शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मधेसमा मधेसवादी दलको ‘पावर’ कति ? यसरी बन्न सक्छ सरकार

बिहीबार, २२ मङ्सिर २०७९, १४ : ४१
बिहीबार, २२ मङ्सिर २०७९

आम निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक भएसँगै सङ्घ र सात वटै प्रदेशमा सरकार गठनका लागि जोड घटाउ सुरु हुन थालेको छ । मधेस प्रदेशमा मधेसवादी दल तुलनात्मक रूपमा कमजोर भए पनि सरकार गठनका लागि यी दलको भूमिका महत्त्वपूर्ण हुने देखिएको छ ।

१०७ सदस्यीय मधेस प्रदेशमा बहुमतका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक हुन्छ । प्रदेशसभामा नेकपा एमालेले प्रत्यक्षतर्फ १५ र समानुपातिकमा ८ गरी २३ सांसदसहित पहिलो दलको हैसियत बनाएको छ । नेपाली कांग्रेस भने प्रत्यक्षतर्फ १३ र समानुपातिकमा ९ गरी २२ सांसदसहित दोस्रो हैसियतमा छ ।

नेपाली कांग्रेस र नेकपा एमाले विपरीत ध्रुवमा रहेर गठबन्धनसहित चुनावमा सहभागी भएका थिए । त्यस आधारमा यी दुई दल मिलेर सरकार गठन हुने सम्भावना न्यून छ । ​कांग्रेस र एमाले विपरीत ध्रुवमा रहँदा यी दलको पक्ष र विपक्षमा कुन कुन दल कसरी ध्रुवीकृत हुन्छन् भन्ने विषयले नै मधेस प्रदेशमा कसले सरकार बनाउँछ भन्ने निर्धारण गर्नेछ ।

मधेसवादी दलका रूपमा रहेको जनमत पार्टीले प्रत्यक्षतर्फ ६ र समानुपातिकमा ७ सिटसहित जम्मा १३ सिट जितेको छ । यस्तै, जसपा नेपालले प्रत्यक्षमा ९ र समानुपातिकमा ७ सहित १६ सिट जितेको छ । लोसपा नेपालले भने प्रत्यक्षमा ७ र समानुपातिकमा २ गरी जम्मा ९ सिट जितेको छ ।

​सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रले प्रत्यक्षमा ४ र समानुपातिकमा ४ गरी जम्मा ८ सिट पाउँदा अर्को घटक नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा ४ र समानुपातिकमा ३ सिट गरी जम्मा ७ सिट पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले मधेस प्रदेशसभामा एक–एक सिट पाएका छन् भने ६ जना स्वतन्त्र निर्वाचित भएका छन् ।

यो अंक गणितबाट सत्तारुढ गठबन्धनको पक्षमा बहुमत जुटाउन गठबन्धन बाहिर रहेका दललाई पनि साथ लिन आवश्यक हुन्छ । कांग्रेसको २२, माओवादी केन्द्रको ८, नेकपा एकीकृत समाजवादीको ७ र लोसपा नेपालको ९ गरी सत्तारुढ गठबन्धनसँग जम्मा ४६ सांसद हुन्छन् । बहुमतका लागि यो गठबन्धनलाई थप ८ सांसद आवश्यक हुन्छ ।

यी ८ सांसद जुटाउन सत्ता गठबन्धनले १३ सांसद रहेको जनमत पार्टी वा १६ सांसद रहेको जसपा नेपालको साथ लिनुपर्ने अवस्था छ ।

अर्कोतिर एमाले नेतृत्वको गठबन्धनमा जसपा नेपाल कायम रहेको अवस्थामा एमालेको २३ र जसपा नेपालको १६, राप्रपाको एक गरी जम्मा ४० सांसद हुन्छन् । बहुमतका लागि कम्तीमा १४ सांसद यो गठबन्धनका लागि अपुग हुन्छ । यस्तो अवस्थामा १३ सिट रहेको जनमत पार्टीका अतिरिक्त एक सिट रहेका नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टी मध्ये कुनै एकको समर्थन लिनुपर्ने हुन्छ । स्वतन्त्र निर्वाचित भएकामध्येबाट पनि एमालेले विकल्पका रूपमा साथ लिन सक्ने अवस्था देखिन्छ ।

मधेस प्रदेशमा मधेसवादी दलहरुमात्र मिलेर सरकार गठन गर्ने सम्भावना भने छैन । मधेसवादी दलमध्ये जनमत पार्टीको १३, जसपा नेपालको १६, लोसपा नेपालको ९ गरी जम्मा ३८ सिट हुन्छ । ६ स्वतन्त्र र अन्य साना दल समेट्दा समेत मधेसवादी दलले सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन सक्ने अवस्था देखिँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप