स्वास्थ्य

जाडोमा बालबालिकालाई निमोनियाबाट यसरी जोगाऔँ

person explore access_timeमंसिर २, २०७९ chat_bubble_outline0

जाडो मौसम सुरु भएको छ । यो मौसममा विशेष गरी बालबालिकामा श्वासप्रश्वास, झाडापखाला र छालासम्बन्धी मुख्य गरी तीन समस्या देखिन्छ । 


कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा रामहरि चापागाईंका अनुसार बालबालिकालाई सबैभन्दा बढी रुघाखोकी, श्वासप्रश्वासजन्य समस्या देखा पर्छ, यसका कारणले छातीमा समस्या देखियो भने निमोनिया हुन्छ ।  



एक अध्ययनअनुसार विश्वमा प्रत्येक वर्ष पाँच वर्ष मुनिका ९ लाख २० हजार बालबालिकाको निमोनियाको कारण मृत्यु हुने गर्छ । राहिनो,  इन्फ्लुन्जा तथा रेस्पिरेटरी सिन्साईटीयल तीन थरी भाइरसका कारण  निमोनिया हुन्छ । 



बालबालिका र श्वासप्रश्वासजन्य समस्या 

चिसो मौसममा श्वासप्रश्वासजन्य रोग एकबाट अर्कोमा सर्ने हुँदा बालबालिकामा बढी समस्या देखिन्छ । जाडो मौसममा बालबालिकाहरू प्रायः धेरै एकै ठाउँमा बस्ने हुँदा सरुवाजन्यहरू रोग सर्ने गर्छ ।

गर्मी याममा झैँ झ्याल ढोका खुल्ला नराखी बस्दा सङ्क्रमणजन्य रोगका कीटाणुले आक्रमण गर्ने सम्भावना उच्च हुन्छ । प्रायः जाडोमा सबै जना एकै ठाउँ गुजमुज्ज भएर बस्ने चलन हुन्छ । यसले श्वास प्रश्वाससम्बन्धी विभिन्न किसिमका कीटाणुहरूको सङ्क्रमण हुन्छ । 

श्वासप्रश्वासमा समस्या गराउने जीवाणुहरू जाडो मौसममा लामो समयसम्म बाच्ने हुँदा पनि बालबालिकालाई बढी समस्या देखिन्छ । यस्तोमा बच्चालाई लुगा दुई÷तीन वटा लगाइदिने तर, हातखुट्टा खुल्ला राख्दिने गर्दा पनि चाँडो बिरामी पर्छन् । बच्चालाई न्यानो लुगा लगाइदिएर उनीहरू बस्ने कोठा भने खुल्ला राख्नुपर्छ ।  

कस्तो अवस्थामा अस्पताल जाने

बच्चालाई लामो समयसम्म रुघाखोकी लागेमा, चाँडो चाँडो छाती चली श्वासप्रश्वासमा समस्या भएमा, धेरै ज्वरो आउने भएमा चिकित्सकको सल्लाह लिएर मात्रै औषधि सेवन गराउनुपर्छ । 

अभिभावकले आवश्यकताभन्दा बढी बालबालिकालाई चिकित्सकको सल्लाह विना कफरिक ख्वाउने गरिन्छ । यो औषधि कम गुणस्तारको हुँदा विभिन्न देशमा स्वास्थ्यमा समस्या उत्पन्न समेत भएको थियो । त्यसरी औषधि नख्वाएर बच्चालाई अस्पताल लैजान डा चापागाईंको सुझाव छ । 

के निमोनिया दोहरिन्छ ?

एक पटक निमोनिया भएपछि पुनः निमोनिया हुन्छ भन्ने धेरैको बुझाइ छ । बालरोग विशेषज्ञका अनुसार एकपटक निमोनिया भएपछि अर्को पटक हुन्छ भन्ने भ्रम हो । रुघाखोकी जुन देशका नागरिकलाई पनि लाग्छ । नेपाल मात्र होइन, अमेरिकाका बालबालिकालाई पनि वर्षमा १०÷११ पटक रुघाखोकी लाग्छ । 

रुघाखोकी लागेको बच्चालाई खानपानमा ध्यान नदिँदा, राष्ट्रिय खोप कार्यक्रम अन्तरगतका खोप नलगाउँदा, बालबालिका कुपोषित हुँदा, रोगविरुद्ध लड्ने क्षमता कम हुँदा छातीमा सङ्क्रमण भएर निमोनिया हुन्छ । 

यद्यपि एकपटक निमोनिया भएपछि पटक पटक निमोनिया हुँदैन । लामो समयसम्म कडा खालका औषधि सेवन गरेका बच्चाहरूलाई धेरै पटक निमोनिया हुन सक्छ । त्यसबाहेक एकपटक सानोमा निमोनिया भएका बच्चालाई खोकी लाग्दैमा निमोनिया हुन्छ भन्नु भ्रम पाल्नु मात्रै हो । 

बालबालिकालाई खोकी लाग्नु, ज्वरो आउनु, घ्यार घ्यार हुनु, चाँडै चाँडै श्वास फेर्नु, बच्चा सुस्ता गतिमा चल्ने, खेल्ने, बोल्ने गर्नु, बच्चा नीलो हुनु लगायतका लक्षण देखियो भने निमोनिया हुन सक्छ । 

जुनसुकै रोगको उपचार: सरसफाइ

बालबालिकामा देखिने जुनसुकै रोगको उपचार भनेको सरसफाइ हो । गर्मीमा भन्दा जाडो मौसममा बच्चाहरूको सरसफाइ कम गरिन्छ । त्यसैले, बच्चाहरूलाई श्वासप्रश्वासको बढी समस्या हुने तथा अन्य रोगहरू लाग्छ । 

निमोनियाबाट बचाउनका लागि पहिला कुरा बच्चाहरूको सरसफाइमा ध्यान दिनुपर्छ । यस्तै, बालबालिकाको खानपानमा जति ध्यान दियो, त्यति नै रोग लाग्नबाट बच्चालाई बचाउन सकिन्छ । 

खोपले निमोनिया रोकिँदैन 

निमोनियाको खोप लगाएर मात्रै निमोनिया हुनबाट बालबालिकालाई जोगाउन सकिँदैन । यदि बालबालिकालाई दादुरा विरुद्धको खोप नलगाइएमा उनीहरूलाई निमोनिया हुन सक्छ । 

त्यसैले निमोनिया हुने सम्भावना कम गर्न बालबालिकालाई राष्ट्रिय कार्यक्रममा अन्तर्गतका सबै खोप लगाउनुपर्छ । बच्चाहरूलाई राष्ट्रिय खोप अन्तर्गतको ६, १० र १४ हप्ता हुँदा लगाउने एच इन्फ्लुन्जी बी लगाउनुपर्छ । 

यस्तै बच्चालाई ६ हप्ता, १० हप्ता र ९ महिनामा दिइने पिसिभि खोप, परटुसिस खोप ९ र १५ महिनासम्म लगाउनुपर्छ । निमोनिया हुने सम्भावनाबाट बचाउन बच्चा ६ महिना पुरा भएपछि  इन्फ्लुन्जाको खोप एक÷एक वर्षमा लगाउन चिकित्सकहरू सुझाव दिन्छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार इन्फ्लुन्जा खोप सरकारको कार्यक्रमभित्र पर्दैन ।  यदि सम्भव छ भने बालबालिकालाई निमोनियाको खोप लगाइदिँदा पनि हुन्छ । 

चिसोबाट बालबालिकालाई जोगाउने

बालबालिकालाई चिसोबाट जोगाउन टाउको न्यानो बनाएर कान छोप्ने गरी टोपी तथा हातखुट्टामा चिसो नपस्ने गरी कपडा लगाइदिनुपर्छ । आमाले स्तनपान गराउँदा बच्चा न्यानो वा चिसो कस्तो छ, ख्याल गर्नुपर्छ । नवजात शिशुको हातखुट्टा, तालु छाम्दा आमाले चिसो भए नभएको थाहा पाउन सक्छन् । 

प्रशस्त मात्रामा झोलिलो पदार्थ ख्वाउनु पर्छ । नियमित रूपमा बालबालिकालाई स्तनपान गराउनुपर्छ । जसले गर्दा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढी हुन्छ । आमाको दूधसँगै थप सन्तुलित पौष्टिक आहार पनि ख्वाउनु पर्दछ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।