शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मध्यराति विद्याको पक्षमा सहमति खोज्दा बालुवाटारमा जे भयो...

बुधबार, २३ फागुन २०७४, ११ : ५५
बुधबार, २३ फागुन २०७४

काठमाडौं– राष्ट्रपतिको उम्मेदवार छान्न एमालेलाई निकै ठूलो पापड बेल्नुपर्यो ।

एमालेको बैठकमा कसरी विद्यादेवी भण्डारीको नाममा सहमति जुट्यो ?

भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको  निर्णय

यो प्रश्न बैठकमा सहभागी एमालेका एक स्थायी समिति सदस्यलाई राख्यौँ ।

उम्मेदवार छान्न मङ्गलबार प्रधानममन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी समति बैठक थियो ।

जहाँ नेताहरूबीच निकै ठूलो भनाभन र घम्साघम्सी पर्यो ।

आधा घण्टामा सकिने भनेर बालुवाटार छिरेका नेता झण्डै ८ घण्टा कुर्न बाध्य बने ।

त्यसो त बैठक निर्धारित समयभन्दा करिब २ घण्टा ढिलो भएको थियो ।

बैठक चार बजेका लागि बोलाइएको थियो ।

तर, बैठक ६ बजेबाट मात्रै सुरु भयो ।

यही बीचमा एमाले बरिष्ठ नेता माधवकुमार नेपालको जन्मदिन मनाइयो बालुवाटारमा । केक पनि काटियो बालुवाटारमै ।

नेपालको वर्थडे केक काट्दा पौने ६ भइसकेको थियो ।

नेताहरू पनि त्यसबेलासम्म लगभग सबै आइसकेका थिए ।

केक काटिवरी बैठक बस्न सुरसार हुँदै थियो ।

त्यसैबेला एमाले नेता नेपालको मोबाइल फोनमा कसैको घण्टी बज्यो ।

फोनमा कुरा गर्दै नेता नेपाल बालुवाटारबाट बाहिर निस्के ।

नेता नेपाल बाहिर निस्केपछि राष्ट्रपति छान्ने विषयभन्दा अरू नै कुुरातर्फ नेताहरू मोडिए ।

चिया आयो ।

चिया खाए ।

त्यसपछि अर्का नेता सुरेन्द्र पाण्डे पनि केहीबेर आफ्नो काम पर्यो भन्दै बालुवाटारबाट निस्किए ।

साँझको सात बज्यो ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओली ‘अब बैठक सुरु गरौँ’ भनेर नेताहरू बसेको ठाउँमा आए ।

एमाले एक स्थायी समिति सदस्यका अनुसार ओलीले सुरुमै भोलि राष्ट्रपतिका लागि मनोनयन पत्र दर्ता गर्नुपर्ने भएकाले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको नाम प्रस्ताव गरे ।

एकछिन बैठक कक्ष चकमन्न भयो ।

नेताहरू एकअर्कामा मुखामुख गर्न थाले । तर कसैले केही बोल्न सकेनन् ।

‘म समर्थन गर्दिनँ’

केपी ओलीले बैठकमा राष्ट्रपतिका लागि विद्यादेवी भण्डारीको नाम प्रस्तुत गरेको केहीबेरपछि अष्टलक्ष्मी शाक्यले मुख खोलिन् ।

भनिन् ‘म समर्थन गर्न सक्दिनँ, तपाईं पार्टीमा महिलाको कुरा गर्नुहुन्छ तर के पार्टीमा महिला विद्या मात्रै हुन् ?’

शाक्यले आक्रोश पोख्दा केपी ओली मुसुमुसु हाँसिरहे । अरू नेताले हेरे मात्रै ।

त्यसपछि पनि अष्टलक्ष्मी बोल्न रोकिइनन् ।

‘विद्याका लागि आज मात्रै ५ घण्टा छलफल भयो । तर, मेरा लागि कति घण्टा छलफल गर्न तपाईं तयार हुनुभयो ? के मेरो पार्टीमा कुनै योगदान छैन ? मलाई हराउन तपाईं आफै लाग्नुभयो, यो पार्टीमा अन्याय बढ्यो । हुँदाहुँदा म प्रदेश इन्चार्ज छु, प्रदेशमा मन्त्री बनाउने विषयमा पनि हस्तक्षेप  गर्नुभयो । यस्तो अन्याय सहेर पार्टीमा कति बस्नु ? उनले प्रश्न तेस्र्याइन् ।

शाक्य एकोहोरो बोलिरहे पनि अरू कसैले त्यसबेलासम्म बोल्ने साहस गरेनन् ।

शाक्यले ३ नम्बर प्रदेशमा मन्त्री, सभामुख  छान्दा आफ्नो भूमिकालाई ओझेलमा पारेका गुनासो मात्रै गरिनन्, ओलीमाथि आरोप पनि लगाइन् ।

‘डोरमणि, कैलाश, ढुङ्गेल र दावा लामालाई मन्त्री बनाउन तपाईंले ‘तोकआदेश’ नै गर्नुभयो, यसले पार्टीलाई हित गर्दैन’, उनले आक्रोश पोखिन् ।

शाक्यले निकैबेर अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यदेवीको चर्को आलोचना गर्दा पनि अरू २० जना चुइँक्क बोल्न सकेनन् ।

कोही नबोलेपछि शाक्य थाकेर भनिन्– ‘जे गर्नुछ गर्नुस्, तर म राष्ट्रपतिको उम्मेदवारका लागि विद्यालाई कुनै हालतमा समर्थन गर्न सक्दिनँ ।’

३ नम्बर प्रदेशको मुख्यमन्त्रीकी आकाङ्क्षी अष्टलक्ष्मी पार्टीको आन्तरिक चुनावमा बाहिरिएकी थिइन् ।

माधवको प्रश्न– यसरी पार्टी चल्ला र ?

शाक्यले बोलिसक्दा झण्डै नौ बज्न लागेको थियो ।

त्यसैबेला बालुवाटार बाहिर गएका एमाले नेता माधव नेपाल बैठक कक्षमा प्रवेश गरे ।

बैठकमा प्रवेश गरेका नेपाललाई अध्यक्षको प्रस्तावबारे पहिल्यै जानकारी थियो ।

त्यसपछि नेता नेपालले आफ्नो धारणा राख्न सुरु गरे । ‘तपाईं (अध्यक्ष) एकपक्षीय ढङ्गले चल्नुहुन्छ । यो ठीक भएन, विधि, प्रकृया, नियम केही नचाहिने ?’ माधवले प्रश्न गरे ।
ओलीले मुन्टो मात्र हल्लाए ।

केही बोलेनन् ।

फेरि नेपालले थपे, ‘यसरी पेलिरहनुहुन्छ भने नतिजा राम्रो आउनेवाला छैन ।’

नेता नेपाल त्यसवेला अध्यक्ष केपी ओलीसँग मात्रै रिसाएनन्, राष्ट्रपति भण्डारीको विगतको व्यवहारको पनि आलोचना गरे ।

उनले भने, ‘उहाँ (राष्ट्रपति) ले काम गर्दा सबै आफन्त र नजिककाको मात्रै गर्ने गर्नुहुन्छ, यो तरिका पनि ठीक भएन । समग्र पार्टीको हित चाहने हो भने कसैलाई काखा र कसैलाई पाखा लगाउनुहुन्न ।’

नेपाल बोलिसकेपछि झलनाथ खनाल बोल्न थाले ।

झलनाथले भने– मेरो इच्छा छ

बैठकमा वरिष्ठ नेता झलनाथ खनालले पार्टी सञ्चालनमा समस्या आएको प्रसङ्गबाट बोल्न सुरु गरे ।

खनाल पनि नेता नेपाल र शाक्यकै जसरी प्रस्तुत भए ।

पार्टीमा जुनसुकै निर्णय गर्दा एकपक्षीय हुने गरेको खनालले गुनासो गरे ।

भने ‘सबैलाई अवसर दिनुपर्छ, सबैको लगानी पार्टीमा छ, कसैको घटीबढी होला तर अवसर चाहिँ निश्चित व्यक्तिले मात्रै पाइरहने हो भने पार्टीमा निरासा, पैदा हँुदै जाँदा गम्भीर दुर्घटना नहोला भन्न सकिन्न । यसमा ध्यान दिन जरुरी छ । मैले निर्वाचनकै बेला राष्ट्रपतिको उम्मेदवार बन्छु भनेर मतदातामाझ भनिसकको छु । यसमा पार्टीले विचार गरोस् ।
यति बोलेका खनाल त्यसपछि बोल्न छाडे ।

बामदेवको बोली फुटेन

बरिष्ठ नेताहरू बोलिसके ।

पालो आयो बामदेवको तर ढुङ्गो बोल्ला बामदेव गौतम बोलेनन् ।

किन हो कुन्नि, यसअघि झलनाथ खनालको पक्षमा देखिएका गौतम बैठकमा भने बोल्नै चाहेनन् ।

कतिपयले भने गौतम खनालको पक्षमा बोल्लान् भन्ने अपेक्षा गरेका थिए ।

तर उनीहरूको अनुमानले मङ्गलबार मध्यरातिको एमाले बैठकमा हावा खायो ।

गौतम नबोलेपछि खनालका पक्षधरहरूले आफूलाई कमजोर महसुस गरे ।

गौतमले चाहिँ प्रतिनिधिसभा सदस्य बन्न चाहेका छन् ।

उनले यो सन्देश आफ्ना विश्वास पात्रमार्फत ओलीकहाँ समेत पुर्याएको एक नेता बताउँछन् ।

यसका लागि कुनै निर्वाचित सांसदले राजीनामा गर्ने र त्यहाँ उपचुनाव मार्फत गौतम आउने विकल्प चाहिँ छ ।

ओली निकट केही नेताले यस्तो आश्वसन गौतमलाई दिएको ती नेता बताउँछन् ।

यहीकारण हिजोको बैठकमा गौतम ‘मौन’ बसे ।
 
‘घनश्यामको नोट अफ डिसेन्ट’

नेता घनश्याम भुसालले विद्याका बारेमा नोट अफ डिसेन्ट रहेको बताए । उनले पार्टीको निर्णयमै आफ्नो नोट अफ डिसेन्ट रहको सुनाए । त्यसपछि पार्टी सञ्चालनबारे केही सङ्क्षिप्त धारणा राखे । भने ‘अब त अति नै हुन लाग्यो ।’

कसरी भयो सर्वसम्मत ?

राति साढे १२ बजे बैठक सकिएको घोषणा भयो ।

बैठकले वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई नै दोहोर्याउने सर्वसम्मत निर्णय भएको व्यहोरा लेखियो ।

‘बैठकमा यति धेरै मारामार, आलोचना र छेडखान भएको विषयलाई कसरी सर्वसम्मत भन्न मल्छि र तर भनियो ? एक स्थायी समिति सदस्यले व्याङ्ग्य गर्दै भने ‘यही हो एमालेभित्रको आन्तरिक प्रजातन्त्र !’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप