एनसेल बमकाण्ड : सेनामा ७ वर्ष काम गरेर भागेका थिए विप्लवका अंगरक्षक

काठमाडौं । २०५४ साल असोजमा नेपाली सेनामा भर्ना खुल्यो । देशको सेवा गर्ने अठोटका साथ नुवाकोटको साविकको तारुका–२ का सूर्य भुजेल पनि सेनामा भर्ना भए ।
भुजेलको असोज १० गते नेपाली सेनामा नाम पनि निस्कियो । नाम निस्केसँगै उनले देशको नाममा सपथ खाए । सेनामै रहँदा उनले स्वभाविक रुपमा हतियार चलाउन सिक्ने नै भए ।
भुजेलले युनिट श्री शेर गणमा रहेर ७ वर्षसम्म नेपाली सेनामा जागिर खाए । नेपाली सेनामा रहँदा भुजेलको व्यस नम्बर १६१०७३ थियो । उनको दर्जा थियो ‘सी’ ।
उनले जागिर खाएसँगै देशमा तत्कालिन नेकपा (माओवादी) को सशस्त्र द्वन्द्वले उग्ररुप लिइसकेको थियो । यद्यपी भुजेलको सैनिकसँग नाता २०६१ साल साउन १ गतेसम्म कायम रह्यो । त्यसपछि सेनाबाट भागेका उनी अहिले पनि नेपाली सेनाको ‘भगौडा’ को सूचीमा सूचीकृत छन् ।
नेपाली सेनाले भुजेलको नाम ‘सेनाको भगौडा’ सूचीमा राखेको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी सोमेन्द्र सिंह राठौरले पुष्टि गरे ।
..अनि बाटो मोडियो
नेपाली सेनाबाट भागेसँगै उनी केही समय काठमाडौंमै लुकेर बसे । त्यसपछि विस्तारै तत्कालिन माओवादीसँग जोडिन पुगे । मिठो बोल्ने, नरम स्वभावका भुजेल प्रचण्ड, बाबुराम, मोहन वैद्य र विप्लवसँग नजिकिँदै गए ।
हतियार चलाउन दक्ष भुजेल तत्कालिन माओवादी शान्ति प्रक्रियामा आएसँगै सो पार्टीमा थप सक्रिय भए । सँगै उनी तत्कालिन माओवादीको नुवाकोट जिल्लाको वाइसिएल अध्यक्ष समेत बने । उनको नेताहरुलाई प्रभावित पार्ने शैली यस्तो थियो कि पार्टीमा जोडिएको केही समयमै शीर्ष नेतृत्वसम्म पहुँच राख्ने हैसियतमा पुगे ।
तत्कालिन एकीकृत माओवादी विभाजन अघिसम्म प्रचण्ड निकट मानिने भुजेल एकाएक पार्टी फुटेसँगै वैद्यतिर लागे । र, सो पार्टी पनि विप्लवको विश्वासपात्र बन्न सफल भए । वैद्यसँग पनि विप्लव छुटिटएसँगै भुजेल विप्लवको पार्टीमा थप सक्रिय बने ।
विप्लवको पार्टीमा आबद्व भुजेल केही समय नेत्रविक्रम चन्द विप्लवको विश्वास पात्र बन्दै ‘अगं रक्षक’ को रुपमा कार्यरत रहे । त्यसपछि राजनीतिक फाँटमा फर्केका उनलाई पार्टीले भ्याली कमाण्ड जिम्मा समेत दिएको बताइएको छ ।
बमकाण्डमा भुजेलको ‘कनेक्सन’
यस्तैमा गत फागुन १० गते नख्खुस्थित एनसेल कार्यालयको गेट अगाडि राति बम विस्फोट भयो । विप्लव नेतृत्वको नेकपाले एनसेलले ७३ अर्बभन्दा बढी कर छलेको, अदालतले गरेका निर्णय पालना नगरेकोलगायतका आरोप लगाउँदै उक्त बम विस्फोटको जिम्मा लियो ।
एनसेल टावरमा भएको बम विस्फोटमा सिंहप्रसाद गुरुङको उपरचारको क्रममा मृत्यु भयो । प्रतिक्षा खड्का र उरुसा मानन्धर गम्भीर घाइते भए ।
महानगरीय प्रहरी अपराध महाशाखाले बम विस्फोट घटनाबारे छानबिन सुरु गर्यो । फागुन १५ गते महाशाखालाई घटनामा संलग्न एक व्यक्ति कलंकीमा छन् भन्ने गोप्य सूचना आयो । लगत्तै कलंकी पुगेको महाशाखाको विशेष टोलीले एक वैवाहिक कार्यक्रममा सहभागि भएका भुजेललाई पक्राउ गरेको थियो ।
नख्खु काण्डमा हालसम्म को–को परे पक्राउ ?
हालसम्म ललितपुर नख्खुस्थित एनसेल मुख्यालयमा बम विस्फोटमा संलग्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका ६ जना पक्राउ परेका छन् ।
भुजेलसँगै शिव धिमाल, रामकृष्ण खतिवडा, ईश्वर दमाई, डिकेन्द्र राई र विरु बहादुर कठायत पक्राउ परेका छन् । कठायत मुख्य योजनाकार हुन् । उनी (हिजो) मंगलबार मात्र सुन्धाराबाट पक्राउ परेका हुन् ।
यस्तै नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट गराउने २ जना पनि पक्राउ परेको एसपी राठौरले जानकारी दिए ।
गुरुङको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार कठायत नै हुन् । कठायतसँगै राजिव गुरुङ पक्राउ परेका छन् भने एकजना अझैं फरार छन् ।
पक्राउ परेकाहरुविरुद्व विस्फोटक पदार्थ अन्र्तगत मुद्दा चलाइएको एसपी राठौरले बताए ।
समातिए नख्खु बमकाण्डका मुख्य योजनाकार