आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बाजुरामा प्रजिअ र सुरक्षा अधिकृतहरूमाथि दुर्व्यवहार

बुधबार, ०७ मङ्सिर २०७९, २१ : ५०
बुधबार, ०७ मङ्सिर २०७९

बाजुरामा प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकृतहरूमाथि आन्दोलनकारीले  दुर्व्यवहार गरेका छन् । बाजुरा सदरमुकामको लोकतान्त्रिक चोकमा सर्वदलीय मिटिङबाट  फर्किँदै गरेका प्रजिअ प्रकाशचन्द्र अधिकारी, मुख्य निर्वाचन अधिकृत र सुरक्षा प्रमुखहरुलाई अनेरास्ववियुका कार्यकर्ताले टायर बालेर निस्केको खरानी फालेर दुर्व्यवहार गरेका हुन् । 

आन्दोलनकारीले प्रजिअसहित सुरक्षा अधिकारीहरूलाई  दुर्व्यवहार गरेको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले रातोपाटीलाई बताए । मंसिर ४ मा राति कांग्रेसका कार्यकताहरुको कुटपिटका कारण ज्यान गुमाएका अनेरास्ववियुका सचिवालय सदस्य चेतन ऐडीका हत्यारालाई कारबाहीको माग गरेर एमालेका कार्यकर्ताहरूले बुधबार साँझ लोकतान्त्रिक चोकमा कोणसभा गरिरहेका थिए । 

कोणसभा सकिएपछि बैठकबाट आउँदै गरेका मुख्य निर्वाचन अधिकृत, नेपाल प्रहरीका एसपी भीम किरण बोगटी, सशस्त्र प्रहरीका एसपी वीरेन्द्रबहादुर ऐर, बाजुराका डीएसपी चतुर्भुज ओझा लगायतलाई आन्दोलनकारीले ढुंगामुढाको प्रयास गरेका छन् । 

रातोपाटीसँग कुरा गर्दै बाजुराका डीएसपी चतुर्भुज ओझाले भने–‘आन्दोलनकारीहरुले सामान्य ढुंगामुढा गरेका छन् ।’  निर्वाचनको दिन झडप हुँदा प्रहरीको गोली लागेर ज्यान गुमाएका त्रिवेणीमा नगरपालिका वडा नम्बर–७ घर भएका २६ वर्षीय सन्दिप ऐडी र अछाम अस्पतालमा राखिएको चेतन ऐडीको शव अझै उठेको छैन । शव उठाउनेबारे सहमति हुन नसकेको डीएसपी ओझाले जानकारी दिए ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप