आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

हस्ताक्षर सङ्कलन गर्दै कांग्रेस र माओवादी

शनिबार, ०९ पुस २०७९, १२ : १३
शनिबार, ०९ पुस २०७९

सरकार गठनका लागि राष्ट्रपतिले दिएको एकसाताको समयसीमा सकिन लाग्दासमेत गठबन्धन दलहरुबीच नयाँ सरकार गठनबारे सहमति जुट्न सकेको छैन । यसबीच सत्ता गठबन्धनका दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले सरकारमा दाबी पेस गर्नका लागि आ–आफ्ना सांसदहरूको हस्ताक्षर सङ्कलन गर्न सुरु गरेका छन् ।

कांग्रेस सांसद सञ्जय गौतमले हरेक राजनीतिक दलमा संसदीय दलले आफ्ना सदस्यको हस्ताक्षर सङ्कलन गरेर राख्ने र आवश्यक परेको बेला प्रयोग गर्ने प्रचलन अनुसार हस्ताक्षर लिएको उल्लेख गरे । त्यस्तै, कांग्रेसका अर्का सांसद दुर्लभ थापाले पनि आफूहरूले शुक्रबार नै संसदीय दलको कार्यालयमा पुगेर हस्ताक्षर बुझाएको रातोपाटीलाई बताए । प्रतिनिधि सभामा नेपाली कांग्रेसका ८९ सांसद रहेका छन् ।

कांग्रेस सँगसँगै नेकपा माओवादी केन्द्रले आफ्ना सांसदहरूको हस्ताक्षर सङ्कलन गरेको छ । अर्थमन्त्री जर्नादन शर्माका अनुसार माओवादीका सांसदहरूले हस्ताक्षर बुझाइसकेको रातोपाटीलाई बताए । सङ्घमा माओवादीका ३२ जना सांसद रहेका छन् ।

​दुवै पार्टीले आ–आफ्ना सांसदहरूको हस्ताक्षर सङ्कलन गरिरहँदा गठबन्धन दलको बैठक अनिश्चित भएको छ । आजका लागि बैठक बस्ने भनिए पनि अहिलेसम्म बैठक बस्ने नबस्नेबारे निश्चित नभएको माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए । त्यस्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले पनि अहिलेसम्म बैठक बस्ने टुंगो नभए पनि साँझसम्म छलफल हुनसक्ने जानकारी दिएको छ ।

नयाँ बन्ने सरकार कसको नेतृत्वमा बन्नेबारे गठबन्धन दलभित्र सहमति हुन सकेको छैन । पूर्व समझदारीअनुसार आफूले पहिलो पालामा सरकारको नेतृत्व पाउनुपर्ने माओवादीको दाबी रहेको छ भने कांग्रेसले पनि जनमतअनुसार पहिले आफूले पहिले सरकारको नेतृत्व पाउनुपर्ने दाबी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप