टाउको जोगाउने कि दुर्घटना नै रोक्ने ?
ट्राफिक प्रहरीले मोटरसाइकलमा पछाडि बस्नेले समेत हेल्मेट लगाउनुपर्ने नियम पुनः लागु गर्ने कुरा उठेपछि यतिखेर पक्ष विपक्षमा व्यापक आवाज उठेको छ । मोटरसाइकलमा पछाडि बस्नेले हेल्मेट लगाउनुपर्ने कुरा कुनै अनौठो र नयाँ हैन । यो ऐनमा नै भएको व्यवस्था हो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ७ को दफा १३० (२) मा मोटरसाइकल तथा अन्य दुई पाङ्ग्रे सवारी चलाउँदा चालकले सो सवारीमा बस्नेले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्ने नियम रहेको छ ।
यो कानूनको कुरा भयो । मुख्य कुरा चाहिँ यो नियम लागू गर्न कत्तिको उपयुक्त र व्यवहारिक छ भन्ने नै हो ।
सुरक्षाको दृष्टिकोणले मात्रै भन्दा मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनु अति उत्तम कुरा हो । यद्यपि, यसको व्यवहारिक कठिनाई चाहिँ आफ्नै ठाउँमा छ ।
अब मोटरसाइकल पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने
अहिले ट्राफिक प्रहरीले हेल्मेट लगाउने कुरा अघि सार्नुभनेको यात्रुकै सुरक्षाको हकमा छ, यसमा कुनै विवाद छैन । फेरि पनि मुख्य कुरा चाहिँ यो कत्तिको व्यवहारिक छ, त्यसले यात्रु वर्गमा पार्ने कठिनाई तथा उत्पन्न गर्ने आर्थिक व्ययभार पनि हो । साँच्चै नै भन्ने हो भने, हेल्मेट लगाउने कुरा यात्रुको सम्पूर्ण सुरक्षाको प्रत्याभूति हैन, त्यसले अंशमा मात्रै सुरक्षा प्रदान गर्ने हो । हेल्मेट लगाउँदा मोटरसाइकलमा सवार यात्रुको टाउको त जोगिएला, तर त्यसले दुर्घटनाका अन्य गम्भीर अवस्थाबाट चाहिँ बचाउन सक्दैन ।
दुर्घटना हुँदा टाउको मात्रै हैन, शरीरका अन्य अंगहरुमा पनि गम्भीर चोटपटक लाग्न सक्छ । टाउको मात्रै बचाएर के गर्ने ! हात काट्नुपर्ने, खुट्टा काट्नुपर्ने अवस्था, ढाड भाँचिने अवस्था आयो भने जिन्दगीभरी अपाङ्ग भएर बाँच्नुपर्ने अवस्था आउन पनि सक्छ ।
पछाडि बस्ने यात्रुलाई अनिवार्य हेलमेट : असफल नियमको पुनः प्रयोग !
हामीले यस्ता दुर्घटनाहरु प्रत्यक्ष रुपमा धेरै देखेका छौँ । धेरै मानिसहरुको टाउकोमा चोटपटक लाग्नुभन्दा पनि बढी हात, खुट्टा काट्नुपर्ने स्थिति आएको छ । मोटरसाइकल असाध्यै कम सुरक्षित सवारी साधन हो । यसमा आफूले दुर्घटना गरेमा पनि आफैँ घाइते हुने र अरुले हान्दा पनि आफैँ घाइते हुने अवस्था छ । यसमा दोहोरो खतरा हुन्छ ।
त्यसैले अहिले हाम्रो ध्यान, चासो, चिन्ता र बहस हेल्मेटमा अर्थात् टाउको जोगाउनेमा हैन, दुर्घटना नै रोक्नेमा केन्द्रीत हुनु जरुरी छ ।
दुर्घटना हुन नदिन के गर्न सकिन्छ त ?
कुनै पनि दुर्घटनालाई पूरै निषेध गर्न वा रोक्न सम्भव छैन । तर केही कुराहरुमा सर्तकता अपनाउने हो भने त्यसलाई पूरै न्यून चाहिँ गर्न सम्भव हुन्छ । यो कुरा मोटरसाइकलको हकमा पनि सत्य हो । साँच्चै नै मोटरसाइकल दुर्घटनालाई रोक्ने हो भने त्यसको लागि सबैभन्दा अनिवार्य शर्त नै मोटरसाइकल चालकलाई दक्ष र जिम्मेवार बनाउनु हो ।
त्यसबाहेक, तत्कालै निम्न उपायहरु अपनाएर पनि दुर्घटनालाई न्यून गर्न सकिन्छः
–गति सीमित गर्ने ।
–गलत लेनबाट सवारी चलाउन नदिने ।
–ओभरटेक गर्न नदिने ।
–बिना लाइसेन्स सवारी चलाउन नदिने ।
–सडकको अवस्थामा सुधार ल्याउने ।
–सवारी नियम उल्लंघन गर्नेलाई दण्ड जरिवाना कडा गर्ने र अपराधको प्रकृति र पटक हेरेर लाइसेन्स नै रद्द गर्ने हदसम्मको कडा कारबाहीको व्यवस्था गर्ने ।
–जनचेतना फैलाउने ।
–अभिभावकहरुले पनि आफ्ना छोराछोरीले कसरी सवारी साधन चलाइरहेका छन्, त्यस सन्दर्भमा विशेष ध्यान दिने ।
–सवारी चलाउँदा फोनको प्रयोग गर्न नदिने । (२० देखि ३० उमेरका युवाहरुमा फोनको प्रयोगले धेरै दुर्घटना हुने गरेको तथ्यांकले देखाउँछ ।)
–ट्राफिक प्रहरीको रेकर्डमा ३० वर्षभन्दा माथिको उमेरसमूहबाट दुर्घटना कम नै हुने गरेको देखिएको छ ।
माथि उल्लेखित कुराहरुलाई तत्कालै र तुरुन्तै लागू गर्न सम्भव छ र गरिनु जरुरी पनि छ ।
मोटरसाइकलको सवारी आफैंमा दुर्घटनाका सन्दर्भमा बढी खतरनाक छ । सवारी चालक आफू जतिसुकै होसियार र सतर्क रहेपनि अर्को मोटरसाइकल चालकको लापरवाहीको कारण पनि दुर्घटनामा पर्ने गरेको घटना बढी हुने गर्छ । त्यसैले सबैभन्दा मुख्य कुरा चाहिँ अहिलेको खुकुलो लाइसेन्स प्राप्त गर्ने प्रक्रियामा नै पनि कडाइ गरिनु जरुरी छ । त्यसबाहेक, मोटरसाइकलको लाइसेन्स दिनुपूर्व लाइसेन्स प्राप्त गर्नको लागि विशेष कक्षा सञ्चालन गरिनु र मोटरसाइकल चालकलाई तत्सम्बन्धी एक हप्ताको गहन प्रशिक्षण पश्चात मात्रै लाइसेन्स दिनुपर्ने व्यवस्था ल्याउनुपर्ने आवश्यक छ । विशेषतः सैद्धान्तिक ज्ञान र थोरै सीप प्रदर्शन गरेकै भरमा लाइसेन्स दिइने अहिलेको परिपाटीमा सुधार गरेर उक्त प्रशिक्षणमार्फत् सडकमा सवारी कसरी चलाउने भन्ने विषयमा जानकारी दिने व्यवस्था गरिने हो भने पनि दुर्घटनालाई धेरै कम गर्न सकिन्छ । हल्का ढंगले हेर्दाबुझ्दा सडकमा बाइक कसरी चलाउने भन्ने कुरा सजिलो जस्तो लाग्न सक्छ । तर सवारीसम्बन्धी आधारभूत व्यवहारिक ज्ञानहरु नलिइकनै मोटरसाइकल चलाउनेहरुबाट धेरै नै दुर्घटना हुने गर्छन् ।
अहिलेको मुख्य समस्याहरुमध्येको एउटा समस्या ट्राफिक प्रहरी भएको ठाउँमा मात्र मोटरसाइकल चालकले सवारी साधनको गति सीमित गर्ने र ट्राफिक प्रहरी नभएको ठाउँमा तीब्र गतिमा हाँक्ने, तीनजना बस्ने, ट्राफिक नियमको पालना नगर्ने गरेको व्यवहारमा देखिन्छ । उदाहरणको लागि, सिंहदरबार चोकमा ट्राफिक प्रहरी देख्यो भने लेनमा बस्ने, देखेन भन्ने लेनलाई वास्तै नगरी कुदाइहाल्ने प्रवृत्ति त्यसैको उदाहरण हो । यो भनेको जनचेतनाकै अभावको द्योतक हो । सवारी नियमको पालना गर्नुभनेको ट्राफिक प्रहरीको डरले गरिनुपर्ने काम मात्रै हो भन्ने मानसिकता अहिले थुप्रै चालकहरुमा जब्बर ढंगले गढेर रहेको छ । त्यसलाई बदल्नु जरुरी छ । यसको लागि गर्नुपर्ने भनेको फेरि पनि ट्राफिक नियमको पालना ट्राफिकको लागि हैन, आफ्नै सुरक्षाको लागि हो भन्ने जनचेतना अभिबृद्धि गराउनेतर्फ ध्यानलाई मूल रुपमा केन्द्रीत गर्नु नै हो ।
भन्ने नै हो भने, ट्राफिक नियमको पालना गर्नु गराउनुपर्छ भन्नेबारेमा यहाँ खासै चर्चा परिचर्चा हुँदैन । त्यो भनेको खालि ट्राफिकको काम मात्रै हो भन्ने जस्तो ठानिन्छ, गरिन्छ । अनलाईन, टीभी, पत्रपत्रिका, मिडिया कतै पनि सवारी कसरी चलाउने भन्ने जस्ता विषयमा प्राथमिकताका साथ सूचना–जानकारी प्रकाशन प्रशारण गरिएको छैन । खासमा भन्ने हो भने, मिडियामार्फत् ट्राफिक सम्बन्धी जनचेतना फैलाउन आवश्यक छ । सरकारले पनि यस्तो कुरामा चासो दिनुपर्छ ।
हाम्रोमा विडम्बना भनेकै लाइसेन्स लिन एकदम खुकुलो भयो । लाइसेन्स दिने अहिलेको खुकुलो विधिमा पनि परिवर्तन गरिनु जरुरी छ । अहिले लाइसेन्स लिने तरिका सहज छ । केही सैद्धान्तिक कुराकानीहरु जान्दैमा र साघुँरो ठाउँमा ८ घुमाएर सफलता हासिल गर्दैमा लाइसेन्स दिने गरिन्छ । यसमा उसको सिद्धान्तलाई व्यवहारमा लागू गर्न सक्छ कि सक्दैन, लाइसेन्स लिने व्यक्तिमा सडकमा गएर कसरी सवारी चलाउने ज्ञान नै छ कि छैन भन्ने जाँच परख गरिँदैन । मेरो विचारमा सवारी दुर्घटनालाई न्यून गर्ने हो भने यसतर्फ पनि सोच्नै पर्छ ।
यस्तै, बजारमा थरिथरिका मोटरसाइकलहरु आउने गर्छन् । ती मोटरसाइकलहरु हाम्रो सडकमा चलाउन योग्य छन् कि छैनन् भनेर व्यवहारिक परीक्षण नै हुँदैन । जुन ब्राण्डको मोटरसाइकल आए पनि सरकारले दर्ता गर्ने गरेको छ । खासगरी, अहिलेका कतिपय मोटरसाइकलहरुको सिटको बनौट सुरक्षाको दृष्टिकोणले दुईजना बस्न मिल्ने खालकै छैनन् । सामान्यतः हल्का मात्रै आपतकालीन ब्रेक लगाउँदा पनि पछाडि बसेका मानिस हुत्तिने, बाइकबाट खस्ने खालका सीटहरु भएका बाइकहरुलाई अनुमति नै नदिने वा दिइएकाहरुमा पनि दुईजनालाई बस्न नदिने, एक जना मात्रै बस्न दिने कुरामा कडाइ गरिनु जरुरी छ । यसो गरिएको खण्डमा पनि मोटरसाइकलजन्य दुर्घटनाहरुलाई न्यून गर्न सकिन्छ ।
नेपालमा मोटरसाइकलहरुको मेकानिकल जाँच गर्ने प्रचलन छैन । दगुर्न मिल्ने हालतका एकदमै पुरानो मोटरसाइकल पनि चलाउन दिएका छौं । लुकिङ ग्लास, लाइसेन्स, ब्लु बुक, मापसे मात्रै चेक गर्ने गरेका छौँ । मोटरसाइकल चालकलाई नै थाहा हुँदैन, आफ्नो मोटरसाइकल चलाउन ठीक अवस्थामा छ कि छैन भनेर ? त्यसैले सडकमा गुड्ने सबै मोटरसाइकलहरुको मेकानिकल टेस्ट गर्नुपर्ने व्यवस्था लागू गरेर त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्छ ।
एकजना मात्र बस्न मिल्ने खालका सिट भएका मोटरसाइकरहरु पनि बजारमा छ्यास्छ्यास्ती पाइन्छन् । त्यसैले सिटको बनौटको आधारमा पनि मोटरसाइकलमा कतिजना बस्ने भन्ने मापदण्ड बनाउनुपर्छ । पछाडिको सीट सुरक्षित नभएको मोटरसाइकलमा पछाडि यात्रु राख्न प्रतिबन्धित गरिनुपर्छ । दुई जनाभन्दा बढी जति जना बसेपनि लाग्ने ५०० जरिवानालाई बढाइनु पर्छ, ताकि जरिवाना तिरेर उम्केन प्रवृत्तिले प्रोत्साहन नपाओस् ।
ट्राफिक चेकिङ हुने ठाउँमा मात्रै मानिस मापसे गरेर सवारी चलाउन डराउने र अन्य ठाउँमा मापसे गरेर नै सवारी चलाउने परम्परा छ । त्यसैले मानिसमा ट्राफिक चेकिङ भएपनि नभएपनि मापसे सेवन गरेर सवारी चलाउन हुँदैन भन्ने चेतनाको विकास गर्नुपर्छ । दुःखको कुरा, मापसेसम्बन्धी नियम बलपूर्वक मात्र लागू भएको छ ।
जे कुरामा पनि दण्डको र कानूनको डण्डा चलाउनुभन्दा पनि जनचेतना जागृत गर्नु जरुरी छ, गर्नुपर्छ । पैदलयात्री जथाभावी बाटो काट्दा मोटरसाइकल हतारमा ब्रेक लगाउँदा दुर्घटना बढी हुने गरेको ट्राफिक प्रहरीको रेकर्डमा छ ।
अहिलेसम्म मोटरसाइकल पछाडि बस्नेले लगाउने पहिरनमा ध्यान दिइएको छैन । पछाडि बस्नेले दुवै हातले सामान बोक्न पनि हुँदैन । त्यसले गर्दा उसले पछाडि बस्दा समाउन पाउँदैन । त्यसले गर्दा दुर्घटना हुन्छ । पछाडि बस्नेले पनि मोबाइल फोनको प्रयोग गर्न हुँदैन ।
चालकसँग पछाडि बस्नेले गफ गर्दा पनि ध्यान विकर्षित भएर दुर्घटना हुन सक्छ । त्यसैगरी पछाडि बस्नेले मोटरसाइकलमा कसरी बस्ने भन्ने कुरा पनि सिकाउनुपर्छ । पछाडि बस्नेले मोटरसाइलमा हुने डन्डीमा समात्ने वा अगाडिको चालकलाई समाउने गर्नुपर्छ ।
ट्राफिक प्रहरीले गर्न खोजेको कुरा सुरक्षाको हिसाबले राम्रो हो तर मुख्य प्रश्न भनेको दुर्घटना रोक्नेतर्फ ध्यान दिनुपर्छ भन्ने नै हो । हेल्मेटकै कुरा गर्दा काठमाडौंमा कुद्ने मोटरसाइकलहरुमध्ये ९ लाख मोटरसाइकलवालाले मात्रै पनि २ हजारका दरले हेल्मेटमा खर्च गर्नुपर्ने भयो भने त्यसको कूल मूल्य १ अरब ८० करोड हुन आउँछ । यो हिसाबले कुरा गर्दा केही करोड खर्च गरेर व्यवस्थापन गर्न सकिने ट्राफिक लाइट समेत राख्न सरकारले नसकिरहेको बेला सुरक्षाको कारण देखाउँदै त्यत्रो आर्थिक भार पर्ने गरी पछाडि बस्ने यात्रुलाई अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम ल्याउन उचित नहुने आवाज जनस्तरमा उठ्नु स्वभाविक नै ठान्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा
-
निर्यात बढेपछि घट्यो देशको व्यापार घाटा
-
आज राजधानीमा नेकपाको जनसभा : विप्लवले सम्बोधन गर्ने
-
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्छ : मुख्यमन्त्री कँडेल
-
पूर्णबहादुरको सारङ्गी : ‘बा’को कथा कि गन्धर्व लोकजीवनको उजागर ?
-
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस