केन्द्रीय संस्करण

कैलाशका कथा र किंवदन्ती

person access_timeअसोज १२, २०७५ chat_bubble_outline0

जुटलपुक ब्युँझिसकेको थियो । तर, ऊ गुम्बाजस्तै शान्त थियो । 

हामीले कैलाश कोरालाई बिहानैदेखि कन्टिन्यु गर्यौँ । लक्ष्य फत्ते गर्ने मनोविज्ञानले राम्ररी काम गरेको थियो । ‘दार्चेन पुगेपछि पवित्र कैलाश कोरा पुरा हुनेछ’, भनेर यात्रीहरू हौसिएका थिए । 

हामीले जम्माजम्मी १५ किलोमिटर जति हिँडे पुग्थ्यो । बाटोमा उकालो ओरालो पनि खासै थिएन । सन्तुष्टि र उत्साहमा सजिलोपन थपिएर यात्रीहरू मख्ख थिए ।  

कैलाश कोराको चौथो दिन । दुई रात देरापुकमा बसेकाले चौथो दिन सरासर हिँडेको भए कैलाश कोरा तीन दिनमै पूरा हुन्थ्यो । दिनको के हिसाब गर्नु र ?  कैलाश कोरा पूरा गरेर हिसाब गरेर साध्य नलाग्ने खुशी जो प्राप्त गर्दै थियौँ । 

अलि ओर आइपुग्दा एउटा सानो फुच्चे साइकल चलाउँदै थियो । छेउमा एउटा घर थियो । सायद साइकलवाला फुच्चेको घर थियो त्यो । याक र घोडाहरू त बाटाभरि कति थिए कति  तर निकै दिनपछि पहिलो पटक मैले साइकल देखेको थिएँ । सामान्य भए पनि मलाई त्यो दृश्य विशेष लाग्यो । 

अझ नदीको किनारमा त्यसभन्दा पनि विशेष दृश्य देखियो । तीनवटा घोडाहरू साथीजसरी सँगै थिए । त्यसमध्ये एउटा घोडाले चमत्कार गर्दै थियो । ऊ बङ्लङ्ग लड्यो र उत्तानो परेर लडीबुडी खेलिरह्यो । अरू दुई घोडाले पनि उसकै सिको गरे । म हेरेको हेरै भएँ । खासमा घोडाले आराम गर्ने तरिका रहेछ त्यो । 

बाटोमा यात्रीहरू कैलाशका अनेक कथा र किंवदन्ती सुनाउन तँछाड मछाड गर्दै थिए । एक यात्री भन्दै थिए, ‘कैलाशको भित्तामा मैले मेरा जीवनका कथाहरू पढेँ ।’ 

अर्का यात्री भन्दै थिए, ‘साक्षात् शिवको नै दर्शन पाएँ ।’ 

‘मैले पार्वती माँको दर्शन पाएँ’, एउटीले भनिन् । 

‘मैले गणेश र उसको वाहन मुसा देखेँ’, अर्कीले थपिन् ।

‘मैले कुमारको वाहन मयुर देखेँ’, अर्कोले सुनाए ।

‘मैले डमरु पो देखेँ’, अर्कीले सुनाइन् ।

अर्को भन्दै थिए, ‘मैले चाहिँ त्रिशूल देखेँ’ । 

‘मैले झलझलाकर शिवलिङ्ग देखेँ’, झन् अर्काले थपे ।

यात्री सुयसले उनीहरू सबैको भन्दा भिन्न अनुभव सुनाए, ‘मैले त केवल कैलाश देखेँ र म खुशी छु, मैले यो यात्रा गरेँ ।’ 

कैलाश भन्नु मूलतः कैलाशको नर्थ फेस हो । विश्वमा कैलाशको जो इमेज छ, त्यो कैलाशको नर्थ फेस नै हो । दुई नाङ्गा फुस्रा पहाडका बीचमा चट्ट परेको अद्भूत कैलाशको नर्थ फेस । जसलाई हामी गुगल गर्दा र युट्यव खोल्दा त्यही दृश्य प्राथमिकतामा देख्न सक्छौँ । 

‘यो नर्थ फेस भन्ने सबै चीज नै पपुलर हुन्छ कि क्या हो ? कैलाशको नर्थ फेस मात्र होइन, नर्थ फेस ब्रान्डका ज्याकेटलगायत ट्रेकिङ गियर पनि पपुलर छ’, मैले हाँस्दै भनेँ ।

रिबोक, नाइक, एडिडास, रेबन आदि हुँदै नर्थ फेससम्मको विभिन्न ब्रान्ड मैले सम्झिएँ । तीमध्ये ठमेलमा नर्थ फेस मात्र नभएर नर्थ फेसका नाममा नर्थ फेकको बजार निकै मौलाएको साथीहरूले बेलाबेला चर्चा गर्ने गरेको सम्झे । ठमेलमै किनेको मैले लाएको ज्याकेट नाम मात्रको नर्थ फेस थियो वा त्यो नर्थ फेस नभएर नर्थ फेक थियो तर कैलाशको नर्थ फेस ओरिजिनल थियो । त्यो भव्य थियो तर त्यसबारे पनि विभिन्न अड्कल, अनुमान र आख्यान सुनेको थिएँ । 

‘कैलाश आदि मानवद्वारा निर्मित अद्भूत दरबार हो । त्यहाँभित्र अहिले पनि आदि मानव आफ्नै सभ्यतासहित बाँचिरहेका छन्’, एक जनाले किंवदन्ती सुनायो । 

उसले कथालाई अझ अगाडि बढायो, ‘एक पटक एकजना यात्री देरापुक आइपुग्यो । मध्यरातमा कैलाशतिरबाट आएको ठूलो असाधारण आवाजले ऊ ब्युँझियो । बाहिर आएर हेर्दा केही देखेन । त्यसपछि ऊ एउटा निष्कर्षमा पुग्यो, सजीव कैलाशभित्र विचित्रको एउटा अलग दुनियाँ छ । त्यसमाथि महान शोध हुनुपर्छ ।’ 

अर्कोले थप्यो, ‘होइन, यो त प्रकृतिको अद्भूत सिर्जना हो ।’ 

अर्कोले भन्यो, ‘हो, हो, प्रकृतिमा आदिकालदेखि रहँदै आएको शिवशक्तिस्वरूप हो ।’

अरूले अनेक अनेक भने । जस्तो, 

– यो ऊँ पर्वत हो । शिरबाट हिउँ बग्यो भने त्यहाँ ऊँ देखिन्छ ।

– यो स्वर्गको सिँढी हो । 

– यो ज्ञान र शक्तिको केन्द्र हो । 

– यो जीवन्त पर्वत विश्वस्तम्भ हो ।

– यसका चारै दिशा फरक माणिक माणिक्यबाट बनेका छन् । 

– आजसम्म कोही पनि चढ्न नसकेको यो पर्वतभित्र सप्तऋषि निरन्तर तपस्यारत छन् । अरू थुप्रै महान साधक पनि अहिले यहाँ तपस्या गर्छन् तर हामी तिनलाई देख्न सक्दैनौँ ।

– तिब्बतको पश्चिम–दक्षिणी भूभागमा अवस्थित कैलाश (६७१४ मिटर) हिन्दु, बौद्ध, बोन र जैन गरी चार धर्मावलम्बीको महान तीर्थ अर्थात तीर्थहरूको पनि तीर्थ महातीर्थ हो । त्यति मात्र होइन, यो देवता र दानव दुवैको आस्थाको केन्द्र हो । मानवको त नहुने कुरै भएन । 

–कैलाश र मानसरोवरको गर्भमा मुक्तिचक्र छ । महावीरले मानसरोवर क्षेत्रमा तपस्या गरेर मोक्ष प्राप्त गरे । सिद्धार्थलाई जन्माउनुअघि माता मायादेवीले मानसरोवर स्नान गरेकी थिइन् । रामायणमा उल्लेख भएअनुसार सयौँ वर्ष लगाएर पनि कैलाश र मानसरोवरको पर्याप्त र उचित व्याख्या गर्न सकिँदैन ।

– कैलाश पर्वत आत्माको अन्तिम गन्तव्य र अध्यात्म केन्द्र हो ।

– साहस र आस्था दुवै भएपछि मात्र यो यात्रा गर्न सकिन्छ । कैलाश परिक्रमा गर्नु साक्षात शिवलाई प्राप्त गर्नु हो । 

– कतिले भनेका छन्, कैलाशको १ सय ८ परिक्रमा गरे जीवन–मृत्युको चक्रबाट मुक्ति पाइन्छ, मोक्ष प्राप्ति हुन्छ । कैलाशको एक पटक मात्र परिक्रमा गरे पनि जीवन धन्य हुन्छ र जीवनका समग्र पापबाट मुक्ति मिल्छ । 

– दुनियाँको केन्द्र हो, ६ पर्वतमालाले घेरिएको यो पर्वत । 

यात्रामा रहस्यमयी कैलाशबारे यस्तै यस्तै अनेक कल्पनाख्यान चलिरह्यो । सुन्दा पनि छुट्टै ऊर्जा र आस्था उत्पन्न हुन्थ्यो ।  

खरायोजस्ता मुसा र अनेक प्रजातिका चराहरू हाम्रै छेउ डुलिरहेका थिए । बाटाभरी सिस्नुका बोटमा निकै मोटा र छोटा खालका पातहरू थिए । आकाशभन्दा माथि देखिने गोरेटोमा हिँड्दै किचेन ब्वाइले भन्यो, ‘सिस्नुको सुप निकै तागतिलो हुन्छ । खाने हो ?’

यात्रामा त्यो अवसर भने कहिल्यै जुरेन । खाने भन्दाभन्दै यात्रा सकिँदै थियो । त्यो तागतिलो परिकार चाख्ने धोको अधुरै रहे पनि कैलाश कोराका क्रममा देखिएका तिब्बती चरा, चौंरी, घोडा, मुसा, पुतलीहरू मीठा सम्झना बनेर मेरो मनमा सदा सदा बसिरहने छन् ।  

बाटोमा धुलो र धुवाँ थिएन । वातावरण प्राकृतिक थियो तर पनि मैले मास्क लगाएको थिएँ । मास्कले त्यहाँको सिरेटोको चिसो छेकेको अनुभव भइरहेको थियो । 

हामी लगातार हिँडिरहेका थियौँ । एउटा हातमा बोरा र अर्को हातमा फोहोर उठाउने अंकुशे स्टिक बोकेकी बाटो सफा गर्ने तिब्बती केटी भेटिई । कैलाशमार्गको सफाइमा आधिकारिक रूपमा खटिएकी ती केटीले टाउकोमा ऊनको टोपी र मुखमा मास्क लगाएकी थिई । ऊ तिब्बती परिहनमा निकै खुलेकी पनि थिई । 

अलि अगाडि पुग्दा एउटा हातमा लौरो र अर्को हातमा मालाका गेडाहरू गन्दै हिँडेका स्थानीय तिब्बती तीर्थयात्री महिला भेटिए । मैले फटाफट फोटो खिच्दा उनीहरू झनै हाँसेर अगाडि बढे ।   

हामी दार्चेन नजिक पुग्दै थियौँ । थकाइ लागे पनि केही बेरमा होटल पुगेर आराम गर्न पाइने सोचले हाम्रो स्पिड घट्न पाएको थिएन । त्योभन्दा पनि कैलाश कोरा पूरा हुँदै गरेको खुशीले शरीर र मन दुवै निकै हलुका हुन थालिसकेको थियो । 

हाम्रा कतिपय सहयात्री अझ पनि घोडामा थिए । बाटामा केही तिब्बती भेटिए, जो दुई खुट्टा र दुई हात टेकेर घस्रँदै थिए । उनीहरूका दुवै खुट्टामा मात्र होइन, हत्केलाहरूमा पनि चप्पल थिए । साँच्चैको कैलाश कोरा विधि रहेछ त्यो । 

यो पनि पढ्नुहोस्

कैलाशको काखकी डोल्मालालाई चुम्दा

अद्भूत कैलाश : छुने मख्ख, हेर्ने पनि मख्ख !

दार्चेनदेखि देरापुकसम्मको आकाश र धर्तीका लीला

मनोरम मानसरोवरमा भेटिइन् मनमोहिनी

सागामा कल्याणीलाई हाइले हान्यो

केरुङमा 'राष्ट्रपति सी' सँग सेल्फी

सीमानामा देश दुख्दा

पासपोर्ट हराउँदाको पिरलो

ल्हासासँग मोहनी थियो तर बोलाई डोल्मालाले

दार्चेन पुग्दा घाम पहेँलिन सुरु गरिसकेको थिएन । तर हाम्रो कैलाश कोरा पूरा भइसकेको थियो । यात्राको उद्देश्य सकुशल पूरा भइसकेको थियो । 

टुर लिडर बालाले प्रत्येक यात्रीको साहस र समर्पणको कथा कहँदै सबैलाई एकएक गरी खादा ओडाएर अभिनन्दन ग¥यो । यात्रीहरू खुशीले बोल्न सकिरहेका थिएनन् । उनीहरूका आँखा हर्षका आँशुले टम्म थिए ।

होटलबाहिर चिटिक्कका क्युरियो सपहरू थिए । एउटा पसलमा महिला यात्रीहरू झ्याम्मिरहेका थिए । मैले परिवार सम्झेँ र दार्चेनको चिनो किन्न म पनि त्यहीँ पुगेँ । सहयात्री दिव्यानीले आफूले मनपराएको सामान किन्न केही पैसा नपुगेको भन्दै पसल्नीले सुन्ने गरी मसँग सापट मागी । 

 

‘ठीकै छ । नपुगे म हालिदिउँला’, मैले भनेँ ।

तर उसले सुनेको नसुन्यै गरी ।

निकै जिद्धी गरेर उसले मनपराएको सामान आफ्नै भाउमा किनेरै छाडी । 

दिव्यानी र उसका साथीहरू होटल फर्के । डिनर टाइममा उनीहरूसँग फेरि भेट भयो । सबका अगाडि दिव्यानीले मलाई पाठ पढाई, ‘पसलमा यदि कुनै केटीले सामान किन्दै गर्दा पैसा नपुगेको भनी भने कहिल्यै आफूसँग पैसा छ भन्न हुन्न, बरु सीधै छैन भन्नुपर्छ । त्यो मूल्य घटाउने ट्रिक हो ।’ 

‘तिमीलाई त्यति त थाहा होला भन्ठानेर मैले तिमीसँग पैसा सापट मागेको थिएँ । तर तिमी सोझो मात्र होइन, मूर्खसमेत रहेछौ’, उसले थपी ।

दिव्यानीका ‘दिव्यवाणी’ सुनेपछि यात्रीहरू मलाई हेरेर हाँसिरहेका थिए ।

 

 

अशोक सिलवाल

पत्रकार/ लेखक  तथा   टुर-ट्रेकिङ गाइड  सिलवाल लाङटाङ सद्भावना दूत पनि हुन् ।  उनी  नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल मेनेजमेन्ट (नाथम) का ट्रेकिङ प्रशिक्षकसमेत रहेका छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ