बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

यात्रु बोक्ने ‘टुटल’ र ‘पठाओ’ गैरकानूनी, ट्राफिक महाशाखाले माग्यो वैधानिकताको प्रमाणपत्र

मङ्गलबार, ०१ माघ २०७५, १७ : ४६
मङ्गलबार, ०१ माघ २०७५

काठमाडौं । निजी नम्बरको मोटरसाइकल र स्कुटरमार्फत यात्रु ओसार–पसार गर्ने ‘टुटल’ र ‘पठाओ’ नामक कम्पनीको वैधानिकतामाथि प्रश्न उठेको छ । 

मोबाइल एप्लिसकेशनमार्फत यात्रु ओसार–पसार गर्दै आएका ‘टुटल’ र ‘पठाओ’ यातायात व्यवस्था विभागमा दर्ता नभएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

‘टुटल’ र ‘पठाओ’ विभागमा दर्ता नभएको पत्र प्राप्त भएको जानकारी दिँदै ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (एसपी) जयराज सापकोटाले भने, ‘यातायात विभागले ती दुईओटा कम्पनीहरुको वैधानिकता छैन भनेर पत्र पठाएको छ, उनीहरुलाई हामीले डकुमेन्ट र वैधानिकता खुल्ने कागजात लिएर आउन भनेका छौं ।’ 

यात्रु र दुईपांग्रे चालकको सम्पर्क माध्यमको रुपमा काम गर्दै आएका ‘टुटल’ र ‘पठाओ’ को सम्पर्कमा चल्दै आएका ५ ओटा सवारीलाई ट्राफिक प्रहरीले सोमबार कारवाही गरेको थियो । 

‘उनीहरुले भाडामा लगाउने भन्दा पनि सोसियल काम भनेका छन्, दर्ता हुनुपर्छ अरु थाहा छैन,’ एसपी सापकोटाले भने, ‘प्रयोगकर्ताको हितभन्दा बहिरको काम गरेको गुनासो आएको छ, हामी कारवाही गर्छौं ।’ 

दुगड ग्रुपले सञ्चालन गरेको ‘टुटल’का फाउन्डर सिइओ शिशिर भट्ट हुन् । त्यस्तै ‘पठाओ’ नामक यातायात कम्पनी असिममान सिंह बस्नेतले सञ्चालन गरेको बताइएको छ । 

ट्राफिक प्रहरी महाशाखाले सोमबार मोबाइल एप्समार्फत सञ्चालन हुँदै आएका बा २६ प ९९४६, बा ३५ प ८०३४, बा ९३ प ८५१९, लु २० प ७६३४ र प्रदेश ३–०२–००३ प ६५८२ नम्बरको मोटरसाइकलका चालकलाई कारबाही कारवाही गरेको थियो । 

यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ मा निजी प्रयोगका लागि दर्ताको प्रमाणपत्र प्राप्त सवारीलाई ‘निजी सवारी’ भनेर व्याख्या गरिएको छ । उक्त दफाको उपदफा २ मा ‘निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइने छैन,’ भनी स्पष्ट उल्लेख गरिएको छ । 

तर, ‘टुटल’ का सिइओ शिशिर भट्टले आफूहरुको प्राविधिक कम्पनी भएको दाबी गर्दै पुरानो ऐन परिमार्जन गर्नुपर्ने दाबी गरेका छन् । 

‘जुन कानूनको बेसिसमा यो कुरा भइरहेको छ, त्यो आजभन्दा २९ बर्ष अगाडिको कानुन हो, जुन समयमा इन्टरनेट भन्ने अवधारणा नै थिएन,’ सिइओ भट्टले भने, ‘त्यही कानुन अनुसार अहिले चल्ने हो भने, कुनै पनि ई–कमर्स चल्दैन ।’ 

होटल तथा भेहिकल कम्पनीहरुले गाडी भाडामा दिने गरेको प्रसंग उल्लेख गर्दै भट्टले ‘टुटल’ ले दश हजार रोजगारी सिर्जना गरेको दाबी गरेका छन् ।

यसअघि ‘टुटल’ चालकमाथि १८ वर्षीया युवतीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो । रातोपाटीले गएको भदौ १७ गते उक्त समाचार प्रकाशन गरेको थियो । 

यो पनि पढ्नुहोस् 

टुटल’ चालकमाथि १८ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोप

‘टुटल’ ले आफू ‘राइड सेयरिङ प्ल्याटफर्म’ को रुपमा प्रस्तुत गरेको छ । एप्समार्फत पैसा तिरेर ट्याक्सी जस्तै मोटरसाइकल भाडामा पाइन्छ । भाडाको मोटरसाइकल चढ्न चाहनेले ३ किलोमिटरको ६० रुपैयाँ र बाँकी प्रतिकिलोमिटर १८ रुपैयाँको दरले भाडा लाग्छ ।  

‘सवारी साधन ब्यक्तिकै हुन्छ’ टुटलको कार्यालय हेर्दै आएका कुमार श्रेष्ठले भने, ‘ग्राहकले दिएको भाडाको ४ प्रतिशत कमिशन हाम्रो अफिसले सवारी धनीबाट लिने गरेको छ ।’ 

यो पनि पढ्नुहोस् 

यात्रु बोक्ने मोटरसाइकल कारबाहीमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप