शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘टुटल’ चालकमाथि १८ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोप

आइतबार, १७ भदौ २०७५, १४ : ०२
आइतबार, १७ भदौ २०७५

काठमाडौँ – सुदुरपश्चिम स्थायी घर भएकी कोपिला हमाल (नाम परिवर्तन) लाई कपनबाट लतिलपुरको भैंसेपाटी एरिया जानुपर्ने थियो । उनले मोटरसाइकललाई ट्याक्सीजस्तै भाडामा लगाउने ‘टुटल’ नामको एप्समा रिक्वेस्ट पठाइन् । 

शनिवार (भदौ १६ गते) केही समयमै उनलाई लिन स ७ प ७३५५ नम्बरको मोटरसाईकल उनले दिएको लोकसेनमा पुग्यो । सिराहा स्थायी घर भएका २१ वर्षीय वीरेन्द्र शर्माले मोटरसाइकल चलाएका थिए ।

ललितपुरको भैंसेपाटी आसपास रहेको साथीको घरमा हिँडेकी कोपिलालाई रिसिभ गरेको केही मिनेटमै मोटरसाइकल चालक वीरेन्द्र शर्माले माया प्रेमको कुरा गर्न थाले । कोपिलाका अनुसार ‘तिमी लड्छौ मलाई च्याप्प समात,’ भन्दै मोटरसाईकल दौडाएका शर्माले एकान्तकुना पुगेपछि युवतीको संवेदनशील अंगमा हात लम्काउँदै सेक्स प्रस्ताव राख्न भ्याइहाले ।

अपरिचित युवाले ‘सेक्स प्रस्ताव’ राखेपछि युवती मोटरसाइकलबाट झरेर साथीको घरमा हिँड्दै गइन् । अनि साथीलाई सबै कुरा भनेपछि उनीहरु महानगरीय प्रहरी वृत सातदोबाटोमा पुगे । सातदोबाटो वृतमा उनीहरु पुग्दा साँझको ५ बजिसकेको थियो ।

युवतीले आफूमाथि यौन दुर्व्यवहार भएको ठाडो उजुरी दिइन् । उजुरीका आधारमा प्रहरीले विरेन्द्र शर्मालाई फोन गरेर बोलाए । तर, प्रहरीले उनलाई नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याउन सकेन । वीरेन्द्र माफी माग्न चाहन्थे, युवती कानुनी कारवाहीको पक्षमा थिइन् ।

‘यौन दुब्र्यवहार गर्न खोजेको भनेर पिडीत युवती आएकी थिइन्, हामीले केटालाई बोलाएर छलफल गरायौँ तर सहमति नभएपछि मुद्दाको प्रक्रियामा जानका लागी जाहेरी लिएर आउन भनेका छौँ,’ महानगरीय प्रहरी वृत सातदोबाटोका डिएसपी विनोद सिलवालले भने, ‘कि, घटना हुँदाहुँदै प्रहरीले फेला पारेर पीडितलाई उद्धार गरेको भए जरुरी पक्राउ पुर्जी दिन सकिने थियो । यो घट्नामा सरकारी वकिल कार्यालय मार्फत अदालतबाट पक्राउ पुर्जी ल्याएर मात्र कानुनी कारवाही अगाडी बढाउनुपर्ने देखियो ।’

वीरेन्द्र भन्छन्, ‘लड्छौ च्याप्प समात मात्र भन्या हुँ, माफी चाहन्छु’

१८ बर्षीया युवतीलाई भाडाको मोटरसाइकलमा लिएर जाने बिरेन्द्र शर्माले बाटोमा आफूले माया प्रेमको कुरा गरेको बताएका छन् । ‘माया प्रेमको कुरा भएको थियो’ रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘मैले तिमी लड्छौँ मलाई च्याप्प समातेर बस भनेको थिएँ, ती बहिनीलाई अप्ठ्यारो फिलिङ भएको होला माफी चाहन्छु ।’

सिरहा स्थायी घर भएर पेप्सीकोला बस्दै आएका शर्माले नियतबस संवेदनशील अंगमा हात हालेको कुरा अस्वीकार गरे पनि पीडित युवतीसँगै प्रहरी कार्यालय पुगेका उनको साथीले यौन दुर्व्यवहार भएको दाबी गरे ।

केहो यौन दुर्व्यवहारको कारक ‘टुटल’ ?
दुगड समुहले सञ्चालन गरेको भनिएको ‘टुटल’ ले आफू ‘राइड सेयरिङ प्ल्याटफर्म’ को रुपमा प्रस्तुत गरेको छ ।  एप्स मार्फत पैसा तिरेर ट्याक्सीजस्तै गाडी र मोटरसाइकल भाडामा पाईन्छ । भाडाको मोटरसाइकल चढ्न चाहनेले ३ किलोमिटरको ६० रुपैयाँ र बाँकी प्रति किलोमिटर १८ रुपैयाँको दरले भाडा लाग्छ ।

‘सवारी साधन ब्यक्तिकै हुन्छ’ टुटलको कार्यालय हेर्दै आएका कुमार श्रेष्ठले भने, ‘ग्राहकले दिएको भाडाको ४ प्रतिशत कमिशन हाम्रो अफिसले सवारी धनीबाट लिने गरेको छ ।’

शनिवार आफ्नो अफिसको सम्पर्कमा रहेको मोटरसाइकल चालकले एक युवतीलाई दुब्र्यवहार गरेको कुरा प्रहरी मार्फत थाहा पाएको जानकारी दिँदै ‘टुटल’ का कर्मचारी कुमारले भने, ‘ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथु हाम्रो कार्यालयमा आउनुभएको थियो, उहाँले चावहिलबाट भैंसेपाटीका लागी यात्रु बाकेर हिँडेको मोटरसाइकलबारे जानकारी लिएर जानुभएको थियो, त्यसपछी के भयो मलाई थाहा छैन ।’ 

पक्राउ गर्न कानुन बाधक
महिला हिंसा बिरुद्ध बारम्बार आवाज उठ्ने गरेको भएपनि भदौ १ गतेदेखि लागु भएको मुलुकी अपराध (संहिता) ऐन–२०७४, मुलुकी फौजदारी कार्यविधी (संहिता) ऐन–२०७४ र फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन–२०७४ को कारण वीरेन्द्र शर्मा पक्राउ परेनन् ।

सरकारको दैलो मानिने प्रहरी कार्यालयको ढोका ढकढक्याउँदा पनी कोपिलाले न्याय पाउनुको साटो कानुनी अड्चनका कारण निन्याउरो मुद्रामा घर फर्किन बाध्य भइन् । वीरेन्द्रको घर ठेगाना तथा तीनपुस्ते उनलाई थाहा छैन  । अब कोपिलाले नयाँ कानुन अनुसार जोहरी लिएर जाँदा वीरेन्द्र फरार भए भने के हुन्छ ?

कसुर गर्ने मानिसलाई पक्राउ गर्नुअघि नै सरकारी वकिलको फेर समातेर अदालतबाट पक्राउ पुर्जी लिनुपर्ने, जाहेरी साथमै लगेर पक्राउ पुर्जी जारी गर्नुपर्ने र मान्छे पक्राउ गर्नुअघि नै तिनपुस्ते खोल्नुपर्ने बाध्यताले अपराध अनुसन्धान असहज बनेको प्रहरीको भनाई छ । कत्तिपय मुद्धामा पक्राउ पुर्जी जारी गर्नुअघि अदालतमा ‘पक्राउ पुर्जी जारी गर्ने की नगर्ने’ भन्नेबारे पहिलेनै बहस समेत हुने गरेको लामो समय मुद्दा शाखामा काम गरेका एक प्रहरी अधिकृतले जानकारी दिएका छन् ।
      

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप