शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादी पार्टीको बहिर्गमनपछि राजपाको होला सिंहदरबारमा ‘इन्ट्री’ ?

बुधबार, ०९ पुस २०७६, १६ : ०९
बुधबार, ०९ पुस २०७६

काठमाडौँ–समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि अब सबैको नजर राष्ट्रिय जनता पार्टी (राजपा) नेपालतर्फ तेर्सिएको छ । 

समाजवादी पार्टीले सिंहदरबार छाडेपछि अब राजपा नेपालको प्रवेश हुने चर्चा सुरु भएको छ । तर यसबारे अहिलेसम्म राजपा नेपालको आधिकारिक धारणा आइसकेको छैन ।

यता समाजवादी पार्टीका नेताहरुले आफूहरुले सरकार छाडेपछि राजपा नेपाल सरकारमा सहभागी हुने दावी गर्दै आएका थिए । यहाँसम्म कि समाजवादी पार्टीको केन्द्रीय समितिको बैठकमा पनि यो कुराले प्रमुखता पाएको थियो । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव स्वयम्ले पदाधिकारी बैठकमा राजपा नेपाल सरकारमा सहभागी हुने सूचना आफूले पाएका कुरा राखेका थिए ।

यादवले पाएको सूचनालाई बल मिल्ने गरी  पुस २ गते नेकपा र राजपा नेपालबीच दुई बुँदे सम्झौता भइसकेको छ।  सो सम्झौता राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि भनिएपनि राजपाको सत्तायात्रालाई समेत जोडेर हेरिएको छ । 

 दुई बुँदे सम्झौताको पहिलो नम्बरमा प्रदेश २ मा रिक्त हुने राष्ट्रियसभा सदस्यको चारवटा सिटमा दुई–दुई सिट बाँडफाँड गर्ने सहमति भएको छ भने दुई नम्बर बुँदामा दुई पार्टीका बीचमा राष्ट्रिय राजनीतिका समसाययिक विषयहरुमा नियमित रुपमा छलफल र सहकार्यको प्रक्रियालाई अघि बढाउने उल्लेख गरिएको छ । 

दुई नम्बरको बुँदाले राजपा नेपाल सरकारमा सहभागीका लागि तयार भएको र यसका लागि नेकपासँग आन्तरिक सहमति भएको संकेत गर्ने कतिपयको बुझाइ छ । यही बीचमा राजपा नेपाल पनि सरकारबाट बाहिरिएपछि राजपाको अवको यात्राबारे चर्चापरिचर्चा सुरु भएको हो । 


यस विषयमा राजपा नेपालका अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतो दुई बुँदे सहमतिले मात्रै पार्टी सरकारमा नजाने बताउँछन् । उनले भने, ‘यो दुई बुँदे सहमतिले मात्र सरकारमा जाने कुरा हुँदैन, अहिले जेजति कुरा भइरहेका छन् ती सबै अड्कलबाजी नै हो ।’

महतोले यस्तो बताएपनि सोही पार्टीका एक शीर्ष नेता भने प्रदेश  नम्बर २ सरकारदेखि संघीय सरकारसम्म सहकार्य गर्ने राजपा नेपाल र नेकपाबीच आन्तरिक सहमति भइसकेको दावी गर्छन् ।  यद्यपि सरकारमा सहभागी हुनका लागि राजपा नेपालले प्रधानमन्त्री ओली समक्ष संविधान संशोधनसम्बन्धी सर्त राखेको छ । त्यो सर्त संशोधनका लागि प्रकृयाको सुरुवात गर्ने र त्यसपछि राजपा सरकारमा सहभागी हुने रहेको उनको भनाइ छ । 

त्यसमा प्रधानमन्त्री ओली पनि कन्भिन्स भएका छन् । संविधान संशोधन, मुद्दा फिर्ता, बन्दी रिहा, घाइतेलाई भरणपोषण लगायतका मागमध्ये प्रधानमन्त्री ओली तत्कालै केही न केही गर्ने सोचमा रहेका छन् । र, यो कुराको संकेत सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पनि गरेका छन् । उनले राजपा नेपाल आउन सक्ने भन्दै यसबारेमा केही छलफल गर्न बाँकी रहेको गत बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमै बताएका थिए । 

नेकपाका अन्य नेताहरुले पनि राजपा नेपाल सरकारमा सहभागी हुने सम्भावना बढेको बताउँछन् ।  सभामुख र उपसभामुख तथा राष्ट्रियसभाको चुनावको चुनावपछि नेकपा र राजपा नेपालको सहकार्यको यात्रा तय हुनेछ । राजपा नेपालका एक महासचिवले भने, ‘राजपा नेपाल सरकारमा जाने निश्चित जस्तै छ । दुई दलको बीचमा सहमति पनि भइसकेको छ तर अहिले नै सत्ता सहकार्यका लागि हतार गर्नेछैन । कम्तिमा माघ मसान्तसम्म कुरिनेछ । फागुन पहिलो सातादेखि यसको बारेमा चहलपहल सुरु हुन्छ ।’

नेकपा र राजपाबीचको सम्बन्ध कसरी अगाडि बढ्छ त्यसमा समाजवादी पार्टीको पनि भूमिका हुन्छ । ‘समाजवादी पार्टीसँग एकीकरणका लागि माहोल बने सरकारमा जानलाई मुस्किल हुन्छ, ती महासचिवले भने, राजपा नेपालले सरकार छाड्ने सर्त राखेको थियो र समाजवादी पार्टीले सरकार छाडेको छ अब राजपा नेपालको आगामी कदम के हुन्छ समाजवादी पार्टी कुरेर बसेको छ ।’

राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले नेकपाबाट विगतदेखि नै राजपा नेपाललाई सरकारमा सहभागी हुन आग्रह हुँदै आइरहेको तर आफ्नो माग र एजेण्डामा अडिग रहेको कारण सहभागी नभएको दावी गरे । 

अहिले पनि नेकपाले सरकारमा सहभागी हुन आग्रह गरेको तर यसबारे पार्टीभित्र छलफल भइनसकेको उनले बताए ।  उनले भने, राष्ट्रियसभा चुनावका लागि भएको दुई बुँदे सहमतिमा पनि सहकार्यको कुरा उल्लेख छ, जति हदसम्म कुरा मिल्छ, त्यति हदसम्म सहकार्य हुन्छ, कुरा नमिलेसम्म सहकार्य आगाडि बढ्दैन ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप