बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जिनत अमानको ‘दम मारो दम’ को सुटिङ हेर्न जब उर्लिए काठमाडौँबासी

सोमबार, २८ कात्तिक २०७९, १५ : ४५
सोमबार, २८ कात्तिक २०७९

सन् १९६६ मा नेपालको निजी प्रोडक्सनको पहिलो चलचित्र ‘माइतीघर’ रिलिज भएको थियो । यो चलचित्रमा भारतीय अभिनेत्री माला सिन्हाले अभिनय गरेकी थिइन् । त्यस चलचित्रमा एउटा गीत निकै चर्चित भएको थियो ।

त्यो चर्चित नेपाली गीत लता मङ्गेशकरले गाएकी थिइन् । भारतका जयदेवले त्यसमा सङ्गीत भरेका थिए भने उषा मङ्गेशकरदेखि आशा भोस्ले, मन्ना डे र गीता दत्तले यस चलचित्रमा गीत गाएका थिए ।

पछि माला सिन्हाले सोही चलचित्रका नेपाली नायक सीपी लोहनीसँग विवाह पनि गरिन् ।

त्यसबेलादेखि आजसम्म नेपाल र हिन्दी चलचित्र उद्योगबीच विशेष सम्बन्ध छ । त्यो सम्बन्छ नेपालमा छायाङ्कन गरिएको अमिताभ बच्चनको नयाँ चलचित्र ‘उचाइ’मा पनि देख्न पाइएको छ ।

तर नेपाल र भारतीय चलचित्रको सम्बन्ध अझ राम्ररी बुझ्न पूर्वदृश्य (फ्ल्यासब्याक)बाट सुरु गर्नुपर्ने हुन्छ ।

‘जोनी मेरा नाम’देखि ‘बेबी’सम्म

सन् १९७१ मा बनेको चलचित्र ‘हरे रामा हरे कृष्णा’को सुरुवाती दृश्य...

पाइलट बनेका देव आनन्द नेपालका लागि पहिलो उडानमा हुँदा माथिबाट काठमाडौँको सौन्दर्य देखेर को–पाइलटलाई भन्छ, “माथिबाट त यो उपत्यका निकै सुन्दर देखिएको छ, काठमाडौँ सहर कस्तो छ ?”

जवाफमा को–पाइलट भन्छन्, “ल्यान्डिङ सिग्नल आइरहेको छैन । त्यतिन्जेल यात्रुलाई माथिबाटै काठमाडौँको सयर गराइन्छ । त्यो हेर्नुहोस् स्वयम्भूको मन्दिर । यो सोल्टी हो, यहाँको सबैभन्दा फेसनेबल होटल ।”

देव आनन्द र जिनत अमान अभिनित चलचित्र ‘हरे रामा हरे कृष्ण’को लगभग पूरै छायाङ्कन नेपालमा भएको हो ।

‘जनी मेरा नाम’, ‘इस्क इस्क, इस्क’, ‘महान’, ‘खुदा गवाह’ र ‘बेबी’ जस्ता धेरै चलचित्रको छायाङ्कन नेपालमा भइसकेका छन् । तिनसँग जोडिएका रोचक कथाहरू थुप्रै छन् ।

‘दम मारो दम’का लागि जुट्यो पूरा सहर

विकास रौनियार नेपालका वरिष्ठ फोटो पत्रकार हुन् । उनको परिवार चलचित्र क्षेत्रसँग जोडिएको छ ।

उनी भन्छन्, “जिनत अमानसँग ‘दम मारो दम’को सुटिङ काष्ठमण्डप मन्दिर नजिकै राति भएको थियो, त्यसरात अत्यधिक भीड जम्मा भएको थियो ।”

उनी भन्छन्, “हरे रामा हरे कृष्ण चलचित्रमा ‘कान्छी रे कान्छी रे’ गीत मुमताज र देव आनन्दमाथि थियो । यसको सुटिङ तिब्बती शरणार्थी शिविरमा गरिएको थियो । बाँकी चलचित्रको अधिकांश छायाङ्कन नेपालको प्रसिद्ध स्वयम्भू मन्दिर र भक्तपुरमा भएको छ ।”

यो चलचित्र जब छायाङ्कन भयो, त्यसमा पूरै काठमाडौँ सामेल थियो भन्ने बुझ्नुहोस् । यसमा धेरै नेपाली कलाकारहरूले पनि काम गरे ।

अहिले ‘हरे रामा हरे कृष्ण’ जब हेर्र्छौं त्यतिबेला के महसुस हुन्छ भने ती सबै ठाउँमा खाली मैदान थिए । ती ठाउँहरूमा अहिले भवन बनेका छन् । त्यतिबेला त्यो जग्गा किनेको भए आज कति मूल्य हुन्थ्यो भनी ठट्टा गर्छौं ।’

विकास भन्छन्, ‘हरे रामा हरे कृष्णा’ चलचित्र बनेपछि धेरै भारतीय पर्यटक नेपाल आउन थाले र गाइडले उनीहरूलाई हिन्दी चलचित्र छायाङ्कन हुने सबै ठाउँ देखाए ।

‘दम मारो दम’ सुट भएको क्षेत्र २०७२ सालको महाभूकम्पमा ध्वस्त भएको थियो । तर अहिले पुनर्निर्माण गरिएको छ । नेपालमा ‘हरे कृष्णा हरे राम’को विरासत अझै जीवित छ ।

नेपालका राजपरिवारसँगको सम्बन्ध

नेपालको राजपरिवारसँग देव आनन्दको निकै राम्रो सम्बन्ध थियो । त्यतिबेला महेन्द्र नेपालका राजा थिए । देव आनन्दलाई जब ‘हरे रामा हरे कृष्णा’को निर्माण गर्ने आइडिया आयो अनि उनले तुरुन्त नेपालका राजालाई भेटेर चलचित्रको कथावस्तु सुनाए ।

त्यसक्रममा उनले यो चलचित्र नेपालमा मात्रै बनाउन सकिने पनि बताए । देव आनन्दले राजा महेन्द्रसँग नेपालको जुनसुकै ठाउँमा सुटिङ गर्न अनुमति मागेका थिए ।

त्यसको जवाफमा राजा महेन्द्रले देव आनन्दलाई केही दिन नेपालमा बस्न आग्रह गरे । देव आनन्दले उनका भाइ राजकुमारलाई अन्नपूर्ण डाँडाको बीचमा रहेको बसुन्धराको स्टाइलिस होटलमा पठाएर शान्तिपूर्वक चलचित्रको कथा लेख्न लगाए ।

त्यहीँबाट नेपाल र देव आनन्दको रोमान्स सुरु भयो । यसपछि देव आनन्दले ‘हरे रामा हरे कृष्णा’मा नेपालका विभिन्न मन्दिर, चोक र मेलाहरूलाई पर्दामा सुन्दर ढङ्गले देखाए ।

‘हरे रामा हरे कृष्ण’को कथा नेपालमा कसरी बन्यो ? चलचित्र ‘हरे रामा हरे कृष्णा’ निर्माणको कथा पनि रोचक छ ।

यो कथा ७० को दशकको हो । सन् १९७० मा आफ्नो चलचित्र ‘प्रेम पुजारी’ असफल भएपछि देव आनन्द विचलित थिए । त्यतिबेला उनी नेपालमै थिए ।

तर केही संयोग यस्ता थिए कि देव आनन्द ‘हरे रामा हरे कृष्णा’को स्क्रिप्ट लिएर फर्किए । उनले आफ्ना चलचित्रहरू लन्डन वा पेरिसमा नगरी काठमाडौँमा सुटिङ गर्ने निर्णय पनि गरे ।

आफ्नो पुस्तक ‘रोमान्सिङ विथ लाइफ’मा देव आनन्दले लेखेका छन्, “म काठमाडौँमा थिएँ र एक साँझ एक जना साथीसँग ‘द बेकरी’ भन्ने अनौठो ठाउँमा गएको थिएँ, जहाँ हिप्पीहरू राति घुम्न आउँथे ।”

“त्यतिबेला युवाहरूमा हिप्पी बन्ने क्रेज थियो– गाँजा, अफिम खाने, रमाइलो गर्ने, चुरोटको धुवाँमा हराउने, नशामा मात्रै रहन्थे । निधारमा टीका लगाउने, घाँटीमा फूलको माला लगाउने, एकअर्काबीच चिलिम पास गर्ने ।  आकाशलाई ध्यान दिएर हेर्ने । यो सिनेमाको दृश्यझैँ थियो ।”

तीमध्ये मेरो ध्यान खैरो रङ्गकी एउटी केटीतिर गयो । उनको चस्मा भुइँमा खस्यो र उनले भनिन्– “बब मेरा चस्मा । अर्थात् उनी भारतीय थिइन् । मैले के सोचेँ भने उनी यी हिप्पीहरूका बीचमा के गरिरहेकी छिन् । यो एउटा रोचक कथा जस्तो लाग्यो ...।”

त्यसपछिको किस्सामा देव आनन्द लेख्छन्, “मैले भोलिपल्ट साँझ त्यो केटीलाई भेटेँ । आफ्नी आमा क्यानडामा रहेको र उनी काठमाडौँ घुमिरहेको उनले बताइन् । उनको नाम जसबिर थियो र आफूलाई ‘जेनिस’ भन्थिन् । आमाबाट भागेर क्यानडादेखि नेपाल आएको जेनिसले बताइन् । उनका बाबुआमाको सम्बन्धविच्छेद भएको थियो र उनका बुबा पञ्जावमा कतै बस्छन् । जेनिसलाई के लाग्थ्यो भने उनका आमा–बुवाले उनलाई राम्रोसँग हेरविचार गरेनन्, न यो पुस्तालाई नै बुझ्छन् । त्यसैले उनले केही पैसा चोरेर घरबाट भागिन् र हिप्पी बनिन् ।”

‘हरे रामा हरे कृष्णा’ र ‘दम मारो दम’मा जिनत अमान देखेका जोकोहीले पनि यो चलचित्र वास्तवमा जेनिस उर्फ जसवीर र काठमाडौँको कथा हो भन्ने बुझ्नेछन् ।

अमिताभको कारलाई घेरे

देव आनन्दबाहेक अमिताभ बच्चनले पनि दुईवटा चलचित्रका केही दृश्य नेपालमा खिचेका छन् । सन् १९८३ मा अमिताभ बच्चनको चलचित्र ‘महान’ आएको थियो । त्यसमा एक नभई तीन बच्चन थिए अर्थात् बिग बीको ट्रिपल रोल थियो ।

जिनत अमान फेरि नेपाल पुगिन् र अमिताभ बच्चनसँग ‘प्यार मे दिल पे मार दे गोली’ गीत छायाङ्कन गरिन् । यो गीत भक्तपुर दरबार स्क्वायरमा छायाङ्कन गरिएको थियो ।

त्यसपछि अमिताभ बच्चन चलचित्र ‘खुदा गवाह’को सुटिङका लागि नेपाल आएका थिए ।

चलचित्रका केही भाग अफगानिस्तानमा छायाङ्कन गरिएको थियो तर त्यहाँ गृहयुद्ध जस्तो अवस्था थियो र त्यहाँ धेरै जोखिम थियो । त्यसैले ‘खुदा गवाह’का केही दृश्य नेपालमा छायाङ्कन गरिएको थियो ।

अमिताभ बच्चनको नेपालमा निकै क्रेज थियो । उनीसँगै डेनी पनि थिए ।

नेपालको किस्सा सम्झँदै डेनीले फिल्मफेयरसँग भने, “हामी नेपालमा ‘खुदा गवाह’को सुटिङ गरिरहेका थियौँ । सयौँ मानिसले हाम्रो कारलाई घेरेका थिए । गाडी हल्लिरहेको थियो । मलाई निकै रिस उठ्यो । त्यसबेला अमितजी पगडी र दाह्रीसहित फुल गेटअपमा थिए ।”

कारमा एसी पनि थिएन तर अमितजी शान्त र संयमित भए । उनले मेरो हात समातेर भने, “चुपचाप बस, गर्मी पनि झेल । तिमी बाहिर गयौ भने स्थित बिग्रनेछ ।”

 

अमिताभ बसेको कोठामा बस्न होडबाजी

अमिताभ बच्चन र श्रीदेवी नेपालको मुस्ताङको जुन इलाकामा बसेका थिए त्यो थुप्रै दिनसम्म पर्यटन स्थल बनेको थियो ।

विकास रौनियार हाँस्दै भन्छन्, ‘‘खुदा गवाह’को सुटिङ भएको थियो । म र मेरा साथी जुन होटलमा बसेका थियौँ त्यही होटलमा अमिताभ बच्चन, श्रीदेवी र डेनी पनि बसेका थिए । हामी सबै त्यो कोठामा बस्न चाहन्थ्यौँ जहाँ बच्चनजी बस्नुभएको थियो । हामीबीच प्रतिस्पर्धा जस्तै भएको थियो । पछि हामीलाई पालैपालो त्यो कोठामा बस्न भनियो ।”

तर अमिताभ बच्चनका नेपालसँग जोडिएका सम्झनाहरू सुटिङमा मात्र सीमित छैनन् । अमिताभ बाल्यकालमा पनि नेपाल आएका थिए र त्यो नै उनको पहिलो विदेश भ्रमण थियो ।

अमिताभले आफ्नो ब्लगमा स्मरण गर्दै लेखेका थिए, “म १९५४ मा नेपाल गएको थिएँ । त्यतिबेला हामी इलाहाबादमा बस्थ्यौँ । बाबुजी आफ्ना साहित्यिक साथीहरूलाई भेट्न चाहन्थे । हामी दुई इन्जिन भएको डकोटा विमानमा पटनाबाट काठमाडौँ उड्यौँ । यो विश्व युद्धको समयको एक विमान थियो । यो मेरो उडानको पहिलो अनुभव थियो र मेरो उत्साहको कुनै सीमा थिएन ।”

नेपाली चलचित्रबाट बलिउडसम्म मनिषा कोइराला

नेपालमा छायाङ्कन भएका चलचित्रहरू :

– जनी मेरा नाम

– हरे कृष्णा हरे रामा

– महान

– खुदा गवाह

– घरवाली बाहरवाली

– बेबी

– उचाइ

छायाङ्कनबाहेक नेपाली चलचित्र उद्योग र हिन्दी चलचित्र उद्योगको छुट्टै सम्बन्ध छ ।

माइतीघरबाहेक, लता मङ्गेशकरले आफ्नो करियरमा थप दुई नेपाली गीत गाइन्, जुन निकै चर्चित भयो ।

विकास र उनकी श्रीमतीले मनिषासँग काम गरेका छन् । विकास भन्छन्, “पहिले मनिषा कोइरालाले नेपालमा एउटा विज्ञापनमा काम गरेकी थिइन् । त्यो निकै हिट भयो, त्यसपछि सन् १९८९ मा ‘फेरि भेटौँला’ नामक नेपाली चलचित्रमा नायिका भइन् । उनी भारतको बनारस र दिल्लीमा पढिरहेकी थिइन् ।”

यसै क्रममा उनले आफ्नी आमालाई हिन्दी चलचित्र उद्योगमा काम गर्न मन लागेको बताइन् । जन्मदिनको अवसरमा उनकी आमा मनिषालाई बम्बई लगिन् । उनले मीना अय्यर नामक चलचित्र पत्रकारलाई चिन्थिन् । आमाको उद्देश्य छोरीको मनबाट चलचित्रको भूत हटाउनु थियो । तर उल्टो भयो । मीनाजीले मनिषालाई चलचित्र निर्देशकहरूसँग परिचय गराइन् र सुभाष घइले उनलाई साइन गराए ।

त्यसपछि मनिषाले ‘बम्बे, दिल से’जस्ता धेरै हिन्दी फिल्ममा काम गरिन् । मनिषा कोइरालाबाहेक भारतीय टीभीमा धेरै नेपाली र नेपाली मूलका व्यक्तिहरू छन् जसले भारतमा पर्दा पछाडि राम्रो काम गरिरहेका छन् ।

अनुपम खेरले चलचित्र ‘उचाइ’को सुटिङका लागि नेपाल आएर सुटिङ गरे

अनुपम खेर आफ्नो नेपालको अनुभवका बारेमा भन्छन्, “केही क्षेत्रमा पुग्न पक्कै गाह्रो हुन्छ तर मानिसहरू धेरै राम्रा छन् र धेरै सहयोग गर्छन् ।”

“त्यहाँको पर्यटनलाई चलचित्रबाट फाइदा मिल्नुपर्छ । सगरमाथा हेरेर तपाईंलाई आफ्नो सानोपन महसुस हुन्छ, यो हिमालको अगाडि त हामी केही होइनौँ । यो जीवन नै फेरिदिने अनुभव थियो ।”

सुरज बडजात्या भारतबाट चलचित्र ‘उचाइ’को छायाङ्कनका लागि नेपाल आएका थिए । उनी भन्छन्, “तपाईंलाई पहाडसँग प्रेम छ भने नेपाल स्वर्ग हो ।”

‘जोनी मेरा नाम’देखि ‘इस्क, इस्क इस्क’सम्म

यदि देव आनन्दमा नै फर्किने हो भने ‘हरे रामा हरे कृष्णा’पछि उनी जिनत अमानसँग फिल्म ‘इस्क, इस्क इस्क’का लागि नेपाल आए ।

चलचित्रको छायाङ्कन नेपालका यस्ता दुर्गम स्थानमा भयो जहाँ मानिसहरू कमै पुग्न सक्थे ।

टेङ्गबोचे मोनास्ट्री एउटा तिब्बती बौद्ध मोनास्ट्री हो । यो ३,८६७ मिटरको उचाइमा बसेको छ । यो सगरमाथा बेस क्याम्पको बाटोमा पर्छ ।

यो चलचित्रमा सगरमाथाको माथिल्लो दृश्य निकै सुन्दर तरिकाले कैद गरिएको छ तर चलचित्र भने फ्लप भएको थियो ।

उनले सन् १९७० मा रिलिज भएको आफ्नो सुपरहिट थ्रिलर फिल्म ‘जोनी मेरा नाम’का केही भाग भक्तपुर र गोदावरी बोटानिकल गार्डेनमा सुट गरेका थिए । त्यसैले यो सम्बन्ध दशकौँ पुरानो हो ।

त्यस बेलादेखि आजसम्म हिन्दी चलचित्रहरू नेपालसँग जोडिने क्रम जारी छ ।

बीबीसी हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप