सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्रीका दाबेदार शर्मा भन्छन्, ‘मसँग कर्णाली बनाउने प्रष्ट भिजन छ’

शनिबार, २६ कात्तिक २०७९, १३ : १९
शनिबार, २६ कात्तिक २०७९

०४१ सालमा अनेरास्ववियूको राजनीति प्रवेश गरेका राजकुमार शर्मा आसन्न निर्वाचनमा रुकुम पश्चिम (ख) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार छन् । जनयुद्धताका साबिक कर्णालीका थुप्रै जिल्लाको नेतृत्व सम्हालेका शर्मा पहिलो पटक संसदीय निर्वाचनमा भाग लिन लागेका हुन् ।

नेकपा एमालेबाट प्रदेश इञ्चार्ज यामलाल कँडेल र कांग्रेसबाट जीवनबहादुर शाहीले आफूलाई मुख्यमन्त्रीको आकाङ्क्षीका रूपमा प्रस्तुत गरिसक्दा माओवादीबाट शर्माको नाम अग्रस्थानमा छ । क्रान्तिबाट खारिएका शर्माको राजनीतिक यात्रा निकै सङ्घर्षशील छ । आफूभन्दा ‘जुनियर’ नेताहरूले विभिन्न पद ओगटिसक्दा शर्मा संसदीय निर्वाचनमा पहिलोपटक चुनावी मैदानमा होमिएका हुन् ।

शर्मा यसअघि माओवादी केन्द्रको प्रदेश अध्यक्ष थिए । ०२८ सालमा रुकुमको चौरजहारी नगरपालिकाको खोलागाउँमा जन्मिएका उनी सानैदेखि निर्दल र बहुदलको बारेमा चासो राख्दथे । त्यसपछि २०४१ सालमा शर्माकै घरमा आयोजित विद्यार्थीको क्षेत्रीय सम्मेलनमा सहभागी बनेका उनी त्यसपछि राजतन्त्र विरुद्धमा वकालत गर्दै राजनीतिमा उदाए ।

शर्मा स्कुल पढ्दाताका ०४३ सालमा सदरमुकाम पुगेर विद्यार्थीको इकाई कमिटी सदस्य भएर काम गरेपछि उनी राजनीतिमा बिस्तारै आफ्नो प्रभाव बढाउँदै गए । ०४६ मा आएर उनले मोटो मसालको पार्टी सदस्यता प्राप्त गरे । त्यो बेलामा सबैले पार्टीको सदस्यता पाउन सक्ने वातावरण थिएन । ०४७ सालदेखि पूर्णकालीन रूपमा राजनीतिमा होमिएका थिए ।

‘०४६ सालमै जनयुद्ध सुरु गर्ने भन्ने थियो,’ उनले भने, ‘त्यसबेला परिस्थिति बस ०४६–४७ को आन्दोलन सुरु भयो र जनयुद्ध सुरु हुन सकेन । त्यसपछि ०४८ सालमा जनमोर्चा दर्ता गरेर चुनावमा भाग लिएका थियौँ । तर रुकुममा भने पराजित भयौँ ।’ उनका अनुसार त्यही समयबाट यो संसदीय व्यवस्था भनेकै ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने थलो हो’ भन्ने सुरुवात भएको हो रे । 

केही दिन अघि उनको गाउँ चौरजहारी पुग्दा उनले राजनीति संघर्षताका भोगेका अनुभव सुनाउँदै भने, ‘०४८ सालमै सर्वहारावादी श्रमिक संगठन, पातलो मसालको केही हिस्सा, मोटो मशाल र मसाल गरी नेपाल कम्युनिस्ट पार्टी एकता केन्द्र भयो र बाहिर भने जनमोर्चा भन्ने गरियो । मेरै अगुवाइमा त्यो बेलादेखि जनपरिचालन गरेर विकास निर्माणका कामहरू गरिएका थिए ।’ 

०५० सालमा महतको फूलबारी जङ्गलमा ४५ दिने ट्रेनिङ गरेर फौजी आधार तयार गरिएको उनले बताए । महतको फूलबारी जङ्गल कुनै समय निकै चर्चामा थियो । ‘त्यो बेला जनयुद्ध सुरु हुन्छ, हुँदैन भन्ने कुराले निकै चिन्ता हुन्थ्यो,’ उनले भने,‘ जब पार्टीले जनयुद्धको सुरुवात गर्‍यो त्यस्तो खुसी कहिल्यै भइएको थिएन ।’ 

​..जब आफ्नै कमाण्डर गोली लागेर आँखै अगाडी ढले

 ०५२ साल पौष महिनाको कुरा हो, डोल्पाको त्रिवेणी चौकी आक्रमण गर्ने योजना बन्यो । विजय घले फौजी कमाण्डरको अगुवाइका शर्मा लगायतका नेताहरू त्रिवेणीतर्फ लागे । 

‘भू–भाग हाम्रै भए पनि डोल्पाको नै भन्ने गरिएको थियो,’ शर्मा भन्छन्,‘ मेरो त्यो पहिलो लडाइँ थियो । हामीसँग एउटा राइफल मात्रै थियो, त्यो पनि खियाले खाएको । जसको नाम होलटाइमर राखिएको थियो । उक्त हतियार देशैभर घुम्थ्यो ।

साथमा प्रेसर कुकुर बम पनि थियो । सेन्ट्री कब्जा गर्ने र हतियार खोस्ने योजनासहित गएका हामीभन्दा पहिला नै प्रहरीले जानकारी पाएर फायरिङ गर्‍यो । हाम्रो तर्फबाट फायरिङ गर्दा ठाउँमा लागेन । 

हामीले प्रतिकार गरेपछि प्रहरीले समय माग्यो तर त्यो पोजिसन चेन्ज गर्नका लागि पो रहेछ । कमाण्डर विजय घले छतका चढ्नुभयो । प्रहरीको गोली लागेर शहीद बन्नुभयो । त्यो दिनमा निकै रोएँ । मेरो बुबाको निधन हुँदा पनि त्यत्ति रोएको थिइनँ ।’ 

त्यसपछि ०५४ साबिक कर्णालीका जिल्लाहरूमा विभिन्न कमाण्डको नेतृत्व सम्हालेका शर्मा ०५८ पछि मुगु र डोल्पाको नेतृत्व गरे । 

०६१ दैलेख झरेका उनी शान्ति प्रक्रियासम्म दैलेखमा रहेर काम गरेका थिए । शान्ति प्रक्रियापछि थारुवाङ राज्यको प्रमुख भएर काम गरे । त्यो भनेको दाङ–कञ्चनपुर राज्य । ०६७ सालपछि नेवा: राज्यमा रहेर काम गरेका उनी केन्द्रीय प्रचार विभागमा रहेर काम गरिसकेका छन् । 

शर्मा ०७४ मा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख भएर काम गरिसकेका छन् भने पार्टीको जिल्ला इञ्चार्ज हुँदै प्रदेश अध्यक्षको भूमिका निर्वाह गरिसकेका व्यक्ति हुन् । 

‘प्रचार नगरेपनि चुनाव जित्छु’

शर्मा कांग्रेस, समाजवादी र माओवादीका साझा उम्मेदवार हुन् । कांग्रेसले त्यहाँ भाग खोजेको थियो । तर प्राप्त गर्न सकेन । जसका कारण कांग्रेसबाट अन्तर्घात हुनसक्ने आङ्कलन गरिएको छ । तर पनि शर्मा आफ्नो जीत सुनिश्चित भएको दाबी गर्छन्  । ‘पहिले एक्लै हुँदा प्रतिस्पर्धा हुन्थ्यो । अहिले के छ र प्रतिस्पर्धा नै छैन भन्दा हुन्छ,’ उनले रातोपाटीसँग भने, ‘जनताको मनोविज्ञान तैँले पनि प्रचार गर्नू पर्छ र ? भन्ने छ ।’ 

शर्माको प्रतिस्पर्धीका रूपमा एमालेका बलदेव रेग्मी र राप्रपाका निर्जल केसी छन् ।  माओवादीको आधार इलाका भएका कारण यहाँ माओवादीको जनाधार बलियो । 

०७४ मा माओवादीका गोपाल शर्माले १८ हजार ५८७ मतसहित चुनाव जितेका थिए । यो निर्वाचन क्षेत्र अन्तर्गत मुसिकोट नगरपालिकाको १२, १३, १४ नम्बर वडा, चौरजहारी नगरपालिका, त्रिवेणी तथा सानीभेरी गाउँपालिका पर्दछन् । 

गत स्थानीय तहमा प्राप्त मत अनुसार माओवादी केन्द्रको १८ हजार ५१०, कांग्रेसको १४ हजार ५४२ र एमालेका उम्मेदवारले प्राप्त गरेको मत भनेको १ हजार ९१७ हो । यो हिसाबमा माओवादी नेता शर्मालाई चुनाव जित्न सहज देखिन्छ ।

‘कर्णाली बनाउने मसँग प्रष्ट भिजन छ’ 

शर्माले रुकुमको उदाहरण दिँदै जनपरिचालन बिना समृद्धि नआउने तर्क सुनाए । ‘हामीले रुकुम पश्चिममा पहिलो पटक गाडी ल्याउन जनपरिचालन गरेर नै आयो, धेरै बाटाहरू जनपरिचालन गरेर नै खन्ने काम भयो,’ उनले भने, ‘हाम्रो त्याग तपस्या, वैचारिक राजनीतिक अवस्थाले यहाँका जनताले बुझेकाले हामीलाई चुनाव जित्न सहज छ र समाजवाद यात्राको थालनी भएको छ ।’ 

शर्माले आफू प्रदेश सभाको उम्मेदवार भएकाले आफ्नो एजेण्डा भनेकै ‘कर्णाली समृद्धि’ को भएको बताए । ‘रुकुममा समृद्धिको आधार तय भइसकेको छ अब कर्णालीमा समृद्धिको आधार तय गर्नु मेरो पहिलो एजेण्डा हो,’ उनले रातोपाटीसँग भने ।

त्यसका लागि कर्णालीको साधन स्रोत परिचालन र चिन्न सक्ने दक्ष जनशक्ति उत्पादनसहितको ‘एकीकृत कर्णाली विकास मोडेल’ बनाएर अघि बढ्नु बाहेक विकल्प कर्णालीसँग नभएको शर्मा बताउँछन् । ‘आत्मनिर्भर कर्णाली चाहिएको छ, प्राकृतिक हिसाबले धनी हुँदाहुँदै पनि हामी परनिर्भर भयौँ, मगन्ते जस्तो भयौँ,’ शर्माले आफ्नो कर्णाली विकास मोडेल सुनाउँदै भने, ‘यहाँ पर्यटन छ, यार्सादेखि बहुमूल्य जडीबुटी छ भने भेरी र कर्णाली खेर गइरहेको छ ।’ 

सङ्घीयतालाई बलियो बनाउनका लागि अझै संघर्ष गर्नुपर्ने तर्क उनको छ । प्रदेशलाई आत्मनिर्भर गराउनका लागि सबैभन्दा पहिला साझा अधिकार र एकल अधिकारका विषयमा कानुनी संघर्ष चाहिएको उनको भनाई  छ । ‘प्रदेश राजधानीमा भवन बनाउन संघको अधिकार हुनुपर्ने यस्तो खालको संघीयताको खासै अर्थ रहँदैन,’ उनले भने । 

उनका अनुसार तीन तहका सरकार, जनताबीच तालमेल, त्यसको एकीकृत र केन्द्रीकृत अभिव्यक्ति बिना कर्णाली समृद्धि हुन सक्दैन । उनले हिजो जनयुद्धमापनि कर्णालीका विभिन्न जिल्लाहरूको नेतृत्व गरेका कारण जनताको समस्या, अवस्था र सम्भावनाको अध्ययनबाट आफू पछि नरहेको बताए ।

‘त्यसो भएको हुनाले एउटा प्रदेशको सांसदले नेतृत्वमा इच्छा राख्ने कुरा अन्यथा होइन, सामान्य हो,’ आफू नै प्रदेशको नेतृत्वमा आउन चाहेको सङ्केत गर्दै उनले भने, ‘भइरहेको कुरालाई व्यवस्थित र सञ्चालन गर्न सके कर्णालीलाई समृद्धिको मार्गमा अघि बढाउन सकिन्छ ।’ 

उनी भन्छन्, ‘आर्थिक समृद्धि र सामाजिक रूपान्तरणको नारा हामीले ल्याएका हौँ । मेरो चुनावी प्रतिबद्धता नै यही हो, व्यवस्था परिवर्तन गरेपनि मुख्य कुरा जनताको अवस्था परिवर्तन गर्ने हो, त्यो जनपरिचालनका माध्यमबाट ल्याउन सकिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप