शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

टीकापुर नरसंहारको ४ वर्ष : मृतक नाबालकका बुवा भन्छन्, घटना बिर्सनुको विकल्प छैन

'टीकापुरबासीले शान्ति चाहेकाले रेशमले चुनाव जितेका हुन्'
मङ्गलबार, १० भदौ २०७६, ०९ : ५४
मङ्गलबार, १० भदौ २०७६

मदन ढुङ्गाना/टङ्क कुँवर

भदौको पहिलो साता ।

टीकापुर बजारबाट करिब २ किलोमिटर टाढा ग्रामिण बस्ती नजिकै गएपछि पुगिन्छ नेत्रबहादुर साउदको घर ।

साढे दुई तल्लाको घरको बाहिरी भागमा अझै रङ लगाइएको छैन । यद्यपि घर पक्की नै छ ।

हामी बिहानै घरमा पुग्दा घरको बरण्डामा ३ जना बालबालिका खेलिरहेका थिए । यो त्यही स्थान थियो, जहाँ ४ वर्षअगाडि अर्थात् २०७२ साल भदौ ७ गते अपरान्ह करिब २ः४५ मा नेत्र साउदका २ वर्षीय छोरा टेक बहादुर साउदमाथि गोली प्रहार गरी हत्या गरिएको थियो ।

पहिले नै सम्पर्क गरी गएका हामीलाई लिन नेत्र बाहिरसम्म आए ।

अनि घरको दोस्रो तलामा रहेको बैठक कक्षमा पुर्याए । बैठक कक्षको एक छेउमा उनी बसे । उनी जहाँ बसे, उनको ठीक माथि थारुहट आन्दोलनका क्रममा आन्दोलनकारीको गोली लागेर ज्यान गुमाएका आफ्नो छोरा टेकबहादुर साउदको तस्वीर झुण्डिएको थियो । तस्वीरमा माला लगाएर राखिएको उनको तस्वीर कोठाको एउटा भित्तामा थियो भने अर्को भित्तामा चाँदीको फ्रेममा सजाइएको तिनै टेकबहादुरको हाँसिरहेको अर्को तस्वीर थियो ।

सशस्त्र प्रहरीमा हबल्दार पदमा कार्यरत छन् उनी । तर उनी फौजी नभएर लेखा शाखामा काम गर्छन् । बाध्यकारी अवस्थामा बाहेक उनी न कहिल्यै हतियार बोक्छन्, न त प्रहरीको चुस्ता नै लगाउँछन् ।

केही समय अनौपचारिक कुराकानी गरेर केही सहज बन्ने हामीले प्रयास गर्यौँ । औपचारिक कुराकानीको सुरुवातमै हामीले सोध्यौँ, टीकापुरको हालको अवस्था कस्तो छ ?

उनले सरल जवाफ दिए, ‘हालको अवस्था सामान्य नै छ । पहिलेको जस्तो व्यापार व्यवसाय भने छैन । तर यो घटनाको कारणले हो वा अन्य कुनै कारण हो थाहा छैन ।’


टीकापुरमा सद्भाव बिग्रिएको छैन

उनले सहज ढङ्गले जवाफ दिएपछि हामीलाई कुराकानी अगाडि बढाउन थप सहज भयो । अनि हामीले फेरि सोध्यौँ कि टीकापुरमा सामाजिक सद्भाव खल्बलिएको छ भन्छन्, खासमा के हो ?

उनले यो प्रश्नमा पनि सरल जवाफ दिए, ‘सद्भावको कुरा गर्नुहुन्छ भने त्यस्तो केही बिग्रिएको छ जस्तो मलाई लाग्दैन । थारुको कार्यक्रममा पहाडी जाने र पहाडीको कार्यक्रममा थारु जाने गरिरहेकै छन् । मर्दाको मलामी र जिउँदाको जन्ती नै समाज हो र यो सबै चलिरहेकै छ ।’

‘तर केही मान्छेहरुले टीकापुरमा सद्भाव बिग्रेको छ भनेर बाहिर अनावश्यक हल्ला फिँजाएर टीकापुरलाई के गर्न खोजेका हुन् मैले बुझेको छैन । टीकापुरमा सद्भाव छैन भन्ने हल्ला फिँजाएर कसैले यहाँ केही ‘धन्दा’ गरिरहेका छन् जस्तो लाग्छ ।’

सद्भाव राम्रो भए टीकापुरमा नयाँ मान्छे बसाइँ सरेर किन आएनन् त भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘सद्भाव बिग्रेको छ भनेर जसले हल्ला फिँजाइरहेका छन् नि बाहिरका मान्छेलाई त यस्तो हल्ला सुनेपछि साँच्चै नै अशान्ति नै पो छ कि भन्ने पनि लागेको होला । त्यही भ्रम परेर होला नयाँ मान्छेहरु भित्रिएको चाहिँ देखिँदैन ।’

आन्दोलनकारीले गोली चलाएकै हुन्

हामीले विषय केही परिवर्तन गर्न खोज्यौँ । मनले नमाने पनि हामी उनलाई आफ्नै छोराको हत्या भएको दिन सम्झाउन बाध्य थियौँ । त्यो दिनको घटना बताइदिन हामीले उनलाई आग्रह गर्यौँ ।

‘भदौ ७ गतेको दिन म सुरुदेखि नै घरमा उपस्थित थिएँ । बीचको केही समय म बाहिर गएको थिएँ । तर घटना हुन लागिसक्यो भन्ने सुनेपछि म घरमै फर्किएको थिएँ ।

मेरो बच्चा मेरो नजिकै घरको बरण्डामा खेलिरहेको थियो । एक्कासी सानो हतियारबाट ५ देखि ६ राउण्ड ब्रष्ट फायर भएको आवाज सुने ।

मैले गोली चल्यो बच्चालाई लिएर भित्र जाउ भनेर बहिनीलाई भने । तर बहिनीले बच्चालाई भित्र लैजाँदा गोली लागिसकेको रहेछ ।

बच्चालाई उठाएर भित्र लैजाँदा उसको टाउकोमा गोलीको ठूलो निसान देखिएको थियो र टाउको विछिप्त अवस्थामा थियो ।

त्यसपछि हामी सबै आत्तियौँ । सबै रुवाबासी गर्न थाले । म बाबुलाई भित्र राखेर बाहिर आएँ र कोही मान्छे देखिन्छ कि भनेर बाहिर हेर्न थालेँ ।

हाम्रो घरमा ठूलो कम्पाउण्ड पनि छ र कम्पाण्ड वालको बाहिर नर्कट झाडी थियो । बाहिर नर्कट झाडी भएकाले मैले कसैलाई पनि देखिनँ । म फेरि भित्र गएँ । त्यसपछि ‘शव’ उठाएर हस्पिटल लगेँ,’ उनले सुनाए ।

२ वर्षको एउटा नाबालकमाथि किन गोली हानियोे होला भन्ने हाम्रो अर्को प्रश्नमा उनले थपे, ‘कारण के हो म भन्न सक्दिनँ । मेरो छोरालाई गोली हान्नुभन्दा पहिले मैले मेरो घर नजिकै भएका घाइते प्रहरीलाई उद्धार गरी अस्पताल पठाउन सहयोग गरेको थिएँ । प्रहरीलाई सहयोग गरेको कारण नकारात्मक सोच आएर ममाथि नै गोली चलाएको हुनसक्छ । तर त्यो गोली मलाई नलागेर मेरो छोरालाई लागेको पनि हुनसक्छ ।

वा यो प्रहरी हो, यसको परिवारलाई पनि क्षति पुराउनुपर्छ भनेर पनि गोली चलाएको हुनसक्छ । नत्र मेरो व्यक्तिगत रिसिइबी कोहीसँग पनि थिएन ।

त्यो एरियाको सबैले मलाई प्रहरी हो भनेर चिनेका थिए ।

कम्पाउण्डभित्र घरको बरण्डामा थियो, बच्चा ।

घरको गेट पनि लगाएको थियो ।

त्यसकारण कोही आन्दोलनकारी घरभित्र छिरेर आक्रमण गरेको होइन । बरु बाहिरबाटै गोली प्रहार गरिएको हो ।

घरको बरण्डा र कम्पाउण्ड वालको दुरी पनि करिब ५० मिटर टाढा छ । यसको अर्थ कम्पाउण्ड वाल बाहिरबाटै मेरो बच्चामाथि गोली चलाइएको हो ।’

तर आन्दोलनकारी भने ‘गोली चलाएका छैनौँ’ भन्छन् नि त भन्ने हाम्रो प्रश्नमा उनले भने ‘जब मान्छेले झुटो बोल्न सुरु गर्छन् नि, त्यसको कुनै उपचार नै हुँदैन । आन्दोलनकारीले गोली हानेका छैनन् भन्यो भने त्यो सरासर झुट हो । कतिपयले विषय नै बङ्ग्याइदिन्छन्, त्यसकारण समस्या बढेको हो ।’

गोली खासमा मलाई हानिएको थियो कि भन्ने लाग्छ

गोली खासमा बच्चालाई नभएर आफू प्रति लक्षित भएको उनको ठम्याइ छ । ‘धेरै मान्छेहरु बाहिरबाट पनि आएका थिए । तर मलाई लाग्छ कि स्थानीयमध्ये कुनै एकले ममाथि गोली हाने,’ उनी भन्छन्, ‘त्यहाँ आन्दोलनकारीको भीड आएर गोली चलाएको होइन, लुकेर एक दुई जना आएर गोली हानेको हो ।’

‘प्रहरी अधिकारीमाथि आक्रमण गरेको करिब ४५ मिनेटपछि मात्रै मेरो बच्चामाथि गोली हानिएको छ । जतिबेलासम्म भीड तितरबितर भइसकेको थियो । त्यसकारण घटना घटाउनैपर्छ भन्ने उद्देश्यका साथ आन्दोलनकारीले गोली चलाएका हुन् । करिब २ बजे प्रहरीमाथि आक्रमण भएको थियो । त्यसपछि करिब पौने ३ बजेतिर मेरो छोरामाथि गोली चलेको हो ।’

अब मिल्नैपर्छ

अब यो घटनालाई कसरी हेर्ने त भनेर हामीले अर्को प्रश्न गर्यौँ । उनले शान्त भएर जवाफ दिए, ‘अब त्यसैलाई इस्यु बनाएर राख्नुहुँदैन भन्ने मेरो मान्यता हो ।’

‘मतलब अब रेशम चौधरी पनि छुट्पर्छ भन्ने हो ?,’ रातोपाटीको प्रश्नमा उनले भने ‘मैले भनेर राज्यले मान्ने होइन । राज्यले सुझबुझपूर्ण निर्णय लिनुपर्छ ।’

उनले अगाडि थपे, ‘पहिलेकै अवस्थामा टीकापुर फर्कनुपर्छ । सबै एकै ठाउँमा बस्न मिल्ने वातावरण बनाउनुपर्छ ।’

‘त्यो घटनालाई बिर्सनैपर्छ । त्यसलाई बल्झाएर राखेर कुनै फाइदा छैन ।’

यो घटनालाई बिर्सनुबाहेक अरु विकल्प त म केही पनि देख्दिन । यही घटनालाई कोट्याएर घचघच्याई रहनुपर्छ भन्ने मलाई ठीक लाग्दैन,’ नेत्रले भने ।

शान्ति चाहेको कारण रेशमलाई भोट दिए

त्यसपछि हामीले रेशम चौधरीको विषयलाई समेट्ने प्रयास गर्यौँ । रेशम चौधरीले कसरी चुनाव जिते र टीकापुरबासी रेशमलाई कसरी हेर्छन् भन्ने हाम्रो प्रश्नमा उनले टीकापुरबासीले शान्ति चाहेको कारण रेशमले चुनाव जितेको बताए ।

‘रेशम चौधरीलाई थारुले मात्रै भोट दिएर जिताएका होइनन् । पहाडीले पनि उत्तिकै भोट दिएका छन् । किनभने टीकापुरबासीले शान्ति चाहेका हुन् । रेशमले जित्दा टीकापुरमा शान्ति होला र राम्रो होला भनेर पहाडी समुदायले पनि उनलाई भोट दिएर जिताएका हुन् ।’

टीकापुर घटनाको रेशमको संलग्नता के हो जस्तो लाग्छ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘मैले पनि प्रत्यक्ष देखेको होइन । तर त्यसदिन उनी टीकापुरमै थिए । घटना घटेको आधा घण्टापछि मात्रै रेशम त्यहाँबाट गएका थिए । त्यो भेट्ने मानिसहरुलाई पनि मैले भेटेको हो ।’

‘बिहान उहाँ सँगै हुनुहुन्थ्यो भनेर हाम्रै सुरक्षाकर्मी साथीहरुले पनि भनेका हुन् ।’

‘रेशमले के त्रासको बलमा चुनाव जितेका हुन् त ?’ त भन्ने हाम्रो अर्को प्रश्नमा उनले जवाफ दिए, ‘टीकापुरबासीले शान्ति चाहेर उनलाई भोट दिएका हुन् ।’

‘टीकापुरको बारेमा सबैले सकारात्मक ढङ्गबाट सोच्नुपर्छ । सबैले आफ्नो व्यक्तिगत स्वार्थ त्याग्नुपर्छ । व्यक्तिगत स्वार्थका लागि टीकापुरको बारेमा अनावश्यक हल्ला फैलाइएको छ ।’

‘त्रसित बनाएर बाहिर हल्ला चलाउनेहरुको पो कुनै स्वार्थ छ कि ? यी मान्छेहरुले पनि त्यो स्वार्थ त्याग्नुपर्छ । अन्तिममा फेरि भन्छु, यसलाई अझै पनि इगो बनाएर राख्नुहुँदैन । टीकापुरमा शान्ति चाहिएको छ । त्यो घटना बिर्सनुको विकल्प छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप