मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नवनियुक्त संगठन विभाग प्रमुख गौतमको प्रतिक्रिया : गुटबन्दी गर्दिनँ, पार्टीलाई एकढिक्का बनाएर लैजान्छु

शुक्रबार, ३१ साउन २०७६, १७ : २६
शुक्रबार, ३१ साउन २०७६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संगठन विभाग प्रमुख वामदेव गौतमले पार्टीलाई संगठित, सुदृढ र गतिशील बनाएर लैजाने बताएका छन् ।

शुक्रबार बसेको नेकपाको सचिवालय बैठकले संगठन विभाग प्रमुखको जिम्मेवारी दिएपछि नेता गौतमले रातोपाटीसँगको संक्षिप्त कुराकानीमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

पार्टीमा शक्तिशाली मानिने संगठन विभागको जिम्मेवारी पाउनु भएको छ, पार्टी संगठनलाई अगाडि बढाउनेबारे के सोच्नु भएको छ भन्ने रातोपार्टीको प्रश्नमा नेता गौतमले भने, ‘संगठन विभागको जिम्मेवारी पाएसँगै पार्टीमा काम गर्नको निम्ति थप जिम्मेवारी महसुस गरेको छु । यो जिम्मेवारी मैले बकाइदा पुरा गर्छु । संगठन विभाग भनेको पार्टीका सबै संगठनहरुलाई व्यवस्थित गर्नको निम्ति अध्ययन गर्ने, निर्णय गर्ने र पार्टीको सबै च्यानलमार्फत पार्टीमा निर्णय दिने विभाग हो । त्यही अनुसार मैले कार्यसम्पादन गर्छु ।’

नेता गौतमले पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त पनि गरे । ‘पार्टीभित्रका कुनैपनि समस्याहरु समाधान हुन सकेका छैनन् भने त्यो समाधान गर्नका निम्ति मद्दत गर्ने काम हुन्छ । कम्युनिष्ट पार्टी जसरी अगाडि बढ्नु पर्ने हो त्यसरी अगाडि बढ्न सकेको छ कि छैन ? यि सबै विषयमा छलफल गर्ने काम हुन्छ । सबैसँग सुझाव लिएर अगाडि बढ्ने काम हुन्छ’, नेता गौतमले भने, ‘यसले पार्टी स्कुल विभागलाई पनि सुझाव दिन्छ । यस्तै अरु विभाग र पार्टी कार्यालयलाई सुझाव दिँदै काम गर्छ । सोही अनुसार पार्टीलाई संगठित सुदृढ र अत्यन्त गतिशिल बनाउन संगठन विभागले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यही अनुरुप मैले नेतृत्व गर्नेछु,’ नेता गौतमले भने ।

पार्टी एकीकरणले पूर्णता नपाउँदै गुटउपगुटमा विभाजित नेकपालाई एकताबद्ध बनाएर लैजाने चुनौति देखिन्छ नि भन्ने प्रश्नमा नेता गौतमले भने, ‘चुनौतिहरु भनेको मैले काम अलि बेठीक ढंगले गरँे भने, गुटबन्दीपूर्ण ढंगले गरेँ भने अथवा पार्टी निर्णय भन्दा फरक ढंगले काम गरे भने मात्रै चुनौति थपिन्छ । मैले मेरो जिम्मेवारी बकाइदा पार्टी निर्णय बमोजिम पुरा गर्छु । सबै काम कुशलतापूर्वक सम्पन्न गर्न सक्छु ।’

उनले तत्कालीन दुई पार्टी (एमाले, माओवादी केन्द्र) बीच भावनात्मक एकता कायम गर्न जोड दिने बताए ।

‘मेरा लागि चुनौति भनेको तत्कालिन दुई पार्टीबीच भावनात्मक एकता कायम कसरी गराउने भन्ने हो । अर्को पार्टीभित्र विभिन्न समूहहरु निर्माण भएका छन्, विभिन्न बेलामा खडा भएका प्यानलले गर्दा हो । त्यसमा मेरो ध्यान जानेछ,’ नेता गौतमको भनाइ छ ।

कार्यकर्ताको कामको मूल्यांकन गर्दै जिम्मेवारी बाँडफाड गरिने बताउँदै नेता गौतमले पार्टीमा भएका बेथिथिहरु र अन्य व्यवस्थापनलाई सुदृढ गर्ने दाबी गरे ।

उनले भने, ‘पार्टी सिस्टमलाई तलदेखि माथिसम्म स्थापित गर्ने मेरो प्रयत्न हुन्छ । अहिले यो विषयमा कसरी कार्यान्वयन गर्ने, कसरी योजना बनाउने भन्नेबारे अब मैले आफ्नो गृहकार्य गर्छु ।’

यता नेता गौतमलाई नेकपाको उपाध्यक्ष बनाउने प्रस्तावलाई स्थायी कमिटी र केन्द्रीय कमिटीमा लग्ने निर्णय गरेको छ ।

यस विषयमा उनले भने, ‘पार्टीको उपाध्यक्ष भनेको पदीय हैसियत मात्रै हो । त्यो पाए भने पदीय हैसियत मात्रै हो । यसबारे स्थायी कमिटीले निर्णय गर्न बाँकी नै छ । मेरो जिम्मेवारी भनेको संगठन विभाग हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप