शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

देवदह घटना : विवाहेत्तर सम्बन्धका कारण हत्यापछि आत्महत्या

डेढ पाने ‘सुसाइड नोट’
सोमबार, २१ कात्तिक २०७९, २२ : ३३
सोमबार, २१ कात्तिक २०७९

रुपन्देहीको देवदह नगरपालिका–५ स्थित पाल्पाली टोलमा सोमबार बिहान दम्पती मृत भेटिए । घर भित्रबाट चुकुल लगाएको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मीमगर र उनकी पत्नी ३२ वर्षीया हेमकला जोल्मी मगर मृत भेटिएका हुन् ।

कतारबाट छुट्टीमा आएको चौंथो दिनमा संसारबाट विदा भएका बोलिन्द्रले पत्नीको हत्या गरेर आफूले आत्महत्याको बाटो रोजेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । ‘घटनास्थलमा बाहिरबाट कसैको प्रवेश देखिँदैन’ इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी भन्छन्– ‘प्रारम्भिक अनुसन्धानबाट हत्यापछि आत्महत्या गरेको देखिन्छ ।’

बोलिन्द्रका ८ वर्षीय छोरा छन् । संसारबाट बिदा हुनुअघि बोलिन्द्रले आफ्नी आमालाई छोराको ‘ख्याल गरिदिन्’ आग्रह गरेका छन् । आफ्नो साथमा रहेको ५ तोला सुन बेचेर छोरालाई लालन पालन गरिदिन आग्रह गर्दै बोलिन्द्रले सुसाइड नोटमा ‘विवाहेत्तर सम्बन्ध’को बारेमा उल्लेख गरेका छन् ।

अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतका अनुसार उनले करिब डेढ पाना लामो नोटमा लेखेका छन्–‘...केटाको कारण परिवार बर्बादितिर गयो अनि, मैले अप्रिय निर्णय लिन बाध्य भएँ ।’ पत्नीले विवाहेत्तर सम्बन्धमा राखेको थाहा पाएपछि दम्पतीको बीचमा विवाद भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

पत्नी र परपुरुषको बीचमा सम्बन्ध रहेको थाहा पाएपछि विदेशबाट आएको ४ दिनमा नै उनले पत्नीलाई हत्या गरेर आफूले आत्महत्याको बाटो रोजेका छन् । मुक्काले हिर्काएर पत्नीको हत्या गरेर तन्नामा पोको पारेका बोलिन्द्रले आफ्नो हातका नशाहरु पेन्सिल सार्पनरको ब्लेडले चिरेको भेटिएको छ । ब्लेडले नशा काटेर पंखाको हुकमा झुण्डेर उनले आत्महत्या गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।

प्रहरीका अनुसार बोलिन्द्र्रले पत्नीको हत्या गर्दा कुनै हतियार प्रयोग गरेका छैनन् । उनीहरूको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । विवाहेत्तर सम्बन्धका कारण आफ्नो प्रतिष्ठामा आँच आएको बोलिन्द्रले आफ्नो सुसाइड नोटमा उल्लेख गरेका छन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप