‘मङ्सिर ४ पछि माधव नेपालको पार्टी कार्यालय उठ्नेवाला छ’
प्राविधिक र सैद्धान्तिक ज्ञानका जानकार रहेका नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल पार्टी सङ्गठन निर्माणमा बाहिरी रूपमा त्यति धेरै नदेखिए पनि आन्तरिक हिसाब किताब र अन्तरपार्टी जोडघटाउमा व्यस्त रहन्छन् । उनै रिमालसहितको नेतृत्वले झन्डै चार महिना लगाएर लेखेको एमालेको घोषणापत्र बोकेर एमालेका उम्मेदवारहरू मत माग्न हिँडिसकेका छन् ।
एमाले नेताहरूले आगामी निर्वाचनमा १५० सिटसहित बहुमत ल्याउने दाबीसमेत गरेको अवस्थामा त्यसको बस्तुगत धरातल के छ ? एमालेमा एकसेएक नेता हुँदाहुँदै भावी प्रधानमन्त्रीमा अध्यक्ष ओली नै किन ? लगायतका प्रश्न रातोपाटीले नेता रिमाललाई सोधेको छ । प्रस्तुत छ फणिन्द्र नेपाल र शिव सत्यालले रिमालसँग गरेको कुराकानी :
मङ्सिर ४ मा मतदान गर्ने मिति आउन अब २ साता मात्रै बाँकी छ । यस्तो अवस्थामा नतिजा आफ्नो पक्षमा पार्न एमाले र पार्टीका उम्मेदवारहरू केकस्तो रणनीति बनाएर जनतामाझ पुग्दैछन् ?
एमाले अहिले निर्वाचनको एजेन्डा प्रचार गर्ने चरणमा प्रवेश गरेको छ । कात्तिक १५ गतेअघिसम्म हामी एजेन्डा सेटिङमा थियौँ । एजेन्डा सेटिङ गर्ने क्रममा हाम्रो अध्यक्षले सबै दलका नेताहरूलाई त्यसमा पनि बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवालाई बहसमा आउन आह्वान गर्नुभएको थियो । तर उहाँहरू त्यो बहसमा नआई भाग्न चाहनुभएपछि हामी आफैँले बहस र छलफल गर्यौँ । जब १५ गते हामीले हाम्रो घोषणापत्र जारी गर्यौँ, त्यसपछि हामी दायाँबायाँ नगरी हाम्रै घोषणापत्रका आधारमा दौडन्छौँ भनेर भन्यौँ ।
घोषणापत्र निर्माणका क्रममा हामीले सयौँ मानिसहरूसँग सुझाव लिएका छौँ, त्योअनुसार यो घोषणपत्र किन ठीक छ र किन एमालेलाई भोट दिनुपर्छ भनेर जनतालाई स्पष्ट पार्न चाहन्छौँ । हामीले घोषणापत्र जुन दिन सार्वजनिक गर्यौँ त्यही दिन पनि धेरै मानिसले थाहा पाउनुभयो भन्ने हामीलाई विश्वास छ । तपाईंहरू जस्तो लोकप्रिय सञ्चारमाध्यमले पनि राम्रैसँग प्रचार गरिदिनुभयो भन्ने हामीले पाएका छौँ ।
त्यसो भएकाले कात्तिक १७ गतेबाट निर्वाचन आचारसंहिताअनुसार हामी खुला रूपले आमसभा, कोणासभालगायतका कार्यक्रममा जान पाएका छौँ । ती सभाहरूमा जाँदा पहिलो हाम्रा एजेन्डा भन्छौँ । दोस्रो कुरा एजेन्डाभन्दा हामीले जसलाई उम्मेदवार बनाएका छौँ ती मानिसहरू एजेन्डा बोक्न योग्य छन् है भनेर भारी बोक्नसक्ने गरी पठाउँछौँ । यो भइसकेपछि जनताले हामीलाई भोट हाल्छन् भन्नेमा विश्वस्त छाँै । त्यसकारण निर्वाचन प्रचारको चरण हेर्दै जाँदा एजेन्डा अनि छापको चरण नै हुने हो । त्यसैले एजेन्डाका प्रत्येक बुँदाबारे भन्दै जनतामाझ सिङ्गो पार्टी र उम्मेदवारहरू जाँदैछन् । बुधबार मात्रै पनि एउटा कार्यक्रम भयो, जसमा हाम्रो अध्यक्षले देशभरिका सबै उम्मेदवारहरूलाई जुममा जोड्नुभयो । उनीहरू सबैलाई कुन तरिकाले जनतालाई घोषणापत्रको विषय बताउने भनेर प्रशिक्षण दिनुभएको छ ।
हामीले यो पटक गठबन्धनको खण्डन र विरोध गर्ने कुरा केही पनि लेखेनौँ । त्यो जरूरी पनि ठानेनौँ, किनभने यसमा अल्झेर केही काम छैन पनि । त्यसकारण हामी आफ्नो कुरा भन्दैभन्दै अघि बढ्छौँ ।
घोषणापत्र सार्वजनिक गरेको भोलिपल्टै अध्यक्ष केपी ओलीले यो निर्वाचनमा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्छ भन्नुभयो, आफ्ना एजेन्डा भन्नेबेलामा यस्तो धम्की किन ?
यदि एमालेलाई भोट दिइएन र एमालेको सरकार बनेन भने अहिलेको जस्तै गठबन्धन बन्छ । यो गठबन्धनमा गन्तव्य पनि छैन, नेता पनि छैन । कुनै विचार एजेन्डा पनि छैन, नेता पनि छैन । बरु गठबन्धन ट्राफिक लाइट नमान्ने ड्राइभरहरू बसेजस्तो छ । दायाँ जाने कि बायाँ जाने भनेजस्तो भएकाले त्यस्तो हुँदा दुर्घटना हुनसक्छ भनेर सचेत गराएको हो । त्यसलाई धम्की मानेर धारणा बनाउनु गलत हो । हाम्रो अध्यक्षले भनेको त्यस्तै एउटा व्यापारीलाई ल्याएर बजेट बनाउने खालका मान्छे राख्ने हो भने त देश डुब्छ भनेको हो । देश नडुबाउन एमालेको सरकार चाहिएको हो, देशलाई बर्बाद नगरौँ है भनेर आग्रह गरेको हो ।
–एमालेले यो चुनावमा १५० सिट जितेर सरकार बनाउँछ भनेर नेताहरूले भनिरहेको सुनिन्छ । यो कुरा कति वैज्ञानिक छ ? आन्तरिक हिसाबकिताबअनुसार नै भनिएको हो ?
हो, म यहाँहरूलाई दुविधा नहोस् भनेर प्रस्ट पनि पार्न चाहन्छु कि हामीले अहिलेको पपुलर भोटमा ६ प्रतिशत मत वृद्धि गर्ने लक्ष्य राखेका छौँ । हाम्रो काम र प्रचारबाट जनताले पत्याउनुभयो भने ६ प्रतिशत मत बढ्छ भन्ने हाम्रो विश्वास हो । त्यो भयो भने हामीले बहुमत देऊ भन्नुपरेन जनताले स्वतः बहुमत दिइहाल्नुभयो । ६ प्रतिशत लोकप्रिय मत वृद्धि भएन भने त्यहीअनुसारको हाम्रो सङ्ख्या घट्छ हामीले चाहेभन्दा बढी सङ्ख्या आउँदैन । त्यसकारण यसमा हामीले वैज्ञानिक ढङ्गले नै व्याख्या गरेका हौँ । जसरी पनि आउँछ, नकराउनुस्, जित्छौँ क्या जित्छौँ त हामीले भनिरहेका छैनौँ । टार्गेट राखेका छाँै । हाम्रो प्रचारबाट ६ प्रतिशत पपुलर मत बढ्नु भनेको हामीले जित्नु हो । अर्को, पहिलेको संरचना त छँदैछ । हाम्रो प्रतिस्पर्धा भनेको सत्ता गठबनधनसँगै हो । उहाँहरूले भागबन्डा गरेको र आफूले जित्ने अपेक्षा कति राख्नुभएको छ, त्यो पनि हामीले हेरेका छौँ ।
गठबन्धनले कति जित्ने अपेक्षा रहेछ भनिदिनुस् त ?
कांग्रेसको ९१ सिट हो, त्यसमा ४५ सिट जित्छौँ भनेका छन् । बाँकी कसले जित्छ त ? त्यही जोड्यो भने थाहा हुन्छ । अर्को माओवादीको जम्मा ४६ हो त्यसमा पनि घटाएको छ । त्यसमध्ये माओवादीले १५ देखि २५ सिटको बीचमा जित्छौँ भनेर भन्नुभएको छ । जित्ने २५ सिट, फेर्ने संविधान भनिरहनुभएको छ । त्यो कुरा कसले पत्याउने ? कसैले पत्याउँदैन । जनताले प्रतिशत पनि हेर्ने होलान् । माधव नेपालको हकमा १७ सिटमा एक दुई सिट जित्ने भनेर उहाँहरूले नै भनिरहनुभएको छ । यो सबै डाटा र तस्बिरले के सन्देश दिइरहेको छ त ? यो कुरा हामीले भनेको होइन, उहाँहरूले नै भनेको हो । उल्टोबाट गन्दा पनि हामी नै बहुमतमा देखिन्छाँै । त्यो उल्टो पनि छोडाँै । हामीले आफ्नो कुरा के भनेका छौ भने कम्तीमा ६ प्रतिशत मत बढाउँछौँ । त्यो ६ प्रतिशत मत बढ्नु भनेको बहुमतमा जान्छ, सबै स्ट्राटेजिस्टलाई हिसाब गर्न लगाए हुन्छ । सोलोडोलोमा एउटा हिसाब आउँछ । २०७४ मा आएको जनमत र गत स्थानीय चुनावमा आएको जनमत हेर्दा पनि हुन्छ ।
अहिलेको निर्वाचन र विगतको चुनावमा केही फरक अवस्था छ । जस्तो पार्टी चोइटिएको र गठबन्धनकै अवस्था पनि फरक छ, अनि फरक परिस्थितिमा कसरी हिसाब मिल्ला र ?
त्यो त पोहोर परारको कुरा भयो । जति क्षति हुने स्थानीय तहको निर्वाचनमा भयो । त्यसैले कुरा स्थानीय तहको चुनावबाटै सकियो । हिजोसम्म एमाले पस्दै हुनुहुन्छ माधव नेपालको पार्टीका केन्द्रीय सदस्यहरू । माधव नेपालको पार्टीमा त कोही पनि बाँकी छैनन् । अर्काको पार्टीको कुराभन्दा त राम्रो हँुदैन, तपाईंहरूको पनि त्यही सुझाव छ । तर तपाईंले के बुझ्नुस् भने मङ्सिर ४ पछि माधव कमरेडको पार्टीको कार्यालय नै उठ्नेवाला छ, त्यहाँ कसले भोट हाल्छ र ? तपाईं हामीले चाहेर पनि कसैले भोट हाल्नेवाला छैनन् । त्यो पार्टीको चिन्तै नलिनुुस् । अहिले नेतृत्व र सङ्गठनका हिसाबले सुदृढ पार्टी एमाले नै हो । गठबन्धनभित्र त कांग्रेस पनि दुईवटा छ । त्यो हामीले जोगाएर जोगिन्छ र ? एउटा देउवा कांग्रेस छ अर्को रुख छाप कांग्रेस छ । त्यहाँ भएको महाझमेलाले जित्ने, अलिअलि झमेलाले हार्ने भन्ने भनेर निष्कर्ष निकाल्न त मिल्दैन नि !
तपाईंले अघि पनि भन्नुभयो मङ्सिर ४ पछि माधव नेपालको पार्टी कार्यालय उठ्दैछ । यसले के देखाउँछ भने जनताको मन जित्नेभन्दा पनि अर्काको किलो उखेल्नेतिर एमाले लागेको त होइन ?
त्यसो होइन, तपाईंलाई यति धेरै चिन्ता किन लागेको हो ? मलाई थाहा भएन । तपाईंलाई माधव नेपालको बढी चिन्ता र खातिरदारी गर्न किन मन लागेको हो, मैले बुझिनँ । गर्न पनि पाइन्छ, फेरि त्यसमा म केही भन्दिनँ । पार्टी छान्ने हक पनि छ । तर मसँगको अन्तरर्वातामा त्यति धेरै किन खातिरदारी गर्नुपर्यो ? म त आफ्नै कुरा भनिरहेको थिएँ । मैले ६ प्रतिशत मत बढाउने भनिरहेको थिएँ । मधव नेपालको नाम लिएर रुन थाल्नुभयो !
म रोएको होइन, पार्टी विभाजनले असर गर्छ गर्दैन भनेर मात्रै सोधेको हो ?
भनिसकेँ त त्यो च्याप्टर नै क्लोज भयो । अहिले नेतृत्व र सङ्गठनको हिसाबले त यही एमाले हो । त्यसकारण तपाईं हामी नरोऔँ, उहाँ जानुभयो त जानुभयो । जान पाउँछन् मान्छे, किन रोइरहने ?
एमाले अध्यक्ष केपी ओली चुनावी अभियानमा देश दौडाहामा हुनुहुन्छ । एमालेले कमल थापादेखि राजेन्द्र लिङ्देन, हृदयेश त्रिपाठी र उपेन्द्र यादवको पार्टीसँग समेत चुनावी तालमेल गरेको छ । जबकि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले राजसंस्थासहितको हिन्दु राष्ट्र र प्रदेश संरचना खारेजलाई मुद्दा बनाएको छ । यो स्थितिमा कतिपय स्थानमा एमालेले राप्रपाकै एजेन्डामा मत माग्ने र दिने काम गर्नुपर्ने भयो होइन ?
यो प्रश्नमा तपाईंको बुझाइ कमजोर रहेछ भनौँ भने अवहेलना गरेजस्तो हुन्छ । तपाईंले सोधेको प्रश्न र निकालेको निष्कर्षको छेउटुप्पै मिल्दैन ।
कसरी ?
त्यसो भए गठबन्धन एउटै हो त ? तपाईंले सुल्टोबाट बुझ्नुभएन, उल्टोबाट भन्नुपर्ने रहेछ ! गठबन्धनमा रहेका सबैको धार एउटै हो त त्यसो भए ? त्यहाँ पनि फरक फरक होलान् ।
मैले सत्ता गठबन्धनको कुरा गर्‍या होइन, एमाले गठबन्धनको कुरा गर्‍या हो ?
हामीले के भनिरहेका छौँ भने एमालेले गठबन्धन गरेको छैन, केही स्थानमा तालमेल गरेको हो । हाम्रो एउटै घोषणापत्र पनि होइन । हामी आफ्नै घोषणापत्रमा भोट माग्छौँ । हाम्रो घोषणापत्रलाई पत्याउनेले हामीलाई भोट दिन्छन् । राप्रपाको घोषणापत्र पढेर भोट हालौँ भनेर भन्छौ र हामी ? अनि राप्रपाको अध्यक्ष राजेन्द्र लिङ्देनलाई अध्यक्ष दिन मिलेन उपाध्यक्ष बनाउँछौ भनेर हिँडेको छ र हाम्रो पार्टी ? छैन ।
त्यसो भए झापा–३ का आफ्ना मतदातालाई के भन्नुहुन्छ त ?
हाम्रो त्यहाँ तालमेल छ, राजेन्द्र लिङ्देनलाई भोट हाल्नुस् भन्छौँ ।
राजेन्द्र लिङ्देनलाई भोट हाल्नुस् भन्नु भनेको राप्रपाको एजेन्डा मान्नुजस्तै होइन र ?
तलामेल भनेको के हो त ? तपाईं मलाई यो प्रश्न गर्दै हुनुहुन्छ भने यो पूर्वाग्रही एमालेप्रति किन बन्नुहुन्छ ? हामीले केही ठाउँमा गरेको तालमेलले तपाईंलाई डेङ्गी लागेजस्तो हनहनी १०७ डिग्री ज्वरो पुगेको छ तपाईंलाई । अनि दुनिया लुटेर खाने गठबन्धन ठीक छ त ? यो प्रश्नै मिलेन, तपाईंले त एमालेले विचारधारा नै छोड्यो भनेजस्तो पूर्वाग्राही प्रश्न गर्नुभयो मित्र ! तर जनताले यसरी बुझ्दैनन् । जनताले के बुझ्छन् भने राजेन्द्र लिङ्देनसँग एमालेले चुनावी तालमेल गरेको रहेछ । किन गरेछ भन्दा देश लुट्ने गठबन्धन हराउन भनेर बुझ्छन् । चितवन–३ मा पनि हामीले आफ्नो उम्मेदवार उठाएका छैनाँै, किन उठाएनौँ भन्दा त्यहाँ पनि गठबन्धनलाई हराउन । चुनावमा दाउपेच पनि हुन्छ । हामीले १६५ नै जित्छौँ भनेका पनि छैनौँ । हामीलाई १६५ सिट जित्न पनि परेको छैन । हामी गठबन्धन विरोधीलाई सघाउँछौँ, कुरा त्यति हो ।
झापाकै प्रसङ्बाट अलि प्रस्ट बनौँ है । झापा–३ मा एमालेले राजसंस्थासहितको हिन्दू राष्ट्रको पक्षमा भोट मागेको होइन, र प्रदेश संरचना खारेजीका लागि पनि होइन ?
हामीले किन भोट मागेको हो भने त्यहाँ गठबन्धनको उम्मेदवार सारै खराब मान्छे छ, त्यो खराब मान्छेलाई हराउ भनेको हो । एमाले जस्तो पार्टीले राजतन्त्र सोच्छ ? कल्पना गर्नुस् त ! होहल्ला गरेर हिँड्ने पार्टीजस्तो होइन एमाले । सक्रिय राजतन्त्रको बेलामा आफ्नो सम्पूर्ण जवानी विताएर, जेल बसेर आएका छौँ । राजतन्त्र फ्याँक्न हिँडेका हाँै । ०४७ सालको संविधान जारी हुँदा २७ वटा असहमतिका बुँदा राख्ने पार्टी हो एमाले । २०६३ पछि हाम्रो अध्यक्षलाई तपाईंहरू आरोप लगाउनुहुन्छ नि ! बयलगाडा चढेर अमेरिका पुगिँदैन केपी ओलीले भन्यो भनेर । त्यतिखेर राजतन्त्रको पक्षमा रहेको कांग्रेसको नेतृत्वमा गणतन्त्र आउँदैन भनेर भनेको हो, त्यतिबेलाको समयमा ठीकै त हो, आउँदैन पनि थियो । जुन दिन राजतन्त्र छोड्ने भनेर गिरिजाबाबुले भन्नुभयो त्यही दिनबाट गणतन्त्रको बाटो सुरु भयो । राजतन्त्र निलम्बन गर्यौँ, गणतन्त्रको राष्ट्रपति बनाएनाँै । राजाले गर्ने काम राष्ट्रपति नभएकाले सबै गिरिजाप्रसादलाई दियौँ हामीले । हामी इमानदार छौँ, कहीँ तलमाथि गरेका छैनौँ ।
त्यतिबेलाका धेरै कुरामा अहिले नजाऔँ, अहिले पनि एमालेका केही नेताहरू प्रदेश संरचना खारेज गर्नुपर्छ भनिरहेका छन् । यो सुन्नेहरूले एमाले प्रदेश खारेज गर्नुपर्छ भन्ने लाइनमा पुगेको त होइन भनेर प्रश्न गर्न मिल्दैन ?
अहिले हाम्रो पार्टीका उम्मेदवारका बारेमा टिप्पणी गर्न नलगाउनुस् । त्यसकारण एमाले पार्टीको घोषणापत्रमा के भनिएको छ भन्ने महत्त्वपूर्ण हो । हाम्रो घोषणापत्रमा संविधानको प्रभावकारी र अर्थपूर्ण ढङ्गले कार्यान्वयन भनिएको छ । हामीले मलाई जिताउ जति सिट आए पनि संविधान संशोधन गर्छौं भनेको त छैन । १६५ सिट घटाएर समानुपातिक राखौँ पनि भनेको छैन । ५५ सदस्यको राष्ट्रिय सभा पनि भनेका छैनौँ । जित्ने कुनै चान्स नै नभएको जित्नुपर्ने वान थटको पार्टी, च्याँखे पार्टी । भन्ने ५१ प्रतिशत ल्याएर कार्यकारी राष्ट्रपति ? यस्ता हावादारी कुरा हामीले भनेकै छैन । हामी त यो संविधानलाई कार्यान्वयन गर्ने हो, अगाडि बढ्ने हो । काम गर्दै जाँदा जहाँ जहाँ अप्ठ्यारो पर्छ त्यसलाई समृद्धिको अधिवेशन टाइपबाट संशोधन गर्ने हो भनेको हो ।
तपाईंहरूको घोषणापत्रको सुरुमै सुशासन, विकास, समृद्धि र समानता भन्ने छ यो अत्यन्तै राम्रो पनि छ । घोषणाको भित्रतिर मङ्सिर ४ पछिको प्रधानमन्त्री केपी ओली भनेर पनि भन्नुभएको छ । पार्टीमा सक्रिय सदस्यता भएका १० लाख हाराहारी नेता कार्यकर्ता छन् । यति धेरै र क्षमतावान् नेता कार्यकर्ता भएको पार्टीले फेरि पनि ७० कटेका अध्यक्ष ओलीलाई नै प्रधानमन्त्रीमा अघि सार्नुपर्ने बाध्यता चाहिँ किन पर्यो ?
तपाईंलाई केपी ओली किन मन नपरेको हो यसको जवाफ दिनुुस्, म तपाईंलाईं १० वटा प्रश्नको उत्तर दिन्छु !
मलाई मन नपरेर होइन, बाहिर जनता र कतिपय एमालेकै कार्यकर्ताको प्रश्न पनि यही भएकाले सोध्या हो ?
बाहिरका मान्छेको त ओलीको पक्षमा लुँडो लागेको छ त ! ल दुईजना... । मैले माने, शेरबहादुर, केपी ओली, प्रचण्ड र माधव नेपाल चार जनालाई उभ्याउनुस् कसलाई जनताले मन पराउँछन् र कसको पक्षमा लँुडो लाग्छन् ? सबभन्दा लोकप्रिय नेता चाहिँ नहुने, त्यसको विरुद्ध तपाईंहरू लागिरहनुपर्ने । जो बोल्न पनि सक्दैन, जो चुप लागेर पनि बस्न सक्दैन, त्यसलाई नेता मान्नुपर्ने ? उसले लुकीलुकी प्रधानमन्त्री खान्छु भन्छ, उसका कुरा पत्याउनुपर्ने, गठबन्धनमा सबै प्रधानमन्त्री बन्ने युवा छन् त त्यहाँ ? को हुन त्यस्ता गठबन्धनमा मलाई बताउनुस् त एक पटक ? यो त त्यसैसँग जोडिएको प्रश्न भयो क्या !
एमालेमा अरू नेता नै नभएका हुन् भन्ने मेरो प्रश्न हो ?
एमालेमा किन नहुने ? एकसे एक छन् ।
उनीहरूको पालो कहिले आउने त त्यसोभए मात्रै भन्न खोजेको हो ?
तपाईं को हो ? तपाईं एमालेको क्यानिडेट हो ?
समानता भन्ने कुरा पार्टीमा चाहिँ लागू हुनुपर्दैन र भन्या ?
तपाईं बुझ्नुहुँदो रहेनछ । के समानता, यो समानता भन्ने कुरा प्रधानमन्त्री पालैपालो खाने भनेको होइन । माफ गर्नुहोला, अलि राम्रो पढनुपर्यो मित्र ! यसोभन्दा अफेन्ड गर्यो भन्नुहोला नराम्रो सुनिन्छ क्या बाहिर ! एउटा पत्रकारलाई नजान्ने भन्यो भन्ने हुन्छ । तपाईंले मलाई जिस्क्याएको भए त पचाइदिउँला !
तपाईंले मलाई नै बुझाउन सक्नुहुन्न त अरूलाई कसरी बुझाउनुहोला ?
नबुझ्नुभएको भए तपाईंले पढ्नुपर्यो । मेरो कुरा सुन्नुस् पहिला । सुशासन, समानता, विकास र समृद्धिको अर्थ बुझ्नुस् । समानता भन्ने कुरा पालैपालो प्रधानमन्त्री खाने भनेर बुझ्नुभयो भने भ्रमपूर्ण बुझाइ हो । एमालेको अध्यक्षले प्रधानमन्त्रीमा दोहोर्याउन नहुने भन्ने तपाईंको मनमा किन आयो ? यसको जवाफ चाहिन्छ ।
फेरि पनि भन्छु, एमालेमा यति धेरै योग्य र सक्षम नेता छन् भने ओलीलाई नै अघि सार्नुपर्ने बाध्यता किन आइलाग्यो भन्ने हो ?
जरुरी देखियो र हो । तर ज्वरो नै यही आयो के तपाईंहरूलाई । एमालेले जसलाई क्यानिडेट बनाउँछ त्यो चाहिँ नहुने अनि तपाईंले दिएको क्यानिडेट मान्नुपर्ने हुन्छ एमालेलाई ? जनताले जो रुचायो त्यसलाई छान्छ एमालेले । एमाले बुझ्ने पार्टी हो त ! के एजेन्डा राख्दा देश बन्छ र कसलाई क्यानिडेट बनाउँदा जित्छ भन्ने कुरा एमालेले बुझ्दैन ? हामीले जजसलाई टिकट दिएनौँ, त्यसलाई टिकट दिएन भनेर तपाईंहरू रुनुहुन्छ ! किन रुनुहुन्छ थाहा छैन । त्यसले जित्दैन र नदिएको हो, सिद्धियो । एमालेले कसलाई टिकट दिने, कसलाई उम्मेदवार बनाउने त्यो एमालेको अधिकार हो । एमालेले अधिकार प्रयोग गर्दा जनताले मन पराउँदैनन् भने जनताले भोट दिँदैनन्, सिद्धियो ! हामीले रोइकराई गरेका छौँ ? उफ्रीपाफ्री गरेका छौँ ? छैनौँ । त्यसकारणले गर्दा देशकै सबैभन्दा लोकप्रिय व्यक्तिलाई प्रधानमन्त्री बनाउन खोज्याभन्दा यस्तो प्रश्न गर्नुहुन्छ भने त लोकप्रिय व्यक्तिबाट देश त चलाउन नहुने भयो ! अस्थिरतातिर जानुपर्ने भयो । अस्थिर, खुट्टा टेक्न नसक्ने च्याँखेहरूलाई प्रधानमन्त्री बनाउनुपर्ने भयो । त्यसको विपक्षमा एमाले छ ।
तपाईं धेरै तातिनुभो । तर एमालेमाथि अर्को एउटा आरोप पनि छ । याक एन्ड यतिबाट घोषणापत्र सार्वजनिक गर्नुभयो । सहजकर्ता व्यावसायिक व्यक्ति थिए र कार्यक्रम सञ्चालक पनि व्यवसायी नै थिए । एउटा कम्युनिस्ट पार्टीले पाँचतारे होटलमा व्यावसायिक सहजकर्ता राखेर घोषणापत्र सार्वजनिक गर्दा वर्गीय धरातलबाट टाढा पुगेको हो कि भनेर केही विश्लेषकहरूको प्रश्न छ, के वास्तविकता पनि त्यही हो ? कृपया शान्त भएर जवाफको अपेक्षा गरियो है ?
यो विश्लेषकहरूको कुरा होइन, एमालेसँग डाहा गर्नेहरूको कुरा हो । यसको केही कारण नै भन्नुपर्दैन । नबुझ्नेहरूलाई के कारण दिनुपर्ने विषय नै होइन । जतिबेला म ट्रेड युनियनमा काम गर्थें, त्यसबेला जी–फन्टले घर बनायो । युनियनको घर त्यति अग्लो हुने ? भने । मैले त्यसको माओवादीहरूलाई धेरै जवाफ दिएको छु । म समाजवादका लागि लाग्ने मान्छे हुँ । आज चप्पल लगाएर हिँड्नेहरू भोलि नाङ्गै हिँड्ने होइन । समृद्धिका तीनवटा कुरा छन् । समानता तीनवटा हिसाबले व्याख्या गर्ने गर्छन् । एउटा असमान समानता । त्यो नेपाली कांग्रेसका मान्छेले भन्ने समानता । उनीहरूले पनि असमान राज्य भन्दैनन् । उनीहरूको समानताको अर्थ म धनी भएँ भने तैँले काम पाइहाल्छस् नि भन्ने हो । अर्को निरपेक्ष समानता । त्यो भनेको सबै डाक्टर, सबै इन्जिनियर, सबै मजदुर सबै मालिक, ठूलो भाडामा पकाएर बराबरी खाने समानता माओवादी टाइपको । त्यो पनि अहिलेको माओवादी होइन, पहिले पहिलेको माओवादी । अहिलेको माओवादीले के गर्छ थाहा छैन, यसले त केही पनि बुझ्दा पनि बुझ्दैन । पहिलेको माओवादीले ठूलो भाँडामा भात पकाएर बराबरी खाने भन्थ्यो त्यो भनेको निरपेक्ष समानता र गरिबीको वितरण हो । त्यो मार्क्सवाद विरोधी कुरा हो । मार्क्सवादले त योग्यताअनुसारको काम, कामअनुसारको दाम भन्छ । तर हामी चाहिँ समाज एकैचोटि उठ्नुपर्छ भन्छौँ, समाज सापेक्ष समानताको कुरा गर्छौं । बराबरी राज्यले दिनुपर्छ भन्छौँ, त्यो भनेको १८ वर्षसम्मकालाई शिक्षा, स्वास्थ्यको ग्यारेन्टी गर, वृद्ध भएपछि उनीहरूलाई भत्ता देऊ । अरू काम गर्नेहरूलाई काम दिएर योगदानमा आधारित बनाऊ भनिरहेका छौँ । त्यसो गर्दा एउटा ठाउँमा बराबर गर्ने, अरूमा योग्यताअनुसार कम्प्लिट गर भन्छौँ हामी । त्यसकारण कुन समानताको पक्षधरले प्रश्न उठायो सोच्नुपर्छ । गरेर देखाउन् त ! एमालेले गरेजस्तो गरेर देखाऊन् । याक एन्ड यति होइन, सुपर फाइभ स्टारमा गरेर देखाऊन् । उहाँहरू केपी ओलीको अगाडि बोल्नुहुन्छ ? टेक्नोलोजी बुझ्नुहुन्छ ? न कुरा बुझ्नुहुन्छ न उहाँहरूका पछाडि दुई जना मान्छे नै लाग्छन् ? कांग्रेस, माओवादी, माधव नेपालको पार्टीमा व्यावसायिक मान्छेले गरे हुन्छ नि किन डाहा ? हामी एमालेहरू आफूलाई राष्ट्रिय शक्ति बनाउनेगरी हिँडेका छौँ । राष्ट्रिय शक्ति भनेको एमालेका सदस्यले मात्रै बन्दैन । अघि नै आठ लाख तेरो सदस्य होइन भनेर सोधिसक्नुभएको छ, हो । सदस्य आठ लाख मात्रै हो । त्यो आठ लाख सदस्यले प्रचार गरेर झन्डै ५०, ६० लाख भोट ल्याउनुछ । आठ लाख ‘अल टाइम’ हुन्छन्, अरू ‘वान टाइम’ एमालेका वरिपरि हुन्छन् । त्यसकारण एमालेको वर्गीय धरातलसँग जोडिएको प्रश्नै मिल्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलन मस्कसँग ओलीले गरे भर्चुअल वार्ता
-
उत्तर कोरियाली नेताले भने– परमाणु युद्धको यति ठुलो खतरा कहिल्यै देखिएको थिएन
-
एमालेको जागरण सभामा जे देखियो...
-
नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय पूर्ण कार्यान्वयन भएन
-
दरबारमार्ग क्षेत्रमा एमालेका कार्यकर्ताले गरे फोहोर, महानगरको एक्सन
-
गोरखामा मध्यपहाडी राजमार्गको २३ किलोमिटर सडक कालोपत्र अझै बाँकी