शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

दमका बिरामीले यसरी सावधानी अपनाऔँ

शनिबार, ०३ मङ्सिर २०७९, ०६ : ५१
शनिबार, ०३ मङ्सिर २०७९

लगातार तीन महिनाभन्दा बढी खोकी लागिरहेको छ भने ‘क्रोनिक ब्रोन्काइटिस’ हुन सक्ने चिकित्सकहरू बताउँछन् । त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार ‘क्रोनिक ब्रोन्काइटिस’ बढ्यो भने श्वासप्रश्वासमा बाधा हुन्छ, जसलाई  ‘सीओपिडी’ भनिन्छ ।

सीओपीडी दीर्घकालीन रोग पनि हुन्छ । सीओपीडी रोकथाम र उपचार गर्न सकिने दीर्घकालीन फोक्सोको रोग हो । यो रोग विश्वभर हुने मृत्युको कारणमध्ये तेस्रोमा पर्छ । यस रोगका कारण सन् २०१९ मा मात्रै ३२ लाख ३० हजार जनाको मृत्यु भएको थियो । सीओपीडीका कारण ७० वर्ष मुनिका मानिसहरूमा हुने मृत्युको झण्डै ९० प्रतिशत निम्न र मध्यम आय भएका देशहरुमा हुने गरेको छ ।

सीओपीडी हुनुको प्रमुख कारणहरूमा धूम्रपान, घरभित्र हुने धुलो, धुवाँ नै हो । यस्तै, विभिन्न उद्योग व्यवसायबाट उत्सर्जन भएका रसायन तथा हानिकारक कण मिश्रित हावा भएको वातावरणमा लामो अवधिसम्म रहँदा पनि सीओपिडीको समस्या देखिन्छ ।

यस्तै बालबालिकामा अनुवांशिक कारण फोक्सोलाई प्रभाव पार्ने घटनाहरूले सीओपीडी लगायतका विभिन्न कारणले श्वास नली साँघुरो भएमा, श्वास नलीका भागहरू नष्ट भएमा, खकारले श्वास नली अवरुद्ध भएमा, फोक्सोभित्र र बाहिर हावा प्रवाहमा कमी ल्याउने गर्छ र यो रोग निम्त्याउँछ । बिरामीमा निरन्तर खोकी लाग्ने, खकार बढी आउने, श्वासप्रश्वासमा कठिनाइ जस्ता लक्षण देखिन्छन् । यस्तै, यो रोग ४० वर्षभन्दा माथिका मानिसहरूलाई लाग्ने गर्छ ।

दीर्घकालसम्म धुवाँमा बस्ने, धूम्रपान गर्ने र विभिन्न किसिमका प्रदूषणमा बस्नेलाई सीओपीडी बनाउन सहयोग गर्छ । सीओपीडी बढेको ख्याल गरिएनभने फोक्सोनै खराब बनाउन सक्छ ।

चिसो मौसममा विभिन्न किसिमका भाइरसको इन्फेक्सन हुनेगर्छ । चिसो बढ्दै गएपछि सीओपीडीका बिरामी बढ्न सक्छन् । चिसो मौसम सुरु भएपछि स्वस्थ व्यक्ति पनि बिरामी पर्ने गर्छन् । जसमा खोकी लाग्ने, घ्यारघ्यार हुने, श्वासप्रश्वासमा समस्या देखिन्छ । यस्तै, जाडो मौसममा दाउरा, गुईठा बालेर ताप्ने चलनले पनि सीओपीडी बनाउन मद्दत गर्छ ।

कसरी थाहा हुन्छ ?

लामो समयसम्म खोकी लाग्ने, खकार आउने, छाती घ्यारघ्यार भएमा दम रोग लागेको हुन सक्छ । यस्तो शंका लागेमा समयमै पहिचान गरी चिकित्सकको सल्लाह अनुसार औषधि सेवन तथा इनहेलर थेरापी लिनुपर्ने चिकित्सकको भनाइ छ ।

अन्य औषधिभन्दा तान्ने औषधिमा जोड दिनुपर्ने चिकित्सकहरू सुनाउँछन् । उनीहरूका अनुसार तान्ने औषधिले नकारात्मक असर गर्दैन । यद्यपि यो औषधि चिकित्सकको परामर्शमा नियमित लिनुपर्छ । स्वास्थ्य जीवनशैली अपनाएमा यो रोगको रोकथाम र यसबाट हुने जटिलता कम गर्न सकिन्छ ।

यस्तै, ब्रोन्कियल दम एलर्जीको दम हो । विशेष गरेर एलर्जी दम १२ वर्षमुनिका बच्चालाई हुन सक्छ । बच्चा हुँदाको समयमा मात्रै नभएर पछिसम्म एलर्जी दम हुन सक्छ । ब्रोन्कियल दम हुँदा खोकी लाग्ने, घ्यारघ्यार हुने गर्छ । यस्तै, ब्रोन्कियल दम भएकाहरूलाई कुनै समय केही समस्या नभएको जस्तो हुन्छ ।

दम वंशाणुगत पनि हुन्छ । जस्तै बुबाआमालाई दम छ भने बच्चालाई हुने सम्भावना बढी हुन्छ । सानो बच्चाको छाती घ्यारघ्यार हुने, घाँटी बज्ने, खाना खान मन नगर्ने, कम चल्ने, एकै ठाउँमा बस्ने, कम बोल्ने जस्ता व्यवहार गरेमा कतै बालबालिकालाई दम भएको त होइन भनेर जाँचका लागि स्वास्थ्य संस्था पुर्‍याउनुपर्छ ।

धेरैजसो दम निको पार्न तथा नियन्त्रण गर्न सकिन्छ । सीओपीडी भएका व्यक्तिहरूले धूम्रपान गर्न नहुने चिकित्सकहरूको भनाइ छ । धूम्रपान गर्दा आफूलाई मात्र नभई वरपरका अन्य व्यक्तिहरूलाई पनि उत्तिकै असर पुर्‍याउँछ । नियमित व्यायाम गर्ने तथा बालबालिकालाई चिसोबाट बचाउने, हातखुट्टा छोप्ने गरी न्यानो लुगा लगाइदिनुपर्ने चिकित्सकहरू बताउँछन् ।

इन्हेलरको सही प्रयोग गरौँ

सीओपीडी र दमका बिरामीले तान्ने औषधि इन्हेलर सही रूपमा प्रयोग गर्न नजान्दा पनि समस्याले सताउन सक्छ । इन्हेलरमा औषधिको प्रयोग हुन्छ । जसलाई बिरामी आफैले मिलाएर तान्नु पर्छ । यद्यपि धेरै बिरामीले इन्हेलर प्रयोग गर्ने तरिका नजान्दा उपचार सही नहुने चिकित्सकहरू बताउँछन् ।

सही रूपमा प्रयोग नहुँदा रोग बेलाबेलामा बल्झिने गर्छ । त्यसैले स्वास्थ्यकर्मीले बिरामीलाई सही तरिकाले इन्हेलर तान्न सिकाउनु पर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप