के सम्बन्ध छ अमिता र गोपाल खड्काबीच ? किन दिए अमितालाई ७ करोड ५४ लाखको सम्पत्ति ? (अमिताको बयानसहित)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार मात्रै नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल बहादुर खड्काविरुद्ध १८ करोड ६६ लाख ५ हजार ६ सय २९ रुपैयाँ २३ पैसा गैरकानूनी रूपमा आर्जन गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गर्यो ।
यो रकममध्ये अधिकांश रकम नेपाल आयल निगममा कार्यकारी निर्देशक भएपछि कमाएको भनिएको छ । र, खड्काको कुल सम्पत्ति २७ करोडमध्ये साढे १८ करोड भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।
अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा खड्काले आफू, आफ्नी श्रीमती शर्मिला खड्का र अर्की एक पात्र अमिता लामा सोदाम्बेको नाममा सम्पत्ति लुकाएर राखेको भन्दै अभियोग बनाएको छ ।
यतिबेला सबैलाई चासो रहेको विषय चाहिँ आखिर साढे ७ करोड लुकाउन प्रयोग गरिएकी पात्र अर्थात् अमिता लामा र गोपाल खड्काबीचको सम्बन्ध के हो त ? खड्काले सम्पत्ति थुपारेकी यी पात्र आखिर को हुन् त ? घर, जग्गाजमिन र ८४ लाखको टक्सन गाडी दिलाएकी ती पा त्र अमिता खड्काको को पर्छिन् त ?
गोपाल खड्काको भ्रष्टाचारको काइदा : अमिताको नाममा करोडौँको सम्पत्ति, चन्दा मात्रै १ करोड बढी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा दायर गरेको १ सय १९ पृष्ठको अभियोग पत्रमा खड्काले क–कसका नाममा कसरी सम्पत्ति जोडेका छन् र राखेका छन् भनेर लेखेको छ ।
त्यही अभियोगको एक प्रमुख पात्र हुन् अमिता लामा ।
अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा खड्काले गैरकानुनी ढङ्गबाट कमाएको सम्पत्ति अमिताको नाममा राखेको दावी गरेको छ । तेह्रथुम जिल्ला साविकको जिरीखिम्ती गाविस वडा नम्बर २ घर भएकी अमिताको नाममा खड्काले सम्पत्ति लुकाएका रहेछन् । खड्काले आफूले कमाएको सम्पत्तिमध्ये ७ करोड ५४ लाख रुपैयाँ बराबरको चल अचल सम्पत्ति अमिताको नाममा राखेका थिए । भ्रष्टाचार र अकुत सम्पत्ति छानबिनमा आफू पर्ने डरले खड्काले तेस्रो व्यक्ति खडा गरेर सम्पत्ति थुपारेका थिए । र, सोमबार अख्तियारले तिनै अमितालाई पनि भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
को हुन् अमिता लामा ?
गोपाल बहादुर खड्काले खडा गरेकी महिला अमिता लामाको उमेर करिब २५ वर्ष मात्रै रहेको बुझिन्छ । तर २५ वर्षकै उमेरमा यति धेरै सम्पत्ति कमाउन सक्ने अवस्था र उनको त्यस्तो आयस्रोतहरु पनि देखिँदैन । रमाइलो कुरा के छ भने, अख्तियारमा आएको एउटा सानो उजुरीका आधारमा अमितामाथि छानबिन सुरु भएको थियो र त्यसको सेतु गोपाल खड्कासम्म जोडिएको फेला परेको थियो ।
छानबिन सुरु भएपछि अमिताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा आई बयानसमेत दिएकी थिइन् । बयानमा लामाले खड्का र आफूबीचको सम्बन्ध तथा खड्काले किन र कसरी आफ्नो नाममा सम्पत्ति राखे भनेर खुलाएकी छिन् ।
अख्तियार श्रोतबाट रातोपाटीलाई प्राप्त बयानमा अमिताले आफ्नो हजुरआमामार्फत् खड्कालाई चिनेको बयान दिएकी छिन् ।
बयानको ब्यहोरा यस्तो छ :
‘‘म सानैदेखि मामाघरको हजुरआमासँग बस्थेँ । हजुर आमासँग नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल बहादुर खड्काको राम्रै चिनजान भएकाले मलाई सानैदेखि गोपाल बहादुर खड्काले रेखदेख गरी अभिभावकत्व दिएका थिए । उहाँलाई म ठूलोड्याडी भनी सम्बोधन गर्छु । उहाँले मेरो नाममा घर घडेरी, जग्गा, सवारी साधन आदि खरिद गर्ने र बैंक खाताहरुसमेत मेरै नाममा खोली कारोबार गर्ने गर्नु भएको छ ।
उहाँले काठमाडौं जिल्ला साविक माहांकाल गाविस वडा नम्बर ४ कित्ता नम्बर १९१ को जग्गामा सिजि डेभलपर्सले निर्माण गरेको सिजि हिल्सको घर नम्बर ३२ निमा टासी शेर्पासँग रु ३ करोड २५ लाखमा खरिद गरी मेरो नाममा राख्नु भएको हो । त्यस्तै जिल्ला काठमाडौं साविक ब्ढानिलकण्ठ गाविस वडा नम्बर ३ ख को कित्ता नम्बर ६८९, १४८२ र १५२० को क्षेत्रफल८ आना ३ दामको जग्गा पुष्पा प्रसाईसँग प्रतिआना ९ लाखका दरले खरिद गरी मेरो नाममा राखेको हो । त्यसैगरी बा १४ च ४८४८ नम्बरको टक्सन गाडी ४ ८४ लाख ४६ हजारमा लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिबाट खरिद गरि मेरो नाममा राख्नु भएको छ भने जिल्ला काठमाडौं साविक महांकाल गाविस वडा नम्बर ४ कित्ता नम्बर ३५० को जग्गामा सिजि डेभलपर्सले निर्माण गरेको सिजि हिल्सको घर नम्बर २२ पनि खरिद गर्न भनी मेरो नामबाट बुकिङ गर्नुभएको थियो । तर उक्त घर हालसम्म मेरो नाममा पास भएको छैन ।
गोपाल बहादुर खड्काको छोरा रिजन खड्काको नाममा पास गर्ने कुरा भएको थियो । उक्त घर खरिदको लागि रकम दिन भनी पटकपटक रिजन खड्काले मलाई सिजि डेभलपर्सको नगदी भौचरमा दस्तखत गरी लैजान्थे । हालसम्म के कति रकम भुक्तानी भयो, मलाई थाहा छैन ।
त्यसैगरी मलाई हजुरआमाले दिएको केही रकम ब्याजमा लगाई बढेबढाई गरेर जिल्ला काठमाडौं साविक विष्णु बुढानिलकण्ठ वडा नम्बर ६ ‘क’ कित्ता नम्बर ८११ को क्षेत्रफल ४ आना जग्गा मिति २०६९ भदौ २७ गते धनसरी राईसँग २९ लाखमा खरिद गरेको र पछि सोही जग्गामा घर बनाएको हो । उक्त घर बनाउनका लागि मैले उक्त जग्गा जोर्बा बचत तथा ऋण सहकारी संस्थामा धितो राखी रु २५ लाख कर्जा झिकेको थिएँ । उक्त रकममा नपुग रकम केही सरसापटी गरेको हो । उक्त घर निर्माणमा ठूलोड्याडी गोपाल बहादुर खड्काले पनि केह िसहयोग गर्नुभएको छ । मेरो घरायसी कारणले गर्दा उक्त घर गत साल मात्र मेरो नामबाट ठूलोड्याडीको नाममा रजिष्ट्रेसन पास गरी राखेको हो ।
मेरो नाममा रहेको एनएमबी बैंकको खाताबाट ठूलोड्याडीले कारोबार गर्ने गरेको हो । उक्त खाताको सबै कारोबार उहाँले नै गर्नुभएको हो ।’’
अमिता लामाले अख्तियारमा दिएको बयानमा आफ्नो सम्पत्ति करिब २७ लाख मात्रै रहेको बताएकी छिन् । तर अहिले अमिताको नाममा करिब १० करोडको सम्पत्ति रहेको छ । अमिताले बयानमा दाबी गरे अनुसार नै पनि न त उनकी हजुर आमाले त्यति रकम दिन सक्छिन्, न त अमिताले कमाउने अर्को कुनै वैधानिक बाटो नै छ ।
गोपाल खड्का ‘ठूलो ड्याडी’ !
करिब २५ वर्षकी अमिता लामाले गोपाल बहादुर खड्कालाई ठूलोड्याडी भएको बताएकी छिन् । उनले आफ्नो अभिभावकत्व सुरुदेखि नै गोपाल बहादुर खड्काले लिएको दाबी गरेकी छिन् । यद्यपि अमिताकी हजुर आमा र गोपालको चिनजान वा सम्बन्धबारे भने केही पनि खुलाइएको छैन ।
अभिभावकत्व लिएको दावी गरिएपनि खड्काले २०६९ सालभन्दा अगाडि अमिताको नाममा न त कुनै सम्पत्ति दिएका छन् न त कुनै स्पष्ट नाता वा सम्बन्ध नै देखिएको छ । उनले आफ्नो खर्च विवरणमा २०७० भन्दा पहिले अमिताका लागि कहीँ कतै खर्च भएको देखाएका छैनन् ।
खड्काले अकुतरुपमा कमाई अमिता लामा सोदेम्बाको नाममा ७ करोड ५४ लाख ५७ हजार ८ सय ७५ रुपैयााको सम्पत्ति लुकाएर राखेको अख्तियारको दाबी छ । र, खड्काले पनि अमिता लामाको नाममा लुकाएर राखेको उक्त सम्पत्ति आफ्नो भएको स्वीकार गरेका छन् ।
यी हुन् खड्काले अमिताका नाममा राखेको सम्पत्तिको फेहरिस्त :
सम्पत्ति नम्बर १ :
काठमाडौं जिल्ला साविक माहांकाल गाविस वडा नम्बर ४ स्थित कित्ता नंम्बर १९१ मा सिजी डेभलपर्सले निर्माण गरेको सिजी हिल्स हात्तीगौंडामा मूल्य रु ३,२५,००,००० (तीन करोड पच्चीस लाख) मा खरिद गरेको कित्ता नम्बर ३२ को घर र जग्गा ।
सम्पत्ति नम्बर २ :
काठमाडौं जिल्ला साविक विष्णु बूढानिलकण्ठ गाविस वडा नम्बर ३ ‘ख’ स्थित कित्ता नम्बर ६८९, १४८२ र १५२० को मूल्य रु ४०,११,८७५ (चालिस लाख एघार हजार आठ सय पचहत्तर) मा खरिद गरेको ८ आना क्षेत्रफल भएको जग्गा ।
सम्पत्ति नम्बर ३ :
काठमाडौं जिल्ला साविक महांकाल गाविस वडा नम्बर ४ स्थित कित्ता नम्बर ३५० मा सिजी डेभलपर्सले निर्माण गरेको घर नं २२ खरिद गर्नका लागि भुक्तानी गरेको ३,०५,००,००० (तीन करोड पाँच लाख) रुपैयाँ ।
सम्पत्ति नम्बर ४ :
मूल्य रु. ८४,४६,००० (चौरासी लाख छयालिस हजार) मा किनिएको बा १४च ४८४८ नम्बरको टक्सन कार ।
प्रतिकात्मक तस्विर
यसरी खड्काले गैरकानुनी ढङ्बाट कमाएको सम्पत्ति अर्कै पात्र खडा गरी अमिता लामाको नाममा राखेको पाइएको छ । त्यतिमात्रै होइन, खड्काले अमिताको नाममा विभिन्न बैंकमा खाता खोली आँफैले सञ्चालन गरेको पाइएको छ ।
अमिताले ठूलो ड्याडी भनी सम्बोधन गर्ने गरेका गोपाल खड्काले रक्तनाताले कुनै पनि सम्बन्ध नरहेका अमितामाथि कुन नातासम्बन्धमा आधारमा उनका नाममा त्यतिका अकूत सम्पत्ति थुपारिदिएका होलान् त ? अहिले मानिसहरु प्रश्न गर्न थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ह्वाट्सएपमा आउँदैछ ठुलो अपडेट, इन्टरनेट बिनै पठाउन सकिनेछ फोटो र फाइल
-
उत्तर कोरियाद्वारा परमाणु हमलाको प्रत्याक्रमण अभ्यास
-
कतारका राजाको नेपाल भ्रमण : कहाँ–कहाँ हुन्छ सडक अवरुद्ध ?
-
‘पढेलेखेकाहरूले देश बिगारे’ भन्ने भाष्य निर्माण भएकोले पढ्ने संस्कृतिको विकास हुन सकेन : सीके राउत
-
सूर्यज्योतिले मनायो आफ्नो १६ औँ वार्षिकोत्सव
-
नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन : मन्त्री भण्डारी