सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

भद्रगोल एम्बुलेन्स–२ : ‘मनपरी सञ्चालन, एम्बुलेन्स सेवा समिति नै बेखबर’

आइतबार, १७ भदौ २०७५, १० : ५०
आइतबार, १७ भदौ २०७५

काठमाडौँ– एम्बुलेन्स स्टोरीको पहिलोे सिरिजमा हामी एम्बुलेन्स निर्देशिकामा केन्द्रित भयौँ । 

एम्बुलेन्स सञ्चालन सेवा निर्देशिका २०७५ (संशोधनसहित) मा सरकारले एम्बुलेन्सलाई ३ श्रेणीमा विभाजन गरेको छ । ‘क’, ‘ख’ र ‘ग’ श्रेणीमा विभाजन गरिएका एम्बुलेन्समा कस्ता सेवा, सुविधा हुनुपर्छ र

एम्बुलेन्स सञ्चालनका लागि कसले कति जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने विषयमा पनि हामीले पाठकलाई जानकारी गरायौँ ।

आज हामी एम्बुलेन्सको दोस्रो सिरिजमा छौँ । यो सिरिजमा निर्देशिका अनुसार नेपालमा एम्बुलेन्स सञ्चालन भएको छ, छैन् ? भन्ने विषयलाई नियाल्ने छौँ । 

प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला ‘एम्बुलेन्स सञ्चालन सेवा समिति’ गठन गरिनुपर्छ । 

जसको सदस्यहरूमा प्रहरी कार्यालयका प्रमुख, जिल्ला सरकारी अस्पतालबाट संयोजकले तोकेको (आठौँ तह वा सोभन्दा माथिको) चिकित्सक, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, जिल्ला विकास समितिबाट अधिकृतस्तरको प्रतिनिधि, एम्बुलेन्स सेवा सञ्चालन गरिरहेका संस्थाहरूबाट संयोजकले तोकेकामध्ये एक जना सदस्य र जनस्वास्थ्य कार्यालयका प्रमुख सदस्य सचिव रहनुपर्ने व्यवस्था छ ।

यसरी गठन भएको समितिको जिम्मेवारी एम्बुलेन्स सेवा सञ्चालन निर्देशिकाको बुँदा ६ मा तोकिएको छ । जसमा काम, कर्तव्य र अधिकारका बारेमा खुलाइएको छ । 

निर्देशिकामा एम्बुलेन्स सञ्चालकले निर्देशिका बमोजिमका शर्तहरू पालना गरे नगरेको बारे नियमित अनुगमन गर्नुपर्ने छ ।

— समितिले तोके बमोजिम एम्बुलेन्स सेवाको अनुगमन गर्ने । 

—  निर्देशिका बमोजिम एम्बुलेन्स सेवाको सञ्चालन नभएको पाइए समितिमा आवश्यक कारवाहीका लागि सिफारिस गर्ने ।

— एम्बुलेन्स सेवा तथा आकस्मिक उपचार सेवा व्यपस्थित गर्न समितिले तोकेको अन्य कार्य गर्ने भनिएको छ । 
 

निर्देशिका अनुसार जिल्लामा एम्बुलेन्स सेवा सञ्चालन गर्ने सबै जिम्मेवारी समितिलाई दिइएको छ ।

तोकिएको निर्देशिका एम्बुलेन्स सञ्चालन समिति र चालकले कति पालना गरेका छन् भन्ने विषयमा हामीले ३ वटा जिल्लाका सरोकारवाला प्रतिनिधिसँग बुझ्ने प्रयास गरेका थियौँ ।

दोलाखा : यो जिल्लामा हाल १२ वटा ‘ग’ वर्गका एम्बुलेन्स सञ्चालन भइरहेका छन् । तर ती एम्बुलेन्स कहाँ र कसरी सञ्चालन भइरहेका छन् भन्ने कुरा सरोकारवाला निकायलाई नै अत्तोपत्तो छैन । दोलखाका जनस्वास्थ्य प्रमुख तथा एम्बुलेन्स सञ्चालन समितिका सदस्य सचिव कामेश्वर चौरासिया जिल्लाका एम्बुलेन्सहरू कहाँ कसरी सञ्चालन भइरहेका छन् भन्ने जानकारी नभएको बताउँछन् ।

‘अहिले सबै एम्बुलेन्सले कहाँ कस्तो अवस्थामा सञ्चालनमा छन् भन्ने थाहा छैन । एम्बुलेन्स सञ्चालकले नै रिपोर्टिङ नगरेपछि हामीले थाहा पाउँदैनौँ । उनीहरू सम्पर्कमा नै आउँदैनन्’ चौरासियाले भने । यद्यपि स्थानीय तहका प्रमुख र प्रहरीलाई एम्बुलेन्सको अवस्थाबारे जानकारीका लागि १५ दिन पहिला पत्र काटेको बताए । ‘त्यसपछि मात्रै दोलखाको एम्बुलेन्सको अवस्थाबारे थाहा हुन्छ’, उनले त्यो पत्रको जवाफ आएपछि मात्रै भन्न सक्ने जानकारी दिए । 

प्रमुख चौरासियाका अनुसार दोलखामा अहिलेसम्म एम्बुलेन्स शुल्क चालक आफैले आफूअनुकूल लिँदै आएका छन् । ‘म दोलखामा जनस्वास्थ्य प्रमुख भएर आएको १ वर्ष ६ महिला भयो, आफै एम्बुलेन्स सेवा सञ्चालन समितिको सदस्य सचिव हुँ । तर मलाई नै थाहा छैन, यो दोलखाको एम्बुलेन्स कहाँ ? कसरी ? कसले सञ्चालन गरिरहेको छ भन्ने । त्यसैले अबको केही समयमा सबै एम्बुलेन्सको रिपोर्टिङ गर्ने र निर्देशिका अनुसार एम्बुलेन्स सञ्चालन गर्न पहल गर्छौं’ प्रमुख चौरासियाले रातोपाटीलाई बताए ।   

सिन्धुलीः सिन्धुलीमा हाल २१ वटा एम्बुलेन्स छन् । ती सबै ‘ग’ वर्गको एम्बुलेन्सहरू हुन् । एम्बुलेन्स सञ्चालन सेवा सञ्चालन समितिका सदस्यसचिव तथा जनस्वास्थ्य कार्यालय प्रमुख शेरबहादुर कालिकोटेका अनुसार सञ्चालनमा रहेका एम्बुलेन्समा सामान्य औषधिको व्यवस्था गरिएको छ । त्यस्तै सिन्धुलीमा एम्बुलेन्स भाडा १ किलोमिटरको २५० देखि ३ सय ५० सम्म लिने गरिएको छ । सिन्धुलीदेखि काठमाडौँसम्म एम्बुलेन्स प्रयोग गर्दा ८ हजार ५ सय  र धुलिखेलसम्म ८ हजार लिने गरेको एम्बुलेन्स सञ्चालन समितिले जनाएको छ । 

यो जिल्लामा नेपाल रेडक्रस सोसाइटीका २ र जिल्ला अस्पतालका २ बाहेक अन्य एम्बुलेन्स सङ्घ संस्था र प्रतिष्ठानका नाममा सञ्चालन छन् । कालिकोटेका अनुसार २१ मध्ये १२ वटा मात्रै सञ्चालमा छन् भने अन्य बिग्रिएर बसेका छन् । जिल्लामा लगिएका सबै एम्बुलेन्स नेपाल सरकारबाट राजस्व छुट लिएर लगिएका हुन् ।

काठमाडौं 
उपत्यका बाहिर मात्रै होइन उपत्यकाभित्र पनि एम्बुलेन्सको अवस्था उस्तै अव्यवस्थित र भद्रगोल देखिएको छ । दोलखा र सिन्धुलीपछि हामीले काठमाडौँमा सञ्चालन भएका एम्बुलेन्सबारे बुझ्ने प्रयास गर्याँै ।  
काठमाडौँमा हाल १ सय १४ वटा एम्बुलेन्स सञ्चालन छन् । त्यसमध्ये २ वटा ‘ख’ वर्गको एम्बुलेन्स छन् भने बाँकी  १ सय १२ वटा ‘ग’ वर्गका छन् । २ वटा ‘ख’ वर्गको एम्बुलेन्समध्ये एउटा नर्भिक र अर्को गङ्गालाल अस्पतालका हुन् । तर ती एम्बुलेन्स कस्ता छन् र कसरी चलेका छन् भन्ने विषयमा एम्बुलेन्स सञ्चालन समितिले अहिलेसम्म न अनुगमन नै गरेको न त कुनै रेकर्ड नै । 

काठमाडाँै जिल्ला एम्बुलेन्स सञ्चालन समितिका एक कर्मचारीका अनुसार काठमाडौँमा २०७५ को निर्देशिका अनुसार कुनै पनि एम्बुलेन्स सञ्चालन भएका छैनन् । २०७० सालको निर्देशिकाअनुसार नै एम्बुलेन्स सञ्चालन भइरहेका छन् । नयाँ निर्देशिकाअनुसार महानगरपालिका र उपमहानगरपालिकामा सञ्चालन हुने एम्बुलेन्स ‘क’ र ‘ख’ श्रेणीका हुनुपर्छ । आर्थिक वर्ष २०७३/०७४ सम्म सेवा अनुमति लिई उपमहानगरपालिका वा महानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका एम्बुलेन्सको हकमा भने निर्देशिका बमोजिम वर्गीकरण हुँदा “ग” वर्गमा वर्गीकृत हुने एम्बुलेन्सले पनि महानगरपालिका तथा

उपमहानगरपालिका क्षेत्रमा सेवा सञ्चालन गर्न सक्नेछन् । काठमाडौँमा एम्बुलेन्सको प्रतिकिलोमिटर २० रुपियाँ शुल्क निर्धारण भएको छ । तर सेवाग्राहीबाट मनपरी मूल्य लिने गरेको गुनासो आउने गरेको छ । 

यो एक उदाहरण : नुवाकोटका सञ्जय लामा एम्बुलेन्स चालक हुन् । उनी हाल ‘तनहु मगर समाज’को  काठमाडौँमा सञ्चालन हुने ‘ग’ वर्गको एम्बुलेन्स चलाउँदै आएका छन् । ‘काठमाडौँमा एम्बुलेन्स सेवा दिँदा एक किलोमिटरको ४५ र बाहिर ४० रुपियाँ लिने गरेको छु । तर काठमाडौँ एम्बुलेन्स सेवा सञ्चालन समितिले निर्धारण गरेको शुल्क भने २० रुपियाँ मात्र हो’, लामा भन्छन् । 

घट्न सक्छ मृत्युदर 

वरिष्ठ अर्थाेपेडिक सर्जन तथा स्वास्थ्य मन्त्रालयका पूर्व प्रवक्ता श्रीकृष्ण गिरी नेपालमा अकालमा हुने मुत्युदरलाई ५० प्रतिशत कम गर्नका लागि एम्बुलेन्स सेवा प्रभावकारी हुनुपर्ने बताउँछन् ।
उनी भन्छन्– ‘आकस्मिक सेवा प्रदानका लागि  एम्बुलेन्समा पनि स्वास्थ्यकर्मीको टिम राख्नुपर्ने हुन्छ, बिरामीलाई उपचारका लागि अस्पताल ल्याउँदा ल्याउँदै बाटोमै मुत्यु हुनुको मुख्य कारण एम्बुलेन्समा स्वास्थ्यकर्मी सहितको सेवा नभएर नै हो ।’

इमर्जेन्सीमा दिइने ७० प्रतिशत सेवालाई एम्बुलेन्समा पनि राख्ने हो भने अकालमा मुत्यु हुनेको सङ्ख्या ५० प्रतिशत घट्न सक्ने विज्ञहरूको भनाइ छ । गिरीका अनुसार स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स सेवा दिन देशभरका एम्बुलेन्सहरू नेटवर्कमा आउन जरुरी छ । 

एम्बुलेन्स सञ्चालन भद्रगोल : निर्देशिका गज्जबको, कार्यान्वयन भेट्टाउनै गाह्रो !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप