केन्द्रीय संस्करण

सीमानामा देश दुख्दा

person access_timeभदौ २२, २०७५ chat_bubble_outline0

पटक पटक दोहोर्‍याएको ‘ऊँ नम शिवाय’ मन्त्रको कोरसबाट दिन प्रारम्भ भएको थियो । तर ‘सोचेजस्तो हुन्न जीवन’ भनेजस्तै भयो हामीलाई । 

स्याफ्रुबेसीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको व्यापारिक नाका केरुङ पुग्ने योजना थियो । 

प्राय घण्टा–आधा घण्टाको फरकमा सबले एकसाथ ‘ऊँ नम शिवाय’ भन्दा गाडीभित्रको वातावरणमा एउटा विशेष भाइब्रेसन उत्पन्न भइरहेको अनुभूति हुन्थ्यो । उत्साह यति भरिएको थियो, सबका अनुहार चम्किला थिए । गाडीभरि मुस्कान थियो । एकले अर्कोलाई हेर्नेबित्तिकै मुसुक्क हाँस्थे । वार्तामा उस्तै फ्रेसनेस र इनर्जी । कैलाश र मानसरोवरका अनेक किस्सा र किंवदन्ती सुन्दै–सुनाउँदै यात्रा कैलाशतिर नजिकिँदै थियो । तर नेपालको सीमाना काटेका थिएनौं । 

छेउको खोला बर्खे गड्गडाहट निकालेर बगिरहेको थियो । सडकवरपर गाँजाका हरिया बोटहरू प्रशस्त देखिन्थे । ‘शिवजीलाई मनपर्ने भएकाले पनि बाटामा यसरी गाँजाका बोटहरू भेटिएका होलान्’, हाँस्न र हसाउनलाई नारायणजीले भने । हरियोले पहाडहरू छपक्कै ढाकिएका थिए । 

एक घण्टा पनि लागेन, हामी टिमुरे पुग्यौं । एकाध घण्टा बसेर भोक नलाग्दा नलाग्दै पनि लन्च खायौं । स्याफ्रुमै केही समयअगाडि मात्र ब्रेकफास्ट खाएका थियौं । त्यो दिन केरुङसम्म मात्र पुग्नुथियो । तर केरुङ पुगेर लन्च गर्नु व्यावहारिक हुन्थेन । बोर्डरबाट पास हुन कति समय लाग्छ भन्न सक्ने स्थिति थिएन । 

टिमुरेस्थित अध्यागमन कार्यालयले हाम्रो पासपोर्टमा नेपाल छाडेको छाप लगाइदियो । त्यहाँबाट ५ मिनेट हिँडेर पहिलो पटक म नेपाल–चीन बोर्डर पुगेँ । रसुवागढी पुगेँ । रसुवागढीमा चीन साइडको ठूलोे कार्यालय र गेटलाई पृष्ठभूमि पारेर खिचिएका फोटाहरू धेरैले फेसबुकमा राख्ने गरेकोले त्यो ठाउँ मेरो लागि देखिरहेको तर पहिलो पटक पुगेको स्थान बन्यो । मलाई के थाहा त्यहाँ हामीले घण्टौं बिताउनु पर्नेछ ।


दिनको २ बजेर ७ मिनेट गएको थियो । डायरीमा टिप्न थालेँ, ‘नेपाल–चीनको बोर्डर पुलमा छौं । एकातिर चीनको गेट छ । अर्कोतिर नेपालको गेट नै छैन । पहाडको दुवैतिर नदी छन् । दुई नदीको दोभानबाट तिब्बत सुरु हुन्छ । नेपालको पहाड र चीनको पहाडबीचमा एउटा अङ्ग्रेजी ‘भी’ आकारको आकाश छ, जहाँ आकाशको नीलो कम र बादलको सेतो बढी देखिएको छ । भी आकारका नेपाल–चीनको संयुक्त दुई आकाशमुनि नेपाल–चीन पुल छ र हामी ५६ जना घण्टौंदेखि पुलमा छौं । टिमुरेमाथि पनि त्यस्तै आकाश देखिन्छ तर त्यो पूर्णत नेपाली आकाश हो ।’ 

हाम्रै छेउमा चाइनिज सेक्युरिटी केटी थिई । नो मेन्स ल्यान्डमा खटिएकी सेक्युरिटी केटी । ऊ पद्मिनी प्लस चित्रिणीको योग थिई तर हाँस्थी हल्का पाराले तर गहिरो आँखाले पुलको एक छेउबाट अर्को छेउ हिंड्थी । निकै पातलो शरीरकी, हावाले उडाउलाजस्ती ! उसको अनुहार निकै सफा देखिन्थ्यो । 

केही बेरपछि अर्कै आइसकि छ, उस्तै राम्री । ऊ त झन् हँसिली समेत थिई । निकै सग्ला मसिना औंलाहरू । 

यता नेपाल साइडको चेकिङमा मलाई नेपाली सेक्युरिटी केटीले इन्डो मले भन्ठानिछ । 

‘खोलो अपना ब्याग’, उसले भनेकी थिई । 

‘हुन्छ । भइहाल्छ नि’, मैले नेपालीमै भनेपछि उसले भनी, ‘सरी ! दाइ । म कस्तो झुक्किएँछु ।’

ऊ मात्र झुक्किएकी होइन । मेरो छालाको रङ्ग नै त्यस्तै भएकोले होला ठमेलबाट कलङ्की आइपुग्दा म चढेको गाडीको हेल्परले पनि मैले नेपाली बोलेको सुनेपछि भनेको थियो, ‘दाइ त नेपाली पो हुनुहुँदोरहेछ ।’ हेल्पर भाइ त्यही कुरा सम्झेर दिनभर मसँग आँखा जुध्नेबित्तिकै हाँसेको हाँस्यै गरेको थियो ।    

आकाश उस्तै भए पनि अनि पहाड उस्तै भए पनि फरक देश थियो पुलयता र पुलउता । पुलको बीचमा हामी नेपालका थियौं । हामीसँगै नेपालबाट गएका अरू थुप्रै देशका थिए । तर ऊ उताकी थिई । 

सुरुमा बताए अनुसार मेरो र विमलजीको भिसा प्रकृयामा केही अवरोध भएकोले हामी झन्डै दुई घण्टा पुलमै बसिरह्यौं । नदीको ‘उर्मिला’ पानी उस्तै चञ्चल र हल्लाखोर थियो । नेपालपट्टिको चट्टानी पहाड कापकापबाट रसाइरहेको थियो । 

रसुवाढीको पुलमा एउटा मलेले मलाई नेपाल देखाउँदै सोध्यो, ‘के त्यो पनि देश हो ?’

हाम्रो साइडमा ट्वाइलेटसम्म थिएन । पुलको नेपालपट्टिको भाग पूरै धराप थियो । जालीजस्तो थियो पुल । चाइना साइडमा गेट मात्र आधुनिक र ठूलो थिएन, तौरतरिका उन्नत थियो ।

‘एक्जाम्पल अफ ग्रेट कन्ट्रास्ट’, सहयात्री डा. स्वामीले भन्यो । ऊ एकदम सही थियो । त्यति बेला मलाई नेपाल दुख्यो । नेपाली नेतृत्वको अकर्मन्यता दुख्यो । 

एउटा समय थियो रे, जहाँ सीमानमा दुवैतिर स्थिति उस्तै थियो । एकजनाको भिसामा अर्को मान्छे तिब्बत छिर्न सक्थ्यो । कति पटक त्यस्तो भएको पनि थियो रे । तर हाम्रो आँखा अगाडिका दृश्यमा आकाश जमिनको फरक थियो । हामी जहाँको तहीँ । उनीहरू कहाँबाट कहाँ !   

पुल नजिकै रसुवागढी छ, जसले विगत नेपाल, तिब्बत र चीनको व्यापार, युद्ध र हारजीतका कहानी आफुमा सुरक्षित गरेको छ । म ऐतिहासिक गढी नियाल्न पुगें । त्यहाँ एउटा शिलालेख रहेछ । 

ऐतिहासिक स्थल रसुवागढी शीर्षक राखेर छेउको बोर्डमा लेखिएको थियो, ‘रसुवागढी प्राचीनकालदेखि नेपाल र भोटबीच चल्ने व्यापारको प्रमुख मार्गको रुपमा रहिआएको छ । यो मध्यकालको उतराद्र्धसम्म पनि प्रमुख व्यापार मार्ग र केन्द्रको रुपमा कायम रहेको देखिन्छ । उत्तरबाट लिङ्दे र पश्चिमबाट केरुङ खोला मिलेर भोटेकोशी बनेको छ । यी दुई खोलाको संगमनजिक रसुवागढी निर्माण भएको छ । बहादुर शाहको समयमा भएको नेपाल भोट युद्धबाट भोटको सहायताको लागि यही बाटो हुँदै आएका चिनियाँ फौजले नेपालीहरुलाई हराउँदै बेत्रावतीसम्म पुगेको थिए । त्यसैगरी जंगबहादुरको पालामा भएको नेपाल–भोट युद्धमा तिब्बतीलाई हराएपछि नेपाली फौज गढीको बाटो हुँदै केरुङ र दिगर्वसम्म पुगेका थिए । त्यसै युद्धको समय (वि.सं. १९१२) मा यस गढीको निर्माण भएको हो । रसुवागढीको नामबाट नै रसुवा जिल्लाको नाम रहन गएको हो । यो गढी हाल लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्छ ।’    

 

 म पुलमा फर्कें । उतापट्टि हामीलाई लिन भनेर तिब्बेतियन गाइड र गाडी आइसकेका थिए । तर उनीहरूलाई भेट्न हामीले चाइनाको चेकिङ पार गर्नुपथ्र्यो । के पुगेन ? के भएन ? हामीलाई पुलको आधाबाट अगाडि बढ्ने अनुमति अझै प्राप्त भइरहेको थिएन । 

कोही गफिइरहेका थिए । कोही पुलमै उँघ्न थाले । बाला त पुलमै निदाएछ । निदाएको उसलाई मैले मेरो मोबाइलमा पनि कैद गरेँ । 

हावा यता र उता गरिरहेका थिए । बादल पनि त्यसरी नै गैरसीमाना उडिरहेको थियो । चराहरू पनि यताबाट उता र उताबाट यता उडिरहेका थिए । चीनतिरबाट यताको नदीमा पानी बगिरहेको थियो । न त भिसा न त परमिट । तर हामी हात–हातमा भिसा भएर पनि त्यो दिन नो मेन्स ल्यान्डभन्दा अगाडि जान सकेनौं ।

अन्त्यमा जानकारी प्राप्त भयो, ‘तिब्बतीयन एजेन्टले आवश्यक कागज उपलब्ध गराउन नसकेकाले आज चीन प्रवेश सम्भव छैन ।’ भोलिपल्ट फस्र्ट आवरमा पक्का हुन्छ भन्ने खबरसहित टिमुर्केको टिमुरझैं हामी पुलबाट नेपाल साइड फक्र्यौं र सीधा टिमुरेको लञ्च गरेकै होटल आयौं ।

उत्साह रोकिएको थियो । यात्रीहरूका अनुहार एकतमासका भएका थिए । तर हामीलाई खासै फरक पर्नेवाला थिएन । यति मात्र हो, दुई रातको सट्टामा केरुङमा एक रात बस्नुपर्ने भयो । उच्च भूगोलमैत्री शरीर निर्माणका लागि आइटेनरीमा दुई रात राखिएको थियो । तर म औधी खुशी थिएँ, नेपाल–चीनको संयुक्त पुलमा हामी घण्टौं बस्यौं । बस्न पायौं । बीचमा बसेर दुई देशका समानता र भिन्नतालाई नियाल्न पायौं । के त्यो अवसर होइन ? अन्यथा त्यहाँ त्यसरी कहाँ बस्न पाइन्थ्यो सामान्यतया ?

अजङ्गका पहाडहरूबीच अवस्थित टिमुरे सीमानाछेउका कारण आफ्नो पुरानो लय भत्काउँदै निकै व्यापारिक बन्न थालिसकेको रहेछ । टिमुरे मात्र किन ? वरपरका अरू ठाउँहरू व्यापारिक अनुहार लिएर ‘आँ’ गरिरहेका जस्ता देखिन्थे । आयातमुखी प्रभाव स्थानीय भूगोलमा मात्र होइन, स्थानीयहरूमा पनि प्रष्टै देखिन्थ्यो । पहिरोमा झुन्डिएका जस्ता देखिने ठाउँहरूमा ठुल्ठुला र फराकिला खालका संरचनाहरू भटाभट बनिरहेको हिजैदेखि देख्न थालिसकेका थियौं । त्यो विकास त थियो तर त्यसभित्र जीवन जोखिममा परेको पनि प्रष्टै देखिन्थ्यो । 

रात पर्दै गएपछि फेरि भोड्का नखाई भएन । अघिल्लो दिनजस्तो क्वाटरले हामीलाई पुगेन । एक प्लेट फ्रेन्च फ्राई, दुई प्लेट ग्रेभी चिकेन, केही लसुनका पोटी र दुइटा अकबरे खुर्सानीसँग दुई भाइ मिलेर एक हाफ नै सिध्यायौं । त्यसपछि बाहिर खाना खाँदै गरेकी किशोरी डोमासँग गफिन थालेँ म । रसुवास्थित राम्चेकी ऊ टिमुरेको होटलमा किचेन गर्ल रहिछ । आमा पोइल गएपछि बाबु पनि अर्कैसँग लाग्यो रे ।

‘म हजुरबुवा र हजुरआमालाई सहारा दिएर बसेको छु । गाउँमा जग्गा पर्याप्त छैन । त्यसैले कामका लागि यहाँ आएकी हुँ । खाइबसी मासिक ८ हजार रुपियाँ कमाउँछु । त्यो पैसाले घरमा नुन तेलको जोहो हुन्छ’, उसको कथा त्यतिमै सकिएन, ‘यहाँ आएको ५ महिना भयो । साहुले ३ महिनापछि तलब बढाइदिन्छु भनेको थियो तर तलब उत्तिको उत्ति नै छ । यो महिना पनि बढाएन भने काठमाडौं जान्छु ।’

काठमाडौंमा उसले पहिले गलैंचा कारखानामा काम गरेकी रहिछ । त्यसपछि केही महिना नयाँ बसपार्क छेऊको होटलमा पनि काम गरी रे । 

‘पैसा त राम्रो कमाइ हुन्थ्यो तर काठमाडौंको धुलो, धुँवा र फोहोरले बस्न मन लागेन । तर, यहाँ तलब बढाइदेन भने काठमाडौं जान्छु’, यथास्थितिको असन्तुष्टिसँगै पोख्दै उसले विकल्प सुनाई । 

भूकम्पलगत्तै राम्चेमा पुनर्निमाणका लागि बालुवा बोकेर उसले राम्रै कमाइ पनि गरेकी थिई रे । भन्दै थिई, ‘त्यसैबाट कमाएको पैसाले गाउँमा एउटा सानो घर पनि बनाएको छु ।’

उसको गफले हो कि रूपले हो, मलाई मोहनी लगाइसकेको थियो । 

‘बिहे गर्छयौँ ?’, फ्याट्ट मैले सोधें । 

‘कोसँग ?’, उत्साहित भएर उसले सोधी ।

‘मसँग’, मैले भनेँ ।

‘लौ, तपाईंको अझै बिहे भएको छैन ?’, उसले आश्चर्य मिसाएर सोधी ।

‘किन नहुनु ?’, मैले ढुक्कको जवाफ फर्काएँ ।

‘त्यसो भए कसरी तपाईंसँग बिहे गर्नु ?’, बिहे नभएको भए बिहे गर्न तयार भइसकेझैं भएर उसले भनी ।  

‘के फरक पर्छ र । भइहाल्छ नि !’, मैले त्यसो भन्दा ऊ मज्जाले हाँसी । ऊ हाँसेको हेरेर म झनै मख्ख परें । उता डाइनिङमा यात्रीहरू शिवभजनको कोरसमा मग्न थिए । 

म पनि भजनमण्डलीमा मिसिएँ । स्वर नमिलाए पनि उनीहरूसँग ताली बजाउन थालेँ । हल्का लागेको बेला शिवभजन झन् सुन्दर लाग्दोरहेछ ।

यो पनि पढ्नुहोस्

पासपोर्ट हराउँदाको पिरलो

ल्हासासँग मोहनी थियो तर बोलाई डोल्मालाले

अशोक सिलवाल

पत्रकार/ लेखक  तथा   टुर-ट्रेकिङ गाइड  सिलवाल लाङटाङ सद्भावना दूत पनि हुन् ।  उनी  नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल मेनेजमेन्ट (नाथम) का ट्रेकिङ प्रशिक्षकसमेत रहेका छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ