सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

रेशम चौधरीको सपथले टीकापुरमा ओभाइसकेको आँसु फेरि रसायो

बिहीबार, १९ पुस २०७५, १९ : १२
बिहीबार, १९ पुस २०७५

-टंक कुँवर

टीकापुर – टीकापुर घटनामा ज्यान गुमाएका सशस्त्र प्रहरीका हवल्दार ललितबहादुर साउदका माइला दाइ गोरखबहादुर आफ्ना भाइको हत्यामा संलग्न अभियुक्तले एक न एकदिन सजाय पाउने आशमा थिए । 

हत्यामा संलग्न मुख्य अभियुक्त रेशम चौधरीसहितका अन्य अभियुक्तलाई कारबाहीको माग गर्दै उनी कयौंपटक अरु पीडितसँगै जिल्ला अदालत कैलाली पुगिसकेका छन् । तर मुख्य अभियुक्तमाथि कारबाही गरिनुको साटो उल्टै सपथ खुवाइएको सुनेर उनी निराश बनेका छन् । 

बिहीबार दिउँसो रातोपाटी प्रतिनिधि साउदको टीकापुरस्थित घरमा पुग्दा न्याय पाउने आशमा बसेका आफूहरुलाई सपथको खबरले थप दुःखी तुल्याएको प्रतिक्रिया दिए । 

‘हत्यारालाई छाड्ने सरकार पनि अन्धो हो । हत्यारालाई सपथ गराएर छाडियो भने भोलि के हुने हो ?’ उनले प्रश्नमिश्रित आक्रोश पोखे, ‘छाड्नै पर्छ भने त अरुलाई पनि छाड्नुपर्यो नि । यत्रो संहार गरेको मान्छेलाई सरकार नै सपथ दिलाउने र छाड्ने हो भने न्याय कहिल्यै पाइँदैन ।’

भावुक हुँदै उनले अगाडि भने, ‘भाइका स–साना बालबच्चा छन् यिनीहरुको लागि पनि न्यायको प्रतिक्षामा छौं । न्याय नदिइ हत्यारालाई सपथ गराउने हो भने सरकारको नियत पनि ठीक भएन ।’

सशस्त्र प्रहरीका हवल्दार ललितबहादुर साउदका माइला दाइ गोरखबहादुर

उनीमात्रै होइन घटनामा परी ज्यान गुमाएका बालक टेकबहादुर साउदकी आमा एशोदा साउद पनि चौधरीको सपथबाट निराश बनेकी छन् । 

उनका अनुसार त्यतिबेला राज्यले हत्यामा संलग्नलाई कारबाही गर्ने र पीडित परिवारका एकजनालाई रोजगारीको व्यवस्था गर्ने सहमति भएको थियो । तर उक्त सहमति अझैं पुरा नभएको गुनासो गर्दै उनले हत्या आरोपीलाई सजायँ दिनुको साटो उल्दै सपथ गराएर ‘बक्सिस’ दिने काम गरेको आरोप लगाइन् ।  

‘चौधरीलाई चाहिँ ज्यान मारेको आरोप लाग्दा पनि सजायँ नदिइकन छाडिदिने, हाम्रा सामान्य र स–साना माग पनि पुरा नगर्ने यो कस्तो सरकार हो, यो कस्तो न्याय हो ?’ उनले आक्रोश पोख्दै भनिन्, ‘दोषीलाई सजाय दिइनुपर्छ । सजाय नदिए हामी पनि आन्दोलन गर्छौं ।’

पैसाको बलमा टीकापुर घटनाका आरोपीले चलखेल गरेको उनको आरोप छ ।  

ज्यान गुमाएका बालक टेकबहादुर साउदकी आमा एशोदा साउद

स्तै बालकका काका शेरबहादुर साउदले पनि सरकारको निर्णयबाट आफूहरु दुःखी भएको भन्दै सरकारले निर्णय गर्दैगर्दा पीडितलाई भुलेको आरोप लगाए ।  

‘घटनाबारे यहाँका जनताहरुलाई सबै थाहा छ । त्यस्तो मान्छेलाई आजको दिनमा सपथ गराउने यो सरकारसँग भोलिको दिनमा हामीले के आश गर्ने ?’ उनको आक्रोश थियो । 

यस्तै बालक टेकबहादुर साउदका हजुरबुबा जंगबहादुर साउदले ०७२ भदौ ७ गतेको घटनाका मुख्य आरोपी चौधरीलाई सपथ गराएर सरकारको असली चरित्र उदाङ्गो भएको प्रतिक्रिया दिए । 

ज्यान गुमाएका बालक टेकबहादुर साउदका हजुरबुबा जंगबहादुर साउद

‘अदालतले मुद्दाको किनारा नलगाउँदै नेपाल सरकारले जेलबाट ल्याएर सपथ खुवाउँछ भने यो सरकारको औचित्यमाथि प्रश्न किन नगर्ने ?’ उनको प्रश्न थियो । 

देशमा विधि, कानुन र सुशासन रहेको भनिएपनि चौधरीलाई सपथ खुवाउने सवालले सरकारको भनाई र गराईमा भिन्नता भएको उनको भनाई थियो ।

हुन त टीकापुर प्रकरणमा अधिकांश स्थानीय बोल्न चाहँदैनन् । कतिपय घटनाबारे बोले जे पनि हुनसक्ने भन्दै पन्छिन्छन्, भने कति खाटा बसेको घाउ फेरि किन कोट्याउनु भन्दै मौन बस्न चाहन्छन् । 

यसैमध्येका एक हुन् स्थानीय रामप्रसाद खनाल । सुरुमा यो प्रकरणमा बोल्न नचाहेका उनी रातोपाटीको पटक–पटकको आग्रहपछि कुराकानी गर्न तयार भए । उनले अहिले पनि टीकापुर घटनाको त्रासमा आफूहरु रहेको भन्दै विगत सम्झँदा अत्यास लाग्ने प्रतिक्रिया दिए । 

स्थानीय रामप्रसाद खनाल

‘अपराधीलाई कारबाही हुनैपर्छ । अपराधीलाई कारबाही भएन भने त यहाँ भन्दा पछिका अपराध पनि यस्तै हुने हुन्’, उनले मलिन स्वरमा भने । 

यसैगरी छिमेकी गाउँका स्थानीय कर्णबहादुर चन्दले पनि ज्यान मार्ने उद्योगका आरोपीलाई सरकारले उम्काउँछ भने सरकारको औचित्य नै समाप्त भएको प्रतिक्रिया दिए । 

‘यस्तै हो भने सरकारको आवश्यकता छैन । कानून बनाउने सांसद र मन्त्रीहरुको पनि  कुनै आवश्यक्ता छैन’ उनले भने, ‘कि कानुनै बनाउनु भएन कानुन बनाइसकेपछि कानुनको परिधिभित्र सबै बस्नुपर्छ । मनपरी गर्ने र जतिखेर जे चाह्यो त्यहि गर्ने हो भने यसमा हाम्रो चित्त बुझ्ने कुरै हुँदैन ।’

उनले न्यायका लागि आफूहरु जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको भन्दै सरकारलाई टीकापुरबासीको पीडालाई कमजोर नआँक्न चेतावनी दिए । 

स्थानीय कर्णबहादुर चन्द

०७२ भदौ ७ गते टीकापुर घटना भएको थियो । उक्त घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र २ वर्षीय नाबालक साउदको ज्यान गएको थियो । 

सुरक्षाकर्मीको हत्यापछि टीकापुर क्षेत्रमा व्यापक लुटपाट र आगजनी हुँदा ठूलो क्षति भएको थियो । किटानी जाहेरी दिँदा पनि प्रहरीले अभियुक्तलाई उन्मुक्ति दिएको, पीडितले पटक–पटक प्रशासनिक निकायलाई जानकारी गराउँदा पनि कारबाही हुन नसकेको भन्दै टीकापुर घटनामा राज्यले विभेद गरेको आरोप पीडितले लगाउँदै आएका छन् ।

घटनाको दोस्रो दिन ८० भन्दा बढी घर र पसलमा आगजनी र तोडफोड गरिएको थियो । सञ्चार माध्यम, व्यापारिक प्रतिष्ठानदेखि विभिन्न संघसंस्थाका कार्यालयमा आगजनी र लुटपाट भएको थियो । सुरक्षाकर्मीको हत्यामा संलग्न भन्दै राज्यले चौधरीसहित ५८ जना बढीविरुद्ध मुद्दा दर्ता गरेको थियो । 

ज्यान गुमाएका बालक टेकबहादुर साउदका अंकल शेरबहादुर

यसरी भएको थियो नरसंहार
संविधान जारी हुनु अघिबाटै सुदूरपश्चिममा ‘अखण्ड सुदुरपश्चिम’ र ‘थरुहट प्रदेशको माग गर्दै प्रदर्शन हुँदै आएका थिए  । प्रदर्शनका क्रममा अखण्ड सुदूरपश्चिम र थरुहट प्रदेश पक्षधरबीच विवाद बढ्दै भीडन्तको अवस्था आइपुग्यो । खुकुरी र भालासहित आएका प्रदर्शनकारीले एसएसपीसहित ८ जनाको हत्या गरेका थिए । 

घटनाको अघिल्लो दिन सामाजिक सद्भाव खल्बलिन नदिन कैलालीका प्रमुख राजनीतिक दलहरु, आन्दोलनकारी र स्थानीय प्रशासनबीच शान्तिपूर्ण आन्दोलन गर्ने सहमति भएको थियो । तर, सहमतिविपरित आन्दोलनले उग्र रुप लिँदै अकल्पनीय घटना भएको थियो ।  

आन्दोलनलाई मध्यनजर गर्दै प्रशासनले टीकापुर नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेपनि आन्दोलनकारीले त्यसलाई वेवास्ता गर्दै आन्दोलन चर्काएका थिए । ७ भदौमा निषेधाज्ञा तोड्ने र नगरपालिका क्षेत्रमा ‘थारु स्वायत्त प्रदेश’ लेख्ने भन्दै आन्दोलनकारीले गाउँ–गाउँबाट मान्छे जम्मा गरेर टीकापुरतर्फ ल्याएका थिए  ।

प्रदर्शनकारी र प्रहरीबीचको झडप । 

टीकापुर नगरको चारैतिरबाट आन्दोलनकारी निषेधाज्ञा तोडेर नगरक्षेत्रमा पस्ने तयारी गरेको प्रशासनले थाहा पाएपछि चारैतिर प्रहरी तैनाथ गरिएको थियो ।

त्यसमध्ये सबैभन्दा ठूलो समूहले पश्चिमतर्फको नाकामा रहेको ३५–४० जना प्रहरीमाथि आक्रमण गर्यो । जसको नेतृत्व एसएसपी न्यौपानेले गरेका थिए ।

जब मुनुवा र टीकापुर नगरपालिकाको सीमामा पर्ने पशु हाटबजार नजिक आन्दोलनकारी र प्रहरीको जम्काभेट भयो । त्यसैबेला आन्दोलनकारीलाई संयमित हुन आग्रह गर्दै भीडको नजिक पुगेका एसएसपी न्यौपाने सहितलाई आन्दोलनकारीले भालाले आक्रमण गरेर हत्या गरे । त्यसपछि थप उत्तेजित बनेको भीडले अन्य ६ प्रहरी र एक बालकको हत्या गरेका थिए । 

...र आज चौधरीको सपथ
हत्याकाण्डका मुख्य अभियुक्त भनिएका चौधरी फरार अवस्थामै कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भए । हाल सोही काण्डमा पुर्पक्षमा थुनामा रहेका उनले बिहीबार पद तथा गोपनियताको सपथ लिएका छन् । उनले थारु भाषामा सपथ लिएका हुन् । 

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बिहीबार सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनियताको सपथ दिलाएका थिए । सपथसँगै संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईले चौधरीलाई सांसदको लोगो लगाइदिए । 

पद तथा गोपनियताको सपथ लिएपछि रेशम चौधरी । 

टीकापुर घटनाका मुख्य अभियुक्त चौधरीलाई सपथकै लागि डिल्लीबजारस्थित सदरखोरबाट सिंहदरबार पुर्याइएको थियो । 

सपथपछि सभामुख महराले सांसद चौधरीलाई फूलमाला लगाइदिए भने त्यहाँ पुगेका राजपाका नेताहरुले पनि उनलाई बधाई दिँदै फूलमाला लगाइदिए । 

राजपा नेपालले चौधरीको रिहाई र शपथ ग्रहणको विषयलाई मुख्य मुद्दा बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई दवाव दिँदै आएपछि सरकारले सपथको व्यवस्था मिलाएको बताइएको छ । 

यसैबीच सपथपछि कारागार लगिँदै गर्दा चौधरीले आफू निर्दोष रहेको दाबी गर्दै सुनियोजित रुपमा फसाइन खोजिएको प्रतिक्रिया दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप