बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई ओलीको ‘सर्प्राइज प्रस्ताव’

शुक्रबार, ३१ साउन २०७६, १८ : ३९
शुक्रबार, ३१ साउन २०७६

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको जिम्मेवारी लिन प्रस्ताव गरेका छन् ।

स्रोतका अनुसार अध्यक्ष ओलीले प्रचण्डलाई पार्टीको जिम्मेवारी लिन र पार्टी एकता गर्नुपूर्वको सहमति अनुसार प्रधानमन्त्री छाड्नसमेत तयार भएका छन् ।

शुक्रबार सचिवालय बैठक बस्नुपूर्व दुई अध्यक्षबीच भएको भेटमा अध्यक्ष ओलीले यस्तो प्रस्ताव गरेका हुन् । स्रोत भन्छ - ‘पार्टी तपाइले चलाउनुस् र हाम्रो पूर्व सहमतिअनुसार प्रधानमन्त्री पनि तपाई बन्नुस्, म छोड्न तयार छु ।’ प्रधानमन्त्री ओलीले प्रचण्डलाई भनेका थिए ।

अध्यक्ष ओलीको यो प्रस्तावसँगै अध्यक्ष प्रचण्ड स्कूल विभाग प्रमुखको जिम्मेवारी ईश्वर पोखरेललाई दिन तयार भएका हुन् । नेकपामा सुरुदेखि नै एउटा अध्यक्षले सरकार र अर्को अध्यक्षले पार्टी चलाउनुपर्ने बहस चल्दै आएको थियो ।

तर अहिले प्रधानमन्त्री ओलीले नै पार्टी चलाउनुस् भन्ने प्रस्तावलाई आश्चर्यका रुपमा हेरिएको छ ।

यद्यपि, यसबारे प्रधानमन्त्री ओली भदौ पहिलो साता सिंगापुरमा स्वास्थ्य उपचार गरेर फर्केसँगै ठोस निर्णय हुने बताइएको छ ।

यो प्रस्तावमा सहमति भए प्रचण्ड पार्टीको कार्यकारी अध्यक्ष बन्नेछन् ।

यस्तै अध्यक्षद्वयको निर्णयसँगै वरिष्ठ नेताको मर्यादाक्रममा पहिलो वरियता रहेका नेता माधवकुमार नेपाललाई हटाएर दोस्रो वरियतामा रहेका नेता झलनाथ खनाललाई ल्याउने प्रस्ताव पनि अघि सारिएको छ ।

अध्यक्षद्वयको यो निर्णयसँगै वरिष्ठ नेता नेपाल भने असन्तुष्ट बनेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप