शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा–२ मा सत्ता गठबन्धनलाई संकट, राजु गुरुङको उम्मेदवारी खारेजपछि समर्थन कसलाई ?

अदालतको निर्णयले गठबन्धन दललाई धक्का
शुक्रबार, ०४ कात्तिक २०७९, २१ : २५
शुक्रबार, ०४ कात्तिक २०७९

सर्वोच्च अदालतले रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा राजु गुरुङ उम्मेदवार हुन नपाउने आदेश जारी भएपछि सत्ता गठबन्धनमा संकट आइलागेको छ । निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरिदिएपछि उम्मेदवारी कायम हुने आशाका साथ सत्ता गठबन्धनको साझा उम्मेदवार एकीकृत समाजवादीका गुरुङ सर्वोच्च अदालत रिट बोकेर पुगेका थिए । 

तर, सर्वोच्चले शुक्रबार उनको रिटमा अन्तरिम आदेशको निरन्तरता नपाउने भनेसँगै उनको उम्मेदवारी कायम नहुने भएको हो । उनको उम्मेदवारी नहुने भएपछि रुपन्देही–२ मा सत्ता गठबन्धन आन्तरिक छलफलमा जुटेको छ । नेताहरूले अर्को कुनै पार्टीको उम्मेदवारलाई समर्थन गरेर अगाडि बढ्ने मनसाय बनाएका छन् ।  तर कुन दलको उम्मेदवारलाई कसरी समर्थन गरेर अगाडि जाने भन्नेबारे अझै  विस्तृत छलफल हुन बाँकी रहेको छ । 

नेकपा एकीकृत समाजवादी रुपन्देहीका अध्यक्ष अभिराम विश्वकर्माले  सर्वोच्चको निर्णयले राजनीतिमा उताव चढाव आएको प्रतिक्रिया दिँदै  पार्टीको  बैठक बसेर कसरी अगाडि जाने भन्नेमा निर्णय गर्ने बताए । उनका अनुसार पार्टीले तोकेको उम्मेदवार राजु गुरुङ काठमाडौंबाट आउनासाथ पहिला पार्टीको बैठक बस्ने छ । त्यसपछि गठबन्धन दलको बैठक बसेर  आवश्यक निर्णय गरिने उनको भनाइ छ । 

एकीकृत समाजवादी पार्टीको उम्मेदवार भएपनि समग्रमा गठबन्धन दललाई सर्वोच्चको आजको  निर्णयले असर गरेकोले अव नयाँ उम्मेदवारलाई पार्टीको हैसियत, उम्मेदवारको छवि, मत आदि हरेर समर्थन गर्न सक्ने उनको भनाइ छ । यसैगरी  नेपाली काँग्रेस लुम्बिनीका  सभापति अमर पुनले  अदालतको निर्णयले  गठबन्धन दलहरूलाई ठूलो क्षति भएको प्रतिक्रिया दिए । यद्यपि अदालतबाट आएको निर्णयलाई मान्नुको विकल्प नभएको उनले बताए ।  क्षेत्र नम्बर २ मा प्रदेश उम्मेदवारहरूको समेत चुनावी गतिविधिहरू प्रभावित भएकोले छिट्टै निकास निकाल्नु उनले पर्ने बताए । उनले  रुपन्देहीमा गठबन्धनले सहयोग गर्नेमा जनमुक्ति पार्टी उम्मेदवारको पनि नाम आएको भन्दै सबै सम्भावित नामबारे गठबन्धन दलको बैठकले  निकास निकाल्ने बताए ।     

यस्तै नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले अदालतको निर्णयलाई सम्मान गर्दै कानुनी र  राजनीतिक  विषयमा  छलफल गर्ने बताए । उनले  अन्य  कानुनी  र राजनीतिक उपायका बारे आज–भोलि गठबन्धन दलहरूको नेतृत्वबाट छलफल गर्ने बताए ।  रुपन्देही २ मा  गठबन्धनबाट  सङ्घमा राजुको उम्मेदवारी परेको थियो  भने प्रदेश (क) मा नेपाली काँग्रेसका दीर्घ बहादुर केसी र (ख) मा माओवादीका वामदेव क्षेत्रीको उम्मेदवारी परेको छ । 

उम्मेदवारी खारेज नभएको भए क्षेत्र नम्बर २ मा गुरुङ र एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने थियो ।   गुरुङको उम्मेदवारी खारेजीपछि पौडेललाई भने केही राहत भएको छ । 
कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको पाइएपछि गुरुङको उम्मेदवारी निर्वाचन अधिकृत कार्यालयले खारेज भएको थियो ।

 यस्तै काँग्रेस जिल्ला सभापति रामकृष्ण खाणका अनुसार भोलि बिहान ९ बजे रुपन्देहीमा सत्ता गठबन्धनको बैठक बसेर कसलाई समर्थन गर्ने भन्ने निर्णय हुने छ । यसबारे आज त्यहाँका प्रदेशसभामा उम्मेदवारसँग सामान्य छलफल गरिएको उनको भनाइ छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप