शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जिनत अमान : लगातार फिल्म फ्लप भएपछि काम नै छाड्न लागेकी थिइन्, देव आनन्दको सल्लाहले बनाइदियो सुपरस्टार

शनिबार, ०३ मङ्सिर २०७९, १२ : ४१
शनिबार, ०३ मङ्सिर २०७९

७० को दशककी चर्चित अभिनेत्री जिनत अमानको आज ७१ औं जन्मदिन हो । जीनत अमानले फिल्म उद्योगमा यस्तो समयमा पाइला राखेकी थिइन्, जब अभिनेत्रीहरु प्रायः भारतीय लुकमा देखिने गर्थे तर वेस्टर्न लुकमा देखिएपछि उनले इन्डस्ट्रीमा नयाँ ट्रेण्ड सुरु गरिन् । बोल्डनेसका कारण उनको छवि ‘सेक्स सिम्बोल’ को रह्यो । तर, पाँच दशक लामो करियरमा उनले जम्मा ३३ चलचित्रमा अभिनय गरिन् ।

बाबुआमाको सम्बन्धविच्छेद, बाबुको मृत्यु र आमाको दोस्रो विवाह झेलेकी जीनत अमानको बाल्यकाल निकै उथलपुथल रह्यो । विभिन्न ठाउँमा बस्दा जीनत अमानको पढाइ पनि अधुरो रह्यो ।

पत्रकारको रुपमा आफ्नो करियर सुरु गरेकी जीनतले मोडलिङमा पनि धेरै नाम कमाएकी थिइन् । फेमिना मिस इन्डिया र मिस एशिया प्यासिफिक इन्टरनेशनलको उपाधिसमेत जितिन् । त्यसपछि उनी फिल्मतिर लागिन् र त्यहाँ पनि सफल नै भइन्, तर जीवनभर आफ्नो जीवनसाथीको मायाका लागि भने लालायित भइरहिन् । पहिलो बिहेमा धोका पाइन्, दोस्रो बिहे पनि सफल भएन । दोस्रो श्रीमान्‌को १३ वर्षपछि नै मृत्यु भयो तर दुर्भाग्यवश ससुराले उनलाई श्रीमान्‌को अन्तिम दर्शनमा जान दिएनन् ।

आज जीनत अमानको जन्मदिनमा, पढ्नुहोस् उनको जीवनसँग सम्बन्धित केही नसुनेका रोचक तथ्यहरू :

जिनत अमानको जन्म १९ नोभेम्बर सन् १९५१ मा मुम्बईमा भएको थियो । उनका पिता अमानतुल्लाह खान एक मुस्लिम थिए र उनकी आमा बर्धिनी करवस्ते महाराष्ट्रियन ब्राह्मणी थिइन् ।

जिनत अमानका पिता मुगल–ए–आजम र पाकिजाजस्ता फिल्मको स्क्रिन राइटर थिए ।

बाल्यकाल आमाबुवाको सम्बन्धविच्छेद हेरेर बित्यो

जब जिनत सानै थिइन्, उनका आमाबाबुको सम्बन्धविच्छेद भयो । त्यसपछि उनी आमासँगै बसिन् । जब उनी १३ वर्षकी भइन्, उनको बुबाको पनि निधन भयो । यसपछि उनकी आमाले हेन्ज नामक जर्मन पुरुषसँग विवाह गरिन् । विवाहपछि आमा जिनतसँग जर्मनी गइन् ।

बाल्यकाल उथलपुथलले भरिएको थियो, पढाइ पनि अधुरो रह्यो

जिनत​ अमानको बाल्यकाल उथलपुथलले भरिएको थियो, जसको असर उनको पढाइमा पनि परेको थियो ।

जिनत​को आधा शिक्षा उनका आमाबुवाको सम्बन्धविच्छेद हुनुअघि मुम्बईमा भएको थियो । बुबाको मृत्युपछि आमाले दोस्रो विवाह गरेपछि जिनत​ आफ्नी आमासँग जर्मनी जानुपरेको थियो, त्यसपछि जिनत​ले लस एन्जलसको युनिभर्सिटीबाट थप अध्ययन गरिन् । तर, त्यसपछि पनि उनको स्नातकको पढाइ अधुरो रह्यो ।

पहिले पत्रकार थिइन्, त्यसपछि मोडलिङबाटै पहिचान बनाइन्

पढाइ सकेपछि जिनत​ले फेमिना पत्रिकाका लागि लेख्न थालिन् । अर्थात जिनत​ले आफ्नो करियर पत्रकारको रुपमा सुरु गरेकी थिइन् । फेसन म्यागजिनमा काम गर्दा जिनत​लाई मोडलिङतर्फ पनि झुकाव हुन थाल्यो । त्यसपछि उनले मोडलिङ गर्न थालिन् । सुन्दरताका कारण जिनतले पनि सकारात्मक प्रतिक्रिया मिल्यो र उनी मोडलिङको क्षेत्रमा अगाडि बढिन् । १९ वर्षको उमेरमा उनले फेमिना मिस इन्डिया र मिस एशिया प्यासिफिक इन्टरनेशनलको उपाधि पनि जितेकी थिइन् । उनी यो उपाधि जित्ने पहिलो दक्षिण एसियाली महिला बनिन् । त्यसपछि उनी देश र विदेशका सबै पत्रिकाको कभरमा छाउन थालिन् ।

– थुप्रै म्यागजिनको कभरमा जिनत अमानको फोटो छापिएको थियो त्यसैले उनलाई कभर गर्ल पनि भनिन्थ्यो ।

– जिनतले आफ्नो जमानाको चर्चित स्टार अमिताभ बच्चन, धर्मेन्द्र, जितेन्द्र, देव आनन्दसँग फिल्ममा अभिनय गरेकी छिन् ।

– ५ वर्षको करियरमा जिनतले ३३ फिल्ममा मात्रै काम गरेकी छिन् ।

– जिनत अमान सन् १९७६–१९८० बीच सबैभन्दा बढी पारिश्रमिक लिने नायिकामध्ये एक थिइन् ।

देव आनन्दले जिनतको करियरलाई आकार दिए

मोडलिङमा धेरै नाम कमाएपछि जिनत फिल्मतिर लागिन् । उनले चलचित्र हलचलबाट डेब्यु गरेकी थिइन् । त्यसपछि जीनत फिल्म हंगामामा देखिइन् तर पहिलो फिल्म जस्तै यो पनि बक्स अफिसमा असफल भयो । लगातार असफलतापछि जिनतले फिल्ममा काम नगर्ने सोच बनाइसकेकी थिइन् । तर देव आनन्द ती व्यक्ति थिए जसको एउटा कुराले जिनत अमान रोकिइन् ।

देव आनन्दले जिनत अमानलाई ‘हरे रामा हरे कृष्णा’ फिल्ममा मात्रै अभिनय गर्न आग्रह गरे । उक्त फिल्म फ्लप भए उनले फिल्म इन्डष्ट्रि छोड्न सक्ने पनि उनले बताए । फिल्म हरे राम हरे कृष्ण रिलिज भयो र फिल्मले बक्स अफिसमा पनि उत्कृष्ट कमाई गर्यो । यस फिल्मका लागि जीनत अमानले फिल्मफेयर सर्वश्रेष्ठ अभिनेत्रीको सपोर्टिङ अवार्ड पनि पाइन् र उनी स्टार भइन् ।

सन् १९७८ मा ‘सत्यम शिवम सुदरम’ फिल्म रिलिज भयो । यो फिल्ममा शशि कपूरको अपोजिटमा जिनत अमान देखिएकी थिइन् । तर यो फिल्ममा जिनत अमानलाई कसरी कास्ट गरियो त्यसबारे जानकारी लिऔँ :

जब राज कपूर जिनत अमानसँग फिल्म वकिल बाबुको लागि सुटिङ गरिरहेका थिए, उनी त्यही समयमा सत्यम शिवम सुन्दरम फिल्मको स्क्रिप्टमा पनि काम गरिरहेका थिए । उनी प्रायः सुटिङ ब्रेकमा जीनतसहित अन्य व्यक्तिसँग फिल्मको कथाको बारे छलफल गर्थे । उनी फिल्मको पात्र रुपाको बारेमा बढी कुरा गर्ने गर्थे । उनी जुन तरिकाले रुपाको भूमिकाबारे जिनत अमानसँग कुरा गर्दथे। उनी त्यो भूमिकाले त्यति नै प्रभावित हुन्थिन् ।

यसै क्रममा जिनत अमानले रूपा बन्ने निर्णय गरिन् । एक दिन उनी घागरा चोली लगाएर रुपा जस्तो टिस्यु पेपरले अनुहारमा घाउ बनाउँदै राज कपुरको टेन्टमा पुगिन् । यसपछि जिनत अमानले बाहिर उभिरहेका व्यक्तिलाई ‘राज कपूर जीलाई रूपा आएकी छिन् भनेर भनिदिनुहोस्’ भनिन् । फिल्मको पहिरन र जलेको अनुहारमा आएको जिनतलाई देखेर राज कपूर छक्क परे र आफ्नी श्रीमतीलाई बोलाएर भने, ‘हेर त यो केटीले के गरिन् ।’ त्यसपछि राज कपूरकी श्रीमतीले जिनत अमानलाई सुनको सिक्का दिएर आशीर्वाद दिइन् । उनी यसरी फिल्ममा रुपाको भूमिकाका लागि छनोट भइन् ।

दुई विवाह तरपनि साँचो प्रेमका लागि लालायित

फिल्म अब्दुल्लामा जिनत अमानसँगै सञ्जय खानलाई पनि कास्ट गरिएको थियो । यो फिल्मको सुटिङका ​​क्रममा यी दुईबीच निकटता बढेपछि दुवैले गोप्य रूपमा विवाह गरेको विश्वास गरिन्छ । केही समयपछि सञ्जय खान यो विवाहबाट टाढिए, त्यसपछि दुवैको विवाह अवैध घोषित गरियो । रिपोर्टका अनुसार सञ्जय खानले यो फिल्मको दौरान चलिरहेको पार्टीमा जिनतमानलाई नराम्रोसँग कुटपिट गरेका थिए, त्यसको चोटको दाग अहिले पनि उनको आँखामा छ ।

 


 

मजहर खानले सन् १९८५ मा जिनतअमानसँग कानुनी रूपमा विवाह गरेका थिए । उनकी आमा यो बिहेबाट बिल्कुलै खुसी थिइनन्, तर उनले भने यो बिहेलाई धेरै महत्व दिन्थिन् । यस विवाहबाट जिनत अमानका दुई छोरा पनि भए । एक अन्तरवार्तामा जिनत अमानले आफू यो विवाहबाट कहिल्यै खुसी नभएको बताएकी थिइन् । उनी आमा बन्न चाहन्थिन् त्यसैले उनले मजहर खानसँग विवाह गरेकी थिइन् । उनका अनुसार मजहरले उनी फिल्ममा काम नगरोस् भन्ने चाहन्थे । जिनत घरमै बसेर, घर–बालबच्चाको हेरविचार गरोस् भन्ने उनी चाहन्थे । यो सम्बन्धले उनी खुसी थिइनन् तर पनि स्थिति राम्रो बनाउन उनले अत्यधिक मेहनत भने गरेको उनले बताइन् ।

श्रीमान्‌लाई अन्तिम बिदाइ दिन सकिनन्

विवाहको १३ वर्षपछि नै मजहरको मृत्यु भयो । उनी लामो समयदेखि मृगौलाको समस्याबाट पीडित थिए । जिनतले अन्तरवार्तामा मजहरलाई प्रेस्क्रिप्सन ड्रग्सको लत लागेको पनि बताइन् । सम्बन्धमा तिक्तता आएपछि पनि जिनतले आफ्नो पतिको पूरा ख्याल गरिन् । उनलाई मजहर निको हुने आशा थियो, त्यसैले मुम्बईको सबै अस्पतालमा उपचार गराइन् । तर पनि उनले बचाउन सकिनन् ।

मजहरको मृत्युपछि अवस्था यस्तो भयो कि उनका श्रीमानको अन्तिम दर्शनमा जाने अधिकार समेत उनको घरले  खोस्यो । जिनत अमानले मजहरको परिवारलाई ‘उहाँ मेरो श्रीमान्, मेरा छोराछोरीको पिता हो’ भनेर अनुनय बिन्ति गरिन् तर अन्तिम श्रद्धाञ्जलिमा उनलाई सरिक हुन कसैगरी दिइएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप