मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

टीकापुरका थारु समुदाय भन्छन् – रेशम चौधरीको सपथ राज्यको दायित्व

शुक्रबार, २० पुस २०७५, १८ : ०३
शुक्रबार, २० पुस २०७५

टंक कुँवर

टीकापुर– निर्वाचन भएको लामो समयपछि कैलालीबाट निर्वाचित सांसद रेशमलाल चौधरीले सांसदको सपथग्रहण गरेका छन् । यो विषयलाई लिएर कतिपयले विरोध गरेका छन् भने कतिपयले सरकारको उक्त कदमलाई स्वागत गरेका छन् । यस विषयलाई कैलालीका थारु समुदायले कसरी लिएका छन् त ? कैलाली सहकर्मी टंक कुवँरले केही थारु अगुवाहरुसँग प्रतिकृया लिएका छन् । प्रस्तुत छ उनीहरुको प्रतिकृया जस्ताको तस्तै : 

यो पनि पढ्नुहोस्

 

रेशम चौधरीको सपथले टीकापुरमा ओभाइसकेको आँसु फेरि रसायो

माधव चौधरी, अध्यक्ष थारु कल्याणकारिणी सभा कैलाली, 

सरकारले पुस १९ गते टीकापुर घटनामा अभियुक्त बनाइएका रेशमलाल चौधरीलाई सांसदको सपथग्रहण गराएको छ । यो सरकारको दायित्वभित्रै पर्छ भन्ने मलाई लाग्छ । 

सांसद पदमा निर्वाचित भएपछि कुनै कानुनले सपथ ग्रहण र प्रमाणपत्र दिन रोक लगाएको थिएन । विगतको सरकारले नियतवस ती कामहरु गर्न रोक लगाएको थियो । ढिलै भएपनि रेशम चौधरीलाई सपथ गराएर सरकारले आफ्नो दायित्व पुरा गरेको छ । तर, सांसदको सपथ लिएपछि पनि माननीय चौधरीलाई पुनः जेलभित्र राखेकोमा हामी दुःखी छौँ । 

आगामी दिनमा रेशम चौधरीलगायत टीकापुर प्रकरणका सबै बन्दीहरुलाई राजनीतिक मुद्दाका रुपमा लिदै राजनीतिक तवरले नै निर्णय गरेर थुनामुक्त गर्नुपर्छ भन्ने हाम्रो प्रमुख माग छ । त्यसपछि मात्रै देशमा दीर्घकालीन शान्ति, अमनचयन र सद्भावको अपेक्षा राख्न सकिन्छ । टीकापुरमा आन्दोलन गर्दैगर्दा २०७२ भदौ ७ गतेको घटनालाई मात्रै अपराधिक बनाउने तर भोलिपल्ट ८ गते थारुहरुको घर छानीछानी घर जलाउनेहरु खुलमखुल्ला हिँडिरहेका छन् । उनीहरुलाई पनि कानुनी दायरामा ल्याएर निश्पक्ष छानविन गर्नुपर्छ भन्ने हाम्रो भनाई छ ।  

प्रभातकुमार चौधरी, पूर्व सभापति, थारु कल्याणकारिणी सभा

रेशम चौधरीजीलाई सपथ ग्रहण गराएकोमा नेपाल सरकारलाई हामी थारु कल्याणकारिणी सभाको तर्फबाट धन्यवाद दिन चाहन्छौँ । दुई तिहाईको सरकारले लिएको यो सकारात्मक सोच र विचार हो भन्ने हामी ठान्छौँ । थारु आन्दोलनका घटना र परिघटनामा परेर सहादत प्राप्त भएकाहरुप्रति हामीहरु अवश्य दुःखी छौँ । 

अब आउने दिनमा थारु जातिमाथि परेका डकैत मुद्दा, ज्यानमारा मुद्दाहरुलाई राज्यपक्षले राजनीतिक मुद्धा बनाइदिएमा अझै सहज हुन्थ्यो । यसले हाम्रो यो सुदुरपश्चिम (७ नम्बर) प्रदेशमा र मेचीदेखि महाकालीसम्म राम्रो सम्बन्ध हुन्थ्यो भन्ने आशा र विश्वास पनि लिएका छौं । 

रुपलाल चौधरी, टीकापुर नगर कमिटी सभापति 

रेशम चौधरीको सपथ ग्रहणमा सरकारले खेलेको भूमिका सकारात्मक छ  । तर कहीँकहीँ दुःख पनि लागेको छ । सपथ ग्रहण गरिसकेपछि बाहिर निकाल्नुपर्ने हो । फेरी थुनामै जानुपर्ने ? यो नियम अलि मिलेन कि जस्तो लाग्छ । सरकारको होला केही । तर, सरकारले जनमतको कदर गरेको छ भन्ने लागेको छ । 

ठाकुरप्रसाद करिया प्रधान, युवा नेता

रेशम चौधरीलाई सपथ ग्रहण गराएर मात्र हुँदैन । यहाँ (टिकापुरको चौधरी) समुदायले न्याय खोजेको छ । उहाँलाई राजनीतिक मुद्धा भन्दै सपथ ग्रहण गराइएको छ । टिकापुर घटनामा २६ जनाले जेल सजाय खेपिरहेका छन् । उनीहरुलाई पनि न्याय दिनुपर्छ । सरकारले अहिले लालीपप देखाए जस्तो गरेको छ । यस्तो कार्यले सिङ्गो समुदायले न्याय पाउन सक्दैन । टीकापुर घटनासम्बन्धि मुद्दा अदालतमा विचाराधीन छ । त्यसबारे पनि सरकारले उचित निर्णय लिएर अगाडि जानुपर्छ । जेल सजाय काटिरहेकाहरुलाई कि त दोषी प्रमाणित गर्नु पर्छ । होइन भने रिहा गर्नुपर्छ । यसरी झुल्याउने काम गर्नुहुँदैन । रेशम चौधरीले सांसदको सपथ लिँदैमा सिङ्गो समुदायले न्याय पाएको मान्न सकिन्न ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप