शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एम्बुलेन्स सञ्चालन भद्रगोल : निर्देशिका गज्जबको, कार्यान्वयन भेट्टाउनै गाह्रो !

मङ्गलबार, १२ भदौ २०७५, ०९ : ५१
मङ्गलबार, १२ भदौ २०७५

काठमाडौँ, गाउँगाउँमा खुलेका सहकारीदखि धार्मिक सङ्घ, संस्था र सहरका सुविधा सम्पन्न अस्पतालहरूले समेत एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । तर यसरी सञ्चालन भएका एम्बुलेन्स सेवाप्रति आम जनसमुदाय ढुक्क हुन भने सकेका छैनन् । 

‘भनेको बेला र आवाश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल छ । फोन उठ्दैन, उठिहाले पनि एम्बुलेन्स बिग्रेको भन्ने जवाफ पाइन्छ’, धेरैको गुनासो यस्तै सुनिन्छ । 

उपभोक्ताले खोजेका बेला नपाउने मात्रै होइन, धेरैजसो एम्बुलेन्स त तोकिएको मापदण्डअनुसार सञ्चालनसमेत भएका छैनन् । 

सरकारले सार्वजनिक गरेको एम्बुलेन्स निर्देशिका २०७३ ले एम्बुलेन्सलाई ३ श्रेणीमा विभाजन गरेको छ । ‘क’, ‘ख’ र ‘ग’ गरेर एम्बुलेन्सको श्रेणीअनुसार एम्बुलेन्समा हुनुपर्ने सुविधा पनि तोकिएको छ । तर सञ्चालनमा रहेका एम्बुलेन्सहरूमा तोकिएका सुविधाहरू अत्यन्त न्यून मात्रै पाइने गरेका छन् ।

के–के हुनुपर्छ ‘क’ वर्गको एम्बुलेन्समा ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको निर्देशका २०७३ मा ‘क’ वर्गको एम्बुलेन्समा हुनुपर्ने क्षमता, सुविधा र भूमिकालाई यसरी उल्लेख गरिएको छ । 

एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३ मा– ‘क’ वर्गको एम्बुलेन्समा राष्ट्रिय आकस्मिक उपचार समन्वय समितिले तोकेको ढाँचामा बाहिर देखिने गरी कम्तीमा दुई तिहाई भाग रातो, त्यसबाहेक दायाँ—बायाँको भाग हरियो र पहेँलो रङ्गको प्याटर्नबक्स शैली वा चेसबोर्ड शैलीको हुनुपर्छ । यस्तै विदेशी सरकार वा दातृ निकायले सहयोगस्वरूप नेपाल सरकार वा नेपालमा कार्यरत संस्थालाई प्रदान गर्ने एम्बुलेन्स ‘क’ अथवा ‘ख’ वर्गको हुनुपर्नेछ । 

यस्तै ‘क’ वर्गको एम्बुलेन्समा अस्पतालको आकस्मिक कक्षमा प्रयोग गर्ने औषधि, उपकरण र जनशक्ति हुनुपर्दछ । ‘क’ वर्गको एम्बुलेन्समा चालकले स्वास्थ्यसम्बन्धी आधारभूत तालिम लिएको हुनुपर्दछ । यस्तै ब्लडप्रेसर चेक गर्ने मेसिन, स्टेथोस्कोप, टर्चलाइट, १८ महिना चिकित्सासम्बन्धी तालिम लिएको कर्मचारी हुनुपर्ने छ ।

‘ख’ वर्गको एम्बुलेन्समा हुनुपर्ने सुविधाहरू  

 ‘ख’ वर्गको एम्बुलेन्समा समन्वय समितिले तोकेको ढाँचामा बाहिर देखिने भागको कम्तीमा दुई तिहाई भाग पहेँलो, त्यसबाहेक देखिने भाग हरियो र रातो रङ्गको प्याटर्नबक्स शैली वा चेसबोर्ड शैलीमा भएको हुनुपर्ने छ । सुविधाको हिसाबमा ‘ख’ वर्गको एम्बुलेन्समा अस्पतालको आकस्मिक कक्षमा प्रयोग गर्ने औषधि, उपकरण, जनशक्ति हुनुपर्दछ ।

‘ग’ वर्गको एम्बुलेन्समा हुनुपर्ने सुविधा  

‘ग’ वर्गको एम्बुलेन्समा राष्ट्रिय समन्वय समितिले तोकेको ढाँचामा बाहिर देखिने भागको कम्तीमा दुई तिहाई भाग हरियो, त्यसबाहेक देखिने  भाग रातो र पहेँलो रङ्गको प्याटर्नबक्स शैली वा चेसबोर्ड शैलीमा भएको । तर आर्थिक वर्ष २०७३÷०७४ सम्म सञ्चालन अनुमति लिने ‘ग’ वर्गका एम्बुलेन्सको हकमा आर्थिक वर्ष ३०७८÷०७९ सम्मको अवधिका लागि सेतो रङ्ग हुन सक्नेछ भनेर उल्लेख गरिएको छ । 
सेवाको हिसाबमा ‘ग’ वर्गको एम्बुलेन्समा प्राथमिक उपचारका औषधि साथै सामानहरू, अक्सिजन सिलिन्डर, आईभी इन्जेक्सन दिन सक्ने व्यवस्था, स्ट्रेचर, बिरामी बस्न मिल्ने बेड, बी.पी. चेक गर्ने मेसिन, टर्चलाइट, स्वास्थ्यसम्बन्धी बेसिक तालिम लिएको चालक र आकस्मिक कक्षको जस्तै औषधिको पनि व्यवस्था हुनुपर्छ । 

सबै एम्बुलेन्सको हकमा लागू हुने विषय 

निर्देशिकाको पहिलो बुँदामा उल्लेख गरेअनुसार सबै एम्बुलेन्सका लागि न्यूनतम मापदण्ड देहाय बमोजिम हुनेछ ।

(क) राष्ट्रिय प्रदूषण मापदण्ड अनिवार्य रूपमा पालना गरेको ।

(ख) एम्बुलेन्सको पहिचान हुने गरी आवाज (साइरन), निलो रङ्गको सङ्केतको बत्ती जडान भएको, फोर ह्वील ड्राइभ, सस्पेन्सनको चेन सिस्टम भएको  । 

(ग) एम्बुलेन्समा ‘एम्बुलेन्स’ शब्द वा संस्थाको टेलिफोन नम्बर अङ्ग्रेजी र नेपाली दुवै भाषामा लेखिएको । 

(घ) एम्बुलेन्सको वर्गीकरण खुल्ने गरी ‘वर्ग’ उल्लेख  भएको ।

(ङ) वर्गीकरण बमोजिमका सामान तथा सुविधा अद्यावधिक भएको । 

(च) एम्बुलेन्स एक हजार सी.सी.भन्दा बढी क्षमताको भएको । 

(छ) एम्बुलेन्स निलो रङ्गको अफ लाइन सङ्केत चिन्ह दायाँ, बायाँ र पछाडि तीनैतर्फ राखिएको । 

(ज) एम्बुलेन्स चालकको पछाडि पट्टि कुनै पनि सिट नराखेको । 

(झ) नेपाल सरकारबाट राजस्व छुट सुविधामा प्राप्त गरेको एम्बुलेन्सले “नेपाल सरकारबाट राजस्व छुट प्राप्त एम्बुलेन्स” भनी प्रष्ट देखिने गरी लेखिएको । 

एम्बुलेन्स चालकले अनिवार्य तालिम लिनुपर्छ 

निर्देशिका अनुसार एम्बुलेन्स चालक पनि अनिवार्य स्वास्थ्यसम्बन्धी तालिम लिएको हुनुपर्छ । कुन रोगको बिरामी हो र उपचारका लागि कुन अस्पताल लैजानुपर्छ भन्ने बारेमा पनि चालकलाई जानकारी हुनुपर्छ । यस्तै एम्बुलेन्स चालक बन्नका लागि २५ वर्ष नाघेको तथा चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेको ५ वर्षपछि मात्रै एम्बुलेन्स चालक बन्न पाइन्छ ।

नेटर्वकको आबद्धता 

देभरका एम्बुलेन्सलाई नेटवर्कमा ल्याउन जरुरी छ भन्ने कुरा एम्बुलेन्स निर्देशिकामै उल्लेख छ । तर व्यवहारमा यसको कुनै पक्रिया नै थालनी भएको छैन । यही कारण भनेको बेला एम्बुलेन्स नपाउने, फोन नउठ्ने र विग्रेको छ भन्ने जवाफ पाइने गर्छ । 

निर्देशिकामा एम्बुलेन्सलाई २४सै घण्टा सेवा प्रदान गर्ने अवस्थामा राख्नुपर्ने भनिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हाल उपत्यकामा २५० वटा एम्बुलेन्स सञ्चालनमा छन् । 

निर्देशिका हुँदैन कार्यान्वयन

निर्देशिकाको पालना नगर्ने एम्बुलेन्सलाई चेतावनी दिने र आचारसंहिता पालना गर्न लगाउने भनिएको छ । यस्तै गैरकानुनी कार्य तथा आचारसंहिता विपरीत एम्बुलेन्स सञ्चालन गरे दर्ता खारेजी गर्ने र कानुनअनुसार कारवाही गर्ने भनिएको छ । 

तर अहिलेसम्म कुन जिल्लामा कति एम्बुलेन्सले निर्देशिका विपरीत काम गरे र कतिलाई कारवाही भयो ? भन्ने प्रश्नको जवाफ सरकारसँग छैन ।

कसरी आयात हुन्छ एम्बुलेन्स ? 

सरकारी स्वास्थ्य संस्थामा सरकारले नै उपलब्ध गराएका एम्बुलेन्स छन् । त्योबाहेक कतिपयमा गैरसरकारी संस्थाको सहयोग तथा दूतावास र चन्दा सङ्कलनबाट पनि एम्बुलेन्स राखिएका छन् ।
यसरी सञ्चालनमा रहेका एम्बुलेन्स अधिकांश राजस्व छुटमा ल्याइएने गरेको छ । स्वास्थ्य मन्त्रालयको एम्बुलेन्स शाखाका प्रमुख हिरा बरालले सबै एम्बुलेन्स ल्याउने प्रकृया एउटै रहेको बताए । 

एम्बुलेन्स सञ्चालन गर्ने संस्थाले पालन गर्नुपर्ने कर्र्तव्यहरू 

१. एम्बुलेन्सको अगाडि पछाडि टाढैबाट देखिने गरी ठूलाठूला अक्षरमा ‘एम्बुलेन्स’ शब्द लेखिएको हुनुपर्ने । 

२. एम्बुलेन्स साइरन, इमर्जेन्सी बत्ती, स्टेचरका साथै वर्ग अनुसार आवश्यक औजारहरू हुनुपर्ने । 

३. एम्बुलेन्सलाई बिरामी ओसारपसारबाहेक अन्य प्रयोजनमा प्रयोग गर्न नपाइने । 

४. एम्बुलेन्स नेपाल सरकारको  सवारी प्रदूषण मापदण्डभित्र रहनेर सञ्चालन गर्नुपर्ने । 

५. एम्बुलेन्समा सवारी दर्ता प्रमाणपात्रमा एम्बुलेन्स भनी स्पष्ट उल्लेख हुनुपर्ने । 

६. एम्बुलेन्समा टाढैबाट देखिने गरी ‘नेपाल सरकारबाट राजस्व छुट सुविधा प्राप्त’ भनेर लेखिएको हनुुपर्ने । 

७. एम्बुलेन्सले दिने सेवामा दश प्रतिशत असहाय, विपन्न वर्गका लागि निःशुल्क सुविधाको व्यवस्था हुनुपर्ने । 

तर बेखबर छ सरकार 

निर्देशिकामा उल्लेख गरेअनुसार नेपालमा एम्बुलेन्स सेवा सञ्चालन हुने हो भने कम्तीमा पनि ३५ प्रतिशतले अकालमा ज्यान गुमाउनु नपर्ने सरोकारवालाहरू बताउँछन् ।
तर स्वास्थ्य मन्त्रालयको एम्बुलेन्स शाखा नेपालमा कुन श्रेणीका कति एम्बुलेन्स छन् ? ती एम्बुलेन्सले सरकारको निर्देशिकाअनुसार काम गरेको छन् छैनन् भन्ने कुनै रेकर्ड या नियमन नै नभएको बताउँछ । शाखाका प्रमुख हिरा बरालका अनुसार १ हजार ४ सय ५० एम्बुलेन्स हाल दर्ता भएका छन् । नेपालको जनसङ्ख्या अनुसार कति एम्बुलेन्स आश्यक हो ? कुन प्रदेशमा कति जरुरी छ ? भन्ने प्रश्नको जवाफ पनि सरकारी निकायसँग खोज्दा पाइँदैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप