शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

टीकापुर नरसंहार भएकै तिथिमा थारु सम्मेलन : अवसर बन्ला कि प्रत्युपादक ?

अवसरमा रुपान्तरण गर्ने कि सदावहार आन्दोलनकारीको बिल्ला भिर्ने ?
शनिबार, ०७ भदौ २०७६, १३ : ५८
शनिबार, ०७ भदौ २०७६

टीकापुर–२०७२ साल भदौ ७ गते ७ प्रहरी र एकजना नाबालकको ज्यान जानेगरी भएको थारुहरको आन्दोलनले टीकापुरलाई अशान्त बनाइदियो । तत्कालीन समयमा अखण्ड सुदूरपश्चिम पक्षधर र थारुवान वा थरुहट पक्षधरहरुको टकरावको कारण तोडफोड, आगजनी हुँदै स्थिति जिउँदै जलाएर हत्या गर्नेसम्म पुग्यो ।

भदौ ७ गते भएको हत्या र भदौ ८ गते थारु समुदायको पसल तथा घरघरमा भएको आगजनीपछि टीकापुरमा अहिलेसम्म पूर्ण शान्ति छैन ।  शान्ति यस अर्थमा छैन कि ढुक्क भएर सुत्न सकियोस्, थारु र पहाडीको समुदायमा निर्धक्क जान सकियोस् ।

मानिसहरु एक आपसमा बोलचाल गर्छन्, कुराकानी गर्छन् । देख्दा अवस्था सामान्य नै देखिन्छ, तर पनि मनमा अझै शंका र डर भने कायमै छ ।

२०७२ सालपछि टीकापुरमा शान्ति छैन, सद्भाव छैन भन्ने समाचार बारम्बार बाहिर आइरहन्छ । थारुहरु बारे  राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा बद्नामी बढाएको छ ।

तर टीकापुर नरसंहारको ४ वर्षपछि फेरि भदौ ७ गते नै पारेर टीकापुरमै थारुहरुको राष्ट्रिय सम्मेलन हुँदैछ । पहिले जुन मुद्दामा आन्दोलन भएको थियो, त्यो मुद्दा सकिएको छैन भनिएकै छ । यसमाथि थारु समुदायले आफ्ना युवाहरुलाई झूटा मुद्दा लगाएर जेल जान बाध्य बनाएको आरोप लगाउँदै सरकारको समेत बारम्बार विरोध गरिरहेकै छन् ।

खासमा टीकापुरका स्थानीय बासिन्दा र पत्रकारहरुले थारु सममेलनलाई कसरी हेरेका छन् त भनेर हामीले कुराकानी गरेका छौँ ।

००००

टीकापुरकै वृद्ध जंग बहादुर साउद थारु सम्मेलनले त्रस्त बनेका छन् । ४ वर्ष अगाडिको त्यो कहालीलाग्दो घटनालाई सम्झाउने गरी फेरि पनि टीकापुरमै थारुहरुको सम्मेलन राखेकामा आश्चर्य लागेको उनी बताउँछन् । उनी भन्छन्, ‘उनीहरुले राम्रो मन लिएर कार्यक्रमको आयोजना गरेको भए त ठीकै हो, तर फेरि पनि आन्दोलन गर्ने गरी कार्यक्रम आयोजना गरेको हो भनेचाहिँ त्यसले समग्र टीकापुरलाई असर गर्छ ।’

साउद भन्छन्, ‘४ वर्षअगाडि त्यस्तो घटना भएको छ । अहिले पनि भदौ ७ गते नै पारेर कार्यक्रम राख्दा डर नलाग्ने कुरै भएन नि ।’

साउद भन्छन्, ‘किन भदौ ७ गते नै राखियो ? अनि किन टीकापुरमै राखियो ? मिति सारेर वा स्थान सारेर कार्यक्रम गरेको भए पनि हुने थियो नि !’

यद्यपि सद्भावका लागि नै कार्यक्रम राखिएको हो र व्यवहारमा पनि सद्भाव देखियो भनेचाहिँ यसले राम्रो सन्देश पनि दिन सक्ने उनको भनाइ छ ।

साउदको जस्तै चिन्ता र चासो टीकापुरकै प्रकाश गिरीको पनि छ । भदौ ७ गते नै टीकापुरकै कार्यक्रम राखेर टीकापुरलाई त्रस्त बनाएको उनको भनाइ छ ।

कार्यक्रम अन्य कुनै स्थानमा गरेको भए पनि हुने भएपनि टीकापुरकै राख्नुले केही आशंकाहरु जन्माएको गिरी बताउँछन् ।

यद्यपि थारु र पहाडी समुदायको सद्भाव बिग्रिएको टीकापुरबाटै भएकाले टीकापुरमै थारुहरुको राष्ट्रिय सममेलन गर्नाले त्यो सद्भाव फेरि ल्याउन सकिने पनि उनी बताउँछन् ।

सम्मेलनको उद्देश्य सद्भाव नै हुँदा त ठीकै होला, तर त्यो सम्मेलन अराजक र उछृङ्खल भएको खण्डमा भने टीकापुरको अवस्था झन् तहसनहस हुने निश्चित नै छ । त्यसकारण थारु समुदायले टीकापुरको आगामी भविष्य निर्धारण गर्न पनि यो सम्मेलनलाई शान्तिपूर्ण बनाउने र सद्भाव फैलाउने काम गर्ने आस गरेको गिरी बताउँछन् ।

टीकापुरकै चैतु डगौरालाई पनि यो सम्मेलनमाथि आश र डर दुबै लागेको छ ।

भदौ ७ गतेकै मिति पारेर गरिएको सम्मेलनले जेल परेको आफ्नो छोरा पनि छुटाउन दबाव दिन सक्ने भन्दै उनी यसलाई सकारात्मकरुपमा लिन्छन् । तर यो सम्मेलनले थारु र पहाडी समुदायबीच टकरावको स्थिति ल्याएमा टीकापुर बस्न लायक क्षेत्र नहुने भन्दै त्यसप्रति चिन्ता व्यक्त गरेका छन् । तर कसैले पनि थारु सम्मेलनमा आउनैपर्छ नभनेको र आन्दोलनबारे केही नसुनेकाले यो सम्मेलन सद्भावकै लागि हुनेमा आशावादी देखिएका छन् ।

थारु युवा बिरुलाल चौधरी पनि सम्मेलनप्रति सकारात्मक नै छन् । यो सम्मेलनले बिग्रिएको थारु र पहाडी समुदायबीचको सम्बन्धलाई सुमधुर बनाउन र बिगतका घटना बिर्साउन सहयोग पुग्ने विश्वास व्यक्त गर्छन् । तर यो सम्मेलनले पनि पहाडी र थारु समुदायबीच सद्भावको वातावरण बनाउन नसके र फेरि पनि नयाँ नयाँ आन्दोलनको घोषणा गर्दै जाने हो भने टीकापुर बस्नलायक स्थान नरहने चौधरीको भनाइ छ ।

पहाडी समुदायका युवा ललित थापा भने थारुहरुको सम्मेलनबारे सशंकित हुनुपर्ने कुनै कारण नरहेको बताउँछन् ।

पहाडी समुदायको अखण्ड सुदुरपश्चिमको माग पूरा भइसकेको भन्दै थारु समुदायको माग जहाँको तहीँ रहँदा विद्रोहको भावना जारी नै रहनु सामान्य कुरा रहेको थापाको भनाई छ । थारु समुदायले पनि आफ्नो हक, अधिकार र जातीय पहिचान लगायतको कुरा उठाउनु सामान्य भएको र शान्तिपूर्ण रुपबाट यस्तो सम्मेलन गर्न पाउनु अधिकार नै भएको उनको भनाइ छ ।

अहिले थारु समुदायले टीकापुरमै राष्ट्रिय सम्मेलनको आयोजना गरेर पहाडी र थारु समुदायबीच सद्भाव नै छ भनेर सन्देश दिन चाहेको आफूले सुनेको ललित बताउँछन् ।

यो सम्मेलनले बिग्रिएको सम्बन्ध सुमधुर बनाउन र थारुहरु अपराधी होइनन् भन्ने सन्देश विश्वलाई दिन पनि यो सम्मेलन महत्वपूर्ण रहेको थापा बताउँछन् ।

त्यसो त थारु कल्याणकारिणी सभाका उपमहामन्त्री तथा सम्मेलनका संयोजक मीनराज चौधरीले पनि सम्मेलन सद्भावकै लागि भएको दाबी गरेका छन् । रातोपाटीसँग गत बुधबार बिहान विशेष कुराकानी गर्दै संयोजक चौधरीले यो सम्मेलन सद्भावकै लागि भएको भन्दै यो सम्मेलनपछि थारु समुदायलाई हेर्ने नजर नै फरक पर्ने बताएका हुन् ।

यता टीकापुरमै सक्रिय पत्रकारहरुले पनि थारुहरुको यो सम्मेलनले सकारात्मक सन्देश दिने दाबी गरेका छन् ।

टीकापुरमै सक्रिय पत्रकारिता गरिरहेका पत्रकार दीपेन्द्र भण्डारीका अनुसार टीकापुरका अहिले पनि पहाडी र थारु समुदायबीच मतभेद कायम नै छ, हार्दिकता कमी भएकै छ । तर यो सम्मेलनले सकारात्मक सन्देश दिने विश्वास भण्डारीले गरेका छन् ।

भण्डारीका अनुसार २०७२ सालको घटना हुनुभन्दा पहिले मानिसहरुमा कुन समुदाय भन्ने थिएन । उनीहरु खुलेरै कुराकानी गर्थे । सरसहयोग गर्थे । तर अहिले भने पहिलेको जस्तो हार्दिकता छैन ।

२०७२ भदौ ७ पछि थारु र पहाडी समुदायमा ज्यादै ठूलो दरार आएको थियो । तर अहिले त्यसको ४ वर्ष पूरा भएको छ । ४ वर्षपछि अहिले सद्भाव र सहयोगका सम्बनधमा धेरै परिवर्तन आइसकेको छ । यद्यपि अझै पनि मनैदेखि प्रसन्न हुन भने मानिसहरु सकिरहेका छैनन् ।

००००

टीकापुरमै सक्रिय अर्का पत्रकार गणेश चौधरी थारु समुदायको विषय र मागलाई सरकारसमक्ष पुर्‍याउन लागि पर्ने पत्रकार हुन् । लामो समयदेखि पत्रकारितामै रमाइरहेका चौधरीका अनुसार थारु र पहाडी समुदायबीचको द्वन्द्व अझै सकिएको छैन । यद्यपि त्यो द्वन्द्व टीकापुरका पहाडी समुदाय र थारु समुदायका बीचमा नभएर समग्र थारु र पहाडी राज्यसत्ताबीच भएको उनको बुझाइ छ ।

राज्यले थारु समुदायमाथि सामाजिक, आर्थिक मात्रै नभएर न्यायमा पनि असमान व्यवहार गरेको उनको बुझाइ छ ।

भदौ ७ गते घटना भयो । त्यो घटनामा संलग्न भन्दै ५८ जना थारुविरुद्ध मुद्दा चलाइयो । तर भदौ ८ गते पहाडी समुदायले थारुका घर र पसल तोडफोड तथा लुटपाट गरे । त्यस घटनामा संलग्न एकजनालाई पनि राज्यले पक्राउ गरेन र मुद्दा चलाएन । यसको अर्थ राज्य पनि पहाडी समुदायलाई संरक्षण गर्ने र थारु समुदायलाई अपराध गरेको भन्दै जेल कोच्ने नीति लिइरहेको समग्र थारु समुदायको बुझाइ रहेको गणेश बताउँछन् ।

भदौ ७ गतेको घटना राजनीतिक घटना भएको र हुलमुलमा दुर्घटना भएको भन्दै त्यस घटनालाई पनि राजनीतिक रुपमै हल गर्नुपर्ने पक्षमा थारु समुदाय रहेको गणेश बताउँछन् ।

चौधरीको विचारमा थारुवानको मुद्दा जनयुद्धदेखि नै उठेको विषय थियो । वर्षौदेखि थारुहरु हेपिँदै आएका थिए, यद्यपि थारुहरु हेपिएको स्थानीय पहाडी समुदायले नभएर राज्यसत्ताले हेपेको हो भन्ने बुझाउनचाहिँ नसकेको सत्य हो ।

त्यसकारण जातीय र सामाजिक सम्वृद्धिका लागि पहिले राज्यसत्तामै पुग्नुपर्छ भन्ने चेत थारुहरुमा आएको थियो । थारु समुदाय पनि सुदुरपश्चिममा गाभिँदा फेरि पनि पहाडी समुदायकै बहुमत हुने र थारु समुदाय कहिल्यै राज्यमा नपुग्ने भएको कारण थारुहरुले आफ्नो छुट्टै प्रदेशको माग गरेका थिए । अहिले पनि राज्यसत्तामा कसरी पुग्ने भन्ने त्रास कायम नै रहेको चौधरी बताउँछन् ।

यदि थारुवान राज्य भएको भए दाङ, कैलाली, बाँके बर्दिया, नवलपरासी  आदि सबै समेट्दा थारुको बाहूल्य हुने र त्यसो भए राज्यसत्तामा थारुले नेतृत्व गर्न पाउँछन् भन्ने चेतना थारु समुदायमा परेको थियो । तर थारु बाहुल्य क्षेत्रलाई टुक्राएपछि थारुको मत कम हुने भएपछि राज्यसत्तामा पुग्न सक्दैनन् भन्ने भावनाको विकास भयो । त्यसकारण आन्दोलन भयो र त्यो राजनीतिक आन्दोलन थियो भनेर बुझ्नुपर्ने थारु समुदायको माग रहेको छ ।

माओवादी आन्दोलन जस्तै थरुहट वा थारुवान आन्दोलन पनि राजनीतिक घटना नै हो भन्दै थारु समुदायले दाबी गर्दै आएका छन् । त्यसैगरी भदौ ७ गतेको घटना आपराधिक हुने तर ८ गतेको घटनाको अपराधीलाई केही नगर्नाले थारु समुदाय राज्यमाथि विश्वस्त हुन सकेको छैन । थारु समुदायलाई पनि राज्यले हेपेकै हो भन्ने भान परेको छ । त्यसकारण पनि भदौ ७ गते टीकापुरमै राष्ट्रिय सम्मेलन गरेर थारु समुदायले एउटा सकारात्मक सन्देश दिन खोजेको भन्ने सूचना पाएको गणेश बताउँछन् ।

००००

टीकापुरका अर्का पत्रकार भुवनेश्वर अधिकारीको नजरमा पनि टीकापुर घटनामा राज्यले निश्चित वर्ग वा समुदायलाई संरक्षण गरेको र थारु समुदायलाई मात्रै दोषी देखाएको दाबी गर्छन् ।

भदौ ७ को घटनामा संलग्न भन्दै थारु युवालाई जेल पठाएको तर भदौ ८ गते थारुको घर छानीछानी जलाउने र लुटपाट गर्नेहरुलाई राज्यले कुनै कारवाही नगर्नु राज्य नै पक्ष र विपक्षमा लागेको जस्तो देखिएको भुवनेश्वरको बुझाइ छ । यसको अर्थ राज्यले थारुलाई दमन गरेको जस्तो र पहाडीलाई प्रोत्साहन गरेको जस्तो भान थारु समुदायमा अझै कायम रहेको उनको बुझाई छ ।

यद्यपि समस्या जातीय रुपमा भन्दा पनि भोट बैंकका रुपमा देखिएकाले टीकापुरबासी हैरान भएको भुवनेश्वरको बुझाइ छ ।

अरु बेला टीकापुर घटनाको बारेमा खासै चर्चा नभएपनि जब चुनावको बेला आउँछ, तब थारु र पहाडी समुदायको चर्चा चल्छ ।

थारु समुदायका नेताहरुले भन्ने गरेका छन् कि पहाडीले हाम्रो घर जलाए, त्यसकारण हाम्रै मान्छेलाई भोट दिनुपर्छ । भोजभतेर देखि अन्य सामाजिक संस्कारमा पनि २०७२ सालको कुरा उठ्ने गरेको छ । थारु वा पहाडी समुदायमा पनि त्यो कुरा निस्कने गरेको छ । त्यसकारण २०७२ को घटना सकियो वा बिर्सिए भन्नेमा सत्यता नभएको भुवनेश्वरको बुझाइ छ ।

थारु समुदायले आफ्नो छुट्टै प्रदेश मागेका हुन् । थारु वा अखण्ड दुवै आन्दोलन राजनीतिक स्वार्थसँग जोडिएको विषय हो ।

पहाडी समुदायलाई डर थियो कि कैलाली सुदुरपश्चिमबाट हटेमा कहाँ जाने ? आफ्नो अस्तित्व धरापमा पर्ने चिन्ता उनीहरुलाई थियो । त्यसैकारण त्यो आन्दोलन भएको र आन्दोलन राजनीतिक नै भएको उनको बुझाइ छ ।

थारु समुदायका नेताहरुले भन्ने गरेका छन् कि पहाडीले हाम्रो घर जलाए, त्यसकारण हाम्रै मान्छेलाई भोट दिनुपर्छ । भोजभतेर देखि अन्य सामाजिक संस्कारमा पनि २०७२ सालको कुरा उठ्ने गरेको छ । थारु वा पहाडी समुदायमा पनि त्यो कुरा निस्कने गरेको छ । त्यसकारण २०७२ को घटना सकियो वा बिर्सिए भन्नेमा सत्यता नभएको त्यहाँको स्थानीयको बुझाई छ ।

यद्यपि रेशम चौधरीले जिम्मेवारी नै नलिनु गलत भएको भुवनेश्वरको बुझाइ छ । ‘संयोजक भएपछि जिम्मेवारी त लिनैपर्छ । यो राजनीतिक घटना हो । कि रेशमले अपराध गरेको कसैले देखेकै हुनुपर्यो, होइन भने रेशम चौधरीलाई जेल पठाउनु राम्रो होइन । यो मेरो व्यक्तिगत विचार हो, तर मलाई उनी (रेशम चौधरी) निर्दोष नै छन् भन्ने लाग्छ । उनलाई फसाइएको छ ।’

भुवनेश्वर अगाडि थप्छन्, ‘त्यसदिन राज्यको कमजोरी अझ बढी थियो । निषेधित क्षेत्रमा जनता आउँदा प्रहरी किन चुप लागेर बस्यो । त्यसको जवाफ पनि त खोज्नुपर्ला नि । घटनामा अन्तर्राष्ट्रिय चलखेल छ र यसमा भारतको समेत हात छ । किनभने अमरेश सिंह, राजेन्द्र महतो लगायतलाई खै त कारवाही गरेको ? संविधान निर्माणकै क्रममा भएको घटनालाई राजनीतिक रुपमै हेर्नुपर्छ । तर यसमा टीकापुरलाई मुछेर फसाइएको छ ।’

उनी अझै अगाडि थप्छन्, ‘राजनीतिक दलमा लागेका मान्छेहरु उम्किए, तर जो राजनीतिमा लागेका थिएनन्, जसको राजनीतिक पहुँच थिएनन् । उनीहरु जेल पुगेका छन् । ७ गतेको आन्दोलनकै कारण कोही जेल जाने, कोहीले करोडौं क्षतिपूर्ति पाउने ? यो त राम्रो भएन नि ।’

भदौ ७ गते हुन लागेको कार्यक्रमलाई थारु समुदायले एउटा अवसरका रुपमा लिनुपर्ने पनि भुवनेश्वरको बुझाइ छ । यो विषय राजनीतिक विषय पनि भएकाले एकातिर राजनीतिक स्वार्थ रहेको र अर्कोतर्फ अस्तित्वको लडाईँ पनि भएकाले यसलाई सद्भाव सभाका रुपमा विकास गर्नुपर्ने भुवनेश्वरको सुझाव छ ।

००००

सद्भाव होस् भनेर नै पहाडी समुदायले रेशमलाई भोट हालेका हुन्

टीकापुरका अर्का पत्रकार मातृका तिमिल्सिना २०७२ भदौ ७ को घटनालाई नियाल्दा २०६८ सालदेखि नै बुझ्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘भदौ ७ र ८ गते जे घटना घट्यो, त्यसको बेस भनेको २०६८ सालबाट सुरु भयो ।  पहिलो संविधानसभा भंग हुने समयमा कैलालीमा थरुहट र अखण्ड सुदूरपश्चिमवालाको एक महिना लामो बन्द भयो । यो आन्दोलन त्यही बेसबाट सुरु भएको हो ।

तर त्यो भन्दा अगाडि कहिल्यै थारु र पहाडी समुदाय भनेर भोटिङ नभएको र समुदाय नछुट्टिएको मातृका बताउँछन् । यसको अर्थ २०६८ देखिको दुबैखाले भावनाको बिस्फोट २०७२ भदौ ७ र ८ गतेको घटना भएको उनी बताउँछन् ।

त्यतिबेलादेखि थारुको आन्दोलन हुँदा पहाडी एक हुनुपर्छ र पहाडीको आन्दोलन भए थारुहरु एक हुनुपर्छ भन्ने जबरजस्त मनोविज्ञान हाबी भएको मातृकाको बुझाइ छ ।

त्यसपछि नै थारु र पहाडी समुदायबीच टकरावको स्थिति आएको उनी बताउँछन् । २०७२ भदौ ७ को घटनापछि थारु र पहाडी समुदायबीच लामो समयसम्म पनि द्वन्द्वको अवस्था रहेपनि अहिले भने सामान्य रहेको उनी बताउँछन् ।

तर अहिले भने हार्दिकता नै देखिएको मातृका बताउँछन् । तर जब चुनाव हुन्छ, तब हार्दिकता कहाँ छ भनेर खोज्नुपर्ने अवस्था आउने गरेको मातृकाको अनुभव छ ।

टीकापुरका स्थानीय बासिन्दासमेत भएकाले मातृकालाई लागेको डरचाहिँ जातीय भावनाको विकास हुँदै जाने हो कि भन्ने छ । त्यसले सामाजिक सद्भाव खल्बलिन सक्ने भन्दै त्यसलाई सबै राजनीतिक दल र स्थानीय मिलेर व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ ।

संघीय संसदमा रेशम चौधरीले जित्दा थारु समुदायले मात्रै भोट दिएर जितेका होइनन् । पहाडी समुदायले पनि भोट दिएर रेशमले चुनाव जितेका हुन् । रेशमले चुनाव जितेमा टीकापुरमा शान्ति हुन्छ र सामाजिक सद्भाव कायम हुन्छ भन्ने भावनाले टीकापुरबासीले उनलाई भोट दिएको मातृकाको बुझाई छ ।

२०७२ भदौ ७ पछिको घटनाबाट आएको थारु समुदायको सेन्टीमेण्ट कसरी आफ्नो राजनीतिक स्वार्थमा परिणत गर्ने भन्ने सवाल अहिलेको मुख्य सवाल रहेको मातृकाको बुझाई छ । त्यसकारण पनि थारु समुदायको पक्षमा आफूहरु छौँ भनेर बुझाउन पनि सद्भाव कार्यक्रम हुन लागेको मातृका बताउँछन् । थरुहट आन्दोलनको एजेण्डाको अवसान भइसकेको छैन, त्यसकारण यो सम्मेलनले त्यो एजेण्डालाई कसरी हल गर्ला भन्ने कुरा पनि महत्वपूर्ण रहेको मातृका बताउँछन् । त्यो बाहेक रेशम चौधरीको रिहाइलाई प्रमख एजेण्डाको रुपमा अगाडि ल्याउनसक्ने सम्भावना भएकाले यो सम्मेलन शान्तिपूर्ण रुपले सम्पन्न हुने मातृका बताउँछन् ।

जब नेकपाले असन्तुष्टि जनायो....

थारुहरुको राष्ट्रिय सम्मेलन भनेपनि नेकपानिकट थारु राष्ट्रिय मुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक थारु संघले विज्ञप्ति निकालेर असन्तुष्टि र विरोध जनाएका छन् ।

उनीहरुले भदौ ४ गते पत्रकार सम्मेलन नै गरेर कार्यक्रमको उद्देश्य प्रष्ट नभएको, भदौ ७, ८ र ९ गते नै कार्यक्रम राखेर अन्योल सिर्जना गरेको र आधिकारिक आयोजक पनि नरहेको भन्दै कार्यक्रममा सहभागिता नजनाउने स्पष्ट गरिसकेको छ ।

त्यसबाहेक कार्यक्रमको जस अपसजस आफूले नलिने भन्दै आफ्ना कार्यकर्ता तथा शुभेच्छुकलाई ‘सचेत रहन’ आग्रह समेत गरेको छ ।

नेकपा निकटको यो असन्तुष्टीसँगै यो सम्मेलन थारुहरुको नभएर कुनै राजनीतिक दल वा स्वार्थसमूहको योजनामा तयार भएको संकेतसमेत गरेको छ ।

भिडियो हेर्नसहाेस्

कैलालीबाट टंक कुँवरको सहयाेगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप