मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
न्यायाधीशमाथि बलात्कारको आरोप प्रकरण

बहालवाला न्यायाधीशको ‘बकपत्र’ : ब्ल्याकमेल र मानसिक यातनाबाट म आफै पीडित छु

सोमबार, २६ मङ्सिर २०७९, ०७ : ०२
सोमबार, २६ मङ्सिर २०७९

केही दिनअघि बाँके, नेपालगञ्जकी एक महिलाले आफूमाथि बहालवाला जिल्ला न्यायाधीश भुवन गिरीले वैवाहिक बलात्कार र घरेलु हिंसा गरेको भनी कपिलवस्तु प्रहरी, राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग, न्याय परिषद् आदि निकायमा उजुरी गरिन् । कपिलवस्तु जिल्ला अदालतमा कार्यरत न्यायाधीश भुवन गिरीकी श्रीमती रहेकी महिलाले सबैतिर उजुरी गरेपछि यतिबेला यस विषयमा प्रहरी र सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ ।

यस विषयमा के कसो भएको हो भनी हामीले पीडित भनिएकी महिला र पीडक भनिएका न्यायाधीश भुवन गिरीसँग कुराकानीको प्रयास गरेका थियौँ । पीडित महिला सुरुमा सम्पर्कमा आए पनि त्यसपछि मोबाइलको ‘स्वीच अफ’ गरेर सम्पर्कविहीन भएकी छन् भने पीडक भनिएका न्यायाधीश भुवन गिरीसँग हामीले कुराकानी गरेका छौँ । कुराकानीको पूरा अंश यहाँ प्रस्तुत गरिएको छ ।

बहालवाला न्यायाधीशमाथि नै बलात्कार र घरेलु हिंसाको उजुरी परेको छ, खासमा यो प्रकरण के हो ?

जवाफ : मेरो क्यारियर चौपट पार्न एउटा गिरोह नै लागेको छ । त्यही गिरोहको डिजाइनमा भएको काम हो यो सबै ।

म २०७४ सालमा उपरजिष्ट्रार बनेर उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा गएको थिएँ । त्यहाँ गएको समयमा अर्चना (नाम परिवर्तन) सँग चिनजान भएको हो । उनको भाइको मुद्दा उच्च अदालतमा रहेको बेलामा मैले कागजात प्रमाणीकरणका लागि छिटो हुने गरी सहजीकरण गरिदिएको थिएँ । त्यही बेलामा चिनजान भएको हो, उनीसँग । चिनजानपछि उनले फेसबुकमा फ्रेण्ड रिक्वेष्ट पठाएकी रहिछन् । मैले उनको फ्रेण्ड रिक्वेष्ट एसेप्ट गरें ।

त्यसपछि उनको र मेरो बेलाबेलामा कुराकानी हुन थाल्यो । कहिलेकाहीँ हामी कतै खाजा खान पनि निस्कन्थ्यौँ र त्यही बेलामा उनले हामीहरुको सेल्फी खिच्ने लगायतको काम गर्थिन् । पछि त्यही सेल्फी देखाएर मलाई उनले ब्ल्याकमेलिङ गर्न थालिन् । फेसबुकमा भएको कुराकानी र सेल्फीलाई प्रयोग गरेर उनले मलाई विवाह गर्न दबाब दिन थालिन् । त्यस्ता सेल्फी फोटोहरु मेरो परिवारलाई पनि पठाउन थालिन् ।

मैले त्यतिबेला आफ्नो श्रीमती र बालबच्चासमेत भएको कुरा उनलाई बताएको थिएँ र मैले अर्को विवाह गर्न मिल्दैन, सरकारी मान्छे, अर्को विवाह गर्‍यो भने जागिर जान्छसमेत भनेको थिएँ । तर उनले जिद्दी गरिन् र आफू ‘ओम शान्ति’मा लागेको मान्छे, अरू केही चाहिँदैन, तपाईको नामको सिन्दुर मात्रै हालिदिनोस् भन्न थालिन् ।

मेरो पुर्ख्यौली घर सुर्खेत हो र २०६३ सालदेखि म नेपालगञ्जमा बस्न थालेको छु । घरमा मेरी जेठी श्रीमती, तीन छोरी र एक छोरासमेत छन् ।

अर्चनासँगको कुराकानीको विषय घरमा थाहा भएपछि मेरी श्रीमतीले मसँग अंश मागेर छुट्टिन चाहिन् । त्यसपछि म र मेरी जेठी श्रीमती अंश भाग लगाएर छुट्टिएर बस्न थाल्यौँ । श्रीमतीले छोराको जिम्मेवारी लिइन्, मैले तीन छोरीहरुको शिक्षादिक्षा र लालनपालनको जिम्मा लिएँ । त्यो २०७४ माघको कुरा थियो । २०७५ जेठ महिनामा मेरी जेठी श्रीमती र मबीच लिखितरुपमा अंशबण्डा भयो ।

तर त्यो भन्दा पहिले नै २०७५ वैशाख महिनामा अर्चना, उनका बहिनी, भाइ लगायतका मानिसहरु मिलेर मलाई भारत लगेर सिन्दुर हाल्न बाध्य बनाएपछि मैले उनलाई सिन्दुर हालेँ । त्यस समयमा फोटोहरुसमेत खिचियो ।

भारतबाट फर्किएपछि उनीहरु आ–आफ्नो घरतिर गए, म आफ्नो क्वाटरतर्फ गएँ । त्यसको १५–२० दिनसम्म उनीहरुले केही कुराकानी पनि गरेनन् । तर त्यसपछि विवाह दर्ता गरिदिनुपर्‍यो भनेर दबाब दिन थाले । तर मैले जोर जबरजस्तीका आधारमा गरिएको विवाहको दर्ता गरिदिन अस्वीकार गरेँ ।

विवाह दर्ता गर्न अस्वीकार गरेपछि उनले सामान्य मुसाको विषादी खाइन् र उनलाई स्थानीयले अस्पताल पुर्‍याएछन् । मलाई अस्पतालबाट नै फोन आयो र तपाई अर्चनाको श्रीमान हुनुहुँदो रहेछ, तपाईकी श्रीमती अस्पतालमा छ, तत्कालै आउनुस् भनेर खबर आयो । त्यसपछि म अस्पताल जान बाध्य भएँ र अस्पतालमा लागेको खर्च तिरेर म आफ्नो क्वार्टरमा फर्किएँ ।

त्यसदिन अरु केही भएन, तर त्यसको भोलिपल्ट उनी, उनको आमा बहिनी र ४–५ जना गुण्डा लिएर म बस्ने क्वार्टरकै बाहिर आइन् । मैले सुरक्षाको माग गर्दै प्रहरीलाई बोलाएपछि प्रहरी आएर सम्झाई बुझाइ गरेपछि उनीहरु पुनः अस्पतालमै भर्ना भएर बसे । त्यो २०७५ असारको कुरा थियो ।

तर त्यसको भोलिपल्ट फेरि अर्चना, उनकी आमा लगायतको टोली प्रहरी कार्यालयमा म विरुद्ध जबरजस्ती करणीको जाहेरी दिन गएछन् । त्यसपछि मलाई प्रहरीले बोलायो । तर म काम विशेषले केही बाहिर थिएँ । त्यसलगत्तै मैले अर्चनालाई फोन गरेर तिमीले यो के गरेको ? यो कस्तो नाटक हो भनेर सोधेँ । उनले आजै जाहेरी दर्ता गराएर तेरो जीवन सिध्याइदिन्छु भनिन् ।

सवाल : विवाह दर्ता गराइदिनु भयो त ?

जवाफ : त्यसपछि उनी र मबीच छलफल भयो र २०७५ साल असारको १२ गते मैले विवाह दर्ता गराइदिएँ । उनले नागरिकतामा पनि पतिको नाम राखिदिनुपर्‍यो भनेर जिल्ला प्रशासन कार्यालयमा निवेदन दिइन् र मैले त्यो पनि गरिदिएँ ।

त्यसपछि उनले तपाईले सबै अधिकार दिइसक्नुभयो, अब म माइतीमै बस्छु । मन लागेमा कहिलेकाहीँ खर्च दिनुहोला, होइन भने अरु केही गर्न पर्दैन भनिन् । अनि एकपटक तपाईको क्वार्टरको कोठा हेर्छु भनेर क्वार्टरमा आएकी मान्छे, त्यसपछि अड्डा जमाएर बसिन् । उनी त्यहीँ गएर बसेपछि मेरै क्वार्टरमा रहेका छोरीहरुको पनि विचल्ली भयो र उनीहरु गाउँ जान बाध्य भए । त्यसपछि असारको १२ गतेदेखि भदौको ५ गतेसम्म उनी मेरो क्वार्टरमै बसिन् । र, मलाई पनि आफ्नो घर जान र बालबालिकालाई भेट्न पनि दिइनन् ।

त्यही समयमा मेरो उपसचिवको तालिम भयो र न्याय सेवा तालिम केन्द्रको ३५ दिने तालिम सकिएपछि म असोजमा नेपालगञ्ज फर्किएँ । त्यसपछि मेरो उच्च अदालत दिपायलको रजिष्ट्रारमा काज सरुवा भयो । २०७५ असोज १५ गतेदेखि लागू हुने गरी म दिपायल पुगेँ । त्यहाँ साढे ४ महिना रजिष्ट्रार चलाएपछि प्रथम श्रेणीको रजिष्ट्रारको दरबन्दी कायम गरियो । पहिले रजिष्ट्रार भइसकेको स्थानमा दोस्रो वरीयतामा बस्न मन नलागेपछि म त्यहाँबाट निस्किएँ र कैलाली जिल्ला अदालतमा सरुवा मागेँ । २०७६ जेठमा कैलालीमा गएँ ।

उनलाई छाडेर जानुभयो कि सँगै लानुभयो त ?

जवाफ : सुरुमा उनी नेपालगञ्जमै बसिन्, पछि उनी पनि मसँगै दिपायल गइन् । म दिपायलमा दरवन्दीमा रहँदा बारम्बार मलाई बैंकको किस्ता तिरिदिनुर्‍यो भनेर तनाव दिइन् र पटकपटक गरेर १२ लाख रुपैयाँ दिएँ । त्यसमध्ये ७ लाख रुपैयाँ उनले भाइलाई जेलबाट छुटाउन लिएको बैंकको ऋण थियो भने अरु ५ लाख रुपैयाँ गहना किन्दाको र सापटी लिएको पैसा फिर्ता गर्न भन्ने थियो । मैले सञ्चयकोष र नागरिक लगानी कोषबाट पैसा निकालेर उनलाई दिएँ । उनले त्यतिबेला मेरो घर लिलामी हुन लाग्यो, म यहीँ बस्छु, तपाईलाई तनाब पनि दिन्न भनेर बारम्बार कराएपछि मैले पैसा तिरिदिएको थिएँ ।

तर त्यसपछि पनि मसँग बारम्बार झैझगडा गर्ने र म माथि आक्रमण समेत भयो भने प्रत्येक दिन मानसिक तनाव र यातना दिन थालेपछि मैले २०७६ मंसिर २ गते कैलाली जिल्ला अदालतमा सम्बन्धबिच्छेदका लागि फिराद दर्ता गरेँ । अनि त्यहाँ सम्बन्धबिच्छेदको मुद्दा दर्ता गरेर बाँके जिल्ला अदालतमा पठाएँ । किनभने मेरो घर बाँके जिल्लामा पर्थ्यो र विवाह दर्ता पनि बाँके जिल्ला अदालतमै भएको थियो ।

अनि सम्बन्धविच्छेद भएन त ?

जवाफ : सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेर म मंसिर ३ गते सहसचिवको फारम भर्नका लागि काठमाडौं गएँ । तर त्यसको २ दिनपछि मंसिर ४ गते मात्रै जिल्ला प्रहरी कार्यालय कैलालीमा उनले वैवाहिक बलात्कार र भ्रुण हत्याको जाहेरी दर्ता गराइन् । वैवाहिक बलात्कारको जाहेरीमा यतिसम्म गरिन् कि म मेरो बुबाको मृत्यु भएर किरियामा बसेको समयमा समेत बलात्कार गर्‍यो भनेर जाहेरी दिइन् ।

त्यसपछि प्रहरी पक्राउ पूर्जी लिन अदालत गयो र म श्रेष्तेदार रहेको अदालत आफैले मविरुद्ध पक्राउ पूर्जी जारी गर्‍यो । त्यसपछि म तनावमा पुगेँ र काठमाडौंमा रहेको समयमा आत्महत्याको प्रयाससमेत गरेँ । मलाई एकजना मेरो साथीले बचाउनुभयो ।

अनि त्यही समयमा उनीसँग कुराकानी पनि भयो र मलाई किन सम्बन्धविच्छेदको मुद्दा हालेको ? मलाई सम्बन्धविच्छेदको मुद्दा हालेपछि वैवाहिक बलात्कार र भ्रुण हत्याको जाहेरी हालेको हो, तपाई सम्बन्धविच्छेदको मुद्दा फिर्ता लिनुहोस् अनि म जाहेरी फिर्ता लिन्छु भनिन् ।

त्यसपछि हामीबीच सहमति बन्यो र मैले बाँकेमा हुलाकमार्फत् पठाएको सम्बन्धविच्छेदको मुद्दा दर्ता नगरी कैलालीमै फिर्ता पठाउने र कैलालीबाट पनि फिर्ता लिने तथा उनले प्रहरीमा दिएको वैवाहिक बलात्कार र भ्रुण हत्याको जाहेरी पनि फिर्ता लिने कुरा भयो ।

त्यसै अनुसार मैले सम्बन्धविच्छेदको मुद्दा फिर्ता लिएँ र उनले पनि प्रहरीमा दिएको जाहेरी झूठो रहेको भन्दै फिर्ता लिन अर्को निवेदन दिइन् । त्यसपछि प्रहरीले जाहेरी झुठ्ठा रहेको भन्दै तामेलीमा राख्ने प्रतिवेदनसहितको निर्णय भई जिल्ला सरकारी वकिल कार्यालय कैलालीमा पठायो ।

बलात्कारको जाहेरी पनि फिर्ता गर्न मिल्छ र ?

जवाफ : प्रहरीले सुरुमा प्रारम्भिक अनुसन्धान गर्न पाउँछ । प्रारम्भिक अनुसन्धानमा भ्रमपूर्ण वा स्वार्थप्रेरित देखिएमा जाहेरी दर्ता नै नगर्न पनि सक्छ । उनी आफैले झूठो जाहेरी हो भनेर निवेदन दिएपछि त्यो फिर्ता लिन मिल्छ । प्रहरीले जाहेरी फिर्ताको प्रतिवेदन पठाएपछि जिल्ला सरकारी वकिल कार्यालय कैलालीले २०७६ साल मंसिर १२ गते जाहेरी भ्रमपूर्ण र झुठ्ठा देखिएको भन्दै तामेलीमा राख्ने आदेश भयो । त्यसलगत्तै मलाई सर्वोच्च अदालत काजमा तानियो ।

तपाई काठमाडौं गएपछि उनले के गरिन् त ?

जवाफ : त्यसपछि बाध्य भएर पनि हामी सँगै बस्यौँ । मेरो नियुक्ति काठमाडौंमा भएको कारण उनी कहिले मसँगै काठमाडौंमा त कहिले नेपालगञ्जमा रहेको उनको माइती घरमा बसिन् । म बढुवा भई सहरजिष्ट्रार समेत बने र त्यही बीचमा जिल्ला न्यायाधीशमा समेत लिखितमा नाम निस्कियो । म सहरजिष्ट्रार नै रहने कि जिल्ला न्यायाधीशमा जाने भन्ने विषयमा अन्योलमै थिएँ । उनले नै मलाई जिल्ला न्यायाधीशमै जान दबाब दिइन् र मेरो परिवार र आफन्त समेतलाई न्यायाधीशमै जान दबाब सिर्जना गर्न थालिन् । त्यसपछि म सहरजिष्ट्रार छाडेर जिल्ला न्यायाधीश बनेँ ।

त्यसपछि मैले जिल्ला न्यायाधीशको शपथका लागि नेपालगञ्ज जानुपर्ने भयो र २०७९ असार ३ गते माननीय मुख्य न्यायाधीश नीता दीक्षितबाट शपथ लिएर कपिलवस्तुमा हाजिर गर्न पुगेँ । असार ६ गतेबाट मैले मेरो काम सम्हाले ।

त्यतिबेला मैतीदेवीमा मेरो कोठा थियो, त्यहाँ उनी र म सँगै बस्थ्यौँ । तर म कपिलवस्तुमा हाजिर गर्न गएपछि उनले मलाई दैनिक धम्की दिएर कि काठमाडौंमा आइज, नत्र माइतीघर मण्डलामा गएर धर्ना दिन्छु र तेरो बेइज्जत गरिदिन्छु भन्न थालिन् ।

समस्या बढ्न थालेपछि मैले एक साताका लागि बिदा चाहियो भनेँ, तर असारको महिना भएको कारण मैले बिदा पाउन सकिनँ र असार महिनाभर म यहीँ बस्नु पर्ने भयो । त्यस समयमा मैले घर खर्च लगायतको पैसा पठाइदिएँ र उनी खर्च पाएपछि चुप लागिन् ।

साउन लागेपछि म काठमाडौं गएँ र मैले सर्वोच्च अदालतबाट सरसामानहरु बुझबुझारथ गरेँ अनि उनलाई लिएर साउन १० गते नै कपिलवस्तु जिल्ला अदालत आइपुगेँ । त्यहाँ न्यायाधीशका लागि ४ वटा मात्रै क्वार्टर रहेको कारण पाँचौँ नम्बरमा रहेको म बाहिर कोठा भाडामा लिएर बसेँ ।

यही बीचमा भदौको ७ गते म तालिमका लागि राष्ट्रिय न्यायिक प्रतिष्ठानमा गएँ । त्यहाँ घटस्थापनाको अघिल्लो दिनसमम म तालिममा बसेँ । उनी त्यो बीचमा नेपालगञ्जमा रहेको घरमा आमासँग बसेकी थिइन् । त्यसपछि बिदा भएकाले म नेपालगञ्ज घरमा जान खोजेँ । तर उनले मलाई नेपालगञ्ज होइन, कपिलवस्तु नै आउनुस् र त्यहाँ एक दुई दिन घुमौं भनेर मलाई जबरजस्ती त्यहीँ बोलाइन् ।

न्यायाधीशजस्तो व्यक्तिलाई कसैले बाध्य बनाउन सक्छ र ?

जवाफ : म परिवन्दमा परेकै हो । दसैँको केही दिनअघि म घर जान खोज्दा उनले जान दिइनन् । उनले जेठी श्रीमतीसँग अंशबण्डा गरेर छुट्टिसकेको मान्छे किन जानुपर्‍यो भन्दै मलाई जान दिन खोजिनन् र मेरा छोरा छोरीहरुलाई समेत भेट्न जान नदिने प्रयास गरिन् । तर मैले दसैँमा उनीहरुलाई टीका लगाइदिन म जानैपर्छ र जान्छु भनेपछि उनले म पनि त्यो घरमा जान पाउनुपर्छ र म जान्छु भन्न थालिन् । तर मैले दसैँको बेलामा भाँडभैलो गर्न मिल्दैन, जान मिल्दैन भनेपछि उनी पनि आफ्नो पुर्ख्र्यौली घर सुर्खेत जाने भनिन् र उनलाई दसैँको खर्च तथा टीकाटालोको खर्च दिएर सुर्खेत पठाएँ ।

दसैँको बिदापछि मेरो बाँकी तालिमका लागि म फेरि काठमाडौं गएँ । उनीसँग सम्पर्क गर्दा सम्पर्क भएन । त्यसपछि तिहारमा म तालिम सकाएर घर आएँ । भाइटीका गरेँ । म कात्तिकको १५ गते तिहारको टीका सबै सकेर कपिलवस्तु आएँ । त्यतिबेला मेरी छोरीहरु पनि आएका थिए । छोरीले ५ वर्ष हामी कहीँ जान पाएनौं, एकपटक लुम्बिनी घुमौं भनेर भनिन् र मेरी जेठी श्रीमती पनि छोरीहरु सँगै आएका थिए । त्यसपछि म छोरीहरुलाई लिएर कपिलवस्तु आएको थिएँ । किनभने अर्चनासँग जोडिएको ५ वर्षसम्म उनले मलाई मेरा छोरा र छोरीहरुसँग भेट्न समेत नदिई बन्धक जस्तै बनाएकी थिइन् । जबकि अंशबण्डामा छोरीहरुको दायित्व ममा रहने भनिएको थियो ।

जब हामी कपिलवस्तु पुग्यौँ, उनले थाहा पाइछिन् र नेपालगञ्ज भएकी उनी कपिलवस्तुतर्फ आएर जेठी श्रीमती किन त्यहाँ आइन् भनेर रडाको गर्न थालिन् र सर्वोच्च अदालत तथा न्यायपरिषद्मा उजुरी दिन्छु र माइतीघर मण्डलामा गएर तेरो बेइज्जत गर्छु भन्न थालिन् । र, त्यसदिन उनी कपिलवस्तुमै रहेको क्वार्टरमा आएर बसिन् ।

भोलिपल्ट बिहान मैले मेरी जेठी श्रीमतीलाई तिमी घर जाउ भनेर पठाएँ र म पनि आमालाई भेट्न भनेर गएँ । तर जब म क्वार्टरबाट निस्किएर गएँ, यिनी जिल्ला प्रहरी कार्यालयमा मलाई बलात्कार र घरेलु हिंसा गर्‍यो भनेर उजुरी लिएर गइछिन् । जेठी श्रीमती, छोरीहरु, भतिजो, ड्राइभर सबै मिलेर मलाई कुटपिट गरेकाले कारवाही गरिपाउँ भनेर जिप्रका पुगिछिन् । त्यो खबर मलाई आएपछि म फर्किएर आएँ । अनि तिमीले के गर्न खोजेको, यो के नाटक गरेको भनी सोध्दा तपाईको जागिर खाइदिने हो भन्न थालिन् । ल जागिर नै खान मन भए खाउ र के के गर्न मन छ गर भनेर म र श्रेष्तेदार सर निस्कियौँ ।

जाहेरी दर्ता भयो त ?

जवाफ : उनलाई मेडिकल चेकअपका लागि भन्दै प्रहरीले आफ्नै गाडीमा राखेर अस्पताल पुर्‍यायो । मेडिकल गरिसकेपछि प्रहरीले फेरि मलाई फोन गर्‍यो र म्याडमले केही नगर्ने र तपाईसँगै जाने रे भनेपछि म फेरि फर्किएँ ।

म फर्किएपछि किन यस्तो गरेको भनेर सोध्दा मेरो अरु कुनै उद्देश्य थिएन, तपाईलाई घर जानबाट रोक्नु थियो, म त्यसमा सफल भएँ, अब केही गर्दिन भनिन् ।

त्यसपछि फेरि ठीकै थियो । म मंसिरको २ गते कपिलवस्तुबाट बाँके जानुपर्ने भयो र तीन दिनमा फर्किन्छु भनेर हिँडेँ र सल्लाहमै खर्चसमेत छाडेर म निस्किएँ ।

तर अचम्म त के भयो भने म बाँकेको कुसुम पुगिसकेपछि मलाई प्रहरीबाट फेरि फोन आयो कि म्याडम त मलाई कुटपिट र बलात्कार भयो भनेर फेरि जिप्रका आउनुभएको छ भनेर ।

खासमा उनको उद्देश्य उक्त दिन पनि मलाई कपिलवस्तु फर्काउने योजना रहेछ । तर म नफर्किएपछि उनले मलाई सिध्याउने योजना बनाएकी रहिछन् ।

म ६ गते फर्कने भनेको मान्छे ५ गते नै कपिलवस्तु फर्किएँ । ६ गते बिहान अफिसको काम गरेँ । अनि त्यही समयमा एसपी सापले फोन गरेर बोलाउनु भएपछि म गएँ र छलफल भयो । के भएको हो भनेर उहाँले सोध्नुभयो र मैले सुरुदेखि कै सबै बेलिबिस्तार लगाएँ ।

उनले दुई जना एकल महिलाका सदस्यलाई पनि बोलाएर ल्याएकी रहिछन् । ती महिलाले पनि अर्चनालाई नै गाली गरे । त्यस क्षेत्रमा क्रियाशील संस्थाहरु साथी, इन्सेक लगायतका सबै संस्थाले उनको कुरो बुझेपछि हावा तालमा सनकमा हिँड्ने र बोल्ने महिला रहिछन् भन्ने थाहा पाएपछि ती सबै संस्थाले उनलाई साथ दिन छाडे ।

त्यस दिन हामी श्रीमान र श्रीमती भएर एकान्तमा छलफल गर्‍यौँ । मैले सधैँ यसरी हुँदैन, कि अंश लिएर छुट्टै बस, कि सम्बन्धविच्छेद गरेर बसौं वा म मासिक निर्वाह खर्च दिन्छु, तिमी नेपालगञ्जमा रहेको तिम्रै घरमा गएर भए पनि बस भनेर भनेँ । तर उनले मेरो कुनै प्रस्ताव मानिनन् र म तपाईलाई सडकमै ल्याएर छाड्ने हो र सडकमै ल्याउन चाहन्छु भनिन् । उनीसँगको कुराकानी नमिलेपछि मलाई सडकमै ल्याउँछु भनेर हिँडेपछि मैले अब त्यही इच्छा हो भने गर भनेर म क्वार्टरमा फर्किएँ । उनी २ गतेदेखि क्वार्टर छाडेर त्यहीँको शंकर होटलमा गएर बसेकी रहिछन् ।

त्यही ६ गतेको बेलुका औषधि खाने बेलामा मैले दराजमा रहेको कोट छामेँ । कहिलेकाहीँ एटीएम बिग्रन सक्छ भन्ने लागेर मैले खैरो कोटमा २६ हजार रुपैयाँ राखेको थिएँ, त्यो रकम उनले लिएर गइछिन् । तर कसले लग्यो भन्ने थाहा नभए पनि मेरो क्वार्टरमा अरु कोही जान सक्ने कुरा थिएन । मेरो क्वार्टरबाटै पैसा चोरी भयो भनेर मैले त्यही दिन प्रहरीलाई जानकारी गराएँ ।

उनले पहिलेदेखि नै तँ मेरो हुन सकिनस् भने म कसैको पनि हुन दिन्न भन्थिन् । उनले त्यस्तै धम्की दिने गर्थिन् । ६ गते बेलुका पनि उनले जसरी पनि तँलाई सडकमै ल्याउने हो र गरेर देखाउँछु भनेपछि मैले मंसिर ७ गते बिहानै जिल्ला प्रहरी कार्यालयमा शान्ति सुरक्षाको माग गर्दै निवेदन दिएँ । साथै २६ हजार रुपैयाँ चोरीको पनि जाहेरी दिएँ । अहिले पनि चोरीको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

मंसिर ७ गते प्रहरीको टोलीले क्वार्टरमै आएर मुचुल्का बनायो । प्रहरीले चोरी भएको मुचुल्का पनि बनायो र वैवाहिक बलात्कारको मुचुल्का पनि बनायो । मुचुल्का बनाएर प्रहरीले लिएर गएको छ र अनुसन्धान गरिरहेको छ । त्यही विषयमा प्रहरीले प्रारम्भिक अनुसन्धान गरी जाहेरी दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा अनुसन्धान हुँदै गर्दा उनले प्रहरीसँग जाहेरी फिर्ता लिन माग गरिन् । तर प्रहरीले जाहेरी फिर्ता दिएन र अहिले अनुसन्धानकै क्रममा रहेको कारण फिर्ता नहुने बतायो । त्यसपछि म आमासँग सल्लाह गरेर आउँछु भनेर ७ गते बेलुका निस्किएकी उनी ८ गते काठमाडौंमा राष्ट्रिय महिला आयोगमा पुगेर प्रहरीले जाहेरी दर्ता गर्न मानेन, मलाई बलात्कार भयो, घरेलु हिंसा भयो भनेर उजुरी गरिछन् । ८ गते नै राष्ट्रिय मानव अधिकार आयोगमा पनि गएर उनले सोही व्यहोराको उजुरी दिएकी रहिछन् । त्यही व्यहोराको निवेदन न्याय परिषद् र गृह मन्त्रालयमा पनि दिएकी रहिछन् । त्यो कुरा उनको अन्तरवार्ताबाट थाहा पाएँ ।

वैवाहिक बलात्कारको जाहेरी दिनुको कारण आमा बन्ने अधिकार नदिएको कारण भन्ने रहेछ ।

सन्तान प्राप्तिको अधिकार त जायज नै होला नि त ?

जवाफ : सन्तान सुखको विषय के हो भने उनले २०७६ सालमा हुँदै नभएको भ्रुण हत्याको जाहेरी दिएपछि मैले भ्यासेक्टोमी गरेको हुँ । यो किन गरेको भने उनले अर्कोपटक पनि त्यही आरोप लगाउन सक्ने अवस्था भएपछि मैले बन्ध्याकरण गराएको हुँ ।

अर्को कुरा, मेरो जेठी श्रीमती तर्फबाट ४ जना छोराछोरी छन् । मलाई विवाह गर्न बाध्य बनाउने समयमै मैले सन्तान जन्माउन नसक्ने कुरा गरेकै थिएँ । उनले त्यस कुरामा सहमति पनि जनाएकी थिइन् । तर मलाई उनले प्रत्येकपटक ट्रयापमा पारेर एकपछि अर्को ब्ल्याकमेल गर्न थालिन् । अनि मेरो सारा परिवार क्षतविक्षत बनाउने र मेरो दायित्वमा रहेका छोरीहरुको हेरचाह गर्न नदिने, मेरो परिवारका सबै सदस्यहरुलाई बाहेक गर्ने लगायतको काम गरिन् । उनले बीबीए पढ्दै गरेको मेरो छोरीलाई समेत तनाब दिएकी छन् । २५ गतेदेखि उनको परीक्षा छ, तर उनका साथीहरुबाट उनी एक्ली भएकी छन् । यो विषय कसैले नबुझिदिने ?

तपाईले फेरि सम्बन्धविच्छेदको फिराद दिएको भन्ने सुनियो नि ?

जवाफ : हो । अति भएपछि मैले पनि मंसिर ११ गते बाँके जिल्ला अदालतमा मलाई बारम्बार मानसिक तनाब दिएको कारण सँगै बस्न सक्ने अवस्था नरहेकाले सम्बन्धविच्छेद गरिपाउँ भनेर निवेदन दिएको छु । मेरो श्रीमती भएर बसेको व्यक्तिले यतिसम्म गर्ने, मेरो जागिर नै खाइदिन खोज्ने, मलाई सडकमै ल्याउन चाहने भनि सकेपछि उनको उद्देश्य मसँगै बस्ने नभएर मलाई सिध्याउने नै रहेछ भनेर बुझिसकेपछि उनीसँग बस्नुको कुनै अर्थ र कारण रहेन । त्यही कारण अब म आफै पनि कानुनी उपचार र बाटोमा लागेको छु ।

न्यायाधीश आफैले न्याय माग्नुपर्ने दिन पनि आउनुपर्ने रहेछ होइन त ?

जवाफ : उनका व्यक्तिगत अरु विषय पनि धेरै छन् । उनले यसअघि पनि दुईवटा विवाह गरिसकेको र सम्पत्ति लिएर सम्बन्धविच्छेद गरेको भन्ने सुनेको छु । यस विषयमा के भएको रहेछ भनेर त्यो पनि बुझिरहेको छु । अहिले त उनको पेसा व्यवसाय नै ट्रयापमा पारेर विवाह गर्ने र सम्पत्ति हत्याउने हो कि भन्ने पनि लाग्न थालेको छ । त्यस विषयमा पनि मैले बुझिरहेको छु । जहाँसम्म न्यायाधीशले पनि न्याय माग्नुपर्ने कुरा गर्नुभयो, न्यायाधीश पनि व्यक्ति नै हो । पीडित भएपछि सबैले न्याय माग्न सक्छन् र पाउँछन् । पदीय मर्यादा जिम्मेवारीको कारण मैले यसअघि केही नबोलेको हो । तर मैले केही नबोल्दा स्थिति झनै खराब हुन थाल्यो । त्यसकारण अब मैले मेरो कुराहरु पनि राख्नैपर्छ । सम्बन्धित निकायमा म मेरो कुराहरु राख्छु नै ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप