शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पुरानो सिंहदरबार : भत्काउने कि बनाउने भन्ने अध्ययनमै करोडौँ स्वाहा

शुक्रबार, १८ जेठ २०७५, ०९ : ५४
शुक्रबार, १८ जेठ २०७५

काठमाडौँ । भूकम्पले जर्जर बनाएको सिंहदरबारको पश्चिम मोहोडाको पुरानो सिंहदरबारको मुख्य भाग भत्काउने कि बनाउने भन्ने अध्ययनकै लागि करोडौँ स्वाहा भएको छ । भूकम्प गएको ३ वर्ष बितिसक्दा पनि भूकम्पले असर गरेको सिंहदरबारको प्रबलीकरण (रेट्रोफिटिङ) गर्ने कि भत्काएर नयाँ बनाउने भन्ने विषयमा अझै ठोस निर्णय भएको छैन । तर यो निर्णय लिनका लागि गरिन लागेको अध्ययनका लागि भने करोडौँ रुपियाँ खर्च भएको छ । 

२०७३ माघ २५ गते बसेको प्राधिकरणको कार्यकारी समिति बैठकले पुरानो सिंहदरबार संरक्षण गर्ने निर्णय गरेको थियो । सो निर्णयपछि भवनको बारेमा साना किसिमका अध्ययन गरिएको थियो । तर त्यो अध्ययन प्रभावकारी नभएपछि प्राधिकरणले पुनः बोलपत्रमार्फत अध्ययनका लागि अर्को परामर्शदाता छनौट गरेको छ । 

प्राधिकरणले पुरानो भवन के गर्ने भत्काउने वा प्रबलीकरण गर्ने, प्रबलीकरण गर्ने हो भने कसरी गर्ने, कति खर्च लाग्छ भन्ने अध्ययनका लागि ‘इन्फ्राइस्ट्रक्चर इन्जिनियरिङ रिसर्च एन्ड कन्सल्ट्यान्ट प्रालि’सँग १ करोड ७० लाखमा सम्झौता गरेको छ । यदी प्रबलीकरण गरिने भयो भने त्यसको अनुगमन गर्ने जिम्मा पनि सो कम्पनीले पाएको छ । परामर्शदाता कम्पनीले ५ प्रकारका परीक्षण गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिए । उक्त परीक्षणमा भवनको अवस्थादेखि काठपातको अवस्थासम्म पर्छ । 

अध्ययनका लागि ३ महिनाको समय दिइएको छ, सो अवधिमा अध्ययन सकेर रिपोर्ट आएपछि १ वर्षभित्रमा प्रबलीकरण गर्ने लक्ष्य लिइएको छ । अध्ययनमा प्रबलीकरण गर्नुपर्ने भएमा आवश्यक निर्माण सामग्री, लाग्ने खर्चबारे पनि सुझाव प्रास्त हुनेछ । सोहीअनुसार बोलपत्र आह्वान गरेर सिंहदरबारको प्रबलीकरण गर्ने तयारी छ । 

प्राधिकरणका सहसचिव मानन्धरले भने–‘सिंहदरबारको प्रबलीकरणका लागि हामीले बोलपत्र आह्वान गरेका थियौँ । कम्पनीले सम्झौता गरेर गइसक्यो, अब केही दिनपछि काम सुरु गर्छ । प्रबलीकरण गर्न सकिने हो भने के–के गर्ने हो ? त्यसको डिजाइन गर्नुहुन्छ । त्यो डिजाइनका आधारमा हामी निर्माण व्यवसायीका लागि बोलपत्र जारी गर्छौँ ।’

यसअघि भूकम्पले जर्जर बनाएको सिंहदरबार के गर्ने भन्ने सन्दर्भमा डिजिकन भन्ने परामर्शदाता कम्पनीले पनि अध्ययन गरेको थियो । सो कम्पनीले अध्ययनपछि सिंहदरबार भत्काउने आसयको प्रतिवेदन पेस गरेको थियो । अध्ययन सतही भएको भन्दै प्राधिरकरणभित्रै विवाद उत्पन्न भएपछि पुनः अध्ययनका लागि प्राधिकरणका कार्यकारी समितिका सदस्य डा. हरिराम पराजुलीको संयोजकत्वमा उपसमिति बनाएको थियो । उपसमितिले पुनः अध्ययन गराउन दिएको सुझाव आधारमा बोलपत्र आह्वानबाट परामर्शदाता कम्पनी छनौट गरेर सिंहदरबारको पुनः अध्ययन गरिन लागेको हो । 

सहसचिव मानन्धरले भने– ‘३ महिना अध्ययनको समय छ । १२ महिना जति निर्माणका लागि गरेर १५ महिनाको समय छुट्याइएको छ ।’ 
 

फलामको टेको राख्न झन्डै डेढ करोड

भूकम्पले जर्जर बनाएको भवन भत्काउने वा राख्ने भन्ने अध्ययनका लागि भवन वरिपरि फलामको टेको अर्थात स्काफ फोल्डिङका लागि १ करोड ४० लाख १६ हजार खर्च भएको प्राधिकरणले जनाएको छ । स्काफ फोल्डिङको जडान खर्च मात्रै १८ लाख ५० हजार लागेको थियो । 

हेर्नुहोस यो समाचार :

सिंहदरबारको मुख्य भवनमा फलाम ठड्याउन मात्रै डेढ करोड खर्च : ‘रेट्रोफिटिङ’को टुङ्गो छैन

पुरानो सिंहदरबारका लागि अध्ययनका नाममा प्राधिकरणले गरेको टेको लगाउने काम र अध्ययनका लागि परामर्शदाता खरिदका लागि मात्रै ३ करोडभन्दा बढी खर्च गरिसकेको छ । प्राधिकरणका सहसचिव मानन्धरका अनुसार सिंहदरबार भत्काएर नयाँ बनाउने सम्भावना भने कम रहेको छ । यदि फेरि भत्काउने हो भने यसका लागि अर्को आर्थिक भारसमेत पर्ने हुन्छ । तर पुरानो सिंहदरबारे पटक पटकको फरक फरक निर्णयले भने यसको प्रबलीकरण गर्ने वा अर्को बनाउने सन्दर्भमा ढिलाइ हुँदै गइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप