आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बाजुराको त्रिवेणीबाट आन्दोलनकारीले खोसेको प्रहरीको इन्सास राइफल फेला

दुई जनाको ज्यान जाने गरी कसरी भयो घटना ?
मङ्गलबार, ०६ मङ्सिर २०७९, १५ : ४६
मङ्गलबार, ०६ मङ्सिर २०७९

बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर–७ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन चलिरहँदा प्रहरी र स्थानीयको बिचमा झडप भयो । मङ्सिर ४ मा त्रिवेणी–७ स्थित नाटेश्वरी मतदान केन्द्रमा साँझ पौने ५ बजेतिर झडपको क्रममा एकजना युवकले प्रहरीको इन्सास राइफल खोसेर भागे । अनि, प्रहरीले चलाएको गोली लागेर २६ वर्षीय सन्दीप ऐडीको घटनास्थलमा मृत्यु भयो ।

सन्दीपको शव अझै घटनास्थलमा छ । मृतक वडा नम्बर–९ स्थित रत्नावती माविमा कार्यरत शिक्षक मानबहादुर ऐडी छोरा हुन् । उनी वडा नम्बर–७ का स्थानीय हुन् । झडप गर्नेहरूले खोसेर लगेको प्रहरीको राइफल भेटिएको छ । घटनास्थल नजिकै फालेको अवस्थामा राइफल भेटिएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले रातोपाटीलाई बताए । उनले भने–‘घटनास्थल नजिकै बाटोमा फालेको अवस्थामा राइफल भेटिएको छ ।’

नाटेश्वरी मतदान केन्द्रमा झडप हुँदा ३ जना स्थानीय र प्रहरी सहायक हवल्दार कृष्ण बहादुर कुँवर घाइते भए । तर, सो घटना भएको केही समयपछि त्यहाँ फेरी अर्को दर्दनाक घटना भयो । १५–२० जनाको समूहले मतदान स्थलमा नेकपा (एमाले)को प्रतिनिधि भएर खटिएका चेतन ऐडीलाई लखेटेर कुट्न थाले ।

अनेरास्ववियुका सचिवालय सदस्य समेत रहेका चेतनलाई मरणासन्न हुने गरी कुटेपछि सो समूहले मतदान केन्द्रभन्दा पर जंगलछेउमा लगेर छाडेको बताउँछन्, एमालेका स्थायी समिति सदस्य कर्ण थापा । बाजुराबाट प्रतिनिधिसभा तर्फ चुनावी प्रतिस्पर्धामा रहेका थापाले रातोपाटीसँग भने–‘राति फेरी खोज्दै गएर घरमा निर्घात कुटेर हत्या गरिएको छ, लगातार हामीले खबर गर्दा पनि रोक्ने र उद्धार गर्ने काम भएन ।’

लखेट्दै कुटेर जंगलछेउमा छाडिएका चेतनलाई विद्यार्थी संगठनमा कार्यरत सुजाता ऐडीले घरसम्म लगेकी हुन् । छिमेकीको घरमा ताला लगाएर लुकाएपनि कांग्रेसका कार्यकर्ताले थुतेर निर्घात कुटपिट गरेको एमाले नेता कर्णले जिकिर गरेका छन् । राति १० बजेतिर सेनाले गाडीले उनलाई अछामस्थित बयलपाटा अस्पतालमा लगेर छाड्यो । त्यही राति उनको मृत्यु भयो ।

बाजुरामा प्रतिनिधिसभातर्फ कर्ण थापासँग नेपाली कांग्रेसका बद्री पाण्डे प्रतिस्पर्धामा छन् ।

कहिले उठ्छ शव ?

घटनास्थलमा मारिएका सन्दीप र अछाम अस्पतालमा ज्यान गुमाएका चेतनको शव परिवारले बुझेका छैनन् । सद्गदका लागी शव जिम्मा लगाउन सहमतिको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए । उनले भने–‘सहमतिको प्रयास गरिरहेका छौँ ।’ चेतनको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालयमा २२ जना विरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।

शव जिम्मा लिनुअघि मान्छे पक्राउ गर्नुपर्ने बताउँछन्, एमाले उम्मेदवार कर्ण थापा । उनी भन्छन्–‘हत्यामा संलग्न कांग्रेसका कार्यकर्ता विरुद्ध मुद्दा अघि बढाउनुपर्छ, त्यसपछि मात्र शव जिम्मा लिने र दाहसंस्कार गर्ने कुरा आउँछ ।’ अमानवीय र क्रूर ढङ्गले गरिएको हत्याका प्रत्यक्षदर्शी र प्रमाण आफूहरूसँग भएको थापाले बताएका छन् ।

सो मतदान स्थलमा मतदान सुरु भएदेखि नै तनाव सिर्जना भएको थियो । सम्भावित घटनाबारे जानकारी गराएर निर्वाचन स्थगित गर्न आफूले भनेको नेता थापाले बताए ।

झडपमा त्रिवेणी नगरपालिका–७ बस्ने ३८ वर्षीय स्वयंसेवक परशुराम उपाध्याय, नेपाली कांग्रेसका प्रतिनिधि ३६ वर्षीय खड्क बहादुर ऐडी र ४८ वर्षका पूर्व वडा अध्यक्ष प्रेम बहादुर थापा घाइते भएका छन् । थापा नेपाली कांग्रेसका पूर्व वडा अध्यक्ष हुन् । त्यस्तै विजयराज उपाध्याय पनि सामान्य घाइते छन् । घाइतेहरूको सुर्खेतमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप