बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संजय टकलाकी बहिनी जनमत पार्टीबाट समानुपातिक सांसद

शुक्रबार, २३ मङ्सिर २०७९, १७ : १७
शुक्रबार, २३ मङ्सिर २०७९

जनकपुर बमकाण्डको आरोपमा जेलमा रहेका संजय साह (टकला) की बहिनी अनिताकुमारी साह सिके राउत नेतृत्वको जनमत पार्टीबाट समानुपातिकतर्फ मधेस प्रदेशसभा सदस्य चयन भएकी छिन् । अनिता साहको बिहे महोत्तरीमा भएको हो । उनका श्रीमान जनकपुर सडक डिभिजन कार्यालयका प्रमुख हुन् । जनमत पार्टीमा अनिताकुमारी साहको खासै योगदान नरहेको भन्दै पार्टीभित्र र बाहिर त्यसको आलोचना भइरहेको छ ।

तर जनमत पार्टीका केन्द्रीय सदस्य अञ्जनीदेवी मण्डल (महोत्तरी) ले अनिताकुमारी साह पार्टीकै नेतृ रहेको दावी गरिन् । उनले भनिन् ‘अनिताकुमारी साह पार्टीकै मान्छे हुनुहुन्छ, उहाँ गत स्थानीय चुनावदेखि पार्टीमा सक्रिय हुनुभएको हो महोत्तरीको मनरासिसवा नगरपालिकाको मेयरमा पराजित हुनुभएको हो ।’

त्यस्तै मधेशी महिला कोटामा बबिता राउतको नाम पनि चयन गरिएको छ । राउत जनमत पार्टीका अध्यक्ष सिके राउतकी भाउजू हुन् । यद्यपि उनी जनमत पार्टीमा पहिलादेखि नै क्रियाशील रहेकी सो पार्टीका नेताहरु बताउँछन् ।  
यता, चन्दनकुमार सिंह मधेशी अल्पसंख्यक कोटाबाट समानुपातिक सदस्यमा चयन भएका छन् । उनी जनमत पार्टीमा केन्द्रीय महासचिव हुन् । 

त्यसैगरी,वसन्तकुमार कुशवाहालाई मधेशी कोटाबाट समानुपातिक सदस्यमा चयन गरिएको छ । कुशवाह पार्टीका केन्द्रीय उपाध्यक्ष हुन् । सिके राउतले स्वतन्त्र मधेस गठबन्धन बनाउँदा उनी दुबईमा बस्थे । त्यहीबाट सो गठबन्धनलाई सहयोग गर्थे । जनमत पार्टी बनाएपछि उनी दुबई छाडेर नेपाल फर्केका हुन् । हाल उनी पार्टीमा सक्रिय भएर लागेका छन् ।

उता, रञ्जुकुमारी खंग (खत्वे) लाई दलित महिला कोटाबाट र हसिना खातुनलाई मुस्लिम महिला कोटाबाट समानुपातिक प्रदेशसभा सदस्यमा चयन गरिएको छ । । त्यस्तै भाग्यश्री कुमारी चौधरीलाई आदिवासी जनजाति महिला कोटाबाट समानुपातिक सदस्यमा चयन गरिएको छ । उनीहरूको नाम निर्वाचन आयोगमा पठाउने तयारी भइरहेको सो पार्टी निकट स्रोतले जनाएको छ । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप