केन्द्रीय संस्करण
मूल्यांकनको कसीमा पृथ्वीनारायण शाह

पृथ्वीनारायणः राष्ट्रनिर्माता कि विस्तारवादका नाइके ?

इतिहासमा उनको कर्म र ऐतिहासिक भूमिका कसरी मूल्यांकन गरिनुपर्छ ?

person explore access_timeपुस २७, २०७५ chat_bubble_outline0

भनिन्छ, इतिहासका औपचारिक हरफहरु विजेताका तरवारका धारले तोकिदिएको मापदण्डका घेराभित्र मात्रै दगुरिएका हुन्छन् । विजेतालाई महिमामण्डित गर्दै तिनको देवत्वकरण गर्नु अनि प्रशंसा र प्रशस्तीमा इतिहासका अधिकांश पानाहरु खर्चिनु यस कित्ताको इतिहास लेखनको सामान्य विशेषता नै हो । इतिहासका कालखण्डमा ‘नायक’बाट भए गरिएका भयानक अपराधहरुलाई अत्यन्तै न्यूनीकरण गरेर प्रस्तुत गर्ने, गर्नै पर्दा बाध्यात्मक परिस्थितिको उपजको रुपमा चित्रित गर्ने र अभिलेखीकरण गर्ने कर्म कुनै नौलो होइन ।

अर्कोतिर, इतिहासको निश्चित कालखण्डमा भए गरिएका घटनाहरुको अभिलेखीकरण र तिनको सत्यतथ्यमाथि प्रश्न गर्ने, शासकीय प्रभावको घेरोबाहिर उभिएर तथ्य र प्रमाणहरुको आधारमा तिनलाई केलाउने, इतिहासको लेखन एकल वीरको गाथा हैन, त्यो त आम जनताका सामुहिक समावेशीतामा आधारित हुन्छन् र सोहीअनुसार इतिहासको लेखन हुनुपर्छ भन्ने मत राख्ने र सोहीअनुसार इतिहासलाई खोतल्नेहरु पनि समाजमा रहेका पाइन्छन् ।

त्यसबाहेक, इतिहासमा घटित घटनाक्रमहरुलाई भिन्न परिस्थिति र सन्दर्भमा उभिएर आग्रह–पूर्वाग्रहको चश्माले मूल्यांकन गरिने प्रवृत्ति पनि समाजमा विद्यमान देखिन्छ । यो प्रवृत्तिले चाहिँ इतिहासलाई तत्कालीन परिस्थितिको परिदृश्यमा तथ्य र प्रमाणहरुका आधारमा वस्तुवादी मूल्यांकन गर्ने काम गर्दैन ।

नेपालको आधुनिक इतिहासमा पृथ्वीनारायण शाह त्यस्ता चर्चित पात्र हुन्, जसको इतिहासलाई मूल्यांकन गर्ने सवालमा व्यापक विवाद छ । एकाथरिले उनलाई महान नायक, राष्ट्रनायकको रुपमा चित्रित गर्ने गर्छ भन्ने अर्कोतिर उनलाई खुनी हमलावर, विस्तारवादी नाइकेको रुपमा चित्रित गर्नेहरु पनि कम छैनन् ।

यस पृष्ठभूमिमा इतिहासमा पृथ्वीनारायण शाहको कर्म र भूमिकालाई कसरी मूल्यांकन गरिनुपर्छ भन्ने सवालमा केन्द्रीत रहेर रातोपाटीकर्मी सुनिता न्यौपानेले सँस्कृतिविद् डा. जगमान गुरुङ, अनुसन्धानकर्ता यादव देवकोटा, राप्रपाका अध्यक्ष कमल थापा, विश्लेषक पेशल निरौला, अभियन्ता भरत बस्नेत, अनि लेखक तथा राजनीतिक विश्लेषक द्वय युग पाठक र राजेन्द्र महर्जनसँग संकलन गरेको अभिमत प्रस्तुत छ ।

 

ईसाइ पादरीहरुले पृथ्वीनारायण शाहलाई बर्बर आततायी भनी हल्ला फैलाए

डा. जगमान गुरुङ, सँस्कृतिविद

नेपालको इतिहास नजानेका र एकीकरणसम्बन्धी विश्वव्यापी सर्वमान्य सिद्धान्त नजानेका व्यक्तिहरुले पृथ्वीनारायण शाहको क्रियाकलापलाई राज्य विस्तार ठान्दछन् ।

पृथ्वीनारायण शाहको पालामा नेपाल चौवन्न टुक्रामा विभाजित थियो । त्यसबेला भारतमा मुसलमानी साम्राज्यको पतन भएर अंग्रेजी साम्राज्य स्थापना हुन लागेको थियो । नेपाल उपत्यकामा इसाई पादरीहरु आएर बसेका थिए । जयप्रकाश मल्लले आफ्नो सहयोगका लागि अङ्ग्रेजलाई गुहारेका थिए ।

अङ्ग्रेजहरुले त्यही मौका खोजिरहेका थिए । तर, पृथ्वीनारायण शाहले उनीहरुलाई सिन्धुलीगढीबाट माथि आउनै दिएनन् । यसरी उनले एउटा शासकको नभएर एउटा कुशल नेता तथा संरक्षकको दायित्व वहन गरेका छन् ।

नेपालको इतिहास अङ्ग्रेजहरुले बङ्ग्याए । पृथ्वीनारायण शाहले नेपाल आएका इसाई पादरीहरुलाई देश निकाला गरिदिए । नेपालबाट निष्काशित इसाई पादरीहरु बेतियामा गएर बसे । ती ईसाइ पादरीहरुले पृथ्वीनारायण शाहलाई बर्बर आततायी र उनको एकीकरणको अभियानलाई खुनी हमला भनेर विश्वव्यापी रुपमा हल्ला मच्चाए । कीर्तिपुरका जनताको सत्र धार्नी नाक काटिदिए भने । कीर्तिपुरका मानिसका नाक नकाटिएको होइन, तर कीर्तिपुरका केही मानिसको मात्र नाक काटिएको हो ।

पृथ्वीनारायण शाहले नेपालको एकीकरण नगरेको भए हामी पनि अङ्ग्रेजसँगै विलिन हुने थियौँ । त्यसकारण आज हामीलाई स्वतन्त्र राष्ट्र नेपालको स्वाभिमानी जनता नेपाल भनेर गर्व गर्ने सौभाग्य उनीबाटै प्राप्त भएको हो  । उनी आधुनिक नेपालका राष्ट्र निर्माता हुन् ।

 

दुई अतिवादी सोचको चेपुवामा पृथ्वीनारायण

–यादव देवकोटा, अध्येता

पृथ्वीनारायण शाहको बारेमा दुई खालको धारणा स्थापित छ : स्तुति र आलोचना । खासमा यी भिन्न दुई कोणबाट हुने अतिवादी आलोचना र स्तुतिबाट बाहिर निकालेर इतिहासमा पृथ्वीनारायण शाहको भूमिका र कर्मलाई हेरिनुपर्छ ।

उनलाई केही मानिसले राष्ट्रनिर्माता भन्छन् । वास्तवमा, उनले सुरुमा गोरखा राज्यको विस्तार गर्दा राष्ट्रनिर्माण वा खण्ड खण्ड भई छरिएर रहेका हालको नेपालभित्रका राज्यहरुलाई एकता गर्छु भनेर नभई गोरखा राज्यको विस्तार गर्ने उद्देश्यका साथ फौजी अभियान अगाडि बढाएको देखिन्छ ।

उनले नेपाल बनाउछु भनेको भए उनको पालाका नेपाल भनेर चिनिएको काठमाडौँ उपत्यका थियो । उनले गोरखा राज्य छाडेर नेपाल राज्यको तर्फबाट लडेको होइन । उनले गोरखा राज्यलाई नै विस्तार गर्दै काठमाडौँसम्म ल्याएको हो र त्यसपछि मात्रै गोरखाको मुकाम बदलेर काठमाडौं राखिएको हो ।

पृथ्वीनारायण शाहको उपदेश बीसौँ शताब्दीमा लेखिएको हो भन्ने आरोप पनि छ । त्यस्तो टिप्पणी गर्नेहरुमा हालै दिवंगत भएका नेपाली समाजका अग्रणी बौद्धिक कमलप्रकाश मल्ललगायत थिए । मल्लको तर्कमा केही हदसम्मको सहमत हुन सकिने ठाउँहरु पनि नभएका होइनन् । उनको त्यो दिव्यउपदेश इतिहासकार बाबुराम आचार्य, योगी नरहरिनाथले लेखेका हुन् भन्ने खालको विवाद पनि छ । उपदेशमा परेका कुरा र उनको बिहेको समयको कुरा दाँजेर हेर्दा पनि उनले आफैले बोलेका होइनन् कि भन्ने मलाई पनि लाग्छ ।

उनको त्यो उपदेशको पाण्डुलिपि पृथ्वीनारायणको दरवारमा कास्कीबाट आएका बस्न्यात परिवार, तिनको पालाका पृथ्वीनारायण शाहले कालु पाँडेको छोरी मागेर विवाह गराइदिएका शिवरामसिंह बस्न्यातका छोरा केहरसिंह बस्न्यात, अभिमानसिंह बस्न्यातका सन्तान बखतमानसिंह बस्न्यातको घरबाट पाइएको उल्लेख भएको देखिन्छ । यो त्यतिबेला धेरै मान्छेले उतार गर्ने गरेको देखिन्छ । पूर्ण शाहमा गएको उतार बस्न्यात परिवारबाटै गएको हो भन्ने शंका पनि रहेको छ ।

त्यतिबेला द्रव्य शाहको पालामा चलेको ६ घरथर जो छ– पाँडे, पन्त, अर्ज्याल, खनाल, राना, बोहरा । यी ६ घरथरलाई त्यतिबेला राजसभा भन्ने गरिन्थ्यो । त्योभन्दा बाहिरकालाई भारदार भन्ने गरिन्थ्यो । राजसभा बाहिर परेको बस्न्यात परिवारलाई दक्षिणको घर नछुटाउनु भन्ने शब्द परेको कारण ६ घरथरको चिन्ता छोडेर बस्न्यात परिवारको चिन्तामा पृथ्वीनारायणले मृत्युशैयाबाट बोले भन्ने मलाई लाग्दैन । त्यही कारण पृथ्वीनारायण शाहले मर्ने बेलामा केही भाषण दिए होलान्, त्यही भाषणमा आफू अनुकुल स्वाद बनाएर लेखेर राख्यो भन्ने मलाई लाग्छ ।

उनको उपदेश भनिएको लेखोटमा उनले ससुराली पनि जाउँ र काठमाडौँ उपत्यका पनि हेरौँ भन्ने खालको जुन कुरा परेको देखिन्छ, त्यसले थप संयश पैदा गर्छ । उनी विवाह गर्नु अगाडि नै काठमाडौँमा तीन वर्ष बसेको देखिन्छ । उनले भक्तपुरमा आएर रणजीत मल्लका छोरासँग मित लगाएको देखिन्छ । तीन वर्ष काठमाडौँ बसेका मान्छेलाई काठमाडौँ उपत्यका चन्द्रागिरीबाट किन  हेर्नुपर्यो ? त्यसकारण उनको दिव्यउपदेशको कुरा त्यति धेरै मिल्दैन तथ्यहरुसँग जॉची हेर्यो भने ।

केही मानिसले असली हिन्दुस्तानमा बनाउने कुरालाई लिएर उनलाई गोरखा राज्यको विस्तार गरेको हो भन्छन् । मलाई त्यो विश्वास लाग्दैन । त्यस्तो देखिदैन पनि । काठमाडौँ उपत्यकामा जयस्थिति मल्ल पृथ्वीनारायण शाहभन्दा धेरै पुराना शासक हुन् । जयस्थिति मल्लले काठमाडौँमा हिन्दुहरुको वर्णाश्रम व्यवस्था नै कायम गरिसकेका थिए । मानिसलाई कामको आधारमा उनीहरुको जात छुट्याएका थिए । त्यतिबेले चलिरहेको परम्परालाई उनले पछ्याएको देखिन्छ ।

पृथ्वीनारायण शाह क्रुर थिए वा थिएनन् भन्ने दुई खाले विचार देखिन्छन् । नरभूपाल शाहकै पालामा नुवाकोटमाथिको हमलामा दुई जना काजी नुवाकोट गएको देखिन्छ । महेश्वर पन्थ र जयन्त रानामध्ये नुवाकोटबाट भाग्दा पन्थ अलि छिटो गोरखा दरवार पुगेर ‘मगरले धोका दिए, त्यही भएर हामीले नुवाकोट हारियो’ भनेर चुक्ली लगाए  । नरभुपाल शाहले जयन्त फर्किन नपाउँदै काजी पद खोसुवा गरे । जयन्त राना पछि जयप्रकाश मल्लको नुवाकोटको कमाण्डर बनाइए । जयन्तका छोरा शंखमणि नुवाकोट भीडन्तमा मारिए । नुवाकोट विजयपछि पृथ्वीनरायणले जयन्तलाई पक्राउ गरेर छाला काढेर हत्या गरेको देखिन्छ । यसरी हेर्दा त्यो अत्यन्तै क्रुर घटना देखिन्छ ।

कीर्तिपुरको घटनामा पनि त्यहाँ तत्कालीन मानिसको नाक काटिएको कुरा पृथ्वीनारायणकालीन कवि ललितवल्लभले लेखेका छन् । त्यो पनि उनको गलत काम नै थियो ।

जयन्त रानालाई मारिसकेपछि पनि उनका कलिला नातीहरुको बिजोग नहोस् भनेर बेल्कोट गढीमा जग्गा जमिन दिएको र बिर्ता नै राखिदिएको देखिन्छ । यसले गर्दा उनमा करुणा पनि रहेको देखिन्छ ।

अर्को कुरा, भक्तपुर जितिसकेपछि रणजीत मल्लले काशी जाने इच्छा व्यक्त गरे, पृथ्वीनारायणले त्यो पूरा गरिदिए । जयप्रकाश मल्ल खुट्टामा गोली (बारुद?) लागेर घाइते भएका थिए, भक्तपुर भीडन्तमा । ‘महाराज ! अब मेरो राज्य सकियो, मेरो श्राद्ध गर्ने मानिस पनि छैनन्’ भनेपछि पृथ्वीनारायण शाहले राज्य कोषबाट श्राद्ध पनि गर्ने र उनको काजक्रिया पनि गर्ने व्यवस्था गराईदिए । 

धेरैलाई लाग्छ, आजको नेपालको पूरा भूगोल नै पृथ्वीनारायणले जोडेका हुन् । तर तथ्य भने त्यस्तो छैन । उनको पालामा गोर्खा पूर्वमा कोशी पारि नै पुगेपनि पश्चिममा भने तनहुँ पार गरेर अघि बढ्न सकेको थिएन । लमजुङ एकैचोटी उनका नाति रणबहादुर शाहको पालामा अमरसिंह थापाको कमाण्डमा गोर्खाली फौजले जितेको थियो ।

पुस २७ लाई राष्ट्रिय एकता दिवस मनाउने भन्ने कुरा पृथ्वीनारायणको देवत्वकरण र नेपाल निमार्णका क्रममा जिउज्यान दिएका अन्य हजारौं लडाकाहरुप्रति गरिएको मजाक मात्रै हो भन्ने लाग्छ मलाई । कुनै एउटा शासकले मात्र यो राज्य बनाएको होइन । त्यसका लागि हजारौ हजार नेपालीहरुको ज्यान गएको छ । ती मानिस लगायत गोरखली भाइभारदारहरुले युद्ध गरेर यो देशको भूगोललाई यहाँ ल्याएका हुन् ।

जैथकको किल्लामा बहत्तर बर्षको उमेरमा खुँडा उज्याउँदै अंग्रेजको तोपको मोहरा छोप्न जॉदा मारिएका भक्ति थापालाई राष्ट्रिय विभूतिसम्म स्वीकार गर्न नसक्नेहरुलाई पृथ्वीनारायणको जन्मदिनलाई किन राष्ट्रिय एकता दिवस मनाउनु परेको हो बुझिन्न ।  एउटा शासकलाई मात्र राष्ट्रनायक मान्ने कुरामा सोच्नुपर्छ । तर आजको नेपाल निर्माण अभियानको शुरुवातकर्ता, अभियानकर्ता, नेतृत्वकर्ता हुनुको कारणले उनलाई सम्झना गर्नु, या उनको सम्मानमा उक्त दिनमा विशेष जागरणका कार्यहरु गरिने कुरालाई भने अन्यथा मानिनुपर्छ भन्ने लाग्दैन ।

पृथ्वीनारायणलाई कोरा शासक मात्रै या राजतन्त्रका एकजना राजा मात्रै सोच्ने चेतनाबाट अलिकति त उठ्नैपर्छ भन्ने पनि लाग्छ । उनले गोरखा राज्यको विस्तार र जर्गेना गर्दागर्दै एकजना असाधारण फौजी कमाण्डरका रुपमा, दीर्घ चेतबाट लैस भएका राजनेताका रुपमा अफ्नो जिन्दगी निखारेको देखिन्छ । खासगरी छापामार शैलीको, चलायमान युद्ध-रणनीतिलाई जसरी उनले कार्यान्वयन गरे, त्यसले सेपिलो पहराहरुको अन्तरमा चेपिएर बसेको तत्कालीन समयको सबैभन्दा निर्धो राज्य गोरखालाई आजको नेपालको मूलधुरी बनाउने परिघटनाको शिलान्यास गरेको पाइन्छ ।

आगोको लप्काले खाएको प्लाष्टिकजस्तै बनाएर संसार निल्दै अघि बढेको इष्ट इण्डिया कम्पनी र गुरगिन खॉ, मिर कासिमहरुको फौजलाई सिन्धुली र मकवानपुरमा पृथ्वीनारायणले धुलो नचटाएको भए सम्भवतः आजको नेपाल विश्वको नक्शामा हुने नै थिएन ।

जितेका राज्यहरुको श्रीपेच थाम्ने रहर गरेका भाइहरुलाई दपेटेर उनले जसरी राज्य बॉड्ने कुरामा सख्त प्रतिबन्ध लगाए, त्यसले उनी अरुको राज्य खोसेर मोजमस्ती गर्नेभन्दा पनि एउटा बलियो राज्य निर्माण गर्ने चेतनामा पुगिसकेको पनि प्रतीत हुन्छ । उनको त्यही चेतना र अडानका कारण उनले आफ्नै भाइहरु महोद्दामकीर्ति, सुरप्रताप, दलमर्दन लगायतबाट गहिरो असहयोग र कतिपय अवस्थामा कलह नै बेहोर्नुपरेको थियो ।

आफुले जितेको काठमाडौंलाई विस्तारित राज्यको केन्द्रीय मुकाम बनाउने, विजित राज्यका जनसंस्कृति, परम्परामाथि दखल नगरी यथोचित संरक्षण र सञ्चालन गर्ने उनको जो उदारता र सुझबुझ देखिन्छ, त्यसले उनी निकै गतिशील, चेतनशील र जनप्रेमी पनि थिए भन्ने देखिन्छ ।

धेरैलाई लाग्छ, आजको नेपालको पूरा भूगोल नै पृथ्वीनारायणले जोडेका हुन् । तर तथ्य भने त्यस्तो छैन । उनको पालामा गोर्खा पूर्वमा कोशी पारि नै पुगेपनि पश्चिममा भने तनहुँ पार गरेर अघि बढ्न सकेको थिएन । लमजुङ एकैचोटी उनका नाति रणबहादुर शाहको पालामा अमरसिंह थापाको कमाण्डमा गोर्खाली फौजले जितेको थियो ।

पृथ्वीनारायणको कदम नेपालको इतिहासको कोसेढुङ्गा नै थियो । त्यसैले उनी तीन शताब्दीसम्म सबैभन्दा बढी पढिने, पुजिने, आलोचना गरिने मुख्यपात्र बनिरहेका छन् । म उनलाई नेपाली इतिहासको इपिसेन्टर भन्न रुचाउ‘छु, जसले एकसाथ सबैतिर कम्पन मच्चायो । र, त्यसको तरंगले आज पनि नेपाली समाज तरंगित छ ।

 

प्राज्ञिक विवाद गर्नु नै अनावश्यक 

कमल थापा, राजनीतिज्ञ

राष्ट्रिय एकीकरण गरेर होस् वा विस्तार गरेर होस्,  पृथ्वीनारायण शाहले हामीलाई नेपाली नाम, पहिचान र स्वतन्त्र देश दिएका छन् । त्यसकारण आफूलाई नेपाली हुँ भनेर गर्व गर्नेले उनलाई सम्मान गर्नुपर्छ । उनको उच्च मूल्याङ्कन गर्नुपर्छ । हामीले नेपाली हुने गौरव प्राप्त गरेका छौँ, त्यो महत्त्वपूर्ण कुरा हो ।

करिब २५० वर्षअघि यो दक्षिण एसियाली मुलु्कमा ७-८ सय साना मुलुक थिए । त्यसमा दक्षिणतर्फ ब्रिटिस साम्राज्यले एकपछि अर्को गर्दै साना राज्यलाई आफ्नो उपनिवेश बनाइरहेको अवस्था थियो । त्यो अवस्थामा उनले हिमाली भेगका बाइसे-चौबिसे  राज्यलाई एकीकृत नगरेको भए आज हामी स्वतन्त्र र सार्वभौम राज्यको बासिन्दा हुने थिएनौँ । त्यो बेलाका बाइसे-चौबीसे राज्यमा एक्लैले ब्रिटिस साम्राज्यको सैन्य र सामरिक शक्तिसँग मुकाबिला गरेर आफ्नो स्वतन्त्र अस्तित्व जोगाउन सक्ने स्थिति थिएन ।

त्यो पृष्ठभूमिमा उनले साहस र वीरताका साथ नेपाल राज्यको निर्माण गरे । त्यसका लागि अहिले २५० वर्ष पछाडि आएर अनावश्यक प्राज्ञिक विवाद गर्नु र उनको भूमिकालाई अवमुल्यन गर्नु राम्रो काम होइन ।

एकीकरण गफ वा भाषण गरेर भएको पनि होइन । यो युद्ध गरेर भएको हो । कतिपय ठाउँमा समर्पणबाट पनि एकीकरण भयो । युद्धको समयमा कतै कमीकमजोरी भएको पनि हुन सक्छ, त्यसलाई वर्तमान अवस्थाको मापदण्डको आधारमा मुल्याङ्कन गर्ने कार्य नै अतिशयोक्तिपूर्ण छ ।

 

पृथ्वीनारायणका विरुद्धमा कुरा गर्नेहरु आन्तरिक फिरङ्गी

पेशल निरौला, विश्लेषक

कार्ल मार्क्स, गान्धीको उदार नीति, फ्रान्सेली क्रान्तिको कुरा गर्ने नेपालका गणतन्त्रवादी, प्रगतिशील भन्नेहरुले आफ्नै देशको राष्ट्रनिर्मातालाई बिर्सिए । विस्मार्क, अमेरिकाका प्रथम राष्टपति जर्ज वासिङ्टन कसैले पनि पृथ्वीनारायण शाहको जस्तो राष्ट्र चलाउने नीति लिएका थिएनन् । उनले एकीकरण नगरेको भए नेपालमा पनि भारतमा जस्तो मुसलमान र क्रिस्चियनको दवदबाको हुने थियो ।

अङ्ग्रेजको पराजित मानसिकताको कारण पृथ्वीनारायण शाहको बारेमा भ्रामक कुरा फैलाउने काम भयो । चर्चा गरिए जस्तो उनले कीर्तिपुरका त्यति धेरै जनताका नाक, कान काटेका पनि होइनन् । सूर्य चन्द्र अङ्कित झण्डा पृथ्वीनारायण शाहकै कारण कायम भएको हो ।

काठमाडौँका भएको सम्पूर्ण सँस्कृतिलाई उनले अपनाएका छन् । पशुपतिमा भएका गुरुहरुलाई व्यवस्थित गर्ने काम पनि गरे । उनी यो क्षेत्रको नायक हुन् । आज विभिन्न जातजाती, भाषा, धर्म सुरक्षित उनले नै गरिदिएका हुन् ।

यस्तो नायकलाई कुनै पनि राष्ट्रले सम्मान गर्छ । तर, उनलाई चिन्न नसक्नु नेपालको मात्र दुर्भाग्य हो । उनका विरुद्धमा कुरा गर्ने मानिस यहाँका आन्तरिक फिरङ्गी  हुन् ।

 

विस्तारवादी भन्नेले पनि स्वतन्त्र नेपालको नागरिक हुन पाएका छन्

भरत बस्न्यात, पृथ्वीनारायण समर्थक अभियन्ता

पहिले नेपाल एउटा अखण्ड राज्य थियो । धेरै राजा रजौटाहरु थिए । बेला बेला अशं बाँडिदा टुक्रिएको थियो । त्यो टुक्रिएको राज्यलाई पृथ्वीनारायण शाहले एकीकृत गरेको हो ।

पृथ्वीनारायण शाहले एकीकरण गर्ने सन्दर्भमा आफ्नै गोत्रीको राज्य एकीकरण गर्नुपर्छ । त्यहाँ लडाइँ पनि हुन सक्छ, लडाइँ हुँदा मारकाट पनि हुन सक्छ, भनेर उनले काशी गएर गोत्र परवर्तन गरेका छन् ।

पृथ्वीनारायण शाह विस्तारवादी राजा थिए भने आज यो भूगोलको नाम गोरखा हुने थियो । गोरखाबाट सुरु भएको पृथ्वीनारायण शाहको अभियान काठमाडौँमा आइसकेपछि गोरखालाई विलय गरेर नेपाललाई गोलबद्ध बनाउने काम भयो । यस आधारमा पनि उनले गरेको काम एकीकरण नै थियो, त्यो विस्तारवादी थिएन ।

पृथ्वीनारायणको पालामा नेपालभित्र एक ठाउँबाट अर्काे ठाउँमा जान ‘पासपोर्ट’को व्यवस्था थियो, उनले त्यो अवस्थाको अन्त्य गरे । उत्पादनमा आफ्नो सीप अनुसार उत्पादन गर्ने कुरालाई प्रोत्साहित गरे । फलतः मुलुकमा उद्यमशीलता बढेर गयो । निर्यातमुखी अर्थतन्त्र पनि उनकै पालामा सुरु भएको थियो ।

जम्मामा, पृथ्वीनारायण शाहलाई विस्तारवादी भन्नेले पनि स्वतन्त्र नेपालको नागरिक हुने सौभाग्य पाएका छन् । त्यसैले इतिहासमा पृथ्वीनारायण शाहको कर्म र भूमिकालाई सकारात्मक रुपमा हेरिनुपर्छ ।

 

पृथ्वीनारायणले बनाएको विरासत राजसंस्थाले बनाएका इतिहास,जीवनशैलीलाई निरन्तरता दिने विम्ब मात्र

युग पाठक, लेखक/राजनीतिक विश्लेषक

नेपालको इतिहासमा पृथ्वीनारायण शाहको दुईओटा रुप छन् । एउटा पृथ्वीनारायण शाह जो इतिहासमा एकजना व्यक्ति, सैनिक अभियान्ता र धेरै लामो समयसम्म युद्ध हाँकिरहन सक्ने धैर्यता भएका योद्धा थिए । एउटा अर्को पृथ्वीनारायण शाह छन्, जसलाई पछिल्लो समय इतिहासकारहरुले लेखे र धेरै मानिसहरुको दिमागमा पाठ्यपुस्तकको माध्यमबाट छिराइदिए । त्यो पृथ्वीनारायण शाह एउटा बिम्ब हो । राष्ट्रनिर्माता, नेपालको एकीकरण गरेको, राष्ट्रिय एकताको प्रतिकको रुपमा रहेको अलग पृथ्वीनारायण शाह हो ।

अहिले सरकारले पोहोर सालबाट राष्ट्रिय एकता दिवस पनि मनाउन लागेको छ । ०६२/०६३ सालको आन्दोलनपछि यो बिदा र दिवस दुवै काटिएको थियो । राष्टिय एकता दिवस मनाउने कुरा पृथ्वीनारायण शाहको बिम्बबाट बनेको कुरा हो ।

उनले इतिहासमा के गरे भन्ने कुरा बिदासँग सरोकार छैन । तर, पृथ्वीनारायणको एउटा बिम्ब बनाइएको छ, त्यसको सरोकार बिदासँग छ । त्यो बिम्बले पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेका हुन् भन्छ । उनी राष्ट्रिय एकताका प्रतीक हुन् भन्छ । यो कुरा म मान्दिनँ । उनले एकीकरण गरेको होइन, आफ्नो राज्यको विस्तार गरेको हो । आफ्नो एउटा सानो राज्यलाई युद्धको माध्यमबाट ठूलो राज्य बनाएको हो । यसकारण, उनी एकीकरणकर्ता होइनन् । उनले सानो गोरखा साम्राज्य मात्र बनाए ।

इतिहासकारहरुले पृथ्वीनारायण शाहले इतिहास निर्माण गरेको हो भन्छन् । तर, तीनै इतिहासकारको तथ्यले के भन्छ भने पृथ्वीनारायण गोरखाका राजा थिए । त्यहाँबाट उनले विभिन्न राज्यहरु जिते । त्यो जित्ने क्रममा ठूला ठूला लडाइँ भएका छन् । कीर्तिपुरले ठूलो प्रतिरोध गरेको भन्ने इतिहास पनि उनीहरुले लेखेका छन् । त्यो प्रतिरोधमा कीर्तिपुरे जनताको सहभागी थियो । कीर्तिपुरे जनता पृथ्वीनारायण र गोरखालीसँग शासित हुन चाँहदैनथे । लिम्बुवान, बझाङका मानिस पनि उनीहरुसँग शासित हुन चाँहदैनथे । उनीहरुसँग पहिले पृथ्वीनारायण शाहले र पछि बहादुर शाहले विभिन्न प्रकारको सम्झौता गरेका छन् ।

यसरी पृथ्वीनारायण शाहले विभिन्न राज्यलाई जितेको कुरा प्रष्ट हुन्छ । त्यसलाई एकीकरण भन्न मिल्दैन । किनकि एकीकरण हुनलाई पहिलेदेखि ठूलो राज्य हुनुपर्छ । ठूलो राज्य एक समय टुक्रा टु        क्रामा विभाजित  भएको हुनुपर्छ । त्यहाँका मानिसलाई कोही आइदिए हुन्थ्यो र देश बनाइदिए हुन्थ्यो भन्ने चाहना हुनुपर्छ । त्यो चाहना पृथ्वीनारायणको पालामा भएको छैन । कुमाउ र गढवालका जनता त पृथ्वीनारायणको विरुद्धमा लागेर अङ्ग्रेजहरुलाई साथ दिएका हुन् । त्यतिबेला गोरखाली सेनाले गरेको अत्याचारको बारेमा बनेका लोगगीत अझै पनि छन् । यस हिसाबले त्यो एउटा राज्य विस्तारको अभियान थियो । त्यो साना देशको राजाले ठूला देशमाथि राखेको महत्वाकाङ्क्षा थियो । त्यसकारण उनी एकताका प्रतीक होइनन् ।

एकथरी मान्छेको विचार छ, पृथ्वीनारायण शाहले एउटा ठूलो राज्य बनाइसकेपछि यहाँको अर्थतन्त्र, उधोगधन्दा तथा समाज विकसित भएर आयो ।

]पृथ्वीनारायणको गोरखाली राज्यसत्ता काठमाडौँमा स्थापना भएदेखि त्यो भूभागमा कुनै पनि राम्रो प्रकारको अर्थतन्त्रको अभ्यास भएन । कुनै उधोगधन्दा फस्टाएको पनि छैन । बरु मल्लकालसम्म राम्ररी फस्टाइरहेको उपत्यकाको अधोगति उनको विजयपछि सुरु भएको थियो । लाहुरेले ल्याएको पैसाले यहाँको अर्थतन्त्र चलायमान भएको थियो ।

तर, एउटा काम त उनले गरेकै हुन् । त्यो के भने उनले जितेकै हुन् । सिङ्गो नेपाल बनाएकै हुन् । उनले त्यसरी जित्दा यो देशलाई ठूलो बनाउने सपना देखेकै हुन् । उनीहरुले लेखेको डकुमेन्टमा पनि गोरखाली साम्राज्यको चर्चा ठाउँ ठाउँमा पाइन्छ । त्यसकारण त्यो पृथ्वीनारायण जो व्यक्ति, राजा, सैनिक अभियन्ता थिए, पृथ्वीनारायण त्यो हिसाबले सफल हुन् । त्यो पृथ्वीनारायणले बनाएको विरासत, राष्ट्रनिर्माता त्यो बिम्ब मात्र हो । उक्त बिम्बले नेपालमा हुने परिवर्तनका विभिन्न अभियानलाई कुण्ठित बनाउने, राजसंस्थाले बनाएका इतिहास, जीवनशैलीलाई निरन्तरता दिन्छ ।

नेपालमा गणतन्त्र स्थापना भइसकेपछिको राजनीतिक, सामाजिक, आर्थिक अभियानलाई  स्थापित गर्न खोज्नेले पृथ्वीनारायण शाहलाई एकताको प्रतीक मान्ने भन्ने नाममा गणतन्त्रको आन्दोलनलाई नै कमजोर बनाइराखेका   छन् ।

यो पनि पढ्नुहोस् 

पृथ्वीनारायण शाहलाई टाउकोमा बोक्ने कि म्युजियममा राख्ने ?

 

नेपाललाई एक व्यक्तिको ब्रेन चाइल्डको रुपमा मनाउनु नेपालीहरुकै अपमान बाहेक अरु के होला ?

राजेन्द्र महर्जन, लेखक/विश्लेषक

हाम्रा इतिहास होस् या इतिहासको लेखन, अध्ययन र भाष्य, सबैजसो व्यक्तिमाथि केन्द्रित छ । व्यक्ति–केन्द्रित बुझाइ, पढाइ र लेखाइको समस्या के हुन्छ भने व्यक्तिले इतिहास बनाउँछ, व्यक्तिले नै बिगार्छ । राष्ट्रवादी कोणबाट इतिहास लेखन, पठनको परम्परा बसेदेखि नै नेपालमा पनि व्यक्तिलाई हिरो बनाउने क्रम बलवान छ, त्यसकै नकारात्मक परिणामस्वरुप व्यक्तिलाई नै भिलियन बनाउने सिलसिला पनि तीव्र भएको हो । यो खासमा सामन्तवादी संस्कृतिकै बिस्तार हो, जसले उच्च वर्ण, जात, कुल, गोत्रका पुरुष शासकले नै शासन गर्ने, शासन व्यवस्था बनाउने र व्यवस्था फेर्ने बुझाइ स्थापित गर्दै आएको छ ।

लोकतान्त्रि गणतन्त्र आफैमा पुँजीवादी चरित्रको राजनीतिक व्यवस्थाको हो जसको सांस्कृतिक मतले इतिहास कुनै महापुरुषको देन ठान्दैन । तर यहाँ त आफूलाई सामूहिक प्रयासमा विश्वास गर्ने ऐतिहासिक भौतिकवादी र द्वन्द्वात्मकहरु नै एक व्यक्ति र आफूलाई समाजवादी र साम्यवादी ठान्नेहरु पनि आफू र आफ्नो पुर्खालाई नै इतिहासका निर्णायक व्यक्तिको रुपमा उभ्याउने कसरतमा छन् । त्यसैको एक उदाहरण हो, पृथ्वीनारायण शाहले नै राष्ट्रिय एकीकरण गरेको भाष्यको जगजगी ।

यसले नेपाल राष्ट्र हो कि देश भन्ने प्रश्न उठाउँछ । नेपाल एकीकरण भनेको के हो भन्ने सवाल पनि उठाउँछ । भौगोलिक रुपमा भएको विजयलाई देशकै एकीकरण भन्न मिल्छ कि मिल्दैन भन्ने सोधाइ पनि उठ्छ । त्यससँगै समाजशास्त्री चैतन्य मिश्रले भनेझैँ नेपालको निर्माण नितान्त 'एक बहादुर राजा'को कारणले अर्थात् कर्ताको बलले र स्थानिक कारणले मात्र किमार्थ भएको होइन । विशिष्ट विश्वकीय, क्षेत्रीय र स्थानीय स्थान-अवधिमा सानो गोरखा राज्यको व्यापक बिस्तार सम्भव भएको हो, जसको परिणामस्वरुप आजको नेपाल बनेको हो ।

राजनीतिशास्त्र र समाजशास्त्रका सामान्य विद्यार्थीलाई पनि थाहा छ, शाहको जमानामा ‘राष्ट्र’ (नेसन) भन्ने अवधारणा नै विकसित भएको थिएन, उनले निर्माण गरेको राष्ट्र भनिने ‘ढुंगो’ पनि गोर्खा साम्राज्यको विस्तार बाहेक केही थिएन । इतिहासकार कुमार प्रधानका अनुसार गोर्खा साम्राज्यलाई ‘असिल हिन्दुस्थान’को रूपमा विस्तार र स्थापित गर्न चाहेका शाहले नेपालमाथि विजय (कन्क्वेस्ट) गरेका हुन्, एकीकरण गरेका होइनन् । ‘दिव्य उपदेश’अनुसार उनका लागि नेपाल भनेको चार भन्ज्याङभित्रको काठमाडौं उपत्यका वा तीन सहर भएको वागमती उपत्यका (स्वनिगस्) मात्रै थियो, जसमाथि विजयपछि राज गर्ने सपना सँगालिएको थियो ।

एकीकरणका विभिन्न आयामबारे आलोचनात्मक अध्ययन गरेका आर्थिक इतिहासकार महेशचन्द्र रेग्मीका अनुसार यही तीन सहरको नेपालका उब्जाउ खेतीपाती, तिब्बतका लागि टक छाप्ने उद्योग, सुनका भव्य गजुर, भारत–तिब्बतको इन्टरपोट व्यापार, त्यसका लागि प्रयोग हुने नाकामाथि कब्जा जमाउने र नेपाल लगायत ठूलो भूभाग भएको ‘गोर्खा राजा वा गोर्खा महाराजा वा गोर्खाधिपति’ हुने सपनाले उनलाई हमला गर्न उक्साएका थिए । उनका सपना र जपना भनेकै गोर्खा राज्यको विस्तार बाहेक, साम्राज्य फैलाएर सत्ता, शक्ति र सम्पत्तिको एकाधिकार फैलाउने बाहेक अरू थिएन । उनको भनिएको ‘नेपाल एकीकरणको सपना’ सन् १९३० को दशकदेखि नेपाली राज्य र राज्यसँग जोडिएका बुद्धिजीवीहरूद्वारा थालिएको ‘नेपालीकरण’को राजनीतिक–वैचारिक सिर्जनामात्रै हो ।

यसरी नेपाललाई एक व्यक्तिको ब्रेन चाइल्डको रुपमा मनाउनु नेपालीहरुकै अपमान बाहेक अरु के होला र ?

यो पनि पढ्नुहोस्

पृथ्वीनारायण : दूरदर्शी अर्थशास्त्री

पृथ्वीनारायण शाहलाई किन महान् मान्ने ?

बहस : धर्मनिरपेक्ष मुलुकको धार्मिक झण्डा !

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...