शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

हिजो बिहानै झलनाथ ‘रेस’ बाट बाहिरिएका थिए, साँझ नतिजामात्रै आयो

बुधबार, २३ फागुन २०७४, १३ : ४०
बुधबार, २३ फागुन २०७४


कृष्ण गिरी 
काठमाडौं –एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल अन्ततः राष्ट्रपतिको उम्मेदावार बन्नबाट वञ्चित भए । 

२२ गतेसम्म कुनै पनि अवस्थामा पछाडि नहट्ने बरु मतदानमा जान तयार बनेका खनाल एकाएक पछाडि हटे । 

२२ गते बिहान साढे आठ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा ६ जना नेताहरूको बैठक बसेको थियो ।

बैठकमा केपी ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोख्रेल र सुवास नेम्वाङ ।

स्रोतका उक्त बैठकमा केपी ओली र भलनाथ खनालबीच बाजाबाज भएको थियो । 

सुरुमा ओलीलेले ‘मैले विद्यादेवी भण्डारीलाई वचन दिइसकेको छु । त्यही भएर उहाँलाई नै राष्ट्रपति बनाउन भन्ने प्रस्ताव गरेको स्रोतले बताए ।’

करिब ढेड घण्टासम्म चलेको उक्त बैठकमा ओलीले खनाललाई कन्भिन्स गर्न वर्तमान राजनीतिक परिस्थिति, पार्टी एकताको सन्दर्भलाई पनि जोडेका स्रोतले बतायो । 

वचन दिइसकेको शब्द सुनेर खनाल ओलीमाथि खनिएका थिए । 

खनाललाई उद्धृत गर्दै स्रोतले भन्यो– ‘पार्टी अध्यक्षलाई एकलौटी वचन दिँदै हिँड्ने अधिकार कसले दियो ? पार्टी, सङ्गठनमा छलफल नै नगरी कसरी वचन दिनुभयो ? तपाईंलाई थाह नै छ, स्थानीय तहदेखि राष्ट्रपतिसम्म नयाँ जनादेशअनुसार जानुपर्छ भन्ने कुरा बिर्सेर वचन दिँदै हिँड्ने ?’

पुनः ओलीले खनालका कुरा सुनेर कन्भिन्स गर्न थाले । 

उनले ‘माओवादीका नन्दकिशोर पुनको पनि व्यवस्थापनको कुरा जोडिएको छ । एकताको कुरा छ । त्यही भएर मिलेर जानु नै उपयुक्त हुन्छ । हामी ६ जना मिलेर टुङ्ग्याउँ अनि स्थायी समितिमा पास गराउँला । अब पार्टीमा गुट नबनाउने, मिलेर जाने’ भन्दै खनाललाई कन्भिन्स गरे । 

ओलीले गरे आत्मआलोचना

पार्टी अध्यक्ष भएदेखि एकलौटी रूपमा पार्टी र पहिलो पटक सरकारको नेतृत्व गरेका केपी ओलीले ‘अहिलेसम्म जेजस्तो भए पनि अबबाट तपाईंहरूसँग सल्लाह गरेर मात्र निर्णय गर्छु’  भने ।

बिहानको बैठकमा ओली रक्षात्मक थिए भने खनाल आक्रामक । 

खनाललाई ओलीले फकाउँदा माधव नेपालभने चुपचाप बसेका थिए । 

खनाललाई ओलीले बिहानै सरकारमा अब कुन–कुन मन्त्री बनाउने, अब सरकारका हरेक पदहरू भागबण्डाको आधारमा टुङ्ग्याउने वचन दिएपछि खनाल ओलीप्रति सकारात्मक भएका थिए ।

माधव नेपाल बिहानैदेखि खनालको पक्षमा बोलेनन् । 

खनालले नेपाल र बामदेव गौतमले आफ्नो पक्षमा बोल्छन् भनेर सोचेका थिए तर दिनको झल्को बिहानीले दिन्छ भनेझँै खनाल बिहान नै एक्लै परेका थिए । 

हिजो पनि उधारो भागबण्डामा चित्त बुझाएका छन् । 

ढेड घण्टा बसेर छुट्टिएका नेताहरू पुन छ बजे बालुवाटारमा स्थायी समितिको बैठकमा उपस्थित भए । 

उपस्थिति नेताहरूले पहिला  माधव नेपालको जन्मदिन मनाए । 

स्थायी समिति बैठकमा खनालको पक्षमा आफूलगायत ८ जनाले आफ्नो मत राखेका थिए । 

उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष युवराज ज्ञावली, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्राई, सुरेन्द्र पाण्डे, भीम आर्चाय र गोकर्ण विष्ट । 

खनालको पक्षमा बोल्ने नेताहरूले खनाललाई राष्ट्रपति बनाउनुपर्ने आआफ्ना तर्क राखेका थिए । 

खनालको पक्षमा बोल्ने यी अन्य ७ जना नेताहरूले ‘सेरमोनियल’ पदमा एउटै व्यक्ति दोहोर्याउनु हँुदैन भनेको एक स्थायी समिति सदस्यले बताए । 

आफूलाई ३ नं. प्रदेशको मुख्यमन्त्री हुनबाट रोकेकोमा अध्यक्षप्रति उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बैठकमा सबैभन्दा चर्को रूपमा प्रस्तुत भएकी थिइन् । 

उनले ओलीलाई आफूलाई कुन कारणले मुख्यमन्त्री हुनबाट रोकेको र विद्यालाई कुन कारणले दोहोर्याउनु परेको बताइन् । 

भुसाले मौखिक रूपमा नै नोट आफ डिसेन्ट राखेका छन् । उता ४ नं. प्रदेशका मुख्यमन्त्री रहेका पृथ्वीसुब्बा गुरुङले घुमाउरो भाषा प्रयोग गरेका थिए । 

गुरुङले भनेका थिए, ‘दुई पार्टीबीच एकता हुँदै छ । झलनाथ खनाल जस्तो प्रधानमन्त्री, महासविच र अध्यक्ष भइसक्नु भएको व्यक्तिको अब झन एकीकृत पार्टीमा खाँचो छ । त्यही भएर उहाँलाई सक्रिय राजनीतिमा नै राख्नुपर्छ ।’

जसको भर गरेका थिए उनै ओलीको पक्षमा 

खनालले हिजोसम्म माधवकुमार नेपालको भरमा आफूलाई राष्ट्रपतिको उमेदावारका लागि तयार बनाएका थिए । 

तर जब नेपाल नै ओलीको पक्षमा बोल्न थाले त्यसपछि खनाल उनी पछाडि हटेको उनी निकट नेताले बताए । 

ती नेताले भने– ‘यो पटक सबैभन्दा बढी धोका नेपालबाट भयो । उहाँ उल्टै मलाई नै फकाउन थाल्नुभयो । अनि म अल्पमतमा परेँ । अल्पमतमा परेर निर्णय गराउनुभन्दा बहुमतमा नै निर्णय गराउन सहज लाग्यो । त्यही भएर बहुमतको निर्णय मानेको हुँ ।’ 

बामदेव गौतमभने मौन बसेर नै समय बिताएका थिए । 

२२ गतेभन्दा पहिला खनाललाई बैठकमा अडान लिन भने पनि निर्णायक समयमा मौन बसेर ओलीको समर्थन गरेका थिए । 

जति भने पनि यो पटक अन्तिम समयमा झलनाथ खनाल मन्त्री मण्डलदेखि अन्य पदमा उधारो सम्झौता गरेर पछाडि फर्केका छन् । 

उता नेपाललाई पनि ओलीले अबको अध्यक्ष तपाईं नै हो भनेर आफ्नो पक्षमा पार्न सफल भएका छन् । 

गौतम भने पहिलादेखि नै ओलीको पक्षमा रहेका छन् । 

थप समाचार

काँग्रेस नेत्री राईद्वारा राष्ट्रपतिमा उम्मेदवारी दर्ता

राष्ट्रपतिमा विद्यादेवी भण्डारीद्वारा उम्मेदवारी दर्ता

मध्यराति विद्याको पक्षमा सहमति खोज्दा बालुवाटारमा जे भयो...

भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको  निर्णय

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप