को हातमा कोक र चुरोटको बट्टा थियो । हतारिँदै गाडीतिर आएको उसले हामीतिर एक–एकवटा जुस बक्स फालिदियो र आफूचाहिँ चुरोटसँग कोक तान्दै गाडी विगतकै गतिमा गुडाउन थाल्यो । हामीले खुवाउनुपर्नेमा उल्टो उसले पो हामीलाई खुवायो । 

 

बानी नपरेकाले होला, मलाई तिब्बती जुस मन परेन । तर उसले सत्कारस्वरूप दिएको जुस नमीठो लागे पनि मीठो मानेर खाएझैं गरी बल्लबल्ल बुत्याएँ । बेस्वादको भए पनि त्यो जुसमा बाँडेर खाने र खुवाउने तिब्बती संस्कृति मीठो गरी मिसिएको थियो ।  

रेडिमेड लञ्चका लागि सबै गाडीहरू एकै ठाउँ रोकिए । एसीवाला गाडीको तातोबाट चौर झर्दाझर्दै चिसोले मुक्का हान्न थाल्यो । पिसाब फेरिसक्दा नसक्दै मेरो शरीर लुगलुग काम्न थालिसकेको थियो । केही यात्री त चिसोले गर्दा लञ्च खान गाडीबाट झर्दै झरेनन् । 

लञ्च सुरु भयो । तिब्बती स्टाफहरू भेडाको हो वा चौँरीको आकार नमिलेको मासुको डल्लोलाई पालैपालो चक्कुले चिरेर चोक्टा निकाल्दै खाइरहेका थिए । 

रिङ्गै पलेटी मारेर बसेका उनीहरूले मलाई त्यही लन्च स्टेसनमा बोलाए । मासु चिरेर खान भने । त्यो उनीहरूको सप्रेम सत्कार थियो तर मैले विनम्रपूर्वक अस्वीकार गरेँ । त्यो कहिलेदेखिको मासु थियो ? सायद हप्तौँदेखि उनीहरू त्यसलाई त्यसरी नै काटेर खाइरहेका थिए । खाएर बाँकी भएको मासुलाई हड्डीसहित उनीहरूले प्याक गरे र गाडीमा राखे । 

त्यो उच्च पठारमा फेरि गाडी गुड्न थाल्यो । पानी पर्ने अनि रोकिने, बादल लाग्ने अनि फाट्ने, हिमाल देखिने अनि छोपिने यस्ता अनेकानेक प्रकृतिका खेल हेर्दै दिनभर मैले आँखा खुलै राखेँ ।  सडक छेउ बेलाबेला भेटिने तालमा आकाशले ऐना हेरिरहेको थियो ।

पहाडहरूमा मैले मेरा प्रियहरूका अनुहार देखेँ । त्यो मभित्र मैले कल्पेको आकृति थियो कि पहाड बनेर मलाई मेरा प्रियहरूले दिएको प्रेम र आशीर्वाद !? मैले त्यहाँ मेरो स्वर्गीय बुबाको अनुहार देखेँ । मैले त्यहाँ अर्जुन दाइको अनुहार देखेँ । मानसरोवरमा आँखा चिम्लिएर मन्त्रध्वनि सुनिरहँदा जजसका आकृति मेरो मनमा आएका थिए, मैले ती सबको अनुहार ती पहाडहरूमा देखेँ । तर मानसरोवरमा जसरी मेरो आँखा आँशुले भरिएनन् त्यहाँ ।

उज्यालैमा हामी शान्त सहर सागा पुग्यौँ । कैलाश जाँदै गर्दा फिफा वल्र्डकप २०१८ को फाइनल म्याच हेरेकै होटलमा बस्यौँ । संयोगले मलाई उही ८१०२ नम्बरको कोठा परेछ । 

डिनरपछि दिनभरको अनुभूति टिपोट गर्न डायरी खोजेँ । तर डायरी कतै भेटिएन । म छाँगाबाट खसेजस्तै भएँ । मलाई राम्ररी याद थियो, होटलको रिसेप्सनसम्म मसँगै डायरी थियो । मैले डायरीलाई अझ राम्ररी सम्झने प्रयास गरेँ । 

गाडीबाट ओर्लेर हातैमा डायरी बोकेर म रिसेप्सनमा आएको क्षण झन सघन भएर सम्झनामा आयो । केही बेर यात्रीहरूसँग गफिएँ । त्यसपछि कोठाको साँचो लिएर लिफ्टबाट माथि उक्लेँ । एक छिन कोठामा गएर बेडमा पल्टिएँ । त्यसपछि म किचेन झरेँ । नेपाली गाइड र किचेन ब्वाइहरूसँग यात्रा र यात्रीबारे अनेक सुखदुखका कुरा गरेँ । त्यसपछि म रातको ११ बजेतिर कोठामा उक्लेँ । 

डायरीको खोजीमा मैले यी घटना पटक पटक सम्झेँ । तर सम्झनामा डायरी रिसेप्सनसम्म मात्र आयो । मध्यरात म रिसेप्सन झरेँ । लिफ्ट ओर्लें । किचेन गएँ । जहाँ गएँ खोजखाज र छामछुम गरेँ । तर डायरी भेटिएन । 

रिसेप्सनमा एउटा चाइनिज थियो । उसलाई इसाराले डायरी हराएको सूचना दिएँ । उसले तत्कालै वाकिटकीबाट होटलका स्टाफलाई डायरीबारे सोधखोज गर्यो । कसैले पनि केही भन्न सकेनन् । 

मध्यरातमा उसले मलाई बिस्कुट र चाइनिज चुरोट अफर गर्यो । मैले दुई पिस बिस्कुट खाएँ र आफैसँग भएको चुरोट सल्काएँ र निराश भएर कोठातिर उक्लेँ । 

मैले डायरीमा झन्डै पचास पाना कैलाश यात्राका ससाना घटना सम्झेर भरेको थिएँ । ती केवल अक्षर थिए तर ती मेरा लागि अमूल्य थिए । 

म बेडमा पल्टिएँ । आँखाभरी डायरी थियो । मन बेचैन भयो । 

मैले कैलाशप्रति यात्रीका अद्भूत आस्था देखेको थिएँ । मैले तिनै आस्थालाई सम्झेर कैलाशलाई चुनौती दिएँ, ‘यदि मेरो डायरी भेटिएन भने, हेर कैलाश तिमीप्रति मेरो विश्वास रहने छैन ।’  

निकै बेरपछि एउटा अनौठो सान्त्वना मिसिएको शान्तिसहित सोचेँ, ‘यदि डायरी भेटिएन भने ‘सागा ः ह्वेर आई लस्ट माई डायरी’ शीर्षकमा म तिब्बतको यात्रा स्मृति लेख्नेछु ।’ 

फेरि पनि निद्रा लागेन । झ्याल खोलेर झ्यालबाट देखिएजतिको सागालाई हेरेँ । रातमा पनि सागा सडकमा बत्तीहरू बलिरहेका थिए । अन्धकारमा बलेका ती बत्तीले मलाई सम्झाए । म अलि शान्त भएँ ।

झ्याल बन्द गरेर बेडमा आएँ । शान्ति फेरि कता हरायो ! तल सडकतिर जाऊँ भनेर म कोठाबाट निस्केँ । रातको १ बजिसकेको थियो । कोठाको ढोका पटक पटक लाउने खोल्ने गर्दा छेउको कोठाको जोडी पनि ब्युँझेछ । उनीहरू म भएतिर आए । क्यानेडियन जोडी हाम्रै समूहका यात्री थिए ।

उनीहरूलाई मैले डायरी हराएको सुनाउँदै आफ्नो निराशाको मनोदशा बताएँ । कैलाशलाई चुनौती दिएको कुरो पनि बताएँ ।

‘कैलाशप्रति अविश्वास नगर । तिमीले तिम्रो डायरी पक्कै पाउँछौँ । भोलि हिँड्ने बेलासम्म तिमीले डायरी पाउनेछौँ । यदि पाएनौँ भने तिमीले डायरीमा लेखिएभन्दा झन् राम्रो लेख्नेछौ, धैर्य गर’, भावुक भएर उनीहरूले सम्झाए ।

त्यसपछि म कोठा फर्कें । कोल्टै फेर्दाफर्दै कतिखेर निदाएँ ? थाहै भएन ।

बिहान सखारै आँखा खुल्यो । डायरी चिन्ता उस्ताको उस्तै थियो । ब्रेकफास्ट टाइममा यात्रीहरूबीच मेरो डायरी हराएको सूचना अफिसियल्ली अनाउन्स गरियो । सबले मेरा डायरीमाथि अनेक प्रश्न गरे । 

कसैले डायरीको रङ सोधे ।

कसैले डायरीको मोटाइ सोधे ।

कसैले कति पाना लेखिएको थियो भनेर सोधे ।

कतिले डायरीमा के लेखिएको थियो भनेर सोधे ।

हराएको डायरी सेलिब्रेटी जस्तै भएको थियो । 

एउटा जोडीले देरापुकबाट जुटुलपुक हिँड्ने दिन आफूहरूको महँगो मोबाइल हराएको सम्झँदै मोबाइलभन्दा पनि त्यसमा भएको कैलाशको फोटोको चिन्ता ग¥यो । 

अर्को जोडीले देरापुकमै पारदर्शी शिवलिङ्गलगायतका पूजा सामग्रीसहितको झोलै हराएको दुखी हुँदै बतायो । वास्तवमा ती दुवै जोडी मलाई सान्त्वना दिन आफ्नो दुःखद खबर सुनाइरहेका थिए ।  
अनेक तरहले यात्रीहरू मलाई सम्झाए । तर म हराएको डायरी मात्र सम्झिरहेको थिएँ ।

भारी मन लिएर म कोठामा गएँ । केही मिनटमै हामी सागा छाड्दै थियौँ । त्यसमा मलाई कुनै दुख थिएन । दुख त एउटै कुरामा थियो, साँगासँगै म डायरी पनि छाड्दै थिएँ । बन्दोबस्तीका सबै सामान ब्याकप्याकमा प्याक गरेर बोक्नै लाग्दा मलाई कैलाशको आशीर्वाद प्राप्त भयो । मैलै डायरी भेट्टाएँ । डायरी त ब्याकप्याककै कापमा मज्जाले बसिरहेको रहेछ ।

डायरीका कारण मैले तनाव पाएँ । डायरी भेट्टाएर खुशी भएँ । कोठामा कोही थिएन । मैले कोठासँगै खुशी मनाएँ । मैले कोठाभित्रै कैलाश पाएँ र खुशीले चिच्याएँ, ‘सागा  ः ह्वेर आई गट माई डायरी ।’ 
खुशीले मनलाई नचाउँदै म होटलबाट बाहिरिँदै गर्दा रिसेप्सनको चाइनिजलाई डायरी देखाएँ । ऊ पनि निकै खुशी देखिन्थ्यो । 

गाडीमा मलाई कुरिरहेका यात्रीलाई मैले गाडी चढ्नुअघि नै डायरी देखाएँ । मेरो खुशीमा ती सबको अनुहार उज्यालिएको देखेँ । केही किलोमिटर अगाडि बढेपछि सम्झेँ, मैले त मेरो स्टिक सागामै बिर्सेछु ।
निलो रङको स्टिक मेरो हिमाली यात्राको साथी थियो । उसले मसँग दुई पटक लाङटाङ र एक पटक गोसाइँकुन्ड यात्रासहित अहिले कैलाश कोरा सँगसँगै गरेको थियो । अझ भनुँ भने ऊ मभन्दा सधैँ एक कदम अगाडि हुन्थ्यो । 

ठ्याक्कै ‘यो मेरो टेक्ने यो मेरो छेक्ने परिआएको बेला पुर्पुरो सेक्ने’ भनाइ चरितार्थ गर्ने थियो त्यो स्टिक । जमानामा स्कुटर एक्सिडेन्टमा परेर मेरो घुँडा चर्केको बेला सशक्त सहारा बनेको थियो त्यो । त्यसले दिएको साथलाई म सधैँसधैँ ससम्मान सम्झिरहने छु । 

‘सागा : ह्वेर आई लस्ट माई स्टिक’, मैले मनमनै भनेँ ।

यो पनि पढ्नुहाेस्

 

कैलाशका कथा र किंवदन्ती 

कैलाशको काखकी डोल्मालालाई चुम्दा

अद्भूत कैलाश : छुने मख्ख, हेर्ने पनि मख्ख !

दार्चेनदेखि देरापुकसम्मको आकाश र धर्तीका लीला

मनोरम मानसरोवरमा भेटिइन् मनमोहिनी

सागामा कल्याणीलाई हाइले हान्यो

केरुङमा 'राष्ट्रपति सी' सँग सेल्फी

सीमानामा देश दुख्दा

पासपोर्ट हराउँदाको पिरलो

ल्हासासँग मोहनी थियो तर बोलाई डोल्मालाले

घाम नलागे पनि बादलको सेतोले परिवेश उज्यालिएको थियो । गाडीको अगाडिको सिसाबाट शीतजस्ता पानीका थोपाहरू वाइपरले भटाभट हटाउँदै थियो । विस्तारै हल्का पानी पर्न थाल्यो । मुस्कानी ड्राइभर म्युजिकको जबरजस्त लभर थियो । उसले गाडीको स्पिडसँगै तिब्बती गीतको भोलुम पनि बढायो । त्यसपछि छेउबाट बट्टाको चुरोट झिकेर ओठमा च्याप्यो । खल्तीबाट लाइटर झिकेर गाडीको स्पिडबीच नै उसले सल्कायो । छेउको कोकको बिर्कोलाई एउटा हात र दाँतको सहायताले खोल्यो । ठीक त्यही बेला खण्डहरजस्तो भत्किएको एउटा घर उसको झ्यालबाट देखियो । अगाडि पहाडका टुप्पाहरू हिऊँ बोकर हिमाल बनिरहेका थिए । गीत र गाडी गतिमान थिए । यी सबै अटाउने गरी मैले रफ भिडियो पनि खिचेँ । 

तिब्बती जीवनको एउटा सुन्दर तस्बिर खिँचेको सन्तुष्टि अनुभव भयो । भूगोल, सीमा, सपना र जीवन जिउने कलाको त्यो विशिष्ट अवस्था थियो ।    

एक छिनमा पिच नगरिएको बाटो भेटियो । निर्माणाधीन त्यो बाटोबाट हामी केरुङतिर तन्किँदै थियौँ । कोङताला आइपुग्नुअघि घुमाउरो उकालो सुरु भयो । त्यहाँबाट झर्दाको नागबेली ओरालो गज्जबको थियो । तलतल झर्दै गर्दा अनेक रङ, प्रकार र प्रजातिका फूल र घाँसहरू देखिन थाले । गाईहरू देखिन थाले । किरा–फट्याङग्रा र स्थानीय पुतलीहरू देखिन थाले । हरियो देखिन थाल्यो । हावामा वनस्पतिको बासना आउन थाल्यो । 

सुरुमा केरुङ छाडेर सागा जाँदै गर्दा जसरी अर्कै धर्तीमा उक्लेजस्तो लागेको थियो, तल झर्दै गर्दा ठ्याक्कै उल्टो भइरहेको थियो । जति जति माथि गयो, उति उति रूख साना हुँदै गएका थिए । साना, अझ साना र अझ धेरै साना हुँदै रूखहरू हराएका थिए । फर्किंदा त्यसरी नै जति तलतल आयो क्रमशः अग्ला, अझ अग्ला र झन् अग्ला रूखहरू देखिन थाले । क्रमशः हरियो, अझ हरियो र झन् हरियो आउन थाल्यो । उचाइको अप्ठ्यारो निकै कम भइसकेको थियो । हरियोले ‘ब्याक टु लाइफ’को स्वर मनभरी बजाइरहेको थियो ।

केरुङ आइपुग्नै लाग्दा सडक छेउमा नेपाली स्टाइलका थुप्रै घरहरू देखिए । केरुङ आसपासको क्षेत्र चीनको तिब्बती भूभाग भए पनि त्यहाँ नेपाली वासना आइरहेको थियो । नेपाल अनुभूति भइरहेको थियो । केरुङको मुखमै आइपुग्दा नेपाली नम्बर प्लेटका थुपै्र ट्रकहरू बाटा छेउछाउमा देखिए । ट्रकका रङ्गीन ढाडहरूमा नेपालका अनेक तस्बिर र डाइलग थिए । कुनैमा नेपालको झन्डा थियो । कुनैमा बुद्ध थिए । कुनैमा सगरमाथा थियो । 

होटल पुगेको एक छिनमा बाहिर निस्कियौँ । कुरुङछेउको शान्त सडकमा ब्याटम्यान्टिन खेलिरहेका दुई केटीहरू हामीलाई भन्दै थिए, ‘नमस्ते ।’ 

‘मलाई सबैले सीता दिदीको नामले चिन्छन्’, तिब्बती चियाले सत्कार गर्दै अर्की एक जना बुढीआमाले भनिन् । उनको नाम मात्र नेपाली नभई भाषा पनि कुनै नेपालीको भन्दा कम थिएन । म छक्क परेँ । उनी होटल बसेको घरकी साहुनी रहिछन् । उनले केही वर्षका लागि चिनियाँलाई होटल भाडामा दिएकी रहिछन् । 

अलि तल बुद्धिस्ट झन्डाहरूले सिँगारिएको एउटा झोलुङ्गे पुल रहेछ । पुलबाट तल हेर्दा चोभारको गल्छी त केही पनि होइन भन्ने लाग्यो । पुलमुन्तिर निकै गहिरोमा चेप्टिएर बगेको पानी देखेरे आङै सिरिङ्ग भयो । 

 

दुई नेपाली केटाहरू अर्को एकजना स्थानीय केटोसँग त्यतै कतै झ्याप भएर फर्किरहेका रहेछन् । 

दुईमध्ये एउटा नेपाली केटो भन्दै थियो, ‘दाइ डिस्को जाने हो ? तपाईंलाई फ्री ।’ ऊ केरुङभन्दा अलि माथिको डिस्कोमा डिजे रहेछ । 
अर्को पटक आउँदा ‘जाउँला है’ भनेर म बिदा भएँ । उनीहरू एउटै मोटरसाइकलमा तीनैजना हुँइकिए । 

साँझ पर्दै जाँदा केरुङ बजार दुलही झैँ रङ्गीन हुन थाल्यो । सानो बजारमा निकैवटा ट्राफिक लाइट थिए । ती सबले उचित ढङ्गले काम गरिरहेका थिए । 

नेपाल र चाइना टाइममा दुई घन्टा १५ मिनेटको फरक रहेछ । त्यो अफिसियल घडीको टाइम थियो । नेपाली घडीमा सात बज्दा केरुङ, सागा, मानसरोवर, दार्चेन, देरापुक, जटुलपुक मात्र होइन, विशाल चीनको जुनसुकै भूभागमा सवा नौ बज्दोरहेछ ।

चीनको राजधानी बेइजिङ र कतिपय भागमा त्यो समय सूर्याेदय र सूर्यास्तको हिसाबले मिल्दो होला । तर कैलाश यात्राका क्रममा पुगेका ठाउँहरूमा कुनै पनि हालतमा मिलेको थिएन, बेलुका ९ बजेसम्म पनि उज्यालै हुन्थ्यो । त्यहाँ नेपाली टाइम नै व्यावहारिक थियो । त्यसैले केरुङ –कैलाश–केरुङ कोरा अवधिभर मैले मोबाइलमा नेपाली टाइम नै कन्टिन्यु गरेँ ।
 

अशोक सिलवाल

पत्रकार/ लेखक  तथा   टुर-ट्रेकिङ गाइड  सिलवाल लाङटाङ सद्भावना दूत पनि हुन् ।  उनी  नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल मेनेजमेन्ट (नाथम) का ट्रेकिङ प्रशिक्षकसमेत रहेका छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ