ad
x

पृथ्वीनारायण शाहलाई किन महान् मान्ने ?

person explore access_timeपुस २१, २०७४ chat_bubble_outline0

वर्तमान अवस्था 
एकातर्फ वाम गठबन्धनले चुनावबाट सुविधाजनक बहुमत प्राप्त गरिसक्दा पनि कसको नेतृत्वमा सरकार बन्छ ? अमर्यादित प्रश्न खडा भएको छ । गठबन्धन तोड्नका लागि देशी–विदेशी शक्तिहरू दृश्य–अदृश्य रूपमा क्रियाशिल छन् । अर्काेतर्फ, सङ्घीयतालाई मुलुकको अर्थतन्त्रले नधान्ने स्पष्ट भइसकेको छ । यसका लागि विदेशीहरूसँग सहयोग माग्ने योजना बन्दै होला । केही समयपछि कुन राष्ट्रले सङ्घीयता टिकाउनको निम्ति कुन सर्तमा कति आर्थिक सहयोग गर्यो भन्ने समाचार पनि पढ्न पाइनेछ । 


नेपालले वार्षिक रूपमा पाँच अर्ब बराबरको प्याज मात्रै आयात गर्छ, भारत र चीनबाट । यसबाट आयातको आकार कति ठूलो रहेको छ, हामी अनुमान लगाउन सक्छौँ । स्थानीय निकायहरूमा भ्रष्टाचार मौलाउन थालेको विषय पनि छताछुल्ल भइसकेको छ । केन्द्रमा हुने भ्रष्टाचारका किस्साहरूको त के कुरा गर्नु । मन्त्री, मुख्य सचिव, विभाग निर्देशकहरू, सुरक्षा निकायका प्रमुखहरू जसले जति सक्छ कुम्ल्याइरहेकै छन् । अहिलेसम्म प्रदेश सरकारहरू गठन भइसकेका छैनन् । त्यसैले प्रादेशिक भ्रष्टाचारको बारेमा हामीले कल्पना गरेका छैनौँ तर ढुक्क हुनुहोस्, प्रदेशमा पनि भ्रष्टाचारले पर्याप्त ठाउँ पाउनेछ । 



निष्कर्ष :



नेताहरू जनमतअनुसार आफ्नो आफ्नो भूमिकामा खुम्चिन तयार छैनन् । जनमतविरुद्ध कसरी जान सकिन्छ भन्ने बारेमा दिनरात बहस र छलफल जारी छन्, लालची अफरहरू उपलब्ध भइरहेका छन् । संविधान संशोधनलाई सहकार्यको पहिलो सर्त ठान्ने राजपासमेत आफ्नो मुल मुद्दा बिर्सेर सरकार गठनको खेलमा सहभागी भइरहेको छ । यसले जनमत कसरी उपेक्षित भइरहेको छ भन्ने प्रष्ट पारेको छ । भ्रष्टाचारले मुलुकलाई टाउकादेखि खुट्टासम्म गाँजेको छ । जिम्मेवारी लिएर बसेका नेता, सांसद वा प्रशासकहरू यस सम्बन्धमा कडा कानुन बनाउन तयार छैनन् । तर सङ्घीयता चलाउनका लागि विदेशीको अगाडि हात फैलाउन तयार छन् । कृषि प्रधान देशमा दैनिक उपभोग्य कृषि उत्पादनहरू पनि विदेशबाट आयात गर्नुपरेको अवस्था छ । यस्तो अस्त व्यस्त मुलुकभित्र एउटा सवाल पैदा हुन्छ– हामीले पृथ्वी नारायण शाहलाई महान किन मान्ने ?



गाँठी कुरो :
वर्तमानको चस्मा लगाएर इतिहासको विवेचना गर्नु न्यायसङ्गत कुरो होइन किनभने हरेक समयसँग आफ्नै खालका सामाजिक चिन्तन र व्यवहारहरू रहेका हुन्छन् । समयले जति कोल्टे फेर्दै जान्छ; ती सामाजिक चिन्तन र व्यवहारहरूमा त्यति नै बद्लाव आउँदै जान्छ । बदलिएको स्थितिमा बसेर हेर्दाखेरि पूर्वस्थितिका सामाजिक चिन्तन र व्यवहारहरूमा खोटहरू भेटिन थाल्छन् । जसरी आज हामी हिजोको समय र हिजोका सामाजिक चिन्तन र व्यवहारहरूमा खोट भेटिरहेका छौँ । यसरी नै भोलि, जतिखेर यो समय पनि इतिहास बनिसकेको हुनेछ । आजको हाम्रो सामाजिक चिन्तन र व्यवहारमा खोट भेटिनेछ ।



तर नेपालको सन्दर्भमा अवस्था ठीक उल्टो छ । वर्तमान नेपाली समाज जुन अवस्थाबाट गुज्रिरहेको छ यसलाई राम्रो वा उपलब्धीमूलक भन्न मिल्ने आधारहरू उपलब्ध छैनन् । बरु, त्यो इतिहास जसलाई हामी अनेक अनेक वादका चस्मा पहिरेर विश्लेषण गर्ने प्रयास गरिरहेका छौँ, बढी राम्रो र उपलब्धीमूलक रहेको आभाष मिल्छ । 



पेश्वा ब्राह्मणहरूको अत्याचारसँग आजित भएको महर (दलित) जातिले मराठा साम्राज्यविरुद्ध अङ्ग्रेज पक्षबाट युद्धमा सहभागिता जनायो । यो युद्धमा पेश्वाहरू परास्त भए । आधिकारिक रूपमा मराठा साम्राज्य अङ्ग्रेज साम्राज्यमा सदाका लागि विलिन भयो । यो सन् १८१८ को घटना हो । हरेक साल जनवरी १ तारिखका दिन महरहरू पेश्वा विरुद्धको यो जितलाई हर्षाेल्लासका साथ मनाउने गर्दछन् । यसपालि २००औँ वर्षगाँठको अवसरमा ठूलै कार्यक्रमका साथ हर्षाेल्लास मनाउन पुगेका महरहरूमाथि पेश्वा ब्राह्मणहरूले आक्रमण गरे । महाराष्ट्राबाट सुरु भएको जातीय दङ्गा भारतका गुजरात, हरियाणालगायत अन्य प्रदेशहरूमा पनि आगोको मुस्लो झैँ फैलिन खोज्दै छ । 



केही विश्लेषकहरू पृथ्वीनारायण शाहले नेपालमा पनि यस्तै खाले एकल जातीय राज्य खडा गरेर अन्य जातिमाथि अन्याय गरेको आरोप लगाउने गर्छन् । तर गोरखा दरबार र गोरखाली सेनामा खस, ठकुरीसँगै रहेको मगर र गुरुङहरूको उपस्थितिले यो आरोप मिथ्या रहेको प्रमाण दिन्छ । जसरी मराठा साम्राज्यविरुद्ध एउटा जाति नै अङ्ग्रेजको पक्षमा उभियो । नेपालमा त्यस्तो प्रकारको प्रतिक्रिया कहीँ पनि उत्पन्न भएन । लिम्बुवानसँग विद्रोह गर्ने सुविधा र शक्ति थियो । अङ्ग्रेजको तर्पmबाट मद्दत पनि मिल्थ्यो होला । तर पनि उसले पृथ्वीनारायण शाहलाई राजा स्वीकार गर्यो ।  

अङ्ग्रेज भनेको अरूको कमजोरी पत्ता लगाएर त्यसमै खेल्ने जाति हो । उनलाई यो कुरा राम्रैसँग थाहा थियो किनभने उनकै आँखा अगाडि अङ्ग्रेजले भारतलाई सफलताका साथ निलेको थियो । यसैकारण उनले अङ्ग्रेजहरूसँग आवश्यकता अनुसारको सम्बन्ध स्थापित गर्ने तर कुनै पनि बहानामा नेपाल छिर्न नदिने रणनीति अख्तियार गरेका थिए । यसका साथै उनी आन्तरिक सुरक्षा र अर्थतन्त्र सुदृढ हुनुपर्छ भन्नेमा पनि सचेत थिए । यसको आभाष हामी दिव्योपदेशमा पाउँछौँ, ‘राजाको सम्पत्ति भनेका जनता हुन् । जनता सम्पन्न छन् भने दरबार (शासक) बलियो रहन्छ ।’

जनतालाई कसरी आर्थिक रूपले सम्पन्न बनाउन सकिन्छ भन्ने बारेमा पनि दिव्योपदेशमा चर्चा गरिएको छ, ‘विदेशी कपडा नलगाउनू । आफ्नो देशमा कपडा बनाउने सीप भएकाहरूलाई कपडाको नमुना देखाएर बनाउन लगाउनू । आफ्नो देशमा बनेको कपडा लगाउनू । यस्तो गर्दा स्वदेशको पैसा स्वदेशमै रहन्छ । आफ्नो देशमा उत्पादन हुने उपभोग्य वस्तुहरू, जडीबुटीहरू विदेशमा लगेर बेच्नू । यस्तो गर्दा विदेशी पैसा आर्जन गर्न सकिन्छ । जनता धनी हुन्छन् । खानी भएको ठाउँमा बस्ती नराख्नू । कृषियोग्य जमिनमा पनि बस्ती नराख्नू । बस्ती हटाएर भए पनि खानी सञ्चालन गर्नू । कृषि कर्म गर्नू ।’ 

फजुल खर्ची, ऐसआराम र भोग विलास तथा आवश्यकताभन्दा बढी धन सङ्ग्रहलाई पनि उनले राष्ट्रको निम्ति घातक ठहर गरेका छन् । साथै, उनले अर्काे महत्वपूर्ण कुरा भनेका छन्– विदेशी व्यापारीहरूलाई मुलुकभित्र व्यापार गर्न नदिनू । यदि यस्तो भयो भने जनतालाई यिनीहरूले कङ्गाल पारेर छाड्नेछन् ।  

वर्तमान नेपालको आर्थिक दुरावस्थालाई विश्लेषणको कसौटीमा राखेर हेर्ने हो भने यिनै कुराहरू समस्याका रूपमा देखिन्छन् । मुलुकभित्र रहेको उद्योग, कलकारखानाहरू हामीले नै अनेक अनेक बहानामा सखाप पार्यौँ । जल, जडीबुटी, जङ्गल र जमिनलगायतका स्रोतहरूको आजसम्म पनि पूर्ण रूपमा सदुपयोग हुन सकेको छैन । नेपाली मिनरल वाटरको विश्वबजारमा माग हुनुको सट्टा विश्वबजारबाट वार्षिक करोडौँको मिनरल वाटर नेपाली बजारमा आइरहेको छ । 

यदि मुलुक सञ्चालनको जिम्मा लिएका मानिसहरूमा चेतना भएन; उनीहरू चलाख भएनन् भने मुलुकले समस्या भोग्छ भन्ने ज्ञान उनले आजभन्दा दुई सय पचास वर्ष अगाडि नै दिएका थिए । तर हामीले कहिले पनि उनका उपदेशहरूलाई गम्भीरताका साथ हेरेनौँ । उनले जे–जे नगर्नु भनेका थिए, हामीले त्यही त्यही गर्यौँ । अनि जे जे गर्नुभनेका थिए, त्यही त्यही हामीले गरेनौँ । नतिजा, मुलुकले भोगिरहेको छ ।

मुलुकको सुरक्षाको सवालमा उनको स्पष्ट दृष्टिकोण रहेको देखिन्छ, ‘मित्र राष्ट्रहरूसँग मित्रता राख्दा उनीहरूको चरित्रलाई ध्यान दिनू । विदेशीहरूको मुलुकभित्र अनावश्यक आवतजावत हुन नदिनू । यसबाट राष्ट्रिय भेद खुल्न जान्छ ।’ 

राष्ट्रिय सुरक्षा र परराष्ट्र नीति तथा सम्बन्धको सवालमा हाम्रो हैसियत के छ, यो थप टिप्पणी गरिराख्नुपर्ने विषय रहेन । १९५० को सन्धिपछि जति जति राष्ट्रिय राजनीतिमा उतारचढाव आउँदै गयो, त्यति नै हाम्रो हैसियत तलतल खस्किँदै गएको र विदेशी शक्तिहरू हावी हुन थालेको देखिन्छ । दरबार हत्याकाण्ड र माओवादी जनविद्रोह जस्ता ठूला घटनाले नेपाललाई आधिकारिक रूपमै विदेशी स्वार्थको खेलमैदान बनाइदिए ।

गणतन्त्र नेपालमा त प्रधानमन्त्रीको बैठक कोठासम्म पनि विनाअनुमति पहुँच राख्ने हैसियत बन्यो, विदेशी राजदूतहरूको । विदेशी नेताहरू नेपाल भ्रमणमा आएको बेला पदीय मर्यादाको समेत ख्याल नराखी प्रधानमन्त्रीदेखि सुरक्षा निकायका उच्च पदाधिकारी अनि मुख्य सचिवहरू पनि दर्शन भेटका लागि लाइनमा खडा भए । मुख्य सचिव नियुक्तिमा समेत भारतीय राजदूतले चासो व्यक्त गरेको घटनालाई हामी याद गर्न सक्छौँ । नेपालको जातीय, आर्थिक, भौगोलिक, प्राकृतिक, राजनीतिक, सांस्कृतिक, धार्मिक, सामाजिक आदि हरेक क्षेत्रमा विदेशी हस्तक्षेप छ; हरेक क्षेत्रमा रहेका चुनौती र अवसरहरूको लेखाजोखा राखेका छन् उनीहरूले । 

अन्त्यमा, दिव्योपदेशमा उनले भनेका छन्, ‘राजाले मुलुकमा अन्याय हुन नदिनू । न्याय निसाफ विगार्ने भनेका घुस खाने र घुस दिने हुन् । यिनीहरूलाई मारे पनि पाप लाग्दैन । यिनीहरू राजाका महाशत्रु हुन् ।’

जसले यो मुलुक निर्माणको बलियो जग खनिदियो, हामीलाई बहादुर र स्वतन्त्रताप्रेमी जातिको रूपमा विश्वसामु चिनाउने काम गर्यो, उसलाई हामीले किन महान नमान्ने ?
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।