बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौँमा ५ वटा घर भएका गोपाल खड्काको तपोवनको बास खर्च २५ लाख !

बिहीबार, २६ पुस २०७५, १२ : २१
बिहीबार, २६ पुस २०७५

काठमाडाैं- सामान्यतः बस्नका लागि एउटा घर भए पुग्छ । ठूलो परिवार छ भने कोहीकोहीलाई २ वटासम्म घर चाहिएला । 

तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार मात्रै भ्रष्टाचारको मुद्दा दायर गरेका नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्काको काठमाडौँमै ५ वटा घर थियो ।

काठमाडौँका विभिन्न स्थानमा घर भए पनि गोपालबहादुर खड्काले काठमाडौँमै बसोबासका अर्को २५ लाखसमेत खर्च गरेको अख्तियारको बयानमा बताएका छन् ।

पहिले खड्काका काठमाडौँमा रहेका ५ वटा घरको फेहरिस्त हेरौँ 

भ्रष्टाचारको मुद्दामा अख्तियारले आरोपित बनाएका गोपलबहादुर खड्काको आफ्नै नाम तथा अन्य विभिन्न व्यक्तिका नाममा काठमाडौँमै ५ वटा घर देखियो । 

घर नम्बर १ : आफ्नै नाममा
खड्को आफ्नै नाममा विष्णु बूढानीलकण्ठ ६ क मा कित्ता नम्बर ८११ मा ४ आनामा बनेको साढे २ तल्लाको घर रहेको छ । 

घर नम्बर २ : श्रीमतीको नाममा
त्यसैगरी गोपालबहादुर खड्काकी श्रीमती शर्मिला खड्काको नाममा काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ मा कित्ता नम्बर १०२५ मा ५ आना १ पैसा १ दशमलब ५ दाममा बनेको घर छ । उक्त घर ३ तलाको रहेको छ । यो खड्काको पुख्र्यौली सम्पत्ति रहेको बताइन्छ । 

घर नम्बर ३ : श्रीमतीको नाममा
गोपाल खड्काकै श्रीमती शर्मिला खड्काको नाममा विष्णु बूढानीलकण्ठ ३ ख मै १ रोपनी क्षेत्रफलमा बनेको घर तथा जग्गासमेत छ । त्यहाँ घर तथा गार्डेनको विशेष सुविधासहित साढे २ तल्लाको घर छ । यो घरमा उनीहरू आफै बस्ने गरेका छन् । 

घर नम्बर ४ : अमिता लामाको नाममा 
खड्काले आफ्नो अकुत आर्जनबाट कमाएको रकमले तेस्रो पात्र खडा घर घरसमेत किनेर राखेका थिए । उनले तेह्रथुमकी अमिता लामाको नाममा सीजी हिल्समा रहेको अपार्टमेन्टमा महाकाल ४ मा १९१ कित्ता नम्बर रहेको घर खरिद गरेका थिए । उक्त घर साढे २ तल्लाको छ । 

याे पनि

के सम्बन्ध छ अमिता र गोपाल खड्काबीच ? किन दिए अमितालाई ७ करोड ५४ लाखको सम्पत्ति ? (अमिताको बयानसहित)

घर नम्बर ५ : अमिताकै नाममा अर्को घर
त्यसैगरी अमिता लामाकै नाममा बुकिङ गरी गोपालबहादुर खड्काले सीजी हिल्समै अर्को घर पनि खरिद गरेका छन् । हात्तीगौंडामा रहेको सीजी हिल्सको कित्ता नम्बर ३५० को साढे २ तल्लाको घरसमेत खड्काकै सम्पत्ति रहेको छ । यद्यपि उक्त घरको मूल्यबापत ३ करोड ५ लाख रुपैयाँ बुझाए पनि पास हुन भने बाँकी नै छ ।  

तपोवनलाई २५ लाख
तर काठमाडौँमै ५ वटा घर हुँदाहुँदै पनि खड्काले बास बस्ने प्रयोजनकै लागि भन्दै अर्को २५ लाख खर्च गरेको देखिएको छ । सम्पत्ति छानबिनका क्रममा अख्तियारमा बयान दिँदै खड्काले ओशो तपोवनलाई पनि २५ लाख दिएको बताएका छन् । उनले उक्त रकम २ किस्ता गरेर बुझाएका छन् । र त्यो रकम बसोबास प्रयोजनका लागि दिएको स्वीकार गरेका छन् । 

खड्काले २०७१ साल वैशाखको ३ गते जोर्बा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको खाता नम्बर ००१–००१–एजजीएस–००१००४१ बाट २० लाख र त्यसको ३ दिनपछि अर्थात् २०७१ वैशाख ७ गते पुनः अर्को ५ लाख गरी २५ लाख दिएका छन् । उनले उक्त रकम ओशो तपोवनमा बसोबास गर्नका लागि दिएको बयान दिएका छन् ।

अब यहाँ प्रश्न उठ्छ काठमाडौँमै ५ वटा घर भएका गोपालबहादुर खड्कालाई ओशो तपोवनमा किन बास बस्नु पर्यो ?

खड्काको सम्पत्ति र सपिङ खर्चको विवरण

साढे ७ वर्ष लगातार बास बस्न पुग्छ २५ लाखले
अहिले ओशो तपोवनमा खाने बस्ने र मेडिटेसन गर्नेसम्मको सबै खर्च जोड्दा दैनिक ९ सय रुपैयाँ लाग्छ । यो ओशो तपोवनले पुस २६ गते दिएको विवरण हो । उनले यो रकम करिब ५ वर्ष पहिले दिएका थिए । हालकै मूल्यलाई आधार मान्ने हो भने पनि २५ लाख रुपैयाँले ओशो तपोवनमा खाने, बस्ने र सुत्ने व्यवस्थाका लागि २ हजार ७ सय ७७ दशमलब ७७ दिन पुग्छ । यसलाई वर्षमा हिसाब गर्दा पनि साढे ७ वर्षभन्दा बढी समय लगातार खान, बस्न र ध्यान गर्न पुग्छ । तर खड्काले अख्तियारलाई दिएको बयानमा खान र बास प्रयोजनका लागि आफूले उक्त रकम तपोवनलाई दिएको बताएका छन् । 

४ वर्षको सपिङ मात्रै १ करोड १७ लाख !
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निकै मिहिनेत गरेर खोजेको तथ्याङ्कअनुसार खड्का र उनको परिवारले ४ वर्षको बीचमा १ करोड १७ लाख ५३ हजार ८ सय ३८ रुपैयाँको सपिङ मात्रै गरेका छन् ।

२०६९ चैत २ गतेदेखि हालसम्म गरिएको एटीएम तथा पीओएस विश्लेषणका आधारमा यो अवधिमा यति धेरै रुपैयाँको सपिङ गरिएको अख्तियार स्रोतले बताएको छ ।

अख्तियारमा दिएको बयानमा पनि खड्काले यो अविधिमा विभिन्न सुपरमार्केट तथा पीओएस सेन्टरहरूबाट यो रकम सपिङलगायतका कामका लागि खर्च गरेको बयान दिएका छन् । 

ग्लोबल आईएमईको कार्डबाट ३२ लाखको सपिङ
खड्काले ग्लोबल आईएमई बैङ्कको खाता नम्बर ०४०८०१००००८४९ मा रहेको रकममध्ये कार्डबाट मात्रै ३२ लाख ५ सय १ रुपैयाँ २७ पैसाको सपिङ गरेका छन् । 

उनले यो रकम विभिन्न मितिमा विभिन्न एटीएम तथा कार्ड स्वाइम गरेर किनमेल गर्ने पीओएसमार्फत् विभिन्न सपिङ मलहरूमा खर्च गरेका हुन् ।

नबिल बैङ्कको कार्डबाट ३९ लाखको सपिङ
त्यसैगरी खड्काले नविल बैङ्कमा रहेको १७१००१७५०४८६२ नम्बरको खाताबाट पनि सपिङका लागि ३९ लाख ३६ हजार २ सय ८९ रुपैयाँ १० पैसा खर्च गरेका छन् । यनले यस खाताबाट भिजा कार्ड बनाएर विभिन्न एटीएम तथा सपिङ मलहरूमा स्वाइप गरी यति धेरै रकम खर्च गरेका हुन् । 

स्ट्यान्डर्ड चार्टडको खाताबाट ३६ लाखको सपिङ 
त्यसैगरी गोपालबहादुर खड्काकै नाममा रहेको स्ट्यान्डर्ड चार्टड बैङ्कको खाता नम्बर ००१८१५०२३६००१ नम्बरको खातामार्फत् भिजा कार्ड बनाई उनले ३६ लाखभन्दा बढीको सपिङ गरेका छन् । उनले स्ट्याडर्ड बैङ्कमा रहेको यस खातामार्फत् कार्डबाट ३६ लाख ३७ हजार ४ सय ३८ रुपैयाँ ९८ पैसाको सपिङ गरेका हुन् । उक्त सपिङ उनले विभिन्न एटीएमबाट पैसा झिकी वा पीओएसमार्फत् खर्च गरेका हुन् । 

यो पनि....

गोपाल खड्काको भ्रष्टाचारको काइदा : अमिताको नाममा करोडौँको सम्पत्ति, चन्दा मात्रै १ करोड बढी

शर्मिला खड्काको नामबाट १० लाखको सपिङ
त्यसैगरी स्ट्यान्डर्ड चार्टड बैङ्कमै शर्मिला खड्काको नाममा रहेको ००१८००६२२७८०१ नम्बरको खाता प्रयोग गरी त्यही खाताबाट भिजा कार्ड बनाई खड्काले १० लाख बराबरको सपिङ गरेका छन् ।

यस खाताबाट गोपल र शर्मिलाले गरी ९ लाख ७९ हजार ६ सय ९ रुपैयाँ ५० पैसा बराबर रकम झिक्ने र स्वाइप गर्ने काम भएको छ । 

यी सबै खर्च केमा भएको हो भनेर अख्तियारले सोध्दा खड्काले घरायसी प्रयोजन र सपिङमा खर्च भएको बयान दिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप