मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

एकै परिवारका ११ सदस्यको मृत्युका ११ अनुत्तरित प्रश्नहरु

मङ्गलबार, १९ असार २०७५, ०९ : २७
मङ्गलबार, १९ असार २०७५

मोहम्मद शाहिद बीबीसी

पूर्वी दिल्लीको सन्त नगर बुराडी इलाकामा आइतबार एकै परिवारका ११ सदस्य संदिग्ध अवस्थामा मृत पाइएको घटना निकै जटिल बन्दै गइरहेको छ ।

पुलिसले यसबारे हत्या र आत्महत्या दुबै कोणबाट अनुसन्धान गरिरहेको छ । दिल्ली पुलिसको क्राइम ब्रान्चले सोमबारको सुरुवाती पोस्टमार्टम रिपोर्टको आधारमा उनीहरुले सामूहिक आत्महत्या गरेको हुनसक्ने बताएपनि अपराध महाशाखाका संयुक्त पुलिस आयुक्त आलोक कुमारले अहिले नै कुनै निष्कर्षमा पुग्ने नसकिने स्पष्ट पारेका छन् ।

सोमबार मौलाना आजाद मेडिकल कलेजमा सबै ११ शवको पोस्टमार्टम भएको छ । परिवारका सबै सदस्यले आँखादान गरेका थिए तर ६ जनाको मात्र आँखादान गर्न सकियो ।

घटना भएको दुई दिन बितिसक्दा यसबारे उठेका विभिन्न प्रश्न जटिल बन्दै गइरहेका छन् । आउनुहोस्, ११ यस्तै प्रश्नबारे जानकारी लिऔं ।

पहिलो प्रश्नः

भाटिया परिवारको नामले चर्चित यो परिवारमा सबैभन्दा वृद्धा नारायण देवी (७७) को शव अर्को कोठाको भुइँमा भेटिएको थियो । उनका जेठो छोरा भवनेश उर्फ भुप्पी (५०), अर्का छोरा ललित (४५) र उनीहरुका श्रीमती सविता (४८) र टीना (४२) झुण्डिएका थिए । भुप्पीका दुई छोरीहरु र एक नाबालिग छोराका सागै ललितका १५ वर्षे छोरा पनि मृत भेटिए ।

आइतबार बिहान जब पहिलो प्रत्यक्षदर्शी गुरचरण सिंह घरमा जाँदा उनले १० जना झुण्डिएको अवस्थामा देखेका थिए । उनका अनुसार घरको सबै कोठा खुल्ला थिए । पुलिसले यसलाई आत्महत्या बताइरहेको छ, यदि यस्तै हो भने यो घरको ढोका कसरी खुल्ला थिए ?

दोस्रो प्रश्नः

हत्याको एंगलबाट पनि अनुसन्धान गरिरहेको पुलिसले आइतबार घरबाट दुईवटा रजिस्टर भेटे जसमा आध्यात्मिक र मौक्षसँग सम्बन्धित कुराहरु लेखिएका थिए ।

दिल्ली पुलिसका अनुसार यसमा जुन प्रकारले हात, मुख र आँखामा पट्टी बाँध्ने कुरा गरिएको छ, केही शवमाथि ठिक त्यही तरिकाले पट्टी बाँधिएका थिए । सबैभन्दा ठूलो प्रश्न यो उठ्छ कि के यो परिवारले यो रजिस्टरको हिसाबले नै सामूहिक रुपमा आत्महत्या गरेका थिए ?

तेस्रो प्रश्नः

सबैभन्दा वृद्ध महिला नारायण देवी अर्को कोठामा मृत पाइएकी थिइन् जबकी सबैजना एउटा कोठामा झुण्डिएका थिए । यीमध्ये कसैको हात खुल्ला थिए ।

के हात खुल्ला भएकाले सबैभन्दा पहिले घटना घटित गराएको र पछि आत्महत्या गरेका थिए ?

चौथो प्रश्नः

यदि परिवारले सामूहिक रुपमा आत्महत्या गरिरहेको थियो भने किन कसैले विरोध गरेनन् । पुलिसका अनुसार कुनै पनि शवमा चोटको निशान भेटिएन ।

हालै जून १७ मा नारायणकी नातिनी प्रियंका (३३) को इन्गेजमेन्ट भएको थियो र चाँडै नै विवाह हुँदैथियो । यस्तो ठूलो कार्यक्रम अघि के परिवारले सामूहिक रुपमा आत्महत्या गर्न सक्छ ?

पाँचौं प्रश्नः

छिमेकीका अनुसार यो परिवार निकै धार्मिक थिए । छिमेकी सीमाले बीबीसीलाई यो परिवारको सबै सदस्य सत्संग र पूजा पाठमा निकै मन लगाएर भाग लिने गरेको जानकारी दिइन् । उनले भनेकी थिइन् कि उनीहरु आफ्नो किराना पसल बाहिर निकै ‘राम्रा विचार’ लेख्ने गर्दथे ।

यो परिवारको जेठो छोरा भवनेश किराना पसल चलाउँथे । छिमेकीका अनुसार यो परिवार पूजा पाठ नगरी सुत्दैनथे । के अत्यधिक धार्मिक भएका कारण उनीहरुको ज्यान गयो ?

छैटौं प्रश्नः

घरमा मोक्ष र विभिन्न क्रियाकर्म लेखिएका रजिस्टर भेटिएपछि यो परिवार तान्त्रिक क्रियामा संलग्न भएको अड्कल गरिँदैछ । तर छिमेकीका अनुसार उनले कहिले पनि कुनै पुजारी र तान्त्रिकजस्ता व्यक्तिको आवतजावत देखेनन् ।

यस्तोमा प्रश्न यो उठ्छ कि अनुसन्धानलाई मोड्नका लागि यस्तो योजना बुनिएको हो ।

एकै परिवारका ११ को शव भेटियोः बिहान पसल नखोल्दा छिमेकीले देखे भयानक स्थिती

सातौं प्रश्नः

यो परिवारसँग कुनै तान्त्रिक वा पंडित जोडिएको कुरा अहिलेसम्म सार्वजनिक भएको छैन तर छिमेकीका अनुसार यो घरका कान्छा छोरा ललितको कुनै रोगका कारण आवाज गुमेको थियो ।

त्यसपछि उनीहरुले थुप्रै धार्मिक क्रियाकलापको साहारा लिएपछि उनको आवाज फिर्ता भएको थियो । के यो घटनापछि यो परिवार निकै धार्मिक भएको थियो र कसैबाट प्रेरित भएर वा कसैको प्रभावमा आएर परिवारले सामूहिक रुपमा यस्तो कदम उठाए ?

आठौं प्रश्नः

रजिस्टरमा लेखिएका अक्षर ललितको भएको बताइएको छ । त्यसो भए के उनीमात्र यो तन्त्रमन्त्रमा विश्वास गर्दथे ?

उनीहरुको घरको पर्खालको बाहिरी भागमा ११ वटा पाइट बाहिर निस्किएका छन् जसको कुनै पनि प्रयोग देखिएको छैन ।

यो घर बनाउने ठेकेदारले पहिचान नबताउने शर्तमा ललित भाटियाको आग्रहमा उक्त पाइप राखेको बताएका छन् । ललितले ठेकेदारलाई यसो गर्दा बाहिरको हावा घरभित्र आउने बताएका थिए ।

यी ११ वटा पाइप किन राखिएका थिए । यीमध्ये सातवटा पाइप घुमेका थिए भने चारवटा सिधा थिए र सबै एउटा खाली जग्गातर्फ निस्किएका थिए ।

के ‘मोक्ष’ पाउन एकै परिवारका ११ सदस्यले गरे आत्महत्या ?

नवौं प्रश्नः

दिल्ली पुलिसले यो रजिस्टरमा तन्त्रमन्त्रको क्रियाको आधारमा यसलाई आत्महत्यासँग जोडको छ जबकी दोस्रो एंगल अहिलेसम्म सार्वजनिक गर्ने कोसिस भएको देखिँदैन ।

के पुलिसले यसलाई अन्धविश्वासको एंगलबाट नै सुल्झाउने कोसिस गरिरहेको छ वा के उनीहरुले हत्याको कुनै सुराग भेटेका छैनन् ?

दशौं प्रश्नः

भाटिया परिवारका आफन्तले उक्त परिवार सम्पन्न भएको बताएका छन् । आफन्तका अनुसार उनीहरुले आत्महत्या गर्नै सक्दैनन् त्यसो भए आफन्तको भनाई अनुसार यसलाई हत्या भन्ने त ? यो पनि अर्को प्रश्न हो ।

एघारौं प्रश्नः

पूरा परिवार पछिल्लो २० वर्षदेखि बुराडीमा बस्दै आएका थिए । नारायण देवीकी एक विवाहित छोरी सुजाता पनिपतमा छिन् र अर्का छोरा राजस्थानमा  । यो परिवारको कुनै ठूलो सम्पत्तिबारे पनि जानकारी भेटिएको छैन ।

उनीहरु एक संयुक्त परिवारमा बस्थे, यस्तो यदि यो हत्या हो भने यसको कारण के थियो । यसको जवाफ पुलिसले खोज्नै पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप