मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय

सवारी निषेधको अवज्ञाः ‘जनआक्रोश’ को झिल्कोले ‘राष्ट्रपति’माथि बज्रेको झापड

बुधबार, २२ फागुन २०७५, २२ : २८
बुधबार, २२ फागुन २०७५

गणतन्त्र नेपालको इतिहासमा पहिलो पटक हिजो मंगलबार बेलुकी काठमाडौंमा भीभीआइपीहरुको ‘राजतन्त्र शैलीको’ सवारीको नाममा लादिएको पञ्चायतकालीन थोत्रे नियमलाई जनताले अवज्ञा गरेका छन् । सैन्य दिवसको अवसरमा जंगी अड्डामा आयोजित सम्मान भोजमा सहभागी हुने भनिएको राष्ट्रपतिको ‘सवारी’को नाममा लामो समयसम्म उनी हिँड्ने भनिएको रुटमा यातायात अवरुद्ध पारिएपछि आजित बनेका आम जनताले लैनचौर क्षेत्रमा त्यसको अवज्ञा गरे, उनीहरुले त्यो निषेधलाई तोडिदिए, ट्राफिक प्रहरीले रोक्दारोक्दै पनि उनीहरु रोकिएनन् ।

राष्ट्रपतिको सवारीको नाममा लादिएको ‘सवारी आवागमनमाथिको अस्थायी निषेध’लाई आम जनताले तोडेर प्रदर्शन गरेको हिजोको त्यो ‘जनआक्रोश’ झट्ट हेर्दा सानो र आवेगजन्य घटना जस्तो लाग्न र देखिन सक्छ । तर त्यसले उब्जाएका प्रश्नहरु गम्भीर र तत्कालै सम्बोधन गरिनुपर्ने खालको छ भन्ने हामीलाई लाग्दछ ।

खासगरी, भीभीआइपीहरुको सवारीको नाममा राज्यसत्ताको दुरुपयोग गर्दै घण्टौ अघिदेखि सडकमा सुरक्षाकर्मीहरुलाई तैनाथ गर्ने अनि आम जनताको पीरमर्का र समस्यालाई पटक्कै ख्याल नै नगरी उनीहरुको आवातजावातलाई नै ठप्प पार्दै सवारी शुरु हुनुभन्दा लामो समयअघिदेखि नै सडकहरुमा रोकतोक हुने कुहीगन्धे संस्कृति पञ्चायतले थोपरेको विरासत थियो, जसमा समयसापेक्ष सुधार गरिनु जरुरी छ । सवारीको नाममा घण्टौं सडक जाम गर्ने र आम जनतालाई दुःख दिने त्यो शैली आम जनतासँग कटिएका, निरंकुशताको गर्भगृहबाट जन्मेर जनदमनका आधारमा शासन सत्ता चलाएकाहरुमा आमजनताप्रतिको डर, भय र त्रासको प्रतिबिम्बन हो भन्ने कुरामा कुनै शंका छैन । यस अर्थमा त्यो जनविरोधी ‘सवारी नियम’ बलात लादिनुको अर्थ र तात्पर्य बुझ्न सकिन्छ । तर आमजनताको रगतपसिनाको बलमा शासनसत्तामा पुगेकाहरु जब आफैं चाहिँ त्यो नियमलाई फेर्न र परिवर्तन गर्नुको सट्टा त्यसैको अधीनमा रहेको कठपुतली बन्न पुग्छ, तब भन्न करै लाग्छ, निरंकुश शासकहरुलाई जस्तै गणतन्त्र नेपालका जनताबाटै चुनिएका भनिएका शासकहरुलाई पनि आमजनतासँग डर त्रास र भय लाग्दो रहेछ, जसले गर्दा उनीहरुलाई सडकमा हिँड्डुल गर्दा पनि सुरक्षाकर्मीको पहरा चाहिँदो रहेछ, कल्पनातीत असुरक्षाको भावनाले उनीहरुका लागि आम जनताको हिँड्डुलमा पनि अस्थायी प्रतिबन्ध लगाइनु पर्दो रहेछ ।

हिजोको घटनाले संकेत गरेको अर्को खतरनाक कुरा के पनि हो भने निरंकुश पञ्चायती शासन ढलेपछि त्यसले गर्भाधान गरेर छोडेका शासनसत्ताको कतिपय जनविरोधी तौरतरिका र संस्कृतिहरुमा खासै हेरफेर भएको छैन, बरु त्यसलाई परिवर्तन गरेर जनहितकारी बनाउछौं भन्ने बाचाकबोल गर्दै शासनसत्तामा पुगेकाहरुको एउटा ठूलो हिस्सा चाहिँ उल्टै व्यवहार र संस्कारमा परिवर्तित भएका छन् ।

हैन, कुरा त्यसो हैन भन्ने शासनसत्ता सञ्चालन गरेर बसेकोहरुको सोच, जिकीर  र मान्यता हो भने उनीहरुले यो घटनालाई सामान्य ठानेर बस्ने भुल गर्नु हुँदैन भन्ने हाम्रो ठहर हो । खासगरी, भीभीआइपीको सवारीको नाममा जनताका जीवनलाई अस्तव्यस्त बनाउने गरी लादिएको यो जनविरोधी नियमलाई आम जनताले पटक्कै रुचाएका छैनन्, त्यसले उनीहरुलाई अत्यन्तै दुःख, कष्ट र पीडा पुर्याएको छ र त्यही कारण उनीहरु यसलाई अविलम्ब बदल्नु पर्छ भन्ने पक्षमा छन् भन्ने कुरा गणतन्त्र नेपालका शासकहरुले बेलैमा बुझ्नु, महसूस गर्नु र त्यसलाई बदल्नु जरुरी छ । त्यो जनविरोधी ‘सवारी नियम’का विरुद्धमा हिजो देखिएको जनप्रतिरोध त्यस्तो झिल्को हो, जसलाई बेलैमा सम्बोधन नगरिएमा भोलि त्यसले दावानलको रुप लिन पनि सक्छ । सत्ता सञ्चालकहरुले बुझ्नै पर्छः त्यो सांकेतिक जनआक्रोश अहिलेको शासनसत्ताले हिजोको जनतामारा, जनविरोधी प्रथा र परम्परालाई निरन्तरता दिँदै बलात लादिएको पञ्चायती शैलीको संस्कृतिविरुद्धको प्रतिरोध मात्रै हैन, त्यो त राष्ट्रपति जस्तो सम्मानित संस्थामा आसीन सम्माननीय विद्यादेवी भण्डारीले फेर्न र बदल्न नसकेको वा नचाहेको संस्कार र प्रवृत्तिमाथि हानिएको झापड पनि हो । यो कुरालाई बेलैमा गम्भीरतापूर्वक मनन गरिनु जरुरी छ ।

हिजोको घटनाले संकेत गरेको अर्को खतरनाक कुरा के पनि हो भने निरंकुश पञ्चायती शासन ढलेपछि त्यसले गर्भाधान गरेर छोडेका शासनसत्ताको कतिपय जनविरोधी तौरतरिका र संस्कृतिहरुमा खासै हेरफेर भएको छैन, बरु त्यसलाई परिवर्तन गरेर जनहितकारी बनाउछौं भन्ने बाचाकबोल गर्दै शासनसत्तामा पुगेकाहरुको एउटा ठूलो हिस्सा चाहिँ उल्टै व्यवहार र संस्कारमा परिवर्तित भएका छन् । अर्थात् उनीहरु जनताका सुख, दुःखमा साथ दिने सच्चा प्रतिनिधि हैन, नवसम्भ्रान्त वर्गमा परिणत भएका छन्, जसलाई जनताको हित, सुख, सुविधाप्रति खासै चासोचिन्ता छैन र जो हिजोका निरंकुश शासकहरु जस्तै आमजनताबाट आफूलाई असुरक्षित महसूस गरेर भयभीत बनेका छन् ।

हिजो सिआइएले सयौं पटक हत्या–प्रयास गरेका र २४ सैं घण्टा खतराको निराशामा परिरहेका क्यूबाका राष्ट्रपति फिडेल क्यास्त्रो सामान्य सुरक्षाको भरमा, कुनै कुनै बेला त सुरक्षा व्यवस्थाबिनै पनि रातविरात कुनै पनि समयमा हवानाका सडकमा विचरण गर्थे, जुनसुकै बेलामा पनि जनताका घरमा टुप्लुक्क पुग्थे । उनलाई सवारीको नाममा सडक जाम गर्ने, जनतालाई दुःख दिने खालका परिपाटी अंगाल्नु पर्दैनथ्यो । के गणतन्त्र नेपालका शासकहरुलाई फिडेल क्यास्त्रोलाई जस्तै सुरक्षा खतरा छ ? के जनतालाई घण्टौ सास्ती दिने अनि राजधानीका ट्राफिक व्यवस्थापनलाई अस्तव्यस्त बनाउने अहिलेको ‘सवारी व्यवस्थापनको परिपाटी’लाई सहज र सरलीकरण गरेर जनमैत्री बनाउँदा उनीहरुको सुरक्षामा भयानक खतरा पैदा भइहाल्छ ? यसबारेमा शासकहरुले बोल्नु जरुरी छ । हैन, उनीहरु आफूलाई जनताका सच्चा प्रतिनिधि ठान्छन्, आफूहरु हिजोका शासकहरुको पदचाप पछ्याउने नवसम्भ्रान्त वर्ग हैन, भुइँतहसँगै जोडिएका जनताका सच्चा प्रतिनिधि ठान्छन् भने यस्ता जनतालाई दुःख, कष्ट र पीडा दिने जनविरोधी नीति, नियम र प्रचलनहरुलाई अविलम्ब खारेज गर्न सक्नुपर्छ ।

के वर्तमान सरकारले यो कार्य गर्ने तत्परता देखाउँला ? आजको यक्ष प्रश्न यो बनेको छ ।


 

जनताबाट छानिएर आएका भीभीआइपी व्यक्तित्वहरु आवातजावत गर्दा घण्टौं सडक किन खाली गर्नुपर्ने ?
-सीताराम हाथेछु
अहिलेको प्रचलनअनुसार, राष्ट्रपति, प्रधानमन्त्री लगायतका भिभिआइपीहरुको सवारी हुनुभन्दा आधाघण्टा अघिदेखि नै त्यो रुटको सार्वजनिक सवारी साधनहरु रोक्ने क्रम शुरु हुन्छ । त्यसरी भिभिआइपीहरुको सवारी हुने औपचारिक कार्यक्रमहरुमा सामान्यतः पहिले प्रधानमन्त्री, अनि १० मिनेटपछि उपराष्ट्रपति अनि मात्रै राष्ट्रपति आउने चलन छ । तर, सामान्यतः व्यवहारमा त्यसरी भइरहेको हुँदैन । समयको त्यो परिपाटीकै पनि पालना हुँदैन ।
तीन भिन्न भिभिआइपीको सवारीमा मात्रै ३० मिनेट लाग्ने ठाउँमा अधिकांश बेला बढी नै समय लाग्छ । त्यो भनेको अहिलको व्यवस्थापनअनुसार, थप बढी समय त्यस रुटमा सार्वजनिक सवारी साधनहरुको आवातजावतमा रोक लाग्नु हो । त्यसमाथि थप, काठमाडौं उपत्यकाको अन्तरनिर्भर तर अव्यवस्थिति सडक सञ्जालको कारण एक ठाउँमा मात्रै सवारी साधनहरु रोकिँदा यत्रतत्र सर्वत्र जाम हुने, अस्तव्यस्त हुने स्थिति त आफ्नो ठाउँमा छँदैछ । भिभिआइपीको सवारीको समयमा तलमाथि हुन्छ, त्यसले सडकमा जाम बढाउँछ । चिल्ला गाडीमा हुँइकिएर जाने भिभिआइपीसम्म जनताको पहुँच र आवाज पुग्दैन । त्यसको दोष र गाली जति चाहिँ सडकमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीले नै खप्नुपर्छ ।
त्यसैले, काठमाडौं उपत्यकाको ट्राफिकलाई व्यवस्थित, चुस्त, दुरुस्त बनाउने हो भने यो परिपाटीमा सुधार गर्नु जरुरी भइसकेको छ । आफ्नै देशभित्र जनताबाट छानिएर आएका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका व्यक्तित्वहरु आवातजावत गर्दा घण्टौं सडक किन खाली गर्नुपर्ने ? यो परिपाटीमाथि विचार गरिनु पर्छ, यसमा आम रुपमै प्रश्नहरु उठाइन थाल्नु पनि जरुरी छ । भिभिआईपीलाई कार्यक्रममा सम्मान गर्ने हो, सड्क खाली किन गराउने ?
हो, विशिष्ट व्यक्तिहरुको सुरक्षाको प्रोटोकललाई ख्याल गर्नैपर्छ, तर त्यसलाई सकेसम्म व्यवहारिक र जनतालाई कमभन्दा कम दुःख हुने खालका बनाइनेतर्फ पनि ख्याल गर्नु जरुरी छ । अतः भिभिआइपीहरु सवारी हुने सडकलाई घण्टौं खाली गराउने अहिलेको परिपाटीलाई सुधार गरेर भिभिआईपी हिँड्ने सडकको एक लेनमात्र, त्यो पनि सवारीको ५ मिनेट अघिबाट मात्र खाली गराएर अन्यत्र निर्वाध सवारी चल्न दिइनुपर्छ ।
यो गर्न सम्भव छ । यसो गरिएमा आम जनताले पाउने ट्राफिक अव्यवस्थापनजन्य दुःखमा कमी त आउने नै छ, उल्टै आम जनतामा भिभिआइप्रतिको सम्मानमा पनि बढोत्तरी नै हुनेछ ।
फागुन २, २०७५ मा रातोपाटीमा प्रकाशित हाथेछुको लेखबाट ।

विस्तृत पढ्नको लागि

काठमाडौंको भयावह ट्राफिक जाम : व्यवस्थापन गर्ने कसरी ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप