बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिंहदरबारको मुख्य भवनमा फलाम ठड्याउन मात्रै डेढ करोड खर्च : ‘रेट्रोफिटिङ’को टुङ्गो छैन

शनिबार, ०८ वैशाख २०७५, १५ : ५९
शनिबार, ०८ वैशाख २०७५

काठमाडौं–भूकम्पले थङ्थिलो पारेको सिंहदरबारको पूरानो तथा मुख्य भवनमा ‘स्काफ फोल्डिङ’ अर्थात भवनको वरीपरी फलामको बार लगाउन मात्रै करीब १ करोड ४६ लाख खर्च भएको छ ।

पुनर्निर्माण प्राधिकरणको आवास, वस्ती विकास तथा स्थानीय पूर्वाधार महाशाखाका सह–सचिव राजुमान मानन्धरका अनुसार सिंहदरबारको रेट्रोफिटिङ अर्थात प्रवलीकरण योग्य छ कि छैन भनेर अध्ययन गर्नका लागि स्काफ फोल्डिङ गरिएको हो । 

अध्ययनपछि सिंहदरबारको उक्त भवन भत्काउनुपर्यो भने स्काफ फोल्डिङका लागि खर्च गरिएको डेढ करोड रुपैयाँ बालुवामा पानी हालेसरह हुनेछ । 

२०३० सालमा भएको आगलागीबाट बचेको १ सय १४ बर्षअघि निर्माण भएको र भूकम्पले क्षति पुर्याएको सिंहदरबारको मुख्यभवन रेट्रोफिटिङ गर्न ठीक वा भत्काउन ठिक भनेर अध्ययनका लागि प्राधिकरणले परामर्शदाता खरिद प्रक्रिया समेत अघि बढाएको छ । यसका लागि शनिवार राष्ट्रिय दैनिकमा बोलपत्र आश्वानको सूचना प्रकाशन गर्ने र ७ दिनभित्र बोलपत्र संकलन गर्ने, बोलपत्र प्राप्त भएको ३ दिनभित्र परामर्शदाता छनौट गरेर काम अगाडि बढाउने योेजना रहेको सहसचिव मानन्धरले रातोपाटीलाई जानकारी दिए ।  

परामर्शदाताले अध्ययन गरेर रिर्पोट तयार गरेपछि सिंहदबार भत्काएर नयाँ बनाउने वा प्रवलीकरण गर्ने भन्ने निर्णय हुने मानन्धरले बताए । उनले भने–‘भूकम्पपछिको सिंहदरबारको अवस्था कस्तो छ ? पहिलेकै अवस्थामा ल्याउन कसरी सकिन्छ, परामर्शदाताको कस्तो प्रतिवेदन आउछ, हामी त्यही अनुसार अगाडि बढ्छौँ ।’

हालै प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकमा उनले सिंहदरबारलाई टेको मात्र लगाएर राखेको र किन काम हुन नसकेको भन्दै आक्रोस ब्यक्त गरेका थिए ।  

प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिको बैठकपछि भवनको प्रवलीकरणका लागि सार्वजनिक खरिद ऐन अनुसार अघि बढाइएको खरिद प्रक्रिया प्राधिकरणका तत्कालीन सचिव मधुसुधन अधिकारीले स्थगित गराएका थिए । सिंहदरबार पुनर्निर्माण सल्लाहाकार समितिको छलफलपछि स्थगित गरिएको खरिद प्रक्रियालाई शुक्रबारदेखि पुनः अगाडि बढाइएको सहसचिव मानन्धरले बताए । बोलपत्रमा स्वदेशी तथा विदेशी सम्पदा क्षेत्रमा काम गरेका र अनुभवी इन्जीनियरहरुले सहभागिता जनाउन सक्ने भएका छन् । 

२०७३ सालमा प्राधिकरणका तत्कालीन सिइओ डा.गोविन्दराज पोखरेल संयोजकत्वमा सिंहदरबार प्रवलीकरण सल्लाहाकार समिति बनाइएको थियो । विभिन्न क्षेत्रका ब्यत्तित्वहरु रहेको प्रवलीकरण समितिको बैठकमा पनि सिंहदरबारको पुनर्निर्माण किन रोकेको भनेर दवाव सिर्जना भएको थियो । 

सिंहदरबारको चर्किएको भवनको अवस्थाबारे जापानी प्राविधिक टोलीले पनि अध्ययन गरेको थियो । उक्त टोलीले भौतिक संरचनाको स्क्यान गर्ने यन्त्र प्रयोेग गरेर ४ महिना अघि अध्ययन गरेको थियो । तर उक्त अध्ययन पर्याप्त नभएको भन्दै प्राधिकरणले बिज्ञ समूह खरिद गरेर अध्ययन गराउन लागेको हो । भूकम्पबाट क्षति भएको उक्त भवनलाई जोगाउन गतबर्ष प्लाष्टिकभन्दा बलियो हुने सिपोलियनले ढाक्ने काम गरिएको थियो ।  

३ बर्षअघिको भूकम्पले थङथिलो पारेको सिंहदरबारको बल्ल अध्ययन गराउने प्रक्रिया शूरु हुन लागेको यसको रेट्रोफिटिङ गर्ने वा भत्काउने ? त्यसका लागि कति खर्च लाग्छ ? भन्नेमा अझै अनिश्चित छ । 
तर बितेका ३ बर्षमा सिंहदरबारको पुरानो भवन भत्काउने कि रेट्रोफिटिङ गर्ने भन्ने सन्र्दभमा पटक पटक बैठक बसेको छ भने यसका लागि हालसम्म करोडौं रकम समेत खर्च भइसकेको छ ।   
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप